प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासघंले सार्वजनिक गरेको विवणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९४ हजार ८०० रुपैयाँ थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदीको मूल्य पनि बढेर १ हजार १७५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महांसघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
निगुरो बेचेर घरखर्च धान्दै इटहरीका महिला
पथरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक चार सयदेखि छ सयसम्म आम्दानी हुने चौधरी बताउँछिन् । शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन् । पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्ग लगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने यहाँको निगुरोले सयौंको सङ्ख्यामा स्थानीयलाई रोजगारी दिएको छ । चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमीसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । उक्त समयमा जङ्गलमै सिराहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारी भेला भइसकेका हुन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् । वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गर्दै धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगरे बिक्री गर्दै आएको विराटनगरकी सिया चौधरी बताउँछिन् । पथरी शनिश्चरे, लेटाङ र बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक तीन/चार सयजनाले निगुरो टिप्दै आएका छन । धेरै मजदुरले दैनिक निगुरो बेचेरै परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी पूर्वका विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको खोर्सनेका जितेन्द्र चौधरीको भनाइ छ । काठमाडौंसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । शनिश्चरे, लेटाङ र बेलबारी क्षेत्रबाट दैनिक निगुरो काठमाडौँ लैजाने गरिएको स्थानीय व्यापारी कौशिला माझी बताउँछिन् । माझीका अनुसार यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादनमा कमी आएको छ ।
एनएलजी इन्स्योरेन्समा अनलाइनबाटै बीमा गर्न सकिने, इ-बीमाले गर्यो पहिलो व्यवसायिक सम्झौता
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र डिजिटल बीमा सेवा प्रदायक इ-बीमाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अनलाइनबाट नै इ-बीमा खरिद गर्न सक्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । उक्त सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा इ बीमाका निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे । इ-बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले बताए । एनएलजीका सीईओ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ-बीमासँग गरिएको यो सम्झौतापछि बजारको उक्त आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे । बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए । इ-बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक-स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । इ-बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ । इ-बीमाको सेवा गैर-जीवन बीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रिय रूपमा संलग्न छ । इ-बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा-टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ ।
फोटोनले ल्यायो ट्युनल्याण्ड इ प्लस, १०५० केजीसम्मको भार बहन गर्न सक्ने
काठमाडौं । फोटोन मोटर्स नेपालले नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा भित्र्याएको छ । ट्युनल्याण्ड इ प्लस पिकअप समूहमा खेल परिवर्तन गर्ने स्तरोन्नतिहरुका साथ नेपाली बजारमा प्रवेश गरेको हो । अधिक कार्यक्षमताको लागि फोटोन ट्युनल्याण्ड इ प्लस सवारी निर्माणको क्षेत्रका केही उल्लेखनीय प्रविधिहरुका साथ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । स्तरोन्नति पश्चात पिकअपले सम्पूर्ण नयाँ २.० एल इनलाइन, ३६०० आरपिएमकमा १४९.५५ को एक अद्वितीय शक्ति उत्पादन गर्ने तथा १८०० र ३००० आरपिएमको बीच ३२० एनएमको अधिकतम टर्क दिने छ । साथै, ४-सिलिण्डरको इन्जिन र ६-स्पीडयुक्त मानवचालित ट्रान्समिसनले यसलाई जुनसुकै किसिमको भूभागको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । ट्युनल्याण्ड इ प्लसमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थप विस्तारित ब्रेकिङ्ग प्रणाली एबिएस पनि रहेको छ । कम्पनीका अनुसार इबिडि प्रणाली सहितको एबिएसले गाडीको पाङ्ग्रामा भारको परिमाण अनुमान गर्न हरेक पाङ्ग्राको छिटो गति वा ढिलो गतिको जाँच गर्दछ, जसले गर्दा चुनौतीपूर्ण अवस्थामा ब्रेक लगाउनु पर्दा स्टेयरिङ्गलाई बढी नियन्त्रण गर्न सकिन्छ र केही परिस्थितिहरु जस्तै गिलो सडकमा रोक्नको लागि दूरीहरु कम गर्न मद्दत गर्छ । नयाँ शक्तिशाली ट्युनल्याण्ड इ प्लसले १०५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम भएकोले यो सबै खाले कार्यहरुको लागि एवं नेपाली भौगोलिक बनावट सुहाउँदो पिकअप साबित भएको कम्पनीको दावी छ । यसमा जडान गरिएको उत्कृष्ट टच स्क्रिन रियरभ्यू क्यामराले पछाडीको दृश्यावलोकन गर्न, टक्कर नलाग्ने गरी पछाडी सार्न एवं पार्किङ्गको समयमा आत्मविश्वास जगाउन ठूलो मद्दत गर्दछ । फोटोन ट्युनल्याण्ड इ प्लस स्पोर्टसले आफ्नो शक्तिशाली बनावटमा धेरै चित्ताकर्षक डिजाइनहरु प्नि प्राप्त गरेको छ । अग्र भागको केन्द्रमा फोटोन लोगोयुक्त ठूलो ३ धर्के क्रोम गरिएको ग्रिल राखिएको छ । प्रोजेक्टर हेडल्याम्प र सूचकहरु एउटै हाउजिङ्गमा एकीकृत गरिएका छन् । यसमा थप नयाँ परिवर्तन स्वरुप एलइडि डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ्ग बोर्ड, क्ल्याम्पर, एन्टी-रोल ओभर बार र बेड लाइनर लगायतका धेरै उत्कृष्ट उपकरणहरु पनि रहेको कम्पनीले जनाएको छ ।
१ खर्ब १५ अर्ब निक्षेप घट्यो, निक्षेपको व्याज बढाउनु पर्ने पक्षमा राष्ट्र बैंक
काठमाडौं । करिब महिना वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा अहिले घटेर भदौ ३ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब भएको नेपाल बैंकर्स संघले जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार भदौ ६ गते वाणिज्य बैंकहरुमा ४४ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कमा पनि हरेक दिन करिव २ अर्ब रुपैयाँले निक्षेप घटेको देखिएको छ । निरन्तर निक्षेप घट्दै गए पनि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गराउने विधि प्रयोग गरेका छैनन् । निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरुले व्याजदर वृद्धि गर्ने बैकिङ अभ्यास रहेको छ । २०७८ फागुन १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले मुद्दती खातामा ११.०३ प्रतिशत व्याज दिने निर्णय गरेका थिए । त्यसपछि बैंकहरुले व्याजदर बढाएका छैनन् । व्याजदर वृद्धि गरेपनि निक्षेप वृद्धि हुने आधार नरहेकोले निक्षेपको व्याजदर वृद्धि गर्ने पक्षमा बैंकर्सहरु नरहेको नेपाल बैंकर्स संघको अध्यक्ष अनिल उपाध्यायले बताए । साउन अन्तिम साता बसेको बैंकर्स संघको बैठकले पनि निक्षेपको व्याजदर नबढाउने निर्णय गरेको छ । निक्षेपको व्याजदर वृद्धि गर्दा कर्जाको व्याजदर पनि बढ्ने र त्यसले उत्पादन लागत बढाउने, महँगी बढ्ने, उत्पादन घट्ने, समग्र अर्थतन्त्रलाई नराम्रो असर गर्ने तर्क बैंकर्सहरुको छ । अहिलेको अवस्थामा व्याजदर स्थीर राख्नमा बैंकर्सहरु एक मत रहेका छन् । उता राष्ट्र बैंक भने निक्षेपको व्याजदर वृद्धिको पक्षमा उभिदै छ । एक वर्षअघि बैंकहरुले अचानक उच्चदरले व्याजदर वृद्धि गर्न थालेपछि राष्ट्र बैंकले ३ महिनामा १० प्रतिशतभन्दा बढीका दरल व्याजदर बढाउन वा घटाउन नपाउने निर्देशन जारी गरेको थियो । उक्त निर्देशन जारी भएपछि बैंकहरुले कर्जाको व्याजदर वृद्धि गरेपनि निक्षेपमा व्याजदर वृद्धि गरेका छैनन् । स्रोतको अभाव भएको अवस्थामा व्याजदर वृद्धि गरेर अगाडि बढ्नुको विकल्प नभएको राष्ट्र बैंकको धारणा रहेको छ । स्रोतको अभाव भएको वेलामा व्याजदर बढ्ने भएकोले त्यसमा सबै पक्ष तयार हुनुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै सार्वजनिक रुपमा बोलेको थिए । विकासन्युजसँगको अन्तरवार्ताको क्रममा डेपुटी गभर्नर डा नीलम ढुंगाना निमल्सिनाले पनि व्याजदर नियन्त्रण गरिराख्ने नेपाल बैंकर्स संघको निर्णयमा राष्ट्र बैंक टुलटुलु हेरेर मात्र नबस्ने बताएका छिन् । अस्वभाविक रुपमा व्याजदर घटबढ नहोस् भन्ने राष्ट्र बैंकको चाहाना हो । तर तरलताको चरम संकट भएको बेलामा १० महिनासम्म व्याजदर वृद्धि नहुनु र आगामी दिनमा पनि व्याजदर स्थीर राख्ने बैंकर्स संघको भूमिकाप्रति राष्ट्र बैंकभित्र असन्तुष्टि बढ्दै गएको स्रोतले बतायो ।
साहसी आमा, जसले चितुवाको मुखबाट छोरा खोसिन्
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए । घाइते परियारको बन्दीपुर गाउँपालिका-४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंङ थापाले जानकारी दिए । परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ । केही महिनाअघि मात्रै बन्दीपुर-१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए । रासस
एमडीआरटीको वार्षिक बैठकका लागि रिलायन्स लाइफका अभिकर्ता अमेरिका प्रस्थान
काठमाडौं । मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । बिमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै आएका अभिकर्ता लिडरद्वयलाई इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गइरहेकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमाक्षेत्रको बिकासमा योगदान दिन अनुरोध गरे ।
सामसङ टिभी नेपालमै उत्पादन हुने, नवलपरासीमा कारखानाको शिल्यनास
काठमाडौं । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपाली कम्पनी हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा टिभी कारखाना स्थापना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीईओ एचके पाकले संयुक्त रुपमा कारखानाको सिलन्यास गरेका छन् । कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । सन् १९९७ देखि कोरियाली ब्राण्डको रुपमा परिचित सामसङका उत्पादन २०२३ पछि नेपालको घरेलु ब्राण्डको रुपमा उभिने भएको छ । हाल सामसङले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले स्थानीय उत्पादन क्षमताहरु वृद्धिमा जोड दिने सरकारको नीति रहेका बताउँदै यस्तो उद्योगले बैदेशिक व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । उनले सामसङ जस्तो बहुराष्ट्रिय उद्योगले नेपालीसँगको साझेदारीमा नेपालमा उद्योग खोल्नेले नेपालको बारेमा अन्तराष्ट्रिय बजारमा पनि राम्रो सन्देश जाने बताए । सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं हिम इलेकट्रोनिक्स प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । उनले हिम इलेकट्रोनिक्स र सामसङबीच २२ वर्ष लामो सहकार्यको सुखद भएको र यसैको परिणाम दुई कम्पनीबीचको साझेदारीमा उद्योग स्थापना गर्न सफल भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका शेखर गोल्छाले यो कारखाना स्थापनासँगै नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्ने, स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको बताए । समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतिक रुपमा व्याख्या गरे । उक्त समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समूहका अध्यक्ष तथा हिम इलेक्ट्रोनिक्स प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, दक्षिण कोरीयाका राजदूत पार्क चोँग सुक, नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।