विकासन्युज

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ चार दशमलव ८९, व्यापार २० दशमलव ७४, होटल तथा पर्यटन ४१ दशमलव ६४, विकास बैंक ५७ दशमलव ४८, जलविद्युत् ३७ दशमलव ३७, निर्जीवन बीमा २१ दशमलव ७३, उत्पादन ७९ दशमलव ९५, अन्य ३३ दशमलव ३३, लघुवित्त २७ दशमलव शून्य सात, जीवन बीमा ५८ दशमलव ५६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ र लगानी शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ बराबरको कारोबार भयो । त्यस्तै रिडी हाइड्रोपावर रु नौ करोड ४१ लाख २८ हजार नौ सय ९२, नेस्डो समृद्धि लघुवित्त रु आठ करोड ३१ लाख ४० हजार दुई सय ७३, अरुण काबेली पावर कम्पनी रु सात करोड २८ लाख ६१ हजार नौ सय ६८ र राधी विद्युत् कम्पनी रु चार करोड ८३ लाख ७४ हजार छ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव नौ, रुरु जलविद्युत् कम्पनी आठ दशमलव ९३, नेष्डो लघुवित्त दुई दशमलव शून्य सात, ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनी पाँच दशमलव ८२, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव २७, खानीखोला हाइड्रोपावर कम्पनी चार दशमलव १८, सूर्योदय बोमी लघुवित्त चार दशमलव शून्य नौ र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् । रासस

मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी

मकवानपुर । मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान नै सञ्चालन गरेपछि मकवानपुरमा पनि चर्को ब्याजबाट पीडित हुनेले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकरी दिए । मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले कार्यदल नै बनाएर देशभरिका ७७ जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेपछि मकवानपुरमा पनि हालसम्म ११ जनाले उजुरी दिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएको उजुरीका सम्बन्धमा प्रजिअले सम्बन्धित पक्षलाई झिकाएर नियमसङ्गत लेनदेन भएको भए आपसी सहमतिमा उजुरी छिनोफानो गर्न निर्देशन दिइएको छ । सहमति हुन नसकेको खण्डमा उजुरीका सम्बन्धमा कानुनी प्रक्रिया सुरु गर्न प्रहरी कार्यालयमा पठाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालयलाई दिइएको निर्देशनमा स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार नपर्ने उजुरीको सम्बन्धमा गृह मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको बताइएको छ । मिटरब्याजीको समेत आम्दानीको आर्थिक स्रोत, जायजेथा तथा सम्पत्तिको स्पष्टता र अनुसन्धान गरी ठूला कारोबारको सम्बन्धमा विशेष छानविन गर्न गृह मन्त्रालयबाट भनिएको छ । रासस

अल्का अस्पतालको ओपिडी र ल्याबमा महिलालाई २० प्रतिशत छुट

ललितपुर । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ । महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना ल्याएको हो । अस्पतालका प्रशासन प्रमुख भगवान केसीले भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिने बताए । यो छुट बिरामीहरुलाई ल्याब परीक्षणमा पनि लागु हुने उनले बतए । ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि छ ।

काठमाडौं अल्फाबिटामा मेयर बालेनद्वारा डोजर लगाउन शुरु

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले बानेश्वरमा रहेको अल्फाबिटा कम्पलेक्सको भुईं तला खाली गराउनको लागि डोजर लगाएका छन् । मेयर शाहले अल्फाबिटाको भवनको भुईं तलामा मापदण्डविपरित व्यवसाय सञ्चालन गरिएको भन्दै डोजर लगाएर हटाउन लागेका हुन् । अहिले डोजरले अल्फा बिटाको भुईं तलामा रहेको अल्फा केयर फार्मेसी भत्काइरहेको छ । मेयर शाह भवनको नक्सा नै लिएर अल्फाबिटा पुगेका थिए ।

सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना: मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताएकि छिन् । उनले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिएकि हुन् । ‘कोप–२७ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।’ उनले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गरिन् । अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१।५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताएन् । वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत् बढी हुने उल्लेख गर्दै उनले आगामी सन् २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने जानकारी गराइन् । खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘ग्रीन हाइड्रोजनका लागि हामीले उपयुक्त पहल गरिरहेका छौँ ।’ ग्रिन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को सुरुआत गरिएको उल्लेख गर्दै उहाँले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रसारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइन् । नेपालमा अधिक मात्रामा नवीकरणीय ऊर्जा जलविद्युत् प्रयोग हुँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना छ ।’ आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै मन्त्री भुसालले भनिन्, ‘नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ, स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन देश बाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहन्छ ।’ स्वच्छ ऊर्जा प्रयोग गर्न सुरु गरिसकेको बताउँदै मन्त्री भुसालले भनिन्, ‘पछिल्लो दशकमा हामीले विद्युत् पहुँचलाई व्यापक विस्तार गरेका छौँ, देशको ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पु¥याएका छौँ, आगामी सन् २०२४ सम्ममा हामीले देशभर स्वच्छ ऊर्जा विद्युत् पु¥याउने लक्ष्य लिएका छौँ ।’ रासस

ग्लोबल आइएमइ बैंकले बढायो एनआरएन खाताको ब्याज, ६ मुद्रामा खाता खाेल्न सकिने

काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो । बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा ५.५ प्रतिशत ब्याज कायम गरिएको छ । यसअघि बैंकले बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशत ब्याज दिंदै आएको थियो । विदेशमा बस्ने नेपालीलाई लक्षित गरि नेपाल सरकारले गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजान पाउने नियम लागू गरेको छ । गैर आवासीय नेपाली (एनआरएन) का लागि नेपाली बैंकमा डलर खाता खोल्न नेपाल सरकारले अनुमति दिएपछि ग्लोवल आइएमइ बैंकले यस्ताे सुविधा दिएकाे हाे ।  ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ खाता खोल्न र विदेशी रकम जम्मा गर्दा दिइने ब्याजदरमा वृद्धि गरेको बेलायतस्थित ग्लोबल आइएमइ बैंकको सम्पर्क कार्यालयका प्रमुख प्रतिनिधि अमित चालिसेले बताए । बैंकले भिडियो कल (भिडियो केवाइसी) को माध्यमबाट घरमै बसेर सहज रुपमा डलर खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकको वेवसाइटमा गएर नयाँ खाता खोल्न अनलाइन फारम भरेर आवश्यक कागजपत्र अपलोड गरेपछि बैंकका कर्मचारीसंग भिडियो कलमार्फत सम्पूर्ण प्रमाणीकरण गरिनेछ । अनलाइन खाता खोल्नेवित्तिकै डेबिट कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ तथा डिम्याट/मेरो शेयर लगायत सुविधाहरु उपलब्ध हुनेछन् ।

महानगरले आजै अल्फाबिटाकाे अवैध संरचनामा भत्काउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ । अल्फाबिटाका संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि महनगरले आजै संरचना भत्काउन लागेको जनाएको छ । बिहीबार अवैध संरचना निरीक्षण गर्ने क्रममा नयाँ बानेश्वरस्थित अल्फाबिटामा पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाएका थियो । काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो ।

निर्माण भएको महिनौँ बित्दा प्रयोगमा आउन सकेन कैलालीको बायोग्यास प्लान्ट

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ ।नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान निकै आजित भएपछि यसको व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट निर्माण गरेको हो । प्लान्ट निर्माण सम्पन्न भएको महिनौँ हुँदा पनि सञ्चालनमा आउन नसक्दा यसको हैरानी किसानले खेपेका छन् । चौपाया व्यवस्थापन गर्न नसक्दा किसानलाई मात्रै नभई सडकमा सवारीसाधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । ‘दिउँसोको भन्दा बढी जोखिम सवारी चलाउन राति छ ।’ बसचालक सुमन चौधरीले भने, ‘सडकको बीचमा आएर बसेका हुन्छन् । कतिपय ठाउँमा राम्रोसँग नदेखिँदा ठूलो दुर्घटना हुने जोखिम छ ।’ बायोग्यास प्लान्ट निर्माण भएपछि बजारका चौपाया व्यवस्थापन हुने विश्वास आफूहरुको रहेको जनाउँदै उहाँले यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रहसमेत गरेका छन् । चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा नगरपालिकाले चौपायाको गोबरबाट बायोग्यास उत्पादन गरेर स्थानीय विपन्न परिवारलाई वितरण गर्ने योजना बनाएको थियो । प्लान्ट निर्माण भएको महिनौ भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । ‘प्लान्टको सम्पूर्णा काम सम्पन्न भएर स्थानीयको घरघरसम्म पाइप लाइन जडानको कामसमेत भएको महिनौँ भयो । अझै सञ्चालनको कुनै सुरसार देखिएको छैन ।’ स्थानीय बलबहादुर विकले भने, ‘ग्यास प्लान्ट सञ्चालनमा आउन सकेको भए स्थानीयलाई राहत हुने थियो ।’ दुई सय घनमिटर क्षमताको बायोग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयले दाउराका लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाले गरेको छ । बायोग्यास उत्पादनका लागि सामुदायिक चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसान खुसी देखिए पनि प्लान्ट छिटो सञ्चालनमा आउनुपर्ने स्थानीय मनोज चौधरी बताए। बनेको संरचना प्रयोगमा आउनुप¥यो । बजार क्षेत्रका सामुदायिक चौपायाको व्यवस्थापन हुनुप¥यो भन्ने मात्रै हो । उनले भने, ‘यस्तै प्रयोगविहीन अवस्थामा रह्यो भने निर्माण भएको संरचना जीर्ण बनेर जानेमा पनि नगरपालिकाले समयमै सोच्नुपर्छ ।’ एक करोड ६० लाख रुपैयाँको लागतमा प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । आर्थिक वर्ष २०७६/७७ भदौबाट सुरु भएको थियो । आयोजनाको काम निर्माण कम्पनीले नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त लगानीमा बायोग्यास प्लान्ट निर्माण भएको हो । ५५ घरधुरीलाई नगरपालिकाले खाना पकाउनका लागि उक्त बायोग्यास नागरिकको घरघरमा पु¥याएको छ । नगरपालिकाका इञ्जीनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापनसँगै स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि प्राङ्गारिक मलसमेत उत्पादन हुने बताएका छन् । नगरपालिकाले उक्त बायोग्यास प्लान्टबाटै फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । बजार क्षेत्रबाट सङ्कलन भएको सड्ने फोहरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र त्यसबाट प्रशोधन भएको बाँकी वस्तुलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगर प्रमुख रामलाल डगौंरा थारूले बताएका छन् । उनले निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ भएको बताए । ‘अब प्लान्टबाट ग्यास उत्पादन सँगसँगै प्राङ्गारिक मल उत्पादन पनि हुने छ । ग्यासका लागि चौपायाको बढीभन्दा बढी आवश्यकता पर्ने भएकाले त्यसलाई रोजगारीसँग जोडेर गाईबाट उत्पादन भएको दूधलगायतका वस्तुको बजारीकरणका लागि डेरी सञ्चालनको सोच बनाएका छौँ ।’ उनले भने, ‘एकातिर चौपाया व्यवस्थापन पनि हुने र अर्कातिर विपन्न परिवारले सहुलियतमा ग्यास पाउने भएकाले पनि यो आयोजनालाई नगरपालिकाले विशेष महत्वका साथ लिएको छ ।’ नगर उपप्रमुख खडकबहादुर शाहले चौपायाको विकल्प पनि सोचेर बायोग्यास सञ्चालन गर्नुपर्ने भएका कारण ढिलाइ भएको बताएका छन् । ‘सामुदायिक चौपायाको समस्या सधैँ नरहन सक्छ । भोलि चौपाया नै यसरी नरहने अवस्था आउँदा करोडौँको लागतमा निर्माण भएको संरचनाको अवस्था के हुन्छ ।’ उनले भने, ‘सोही क्षेत्रमा बृहत् फोहर व्यवस्थापन कार्यक्रमका लागि प्रदेश सरकारसँग छलफल भइरहेको छ । त्यो छलफलले पूर्णता पाएपछि फोहरलाई व्यवस्थापन गरेर बायोग्यास प्लान्टलाई दीर्घकालीनरूपमा अगाडि बढाउन सकिने छ ।’ नगरपालिकाभित्रका सामुदायिक चौपायालाई वडा नं २ को खोटेना भिराखानी सामुदायिक वनमा व्यवस्थापन गरिँदै आएको छ, सोही ठाउँमा बायोग्यास प्लान्ट निर्माण गरेको छ । गौशालामा भएका चौपायाको अवस्था निकै नाजुक पनि छ । आहारको अभावमा दैनिक चौपाया मरिरहेका छन् । नगरपालिकाले चौपाया व्यवस्थापनका लागि बर्सेनि १५ देखि २० लाख रुपैयाँ बजेट खर्च गर्दै आएको छ । चालुआवमा पनि सामुदायिक चौपाया व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस