विकासन्युज

क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ’, क्यान अध्यक्ष चन्दले भने । उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने राससलाई बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

काठमाडौं । राउण्ड टेबल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका हुन् । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा जानकारी दिएका थिए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिका साथै देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

डिशहाेममा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने

काठमाडौं । दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना संचालन गरिरहेको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् । यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने कम्पनीले जानकारी दिएको छ । डिशहोमले फाईबरमार्फत डिशहोम फाईबरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

एनआईसी एशिया क्यापिटलले घरमै आएर डिम्याट खाता खोल्ने सेवा दिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ । व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै क्यापिटलले यस्तो योजना ल्याएको जनाएको छ । हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था छ । डिम्याट खाता खोलिदिनुको साथै कम्पनीले सेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था पनि मिलाएको जानकारी दिएको छ । लामो समयदेखि यस क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पु¥याउँदै आइरहेको छ ।  

कञ्चनपुरमा विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर दुई करोड बढी आम्दानी

कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ रुपैयाँ असुलउपर गरेको छ । कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताए । चार करोड ८४ लाख ८३ हजार नौ सय ९७ रुपैयाँ मूल्य बराबरको ग्राहकबाट असुुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुनः जडान गरिएबापत अहिले तत्काल दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ रुपैयाँ सङ्कलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिए । छ सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उनले बताइन् । कञ्चनपुर वितरण केन्द्रको औसत सङ्कलन पनि ९९।९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कार्वाहीसमेत गरिएको प्रमुख साहले बताए । उनले भने, ‘विद्युत् चुहावट गर्ने क्रममा ४२ जनालाई कारबाही गरिएको छ ।’ चुहावटबाट २० लाख ८४ हजार चार सय ९३ रुपैयाँ असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८मा औसत २६ प्रतिशत घटी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४।०३ प्रतिशतमा झारिएको साहले दाबी गरे ।कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाईनमार्फत भुक्तानी गरेका छन् । इन्टरनेटको पहुुँचमा हुने ग्राहकलाई अनलाईनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ । रासस

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी पुरा, चाडपर्व लक्षित अफर लागु हुने

काठमाडाैं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै सबै तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजना ५ दिनसम्म चल्ने एक्स्पोको भौतिक तयारी समेत पुरा गरिएको हो । भदौ २३ गते बिहीबार दिउँसो १ बजे काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पोको औपचारिक उद्घाटन हुनेछ । बागमती प्रदेशका उद्याग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गर्नेछन् । बिहान १० बजेदेखि नै अवलोकनकर्ताका लागि एक्स्पोस्थल भने खुल्ला गरिने इभेण्ट सोलुसनले जनाएको छ । एक्स्पोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन् । विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी विभिन्न किसिमका अफरमा अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन उपलब्ध गराउने छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए । १०० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पो अवलोकनका लागि कुनै शुल्क नलाग्ने इभेयट सोलुसनले जनाएको छ । तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै, एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि नि:शुल्क प्रवेश पास पाउन सकिनेछ । प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ । किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन् । ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको आयाेजकले जनाएकाे छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला ‘फर्नेक्स नेपाल’ को आयोजना गर्दै आएको छ ।

महानगरलाई म्यारियट होटलको क्यासिनोले बुझायो १९ लाख रुपैयाँ कर

काठमाडौं । काठमाडौं महानगरपालिकालाई म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । डेल्टिन क्यासिनोल महानगरपालिकालाई मनोरञ्जन कर वापतकाे १९ लाख ३७ हजार रुपैयाँ बुझाएका हो । महानगरले कर बुझाउन ताकेता गरेपछि डेल्टिन क्यासिना आज वडा नं. १ को वडा कार्यलय पुगेर मनोरञ्जन कर बुझाएको काठमाडौं महानगरपालिकाले जानकारी दिएकाे छ । काठमाडौं महानगरपालिका सूचना अधिकारी बसन्त आर्चयका अनुसार उक्त क्यासिनोले जरिवाना बाहेकको मात्रै रकम तिरेको हाे । काठमाडौं महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिवानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो ।

पुरानो बसपार्क अगाडिको ढलान सडक भाँसियो (फोटोसहित)

काठमाडौं । काठमाडौंको पूरानो बसपार्कमा रहेको काठमाडौं भ्यू टावरको अगाडिको सडक भाँसिएकाे छ । हालसालै कंक्रिट ढलान गरेकाे उक्त सडकमा एक्कासी भ्वाङ परेर भाँसिएकाे हाे । काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीले मंगलबारको अविरल वर्षा र सडकभित्र माटो भरिएको कारण सडकमा भ्वाङ परेको हुन सक्ने जानकारी दिए । उनका अनुसार अहिले भ्वाङ परेको सडकको पुननिर्माण भइरहेको छ । दुई महिना अगाडि मात्रै सो सडक काठमाडौं भ्यू टावरले निर्माण गरेको थियो । सडक ढलान गरिएको भएपनि भ्वाङ परेको हो । अहिले सो सडकको पुनर्निर्माण काठमाडौं भ्यू टावरले नै गरिरहेको छ । सडकमा भ्वाङ परेपछि अहिले सो सडकमा सवारी साधनको आवतजावत बन्द छ । सवारी साधन आवतजावत बन्द भएपछि सर्वसाधारणलाई समस्या भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २८ को वडा कार्यालय समेत सोही ठाउँमा छ ।