पठाओ दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका
काठमाडौं । पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका पाउनेछन् । ‘पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो,’ पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले भनिन् । दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने उनले जानकारी दिइन् । उनकाे अनुसर राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरी बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने छ । कम्पनीकाे अनुसार तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । दशैँ महोत्सवको अवधिभरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिने कम्पनीले जानकारी दिएकाे छ ।
आइएसएमटी होटल म्यानेजमेन्टका विद्यार्थीद्वारा भब्यरुपमा ‘फुड वन्डर्स इभेन्टिया’ सञ्चालन
काठमाडौं । आइएसएमटी कलेज काठमाडौंमा इन्टरनेशनल टुरिजम एण्ड हस्पिटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीले भब्य रुपमा ‘फुड वन्डर्स इभेन्टिया’को सञ्चालन गरेका छन् । बिएचएमको तेस्रो सेमेस्टर अध्ययन गरिरहेका विद्यार्थीले बुधबार कोर्ष अन्तर्गत अनिवार्य रुपमा प्राक्टिकल गर्नुपर्ने इभेन्टको आयोजना गरेका हुन् । आइएसएमटी बिएचएमका शिक्षक प्रविन केसीले विद्यार्थीहरुले अध्ययनको क्रममा सिकेको ज्ञानलाई इभेन्टको आयोजना गरी व्यवहारिक प्रयोग गरिएको बताए । इभेन्टमा विभिन्न किसिमका झण्डै दुई दर्जन परिकारहरु, स्टेज कार्यक्रम र रोचक गेमहरु राखिएको छ । एउटा इभेन्टको आयोजना, जिम्मेवारीको बाँडफाँड, व्यवस्थापन र सञ्चालनको पाटोलाई स्वयं विद्यार्थीले नेतृत्व गरिरहेका छन् । इभेन्ट विद्यार्थीको प्रयोगात्मक अभ्यासको पाटो भएकाले योजना निर्माण गरेर जिम्मेवारी बाँडफाँड गरेदेखि नै विद्यार्थीको मूल्यांकन शुरु हुने शिक्षक केसीले बताए । उनका अनुसार प्रत्येक विद्यार्थीले इभेन्टमा कसरी आफ्नो भूमिका निर्वाह गरिरहेको छ भन्ने कुराको व्यवहारबाट नै मूल्यांकन गरिन्छ । इभेन्टमा विद्यार्थीहरुलाई वित्त, बजार, स्रोत व्यवस्थापन, सेवा र प्रोडक्सन समूहमा बिभाजन गरिएको छ । जहाँ रहेर विद्यार्थीहरुले आफ्नो क्षेत्रमा पर्ने वेलकम, टिकेटिङ, विभिन्न सामाग्रिहरुको व्यवस्थापन, कुकिङ, सर्भिस र रनरको भूमिका निर्वाह गरिरहेका छन् । जसले गर्दा सहभागी वा दर्शकको लागि कलेजको कुनै प्रयोगात्मक अभ्यास नभएर वास्तविक इभेन्ट जस्तो देखिएको छ । इभेन्टमा अन्य विभिन्न कलेजका विद्यार्थी, पाहुना, स्पोन्सर स्टल र पत्रकारहरुको सहभागिता छ । सहभागीहरु अथवा विद्यार्थीले कुनै पनि खानेकुरा खान मन लागेमा टिकट खरिद गर्ने व्यवस्था गरिएको छ । प्रत्येक वस्तुको मूल्य तोकिएको छ । सोही अनुसार इच्ुकहरुले खरिद गरेर विभिन्न परिकारहरुको स्वाद लिइरहेका छन् । इभेन्टमा मोटरहेड सहित विभिन्न कम्पनीहरुले स्पोन्सर गरेका छन् । शिक्षक केसीका अनुसार इभेन्ट सञ्चालनपश्चात विद्यार्थीहरुमा मुख्यतः कन्फिडेन्स र व्यक्तित्व विकास हुन्छ । विद्यार्थीहरुले एउटा इभेन्ट अन्तर्गत पर्ने सम्पूर्ण कुराहरुको व्यवस्थापन र सञ्चालन गरेर कसरी नाफा आर्जन गर्न सकिन्छ भन्ने कुरा सिक्छन् । उनका अनुसार बिएचएम अध्ययन अन्तर्गत विश्वविद्यालयले निर्धारण गरेको सर्त अनुसार विद्यार्थीहरुले ४ सेमेस्टर भित्रमा २ पटक इभेन्टको आयोजना गर्नुपर्छ । अहिले आयोजना गरिएको इभेन्ट सानो स्तरको भएको र सोही ब्याचका विद्यार्थीहरुले केही समयपछि अझै ठूलो स्तरको इभेन्टको आयोजना गर्ने शिक्षक केसीले बताए ।
जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित
जनकपुरधाम । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई लिएर स्थानीयले अदालतमा दिएको मुद्दालगायतका कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माणको काम प्रभावित भएको हो । पूर्व कमलाबाट पश्चिम जनकपुरधामसम्मको कुल २७ किलोमिटर सडकमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुग्न लाग्दा पनि बाँकी रहेको करिब दुई किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इञ्जीनियर सुनिल मुखियाले जानकारी दिए । औरही बजारको इलाका प्रहरी कार्यालय अगाडिको जग्गा आफ्नो हो भन्दै स्थानीय रामबाबु साह सुडीले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएको र सोही मुद्दामा अदालतले मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएकाले समस्या भएको इञ्जीनियर मुखियाले बताए । ‘अदालतले सुडीलाई जग्गाको मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएको छ’, इञ्जीनियर मुखियाले भने, ‘जग्गाको मुआब्जा उहाँलाई मात्र दिए अरु ठाउँको जग्गाधनीले पनि मुआब्जा माग्छ र विवाद हुनसक्छ ।’ समस्या समाधानका लागि पटक–पटक भएको प्रयास असफल भएकाले सडक निर्माणको काम प्रभावित भएको उनको भनाइ थियो । जग्गा विवादले औरही बजारको करिब पाँच सय मिटर सडक निर्माणको काम अझ सुरु हुन नसकेको इञ्जीनियर मुखियाले बताए । यस्तै धनुषाको बिदेह नगरपालिकाको तिकौरिया बजारमा जग्गा विवादलाई लिएर स्थानीयले अवरोध गरेपछि तिनकौरिया बजारदेखि करिब छ सय मिटर सडक निर्माणको कामसमेत प्रभावित भएको छ । सडक निर्माणका लागि स्थानीयले जग्गा अधिग्रहण गर्न नदिने र सडक छेउमा कुलोबाटै सडक बनाउन दबाब दिँदै आएकाले सडक निर्माणका समस्या भएको उनले बताए । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको तिनकौरियाका स्थानीय बजारवासीको कथन छ । लामा रमण जेभी २०७८ चैत ३० गते स्तरोन्नतिको काम पूरा गर्ने गरी विसं २०७३ असार ३१ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको छ । थपिएको म्याद २०७९ चैत ३० गते सकिने छ । विसं २०७८ चैत मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका बासिन्दाले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हाल्ने र विवाद सिर्जना गर्ने कार्यले निर्माणको काम समयमा अघि बढाउन नसकिरहेको इञ्जीनियर मुखियाको भनाइ छ । यसैबीच हुलाकी सडकअन्तर्गत सिरहाबाट सर्लाहीसम्मको करिब दुई सय ३३ किलोमिटर सडकअन्तर्गत हालसम्म एक सय ५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलोमिटर सडकमा पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । जनकपुरधामस्थित कदमचोकबाट कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी आठ किलोमिटर पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । यस्तै सप्तरी र सिरहाको सीमा छुट्याउने बलान नदीबाट कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको र बाँकी छ किलोमिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने प्रमुख महतोले बताए । सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम तीव्ररूपमा भइरहेको जनाएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न एक अर्ब २० करोड २० लाख रुपैयाँमा सम्झौता भएको ठेक्का कम्पनीका इञ्जीनियर चन्द्र यादवले जानकारी दिए । धनुषा र सिरहा खण्ड निर्माणको कामले गति लिए पनि सर्लाही खण्डमा भने भर्खरै मात्र काम सुरु भएको छ । सर्लाहीको शीतलपुर–मलङ्गवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको थियो । करिब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको प्रमुख महतोले जानकारी दिए । चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घर टहरा हटाउन भएको ढिलाइ, ठाउँ ठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड–१९ माहामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही पछि धकेलिएको उनको भनाइ छ । यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडकखण्डमा निर्माणाधीन नौवटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । मधेसकै लाइफ लाइनका रूपमा मानिएको हुलाकी सडकको निर्माणको काम तीव्ररूपमा अघि बढेपछि सो भेगका सर्वसाधारण खुसी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुका साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ । हुलाकी सडक जीर्ण हुदाँ सर्वसाधारण सास्ती व्यहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहजरूपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयको भनाइ छ । पूर्व–पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो जसलाई पदम शम्शेरले आगाडि बढाएकाले पदमरोड पनि भनिने गरिन्छ । रासस
कर्मचारीलाई पनि विदेशबाट पैसा मागेर तलब दिनुपर्ने अवस्था भइसक्यो : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुरले देउवाले देशको आम्दानी नहुँदा कर्मचारीलाई पनि विदेशबाट पैसा मागेर तलब दिनुपर्ने अवस्था भइसकेको बताएका छन् । बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताउँदै देश बनाउन सबै जिम्मेवार हुनुपर्ने बताए । ‘तपाईंहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ, पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो, काम हुनुपर्छ नि, देशको आम्दानी हुनुपर्छ नि, ब्यूरोकेसीको सहयोग बिना कुनैपनि देश अघि बढ्दैन, जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोकेसी हो नि, उसले गर्दैन त कसरी देश बन्छ ?,’ उनले भने । प्रधानमन्त्री देउवाले देश विकासको लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको पनि बताए । ‘कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन, सबै जिम्मेवार हुनुपर्छ, जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि, त्यही भएर तपाईंहरु काम गर्नुहोस्, के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ,’ उनले भने ।
मुलुकको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ: प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । ‘हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो’, उनले भने, ‘तर कर्मचारी तपाईहरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।’ उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताए । उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताए । उनले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताए । ‘ जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ’, उनले भने, ‘एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ ।’ उनले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताए । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ । मुख्य सचिव शङ्करदास बैरागीले विगतका कमिकमजोरी औल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने बताए । ‘निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ । कसैलाई पनि अल्मलिने, ढिलो गर्ने छुट छैन’, उनले भने, ‘कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।’ उनले जुनस्तरमा मुलुकको विकास हुनुपर्ने हो त्यो भने हुन नसकेको भनाइ राखे । सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासनको सुधारका लागि निजामती कर्मचारी लागेको बताए । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले अस्थायी सरकारले स्थायी सरकारलाई हस्तक्षेप गर्दा मुलुकको विकास निर्माणमा बाधा पुगेको बताए । उनले चार वर्षदेखि सङ्घीय निजामती ऐन अड्किएको भन्दै यसै संसद्को अधिवेशनबाट पारित गराउनुपर्ने धारणा राखे । कार्यक्रममा गत आर्थिक वर्षमा निजामती कर्मचारी पुरस्कारबाट सम्मानित भएकालाई यसवर्ष प्रधानमन्त्री देउवा र सामान्य प्रशासनमन्त्री श्रेष्ठले ताम्रापत्र प्रदान गरेका थिए । कार्यक्रममा यस वर्षको निजामती पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको थियो । प्रत्येक वर्ष दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीमध्ये एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामति कर्मचारी पुरस्कार प्रदान गर्ने गरिन्छ । यसवर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ । रासस
नेपाल बैंकर्स संघले जाजरकोटमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिले जाजरकोटको खलङ्गामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । समितीले मंगलबार खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरुले कार्यक्रम प्रभावकारी तथा जानकारीमुलक भएको बताउँदै भविष्यमा समेत पुनः वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्न सुझाव दिएका थिए । कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।
तेस्रो टीबीसी जब फेयर’ सम्पन्न
काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको थियाे । जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहेको थियो । जब फेयरमा कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिएका थिए । जब फेयरमा कुल २३३ कामकाे लागि अन्तर्वार्ता भएको कलेजले जानकारी दिएकाे छ । विद्यार्थीलाई कामकाे अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए । कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागीता रहेको थियो ।
नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि हुँदै
काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबारदेखि काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलन हुने भएको हो । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ नेपाल उद्योग परिसंघले सरकारसँगको साँझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ । सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ । आयोजक परिसङ्घकाअनुसार सम्मेलनको थिम विकासका लागि पूर्वाधार ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ’ रहेको छ । सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०७६/७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतमा नै सीमित भयो । आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गरिरहेको छ । नेपालले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ भने कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अङ्कको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य देखिएको छ । नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्ने विश्वास विश्वास रहेको परिसङ्घले जनाएको छ । परिसङ्घद्वारा मङ्गलबार जारी विज्ञप्तिमा सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने बताइएको छ । पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रूपमा छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका मेयरहरू, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क, एशियाली विकास बैङ्क, विश्व बैङ्क, प्राध्यापकहरूको प्रस्तुती हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक रहेको नेपाल पूर्वाधार सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेको छ । पूर्वाधार सम्बन्धी महत्वपूर्ण रहेको सो सम्मेलनमा विकासप्रेमी व्यक्ति तथा सरोकारवाला संस्थाहरूलाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ । सम्मेलनको टाइटल स्पोन्सरमा सगरमाथा सिमेन्ट र जेसिबी, प्लाटिनम स्पोन्सरमा नेपाल इन्भेष्टमेन्ट बैंक, गोल्ड स्पोन्सरमा नेपाल दूरसञ्चार प्राधिकरण र भूमी रहेका छन् । यसैगरी सिल्भर स्पोन्सरमा स्ट्याण्डर्ड चार्टर्ड, आइएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क रहेका छन् ।