विकासन्युज

‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न महानगरकाे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ । ती क्षेत्रको अवलोकनपछि उनले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् । तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिएको छ । अल्फा हाउसको पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ भने शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । यी दुवैलाई तत्काल हटाउन प्रमुख साहले निर्देशन दिएकाे नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेको छ टोलीले त्यहाँ मुक्तिनाथ विकास बैंक रहेको भवनको बारेमा जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ । बानेश्वर र शङ्खमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि उक्त टोलीले अवलोकन गरेको छ । अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको बेवास्ता गरे पनि कामपा ‘एक्सन’मा उत्रिनुपरेको भनाइ छ ।

प्रधानमन्त्रीलाई भेट्दै सामसङका ग्लोबल सीएफओले भने : नेपालीको हितमा काम गर्न प्रतिबद्ध छौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कबीच भेट भएकाे छ । नेपालमा सामसङको कारखाना उद्घाटनको लागि नेपाल आएका पार्कले बुधबार प्रधानमन्त्री देउवालाई भेटका हुन् । भेटका क्रममा पार्कले देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए । उनले सामसङ नेपाली युवाहरूको हितमा काम गर्न प्रतिबद्ध रहेकाे बताए । सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समुह)सँग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जाने पार्क बताउँछन् । सामसङले नेपालमा दुई दशक देखि नेपालमा आफ्नो व्यापार गरिरहेको छ। कम्पनीले हाल नेपाली बजारमा आफ्ना साझेदारहरू मार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ । कम्पनीसँग २ हजार भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको नेटवर्क विस्तार छ।

व्यास नगरपालिकाले गर्यो एक करोड पच्चीस लाख रुपैयाँ राजश्व सङ्कलन

काठमाडौ । व्यास नगरपालिकाले एक महिनाका अवधिमा एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा यही भदौ १ गतेदेखि सञ्चालन गरिसकेको छ । आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपी, निवेदन दस्तुर लगायतका सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। सो नगरपालिकाभित्र लिफ्टिङ खानेपानी योजना र सडक बत्तीमा स्थानीय उपभोक्ताबाट भुक्तानी भएको मासिक विद्युत् महसुलको विवरण वडा कार्यालयमार्फत हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारबाट व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयको भवन र प्रयोगशाला निर्माण कार्यक्रमका लागि रु तीन करोड विनियोजन भएको छ । बोलपत्र प्रक्रियाबाट प्रारम्भ हुने योजनाको २०७९ पुस मसान्तभित्र सम्झौता गर्ने गरी प्रक्रिया अघि बढाउने , २०८० जेठ मसान्तभित्र योजनाको मूल्याङ्कन र भुक्तानीको व्यवस्था मिलाउने गरी कार्यतालिका बनाइएको छ ।

सनराइज बैंकले धरानको वी.पी कोइरालालाई दियाे बिरामी बोक्ने ट्रली र ह्वील चियर 

काठमाडाैं । सनराइज बैंकले धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयाेग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको हाे । प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन् । सोही कार्यक्रममा प्रतिष्ठानका उपकुलपति श्री ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । बैंकले हरेक बर्ष आफ्नो नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ र गत वर्ष मात्र पनि नारी स्वास्थ्य र क्यान्सर सम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु गरेको बैंकले जनाएको छ ।

पर्यटकको आकर्षणको केन्द्र बन्दै बाबाताल

बन्दीपुर । पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो । बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ भ्यूटावर समेत निर्माण गरिएको छ । नेपाल सरकारको पर्यटन बोर्डले निर्माण गरेको भ्यूटावरबाट पर्यटकले बाबातालको मनोरम दृश्यावलोकन गरेर बेग्लै सौन्दर्यको अनुभूति गरिरहेको बाबाताल घुम्न आएका पर्यटकले बताएका छन् । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्यावलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० सम्म आन्तरिक पर्यटक आउने गरेको बाबाताल चुरे संरक्षण संवद्र्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले जानकारी दिए। अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक बाबातालमा घुम्न आउने गर्छन्, अध्यक्ष दाहालले भने, “विस्तारै तालमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।” उनका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीयामभन्दा जाडोको मौसम अर्थात् कात्तिकदेखि माघसम्म बढी पर्यटक आउने गर्दछन् । बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन ताल क्षेत्रभित्रै फूलको बँगैचा, बालबालिकाका लागि बालपार्क निर्माण गर्नुका साथै पर्यटकका लागि तालमा बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ । “बातातालमा घुम्न आउने पर्यटकका लागि तालमा छवटा बोटिङ सञ्चालनमा ल्याएका छौँ”, समितिका सचिव उद्धव काफ्लेले भन्नुभयो, “चारवटा समितिकै बोटिङ छन्, दुईवटा अन्य व्यक्तिबाट भाडामा ल्याएर बोटिङ चलाइरहेका छौं ।” अहिलेसम्म बोटिङ्ग पनि राम्रै चलिरहेको उहाँको भनाइ छ । बर्सेनि खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेरबार गरी आर्थिक वर्ष २०६०/६१ मा भू–संरक्षण कार्यालय सिरहाबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर, बालपार्क बनाएर व्यवस्थित बनाएको थियो । अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सचिव काफ्लेको भनाइ छ । अरु बेलाभन्दा पनि नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्ने गरेको छ । अहिले ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुर चलचित्रको छायाङ्कनसमेत हुन थालेको छ । दैनिकजसो कलाकार आउने र सुटिङ गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क १० रुपैयाँ, तालमा बोटिङ गर्ने पर्यटकका लागि ५० रुपैयाँ र भ्यूटावरबाट अवलोकन गर्न २० रुपैयाँको टिकटको व्यवस्था मिलाइएको छ । आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको बाबातालमा भ्यूटावर निर्माण भएपछि अब बाह्य पर्यटकसमेत आकर्षित हुने समितिका अध्यक्ष दाहालले जानकारी दिए। करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत निर्माण गरिएको छ । यसबाहेक ताल क्षेत्रभित्र स्थानीयले घरबाससमेत सञ्चालन गर्र्ने तयारी रहेकाले सोबारे पर्यटन मन्त्रालयसँग छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ छ । तालमा आन्तरिकका साथै बाह्य पर्यटकसमेत भित्र्याउन राजमार्गबाट तालसम्मको ग्राभेल बाटोलाई कालोपत्र गर्ने र निकट भविष्यमै ताल क्षेत्रमा केबुलकारसमेत सञ्चालन गर्ने ताल संरक्षण समितिको योजना रहेको अध्यक्ष दाहालको कथन छ । सरकारी निकाय तथा स्थानीयवासीको समेत गतिलो साथ पाएको बाबाताल क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा देखिन थालेको छ । पर्यटकीय क्षेत्रकै रूपमा व्यवस्थित भएको छोटो अवधिमै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्र्याउन सफल बाबाताल मुलुककै प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयसमेत जोडतोडका साथ जुटेको स्थानीय बुद्धिजीवी राजकुमार लामाले बताए । जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको बेला पर्यटकको आकर्षकको केन्द्र बनेको बाबातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन प्रचार–प्रसार गर्नुपर्ने लामाको भनाइ छ । रासस

पक्की पुल नबन्दा मेलम्चीका नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिकरूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ । बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ । हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ । पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन् । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिकरूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकोप्टरमार्फत पनि सेवा दिँदै आएका छन् । मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिकजसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ । उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको बजार भनेको मेलम्ची नै हो । सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताइन् । पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौं ओहोरदोहोर गरिरहन्थिन् । तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एकपटक मात्र आउने–जाने गर्छिन् । बाटो कतिबेला बन्द हुन्छ भन्ने डरले पनि उनलाई रोकिरहन्छ । पहिलेको तुलनामा गाडी पनि नियमितरूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उनको भनाइ छ । मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ । पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ । घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उनले बताए । तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ । बाढीपछि राहत र पुनःस्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनःस्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताए । गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्याएको थियो । मानिसको आवातजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताए । बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडीभाडा महँगो पर्ने भएकाले पनि वर्षायाममा बिक्री धेरै घटेको उनको भनाइ छ । यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो । अब वर्षा रोकिनेबित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताए । नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताए । ‘दीर्घकालीनरूपमा पुनःस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौँ’, उनले भने । क्षति भएका संरचनाको पुनःनिर्माणमा पनि तदारुकताका साथ काम भइरहेको उनको भनाइ छ । रासस

लघुवित्त विरुद्धको आन्दोलनमा राष्ट्र बैंक किन मौन ?

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याले वित्तीय क्षेत्रमा चर्चा छ । लघुवित्त विरुद्ध संघर्ष समितिले गरेको सडक आन्दोलनले वित्तीय क्षेत्रमा नै चासोको रुपमा हेरिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त संस्था विरुद्ध आन्दोलन हुँदा लघुवित्तका संचालक र कर्मचारीलाई ठूलो समस्या परेको गुनासो गरिरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थाहरुकोक नियामक नेपाल राष्ट्र बैंकको मौनताप्रति पनि धेरैले प्रश्न उठाएका छन् । लघुवित्तले गलत गरेको भए कारवाही गर्नुपर्ने र गलत नगरेको भए लघुवित्त विरुद्धको आन्दोलनलाई निरुत्साहित गर्नका लागि ‘एक्शन’ लिनु पर्ने धारणा धेरैको छ । तर, राष्ट्र बैंक यस विषयमा मौन बसेको छ । अर्थविद्ध डा.गोवन्द नेपाल राष्ट्र बैंकको लघुवित्त हेर्ने विभाग रहेकाले लघुवित्त क्षेत्रमा उठेका विषयहरुलाई चासोका रुपमा हेर्नु पर्ने बताउँछन् लघुवित्त संस्थाहरु नियम कानुन अनुसार सञ्चालन भएका छन् या छैनन् भनेर अनुगमन गर्नुपर्ने उनको भनाइ छ । ‘लघुवित्त विरुद्ध विषयहरु आएपछि अनियमितता के हो, नियम कानुनभन्दा बाहिर रहेर काम गरिरहेको छन् कि छैनन् भनेर अनुगमन तथा निरिक्षण राष्ट्र बैंकले गर्नुपर्छ, लघुवित्त विरुद्ध नै आवाज उठेपछि राष्ट्र बैंक चुप लागेर बस्नु हुँदैन, यसलाई चासोका रुपमा हेर्नुपर्छ, किनभने लघुवित्तलाई नियमन गर्ने निकाय छैन, राष्ट्र बैंकले नै सबै जिम्मेवारी लिनुपर्छ, यस विषयमा सरोकार राख्नुपर्छ,’ उनले भने, ‘कुनै लक्षित वर्गले असन्तुष्टि जनाएको छ भने लक्ष्य पुरा भयो की भएन हेर्नुपर्छ, जसको लागि भनेर नीति ल्याइएको हो उनीहरु नै असन्तुष्ट छन् भने राष्ट्र बैंकले बुझ्नु पर्छ ।’ लघुवित्त विरुद्ध संघर्ष समितिका संयोजक मनीराम ज्ञवाली लघुवित्त संस्थाहरुले लघुवित्तको अवधारणा अनुरुपको सेवा दिन नसकेकोले आन्दोलन गर्नु परेको बताउँछन् । उनले लघुवित्तले ग्रामिण स्तरमा गरिब, विपन्न वर्गलाई आर्थिक र सामाजिक रुपान्तरणका लागि स्थापना भएपनि त्यो हुन नसकेको आरोप लगाए । ‘विगत ३० वर्षदेखि लघुवित्तले आफ्नो उद्देश्य अनुरुप काम गर्न सकेनन्, लघुवित्त असफल भए, राष्ट्र बैंकको निर्दशिकाअनुसार काम गर्न सकेनन्, मुनाफामा केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी लगाए,’ उनले भने, ‘लघुवित्तका कर्मचारीलाई वित्तीय ज्ञान छैन्, एउटा सदस्यलाई दुइवटा भन्दा बढी संस्थाले लगानी गर्न नपाउने नीति छ तर १०÷१५ वटा लघुवित्तले एउटालाई ऋणको भारी थुपारेका छन् ।’ विभिन्न बाहनामा देखाएर ऋण असुल्न खोजिरहेको आरोप उनको छ । ऋण असुल गर्नका लागि मासिक किस्ता तोक्ने, सदस्यलाई आत्महत्यासम्मको दुरुत्साहन गर्ने, घरमा ताल्चा लगाउने, गाली बेइज्जति गर्न लगाउने जस्ता हर्कत लघुवित्तले गर्दै आएको उनले आरोप लगाए । ‘बचतकर्ताको हिसाब नै छैन्, बचतकर्तालाई दुर्गममा ३ प्रतिशत तथा सुगम र मध्यपहाडी क्षेत्रमा ५ प्रतिशत भनेर संगठित गर्ने भएपनि अहिलेसम्म कुनै आयव्ययको हिसाव छैन्, ऋणीहरुबाट १५ प्रतिशतसम्म ब्याज लिने भने पनि मनोमानी ब्याज लिएका छन्, लघुवित्त जनतालाई आर्थिक र सामाजिक शोषण गरे,’ उनले भने । राष्ट्र बैंकले जारी गरेका निर्देशन लघुवित्तले पालना नगरेको आरोप उनले लगाए । विगत ३० वर्षदेखि लघुवित्तको शोषण चल्दै आएकाले ६ महिनादेखि पिडित संगठित गर्दै लघुवित्त विरुद्धको आन्दोलन गर्न थालेको उनले बताए । लघुवित्तले नियम विपरित काम गरेको हुँदा राष्ट्र बैंकले नियमन गर्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले अनुगमन तथा नियमन गर्नुपर्याे, राष्ट्र बैंकको निर्देशिका लघुवित्तले पालना गरेका छैनन्, राष्ट्र बैंकले हेर्नुपर्छ, हाम्रो जिम्मेवारी होइन्, विगत ३० वर्षसम्म लघुवित्त कहाँ थिए ? के भएको थिए ? त्यो राष्ट्र बैंकले कडा एक्सन लिनुपर्छ,’ उनले भने, ‘टाठा बाँठा नियम बुझ्नेले नियामकबाट न्याय पाउन गुहारे तर आम जनतालाई वित्तीय तालिमको ज्ञान छैन, के को लागि ऋण लिएको भन्ने बुझेका छैनन्, उनीहरुलाई नियमन र अनुगमन भन्ने विषय थाहा नै हुँदैन्, गरिब, विपन्न, दुर्गमका जनता ऋणमा डुबेका छन् तर किन ऋणमा डुबे भनेर थाहा छैन् ।’ गरिब तथा विपन्न वर्गलाई नियामक निकायसँग गुहार माग्ने ज्ञान नहुने हुँदा आफूहरुले आन्दोलन गर्नु पर्ने बाध्यता आएको उनको भनाइ छ । लघुवित्तले आर्थिक शोषण गरेको हुँदा यस विरुद्ध बोल्न सबै संगठित भएर अघि बढेको उनले बताए । असोज २५ गते लाखौं पीडितलाई काठमाडौंमा जम्मा गराउने उनले जानकारी गराए । लघुवित्तबाट पीडित छन् की छैनन् भनेर त्यहि बेला प्रमाणित हुने उनको भनाइ छ । विजय लघुवित्तका सीईओ बसन्त लम्सालले काम गर्ने क्रममा लघुवित्तबाट कमी कमजोरी हुने गरेको स्वीकार गरे । सदस्यहरुलाई ऋणको दबाब दिने कमजोरीलाई स्वीकार गर्नुपर्ने उनको भनाइ छ । तर लघुवित्त विरुद्ध लगाएका सबै आरोप मिथ्या भएको उनको भनाइ छ । राष्ट्र बैंकले तोकिएको निर्देशन विपरित काम गरेको भए प्रमाणसहित उजुरी दिन उनले माग गरे । नियम विपरित काम गरेको भए राष्ट्र बैंकले कारवाही गर्ने र सीईओले जेलसम्म जानुपर्ने अवस्था रहेकाले जोखिम कसैले नलिने उनले बताए । ‘काम गर्दै जाँदा लघुवित्तका कमजोरीलाई नकार्दैनौ, सदस्यलाई कर्जाको प्रेसर गर्ने, कर्मचारीले गर्ने कमजोरीलाई हामीले स्वीकार्नु पर्छ, लघुवित्त विरुद्धका आरोप सबै मिथ्या हुन्, ब्याज धेरै लिएको आधारहिन हो, तोकिएको भन्दा बढी ब्याज लिएमा राष्ट्र बैंकले कारवाही गर्छ, सीईओ जेल जानुपर्छ, त्यो जोखिम कसैले लिँदैन,’ उनले भने, ‘एउटा लघुवित्तको शाखाले गरेको गल्तिलाई समग्र लघुवित्त क्षेत्रमा जोड्नु गलत हो, बैंकिङ्ग क्षेत्रमा पनि ठूला ठगी भएको उदाहरण धेरै छन् तर एउटा केशलाइ लिएर सबैलाई मुछ्नु हुँदैन कुनै संस्थाले बचत गर्दा फिर्ता दिएको छैन भने प्रमाणसहित कारवाही गर्न राष्ट्र बैंकले गर्छ ।’ जमानी बसेर र धितो राखी २ प्रकारका कर्जा दिने गरेको उनले बताए । ऋणीलाई कर्जा असुल गर्न दबाब नदिने हो भने कुनै पनि ऋणीले नदिने गरेको उनको धारणा छ । लघुवित्तलाई पनि बैंकले यसैगरी ऋण असुल्ने गरेको उनले बताए । राष्ट्र बैंकले आफ्नो भूमिका निर्वाह र नियमन गरिरहेकाले उजुरी आएपछि मात्रै काम कारवाही बढाउने उनको भनाइ छ । ‘कुन शाखाको कुन कर्मचारीले गल्ति गरेको भनेर उजुरी दिनु पर्याे, जिल्ला प्रशासन लगायत कुनै ठाउँमा अहिलेसम्म उजुरी नै परेको छैन्, राष्ट्र बैंकमा प्रमाणसहित रिपोर्ट आएपछि मात्रै एक्सन लिने हो, कुन लघुवित्तले घरमा ताल्चा लगायो, कुन संस्थाले त्यस्तो अवस्थामा पुर्यायो भनेर रिपोर्ट आउनु पर्याे,’ उनले भने, ‘कुन लघुवित्तको शाखाले गल्ति गरेको हो उजुरी दिनुपर्याे, सबै लघुवित्तले गल्ति गर्याे भनेर सडकमा गएर कराएर हुन्छ?, यदि उजुरी दिँदा पनि सुनुवाइ भएन भने बल्ल आन्दोलन गर्नुपर्याे ।’ यदि प्रमाणसहित आएका छन् भने कानुनी रुपमा अघि बढ्न उनले चेतावनी दिए । ५८ लाख ग्राहक, ३३ लाख ऋणी, २४ हजार कर्मचारी र ४ खर्बको कारोबार भएका ६५ वटा लघुवित्तलाई नै खत्तम भन्न नमिल्ने उनको भनाइ छ । राष्ट्र बैंकसँग पनि यसमा एक्सन लिन माग गरेको उनले बताए । राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल राष्ट्र बैंकले अनुमति दिएका संस्थाले बदमासी गरे भने जुनसुकै बेला एक्सन लिने बताए । लघुवित्त सञ्चालनका लागि मापदण्ड तोकिएको हुँदा सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ छ । ग्राहकले पनि नियमसँगत भएका कुरालाई परिवर्तन गर भनेर आन्दोलन गर्छ भने राष्ट्र बैंकले केही गर्न नसक्ने उनले बताए । ‘राष्ट्र बैंकले लघुवित्तलाई बढीमा १५ प्रतिशतसम्म ब्याज लिन सक्ने भनेर तोकेको छ, कर्जाको नवीकरण कहिले गर्ने भन्ने नीतिगत रुपमा स्पष्ट छ, १५ प्रतिशत ब्याज मलाइ बढी भयो भनेर लघुवित्त विरुद्ध ग्राहकले आन्दोलन गर्छ भने राष्ट्र बैंकले केही गर्दैन,’ उनले भने, ‘वित्तीय पहुँचका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था पुग्न नसक्ने ठाउँमा‘घ’वर्गका लघुवित्त पुगेका छन्, सेवा विस्तार हुँदै गर्दा वाणिज्य बैंकको भन्दा १/२ प्रतिशत ब्याज बढीछ, १÷२ प्रतिशत प्रतिशत बढी हुँदा लघुवित्तको कस्ट अफ फण्डको हिसावमा राष्ट्र बैंकले न्यायोचित नै ठानेको छ, त्यसको विरोध गर्ने हो भने केही गर्न सकिन्न ।’ कुनै समयमा लघुवित्तले २४ प्रतिशतसम्म ब्याज लिएको सम्झिदै उनले राष्ट्र बैंकले घटाएर १५ प्रतिशतमा झारेको बताए । लघुवित्तबारे राष्ट्र बैंकले सूचना सार्वजनिक गरिसकेको उनले बताए । ‘ग्राहकहरुले नबुझेर आन्दोलित भएका हुन सक्छन्, यदि नबुझेर आन्दोलित भएका हुन् भने जानकारी मुलक सन्देश दिएका छौं, कतै लघुवित्तले शोषण गरेको छ भने राष्ट्र बैंक छँदै छ, फाइनान्सियल सेक्टरमा कता पात हल्लिएको छ भनेर हामीले हेरिरहेका हुन्छौं,’ उनले भने ।

भारतीय सेनामा नेपाली भर्ती स्थगित

काठमाडौं । नेपालले हालको लागि भारतिय सैनिकको लागि नेपालबाट हुने भर्ती स्थगित गरेको छ । भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले यस्तो निर्णय गरेको हो । बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोलाएर परराष्ट्र मन्त्री नारायण खड्काले यस्तो बताएका हुन् । भारतले नयाँ भर्नाका लागि गत असार पहिलो सातादेखि अग्निपथ नामको नयाँ योजना ल्याएको थियो । यस योजनाअनुसार नयाँ भर्ती भएकाहरुले ४ वर्षमात्र सेवा गर्न पाउनेछन् जसपछि केहीलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर फर्काइनेछ । उनीहरूले पेन्सनको सुविधा पनि पाउने छैनन् ।