हेल्थ एट होमले डेङ्गु रोगीलाई सुरू गर्यो नि:शुल्क स्वास्थ्य परामर्श सेवा
काठमाडाैं । घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई नि:शुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ । पछिल्ला दिनमा राजधानी लगायत देशभर डेङ्गु संक्रमित तिव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तो सेवाको सुरुवात गरेको हो । कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा नि:शुल्क परामर्श सेवाको सुरुवात गरेको हो । साथै, बिरामी अस्पताल जान नसक्ने अवस्थामा घरमै स्वास्थ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो । १४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ: मन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छिन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा भीमबहादुर रावलले, ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले सो कुरा बताएकी हुन् । मुुलुकभित्र उपलब्ध जलविद्युत्को उत्पादन तथा समुचित विकासबाट उज्यालो नेपाल बनाउन सरकारसँग स्पष्ट मार्गचित्र रहेको उल्लेख गर्दै उनले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार उत्पादन गर्न नसकिएको उल्लेख गरे । मुलुकभित्र लोड सेडिङ अन्त्य भएको जनाउँदै मन्त्री भुसालले जलविद्युत् उत्पादनका क्षेत्रमा निजी क्षेत्रले गरेको भूमिका प्रसंशीय रहेको बताइन् । जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बूढीगङ्गा र दूधकोसी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उनले जानकारी गराइन् । माथिल्लो कर्णाली आयोजनाका सन्दर्भमा जिएम आर कम्पनीसँग भएको सम्झौताका बारेमा जानकारी गराउँदै यसबाट उत्पादित विद्युत् बङ्गलादेशसम्म निर्यात गर्न सकिने मन्त्री भुसालले बताइन् । यसैगरी उनले पश्चिम सेती जलविद्युत् आयोजनाका विषयमा हालसम्म भएका कामका बारेमा सदनलाई जानकारी गराइन् । सांसद रावलले उक्त जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । उनले माथिल्लो जलविद्युत् आयोजना भारतीय जिएमआर कम्पनीले बनाउने गरी आजभन्दा १४ वर्ष अगाडि गरिएको सम्झौता आजसम्म पनि अगाडि बढ्न नसकेको र अहिले आएर अर्को कम्पनीसँग थप सम्झौता गरेको जनाउँदै त्यस्ता काम नगर्ने तथा आयोजना ओगटेर मात्र राख्ने सम्झौता खारेज गर्न माग गरिन् । प्रस्ताव प्रस्तुत गर्दै उनले जलविद्युत्बाट यथेष्ट लाभ लिन नसकेको बताउँदै इन्धन आयातमा बर्सेनि अर्बो रुपयाँ विदेशिने गरेको तथ्याङ्क पेस गरिन् । नेपालमा हाल प्रतिव्यक्ति विद्युत् प्रयोग निकै कम रहेको सन्दर्भमा विद्युत् निर्यात नीति प्रवद्र्धन गर्दा मुलुकभित्रको व्यवसाय कसरी आत्मनिर्भर होला भनी उनले प्रश्न गरिन् । रासस
असोज १ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं । असोज १ गतेदेखि दशैंका लागि यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि दशैंका लागि टिकट बुकिङ खुल्ने जानकारी दिएको हो । देशमा विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि बसेकाहरुको लागि दशैँ मनाउन घर जान अग्रीम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केही वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।
दशैंमा बैंकका सेयरधनीले लाभांश नपाउने, पैसाको अभाव हुने देखिएपछि लगानीकर्ता निराश
काठमाडौं । यस वर्षको दशैंमा लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । विगतका वर्षहरुमा बैंकका सेयरधनीले दशैंअघि नै लाभांश पाउने भएपनि यस वर्षको दशैंमा भने हात खालि नै हुने देखिएको हो । विगतका वर्षहरुमा बैंकहरुले दशैं अघि नै साधारण सभा गरिसकेर लाभांश नै वितरण गर्ने भएपनि यो वर्ष भने सो प्रक्रिया केही पछि धकेलिने भएको हो । लगानीकर्ताको इच्छा दशैं अघि नै राम्रो प्रतिफल लिएर धुुमधामका साथ दशैं मनाउने हुन्छ । तर, यसपालि भने बैंकका सेयरधनी तथा लगानीकर्ताहरुको त्यो रहर पुरा नहुने निश्चित भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंककानायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विजेन्द्र सुवाल यसवर्ष बैंकहरुले दशैंमा लाभांश दिन सक्ने सम्भावना नभएको बताउँछन् । उनले दशैं पनि छिटो परेको र अहिले बैंकिङ प्रणालीमै तरलताको समस्या भएको कारण बैंकहरुले दशैं अघि नै लाभांश दिने अवस्थामा नभएको उनको भनाइ छ । उनका अनुसार अहिलेको समय खर्चभन्दा पनि बचत गर्ने हो । ‘म दशैंमा खर्च गर्नु हुँदैन भन्छु, बैंकहरुमा पैसा छैन, दशैं तिहार भनेर पहिला जस्तो खसी बोकामा खर्च गर्नु हुँदैन, अहिले त भएको पैसा पनि बचत गर्नुहोस् भन्छु, बैंकमा अहिले ११ प्रतिशतभन्दा बढी ब्याज दिने भएकाले खर्चभन्दा पनि बचत गर्नुपर्छ, ब्याजदर ६/७ प्रतिशत हुँदा खर्च गर्ने हो, ११ प्रतिशत हुँदा त ब्याज पाउँदा बचत गर्ने हो, यस वर्षको दशैंमा कुनै पनि बैंकले लाभांश वितरण गर्न सक्ने अवस्था छैन,’ उनले विकासन्युजसँग भने । यस्तै, एनएमबि बैंकका विजनेश प्रमुख तथा स्ट्राटिजी अफिसर सुदेश उपाध्यायले यसपालिको दशैंमा सेयरधनीलाई लाभांश वितरण गर्न सम्भव नरहेको तर्क दिए । उनले अब थोरै समय बाँकी रहेकाले दशैंपछि मात्रै लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्ने धारणा राखे । लाभांश वितरणका लागि ठूलो प्रक्रिया पुर्याउनु पर्छ, बैंकको सञ्चालक समितिले लाभांश घोषणादेखि राष्ट्र बैंकले स्वीकृत गर्दासम्म धेरै लामो समय लाग्छ, त्यसपछि पुनः साधारणसभा बोलाउनु पर्ने हुन्छ, त्यस कारण पनि दशैं अघि सेयरधनीले लाभांश पाउने अवस्था देखिँदैन, अहिलेसम्म लाभांश घोषणा र साधारणसभाको सूचना कुनै पनि बैंकले निकालेको छैन,’ उनले भने । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले पनि लाभांश वितरणका लागि बैंकहरुले प्रक्रिया गर्नु पर्ने भएकोले लाभांश वितरणमा ढिलाइ हुने बताए । उनले सम्भवतः दशैं पछि नै सेयरधनीले लाभांश पाउने धारणा राखे । उनका अनुसार दशैंपछि र तिहार अगाडि अधिकांश बैंकहरुको साधारणसभा हुन सक्छ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले बैंकहरुले राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि दिइरहेको भएपनि दशैं अगावै साधारणसभा गर्न सम्भव नरहेको बताए । यसपालि दशैं छिटो परेकाले बैंकहरुले सबै काम सकेर स्वीकृति लिएपनि अब सम्भव नभएको धारणा राखे । बैंकले लाभांश घोषणा गरेर राष्ट्र बैंकबाट लाभांश वितरणका लागि स्वीकृति पाएपनि बैंकले २१ दिनको सूचना निकालेर साधारणसभा बोलाउनु पर्ने हुन्छ । यस कारण पनि दशैं अगाडि नै सेयरधनीले लाभांश पाउने सम्भावना शून्य छ । लगानीकर्ता निराश दशैं तिहारमा पैसा जम्मा गरेर परिवारसँग घुम्ने, साथीभाइहरुसँग रमाइलो गर्ने अभ्यास नेपालमा व्याप्त छ । धेरैले चाडपर्वकैं समय पारेर नयाँ–नयाँ गाडी तथा सामान खरिद गर्छन् । त्यसैले पनि धेरैले दशैं तिहारमा लाभांशको आशा राखेका हुन्छन् । तर, यस वर्ष लगानीकर्ताहरुले बैंकबाट लाभांश नपाउने भएपछि निराश बनेका छन् । लगानीकर्ता छोटेलाल रौनियारले यसपालिको दशैंमा लगानीकर्ताको हात रित्तो भएकोप्रति दुखेसो व्यक्त गरे । पहिला केही–केही कम्पनीले दशैंका लागि भनेर साधारणसभा गरेर लाभांश वितरण गर्ने गरेको भएपनि ती कम्पनीहरुले पनि अहिले दशैं तिहारमा लाभांश वितरण गर्न छोडेको बताए । ‘यसपालिको दशैंमा लगानीकर्ताको हात रित्तो हुने भयो, पहिला–पहिला नेपाल इन्भेष्टमेन्ट बैंक लगायत २/४ वटा कम्पनीले दशैंमा लाभांश दिन्थे, अहिले ती कम्पनीहरुले पनि दशैं तिहारमा लाभांश वितरण गर्न छाडे, अब दशैं तिहारमा लगानीकर्ताको हात रित्तो हुने भयो,’ उनले भने । लगानीकर्ता रौनियारले लगानीकर्तालाई दशैं खर्च भएपनि समयमा नै साधारणसभा गर्नुपर्ने धारणा राखे । नैतिकताका आधारमा दशैं अघि नै गर्नुपर्ने भएपनि आर्थिक वर्ष सकिएको लामो सयमसम्म नगर्दा दशैं रित्तो हुने उनले भनाइ छ । ‘एउटा नैतिकता हुनुपर्ने हो, नेपालीहरुको महान चाँड दशैं तिहार हो, सबैलाई पैसा चाहिन्छ, आर्थिक वर्ष क्लोज भएको धेरै महिना भइसक्यो, नैतिकता बोध छैन, यसमा नेप्से, सेबोन, राष्ट्र बैंक र बीमा समितिले कडाइ गर्नुपर्छ,’ उनले भने, ‘यति समय भित्र वार्षिक साधारण सभा गर्ने भनेर नियम बनाएको हो, अहिले सबै डिजिटल भइसक्यो, काठमाडौं जस्तो ठाउँमा बसेर २÷३ सय शाखाको ब्यालेन्ससिट बनाउन गाह्रो छैन, पहिला त सबै कागजी रुपमा काम हुन्थ्यो, अहिले सबै डिजिटल हुँदा पनि किन ढिलाइ हुन्छ,’ उनले प्रश्न गरे । यस्तै, लगानीकर्ता अम्बिका प्रसाद पौडेलले कम्पनीहरुको अडिटका कारण ढिलो हुने गरेकाले दशैं अघि नै लाभांशको अपेक्षा गर्न नहुने धारणा राखे । दशैंअघि नै साधारणसभा गरेर लगानीकर्तालाई लाभांश दिन नसकेको भन्दै दोष दिनु गलत रहेको उनको बुझाइ छ । ‘असोजमा साधारणसभा सम्पन्न नगर्दा लाभांश नदिएको भन्दै कम्पनीलाई दोष दिन मिल्दैन, कम्पनीका धेरै शाखा कार्यालय हुन्छन्, ब्यालेन्ससिट पनि हचुवाको भरमा गर्नु हुँदैन, दशैंअघि भए असाध्यै राम्रो कुरा हो,’ उनले भने, ‘सामान्यतः २१ दिने सूचना निकाल्नुपर्छ, इन्टर्नल अडिट, फाइनल अडिट गर्नुपर्ने हुन्छ, बोर्ड बैठक बोलाउनुपर्छ, इन्टर्नल र फाइनल अडिटका प्रश्नका जवाफ दिनुपर्छ, बोर्डबाट आन्तरिक लेखा परिक्षसम्म पुर्याउनुपर्छ, सबैले ट्याक्टफुल्ली किसिमले प्यारालल्ली इन्टर्नल अडिटसँगै फाइनल अडिट सक्नुपर्छ, असाध्यै चुस्त दुरुस्त व्यवस्थापन भएका कम्पनीले समयमा गर्न सक्छ, नेपालमा त्यस्ता कुनै कम्पनी नै छैनन् ।’ जलविद्युत कम्पनी र रियल सेक्टरका कम्पनीको धेरै शाखा नहुँदा कम्पाइल गर्न नपर्नेलाई छिटो लाभांश वितरण गर्न सक्ने उनले बताए । उनले हालसम्म बीमा कम्पनीले पनि लाभांश वितरण गरेको रेकर्ड नरहेको बताए । दशैं अघि लाभांशको अपेक्षा राख्ने लगानीकर्तालाई म्युचुअल फण्डमा लगानी गर्न उनले सुझाए । ‘लगानीकर्ताले म्युचुअल फण्डमा लगानी गरे दशैंअघि नै लाभाशं पाउन सक्छन्, त्यसैमा लगानी गर्दा हुन्छ, दशैं अघि लाभांश खान चाहेमा म्युचुअल फण्डमा लगानी गर्दा हुन्छ,’ उनले भने । लगानीकर्ता तिलक कोइरालाले दशैं अघि हात रित्तो बनाउँदा लगानीकर्तालाई निराश बनाएको बताए । बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरण गर्दाद शैं खर्च आउन सक्ने स्थिति हुँदा पनि कम्पनीले लाभांश घोषणा नगर्दा दुःख लागेको बताए । ‘अघिल्ला वर्षमा दशैं अघि वा असोज मसान्त अघि वित्तीय संस्थाहरुले चाँडै अडिट गरेर रिपोर्ट राष्ट्र बैंकमा पठाएर लाभांशको प्रारम्भिक प्रस्ताव गरिसकेका हुन्थे तर यसपटक भने त्यस्तो अवस्था देखिएको छैन, दशैं मनाउन लाभांशबाट पैसा आउँछ भनेर आश गरेका लगानीकर्तालाई निराश बनाएको छ,’ उनले भने, ‘दशैंमा धेरै बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरण गर्दा दशैं मनाउन पुग्ने खर्च आउन सक्थ्यो, वाणिज्य बैंकहरुको १०÷१५ प्रतिशतसम्म नगद लाभांश सजिलै वितरण गर्ने अवस्था थियो तर कुनै पनि बैंकले दशैंअघि लाभांश वितरण नगर्दा राम्रो लगानी गर्ने लगानीकर्ताको दशैं खल्लो हुने भयो ।’ ‘लाभांशमा आधारित भएर लगानी गर्ने लगानीकर्तालाई यसपटक गाह्रो हुन्छ, ठूलाठूला संस्थापक सेयरधनीहरुलाई पनि गाह्रो हुन्छ, उहाँहरु लाभांश प्राप्त गरेर नै खर्च गर्छन्, मेरो यति कित्ता छ, यति प्रतिशत लाभांश आउँदा यति हुन्छ भनेर हिसाव गरिरहेका हुन्छन् तर त्यो नहुँदा संस्थापक लगानीकर्तालाइ असर पर्छ,’ लगानीकर्ता कोइरालाले भने, ‘नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकमा ठूलो सेयर होल्ड रहेको राष्ट्रिय बीमा सहित अन्य बीमा कम्पनी, म्युचुअल फण्डलाई असर पर्छ तर म्युचुअल फण्डले आफ्नो कोषबाट लाभांश प्रस्ताव गरेर धमाधम वितरणगरिरहेका छन् ।’ राष्ट्र बैंकको कारणले होइन : ढकाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देव कुमार ढकाल नेपाल राष्ट्र बैंकको कारण लाभांश वितरणमा ढिलाइ नभएको धारणा राखे । उनले बैंक तथा वित्तीय संस्थाले जति छिटो काम गर्यो राष्ट्र बैंकले पनि सोही अनुसार स्वीकृत गर्ने काम गर्ने बताउँदै बैंकहरुको कारणले नै लाभांश वितरणमा ढिलाइ भइरहेको उनको भनाइ छ । उनले दशैं नजिक आइसकेकाले लगानीकर्ताको हात रित्तो हुने स्वीकार गरे । हालसम्म ५÷६ वटा बैंकले मात्रै लेखा परीक्षण प्रतिवेदन स्वीकृतका लागि लागि राष्ट्र बैंक आएको बताए । ‘आवेदन दिएका बैंकको डकुमेन्ट पुगेको छ भने राष्ट्र बैंकले ढिला गर्दैन, हालसम्म ५/६ वटा बैंकको आएको छ, ती बैंकका लगानीकर्ताले दशैंअघि लाभांश खान पाउँछन् वा पाउँदैनन् भन्न सकिँदैन, एजिएमको समय हुन्छ, अगाडि सूचना निकाल्नुपर्ने हुन्छ, दशैं पनि नजिक आइसकेको छ,’ उनले भने, ‘दशैं अघि लाभांश खान सहज छैन, प्रक्रिया पुरा गरेका छन वा छैनन, प्रक्रिया पुरा नगरेको भए दशैंमा लाभांश खान सहज छैन ।’ राष्ट्र बैंकले दशैं अघिसाधारण सभा गर भनेर दबाब दिन नमिल्ने बताए । लगानीकर्ताको लागि कहिले प्रतिफल दिने भनेर बैंक व्यवस्थापनको काम रहेको उनको भनाइ छ । राष्ट्र बैंकले डकुमेन्ट आयो भने काम गरिदिने मात्रै रहेको उनको भनाइ छ ।
स्थानीय तहका सय दिनः स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा जोड
भजनी । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । कैलालीको भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले सय दिनमा धेरै काम गर्न सफल भएको बताएका छन् । उनले भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको शव परीक्षण घरलाई व्यवस्थापन गरी सञ्चालनको प्रक्रियामा ल्याएको, विकासका आयोजनाहरूलाई पहुँचका आधारमा नभई आवश्यकताका आधारमा कार्यान्वयनमा ल्याएको, लामो समयदेखि पुनस्थापना भई अनुदान पाउन छुट भएका मुक्तकमैया पुनःस्थापनाका लागि नगरपालिकाबाट रु ६४ लाख ९० हजार विनियोजन गरी वितरणको तयारीमा रहेको कुरालाई विशेष उपलब्धिको रुपमा लिएको बताएका छन् । नगरप्रमुख चौधरीले कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनको चरणमा रहेको, कक्षा ८ सम्म निःशुल्क शिक्षा पढ्न पाउने व्यवस्था गरिएको बताउँदै शिक्षा, स्वास्थ, कृषि क्षेत्रलाई नगरपालिका प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘हाम्रो पालिकाको ठूलो सम्भावना भएको अवसर कृषि हो भने सबैभन्दा ठूलो चुनौती बाढी र डुबान ।’ नगरप्रमुख चौधरीले भने, ‘चुनौतीलाई समाधान गर्न सके हाम्रा अवसरहरूले नगरपालिकाको स्तर माथि उठाउन टेवा पुग्ने छ ।’ उपलब्धिमा उल्लेख्य प्रगति नदेखिए पनि थुप्रै कामको सुरुआत भएको र परिणाम आउन अबको सय दिन अरु पर्खनुपर्ने बताउँदै नगरप्रमुख चौधरीले पहिलेको भन्दा राम्रो गरौँ भन्ने योजनाका साथ आफूहरुले कार्ययोजना तयार पारेको बताए । ‘निर्वाचनमा जनताका सामु लिएका मुद्दालाई क्रमशः कार्यान्वयन गर्दै अगाडि बढ्नेमा कुनै समस्या छैन ।’ नगरप्रमुख चौधरीले भने, ‘सँगै अन्य प्रतिस्पर्धामा सहभागी उम्मेदवारका मुद्दालाई समेत समेटेर जनताको आवश्यकतानुसार स्थानीय सरकार काम गर्नेमा विश्वास दिलाउँछु ।’ टीकापुर नगरपालिकाले पनि सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । नगरप्रमुख रामलाल डगौंरा थारूले विगतका वर्षहरूमा हुने गरेको असारे विकासको अन्त्य गरी वैशाख मसान्तभित्र योजना तथा कार्यक्रम सम्पन्न गर्ने नीतिगत निर्णय भएको, टीकापुर पार्कलाई प्लाष्टिकरहित बनाउन प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने र विकल्पका रुपमा दुना टपरीको प्रयोग बढाउने योजना अघि सारेको, नगरपालिकाले टीकापुर क्षेत्रको समग्र विकासका लागि औद्योगिकग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरी लगानी सम्मेलन गरेर बाह्य लगानी भित्र्याउने तयारी भएको, ज्याला कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइनेलगायतका महत्वपूर्ण काम सय दिनमा भएको बताएका छन् । उनले फोहरलाई मोहरमा परिणत गर्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर फोहर व्यवस्थापनको काम अघि बढेको बताउँदै ढल निकास, बजारको सुन्दरतालाई ध्यानमा राखेर हरियाली बगैँचा निर्माण, सार्वजनिक शौचालयको व्यवस्थापन, टीकापुर अस्पतालमा उपलब्ध गराइँदै आएको बालरोग र स्त्रीरोग विशेषज्ञ सेवालाई निरन्तरतालगायतका कामलाई निरन्तरता दिइएको बताएका छन् । नगरपालिकाले १७ बुँदे प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कैलारी गाउँपालिकाले पनि सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले मालपोत समायोजनदेखि लिएर रक्त सञ्चार केन्द्रसँगको सहकार्यमा पालिकाका जनतालाई निःशुल्क रगतको उपलब्ध गराउनेसम्मका निर्णय भएको बताएका छन् । उनले मालपोत दरमा समायोजन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, नदी नियन्त्रण तथा तटबन्धनका कार्यक्रम सञ्चालन, पुलहरूको मर्मतसम्भार, १५ शय्याको अस्पताल निर्माणका लागि सम्झौता तथा योजना कार्यान्वयन प्रक्रिया, स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्य शिविर सञ्चालन, कृषक समूहलाई कृषि कार्यका लागि रु २५–२५ लाख अनुदान, पकेट कार्यक्रम सञ्चालनका लागि वडा छनोट, सञ्चालित कार्यक्रमको सघन अनुगमनलगायतका उपलब्धि सय दिनमा हासिल गरेको बताएका छन् । घोडाघोडी नगरपालिकाले पनि सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले नगरपालिकाको कार्यपालिका बैठक घुम्ती सेवाका रूपमा क्रमैसँग वडामा सञ्चालन भएको, आव २०७९/८० को नीति तथा कार्यक्रम र बजेट तयार भई कार्यान्वयनको चरणमा रहेको, नगरभित्र रहेका तालतलैयाका बारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्न विशेष समिति गठन गरी परिचालन, नगरपालिकाभित्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्न सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम, नगर अस्पताल निमार्णकार्य द्रुतरूपमा अगाडि बढेको, नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत दुई सय ७१ जना असहाय टुहुरा बालबालिकाको नगरपालिको अपनत्व ग्रहण गरी निजहरूलाई शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख रावतले बताए । त्यस्तै वडा, टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण, नागरिक आरोग्य सेवा केन्द्र स्थापना, राजमार्ग क्षेत्रमा तीनवटा सिसीटिभी क्यामेरा जडान, राजमार्गको सुरक्षाका लागि दङ्गा प्रहरी बस्ने भवनको निर्माणकार्य अन्तिम चरणमा रहेको, सबै वडामा गर्भवती महिलाको निःशुल्क अल्ट्रासाउन्ड सेवा सुरु गरिएको नगरप्रमुख रावतले बताएका छन् । कैलालीका अन्य स्थानीय तहले पनि सय दिनमा भएका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गर्दै आएका छन् । रासस
शिक्षकलाई नै थाहा छैन पाठ्यक्रमको नीति तथा ग्रेड निर्धारणको आधार, समस्यामा विद्यार्थी
फाइल फाेटाे काठमाडौं । माध्यमिक तहको परीक्षा कक्षा १२ को पछिल्लो परिणाममा धेरै सङ्ख्याका विद्यार्थीले माथिल्लो कक्षामा पढ्न योग्य हुन नसकेको सन्दर्भमा शिक्षाकर्मीले सिकाइ र परीक्षा पद्दतिमा परिमार्जन गर्न सुझाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनद्वारा आज यहाँ आयोजित माध्यमिक तहको परीक्षा र मूल्याङ्कन प्रणाली विषयका गोष्ठीका वक्ताहरुले परीक्षालाई भन्दा सिकाइ प्रक्रियामा सुधार ल्याउन माग गरेका छन् । सिकाइमा सुधारका लागि शिक्षक जिम्मेवार र सक्षम हुनुपर्ने भएकाले सरकारले शिक्षक सक्षमताका लागि कार्यक्रम दिन पनि उनीहरुको आग्रह छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कतिपय शिक्षकले पाठ्यक्रमको नीति र ग्रेड निर्धारणका आधार नै थाहा नपाएकाले विद्यार्थीलाई समस्या पर्न गएको बताउँदै बोर्डले शिक्षक अभिमुखीकरणका कार्यक्रम सञ्चालन गर्ने जनाए । उनले अगामी वर्षमा कक्षा १२ को परीक्षामा सबै प्रदेशका लागि समानस्तरका प्रश्न सोधिने र मूल्याङ्कनलाई पाठ्यक्रम र सोभन्दा बाहिर पनि लागू हुने गरी कसरी पद्दति विकास गर्न सकिन्छ भन्नेबारे छलफल चलाउने बताए । उनले भने, ‘बोर्डले परीक्षाको प्रशासनिक काम मात्रै गर्ने भएकाले पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका सम्परीक्षण आदि काम विज्ञहरुबाटै हुनुपर्छ ।’ शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विद्यार्थीलाई परीक्षामा भन्दा सिकाइमा जोड दिन आग्रह गर्दै पाठ्यपुस्तकलाई साध्यका रुपमा नभइ साधनका रुपमा लिनुपर्ने बताए । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले परीक्षा प्रणालीमा सुधार र परिमार्जन आवश्यक भएकाले आफूहरुले छलफललाई अघि बढाएकाले विज्ञहरुका सुझावलाई सरकारले सुनुवाइ गर्नुपर्ने बताए । शिक्षा विश्लेषक ज्ञानेन्द्र वन र हरि मुस्यानले परीक्षा प्रणालीबारे प्रस्तुतिकरण गर्दै तल्ला तहमा उदार कक्षोन्नति र माथिल्लो कक्षाका परीक्षामा कस्ने पद्दति सही नभएको टिप्पणी गरे । बोर्डकाले अक्षराङ्कन पद्दति २०७८ अनुसार नतिजा प्रकाशित गर्दै आएको छ । यस वर्षको कक्षा १२ को नतिजा अनुसार चार जिपीए ल्याउने सङ्ख्या शून्य रहेको छ । नियमित तर्फ एक लाख ८८ हजार भार सय १० जना नन् ग्रेडिङमा परेकाले उनीहरु कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । परीक्षामा नियमिततर्फ तीन लाख ६३ हजार एक, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ जना गरी तीन लाख ९६ हजार उक सय ८५ विद्यार्थी सहभागी थिए । रासस
एक अर्बभन्दा कम रकमको सेयर कारोबार, एनटीसीको सर्वाधिक
काठमाडौं । बुधबारको बजारमा एक अर्बभन्दा कम रकमको सेयर कारोबार भएको छ । सो दिन ८२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार घटेको बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड १५ लाख रुपैयाँ बराबरकोे सेयर कारोबार भएको हो । जसको सेयर मूल्य भने अघिल्लो दिनको तुलनामा स्थिर अर्थात प्रतिकित्ता ८७० रुपैयाँ नै छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । दिनभर ४ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०४ रुपैयाँ पुगेको छ । उक्त मूल्य अघिल्लो दिनको तुलनामा १८.८० रुपैयाँले घटी हो । कारोबारसँगै सेयर मूल्य मापक नेप्से परिसूचक पनि घटेको छ । परिसूचक एकैदिन ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो । घटेको बजारमा सबैभन्दा बढी सनराइज फर्ष्ट म्यूचुअल फण्डको मूल्य बढेको छ । फण्डले लाभांशको लागि बुक क्लोजको मिति तय गरेसँगै सेयर मूल्य ७.७२ प्रतिशतले बढेर प्रतिइकाई ११.५८ रुपैयाँ पुगेको छ । यता सबैभन्दा बढी प्राइम बैंकको ऋणपत्रको भाउ घटेको छ । १० प्रतिशत प्राइम डिबेन्चर २०८८ को मूल्य ५.८८ प्रतिशतले घटेर ९२२.४० रुपैयाँमा झरेको छ ।
विद्यार्थी नपुगेर खोज्दै हिड्ने मैयादेवी कन्या क्याम्पस अहिले भर्ना रोक्ने अवस्थामा
चितवन । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष विद्यार्थीको चापका कारण भर्ना नै रोक्नु पर्ने भएको छ । क्याम्पस प्रमुख डा विश्व सुवेदीका अनुसार ‘क्युएए’ प्राप्त भएसँगै भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षालगायतका कारण छात्राहरुको आकर्षण बढेको हो । यस बर्ष कक्षा ११ मा तीन सय जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय २० विद्यार्थी भर्ना भएका थिए । सुवेदीले भने, ‘अब हामीसँग थप विद्यार्थी पढाउन कक्षा कोठा नभएकाले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।’ एसइईको पूरक परीक्षाको नतिजा आएपछि विद्यार्थीहरू भर्ना हुन आउने गर्दछन् । ती विद्यार्थीलाई भर्ना गर्ने अवस्थामा आफूहरु नरहेको उनले बताए । क्याम्पसमा मुख्यरुपमा चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै आउने गरेका छन् । यसका अतिरिक्त २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उनले जानकारी दिए । ती जिल्लामा प्रचारात्मक अभियानका लागि प्राध्यापक कर्मचारीहरु आफैँ जानुपर्ने बाध्यता विगतमा रहेको थियो । ‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भने, “क्याम्पसले प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको हो ।” समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उनको भनाइ छ । स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउँछन् । उनले भने, “यो क्याम्पस सबै हिसावबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । उनले भने, ‘पहिले–पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।’ क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको छ । हाल एक हजार सात सय विद्यार्थी विभिन्न सङ्कायमा अध्ययनरत छन् । रासस