विकासन्युज

सर्वोच्च अदालतलाई बालेनले बुझाए लिखित जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन् । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । जसको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको थियो । यस्ताे छ बालेनकाे जवाफ : १. “काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत “नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारवाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वाेच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं ।” भनी गरेको टिप्पणी ….अशोभनीय मात्र होइन, सम्मानीत अदालतको अवहेलना समेत हुने गरी गरिएको भद्दा टिप्पणी उपर चित्त नबुझी सम्मानीत अदालतको शरणमा आएका छौं । ….यस्तो प्रकारको नकारात्मक र भ्रामक अभिव्यक्तिलाई अदालतको अवहेलना मान्नु पर्छ । ….कानून बमोजिम कारवाही गरी पाउँ ।” भन्ने निवेदकको मुख्य मागदावी रहेछ । २. विपक्षीको निवेदन खारेज भागी रहेको सम्बन्धमा स्पष्टीकरण सहितको जिकिर निम्नानुसार प्रस्तुत गर्दछु – २.१. मेरो अभिव्यक्तिबाट सम्मानित सर्वाेच्च अदालतको न्याय सम्पादनको कार्यमा अवरोध पुगेको वा आदेश वा फैसलाको अवज्ञा भएको अवस्था नभएको हुँदा निवेदकको दावी निराधार रहेको कुरा प्रारम्भ मै स्पष्ट गर्दछु । हाम्रो जस्तो लोकतान्त्रिक मूल्यपद्धति अपनाएको खुला समाजमा न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) विपरीत नहुने गरी आलोचनात्मक विचार अभिव्यक्त गर्न पाइन्छ भन्ने कुरामा विश्वास गर्दछु । २.२. संविधानको धारा १७(२) को खण्ड (क) ले प्रत्येक नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी मौलिक हकको प्रत्याभूति गरेको छ । त्यसको संरक्षक स्वयं न्यायालय पनि हो । उक्त मौलिक हकको अभ्यास गर्दा अदालतको अवहेलना हुन्छ भनी अर्थ गर्नु संविधान सम्मत हुदैन । राज्यका कुनै पनि अंग वा निकायले सम्पादन गरेको काम कारवाहीका सम्बन्धमा विचार प्रकट गरेकोमा त्यसको गलत अर्थ गरी नागरिकमा दण्डको भय उत्पन्न गर्न खोज्नु लोकतान्त्रिक मूल्यपद्धति विपरित हुन्छ । २.३. नेपालको न्यायालय नागरिकको व्यक्तिगत स्वतन्त्रताको हिमायती भएको कुरा यसले अनगिन्ती फैसलामा गरेका व्याख्या वा प्रतिपादन गरेका सिद्धान्तहरुबाट पुष्टी हुन्छ । कुनै नागरिकले न्यायिक काम कारवाहीको सम्बन्धमा आलोचनात्मक दृष्टिकोण प्रकट गर्दैमा न्यायालय आफ्नो न्यायिक कार्य सम्पादनबाट विचलित हुदैन भनी सर्वाेच्च अदालत स्वयंले प्रतिपादन गरेको सिद्धान्तमा अभिव्यक्त भएको कुरा हो । बरु, न्यायालय विचलित हुन्छ कि भन्ने विपक्षी निवेदकको जस्तो मनोगत आशंका वा अपेक्षाबाट चाँहि न्यायालय प्रतिको जनआस्था कमजोर बन्न सक्छ । वास्तवमा रचनात्मक आलोचनाबाट मात्र लोकतान्त्रिक राज्य व्यवस्थाको न्यायालय अझ बढी स्वतन्त्र, सुदृढ र जवाफदेही बन्न सक्दछ भन्ने आम विश्वास छ । २.४ जनप्रतिनिधि संस्थाको प्रमुखको जवाफदेहीताका आयामहरु कानूनी मात्र हुदैनन् । मैले प्रतिनिधित्व गर्ने महानगरवासी वा आम नागरिकसंग सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट विचार विमर्श गर्दा मेरो जवाफदेहीताका विभिन्न आयामहरुको सन्तुलन मिलाउनु पर्ने हुन्छ । यदि वहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरवासी तथा आम नागरिकको मौलिक अधिकार समेत कुण्ठित हुन जान्छ । यस कुरालाई विपक्षी निवेदकले नजर अन्दाज गर्नु भएको देखिन्छ । २.५. कानूनले काठमाडौं महानगरपालिकाको प्रमुखलाई केहि हदसम्म न्यायिक भूमिका समेत प्रदान गरेको छ । मेरो पदीय जिम्मेवारीको हिसावले समेत न्यायिक कार्य सम्पादनको संवेदनशीलताको विशेष रुपमा सम्मान गर्दछु । सम्मानीत सर्वाेच्च अदालत प्रति मेरो पूर्ण सम्मान रहेको स्पष्ट गर्दछु । ३. अतः माथि उल्लिखित तथ्यगत तथा कानूनी आधार कारणबाट विपक्षी निवेदकको औचित्यहीन दावी खारेजयोग्य रहेको हुँदा पूर्णरुपमा खारेज गरी पाऊँ भनी सादर अनुरोध गर्दछु । ४. मेरो तर्फबाट नियुक्त हुने कानून व्यवसायीको बहस बुँदालाई यसै लिखित जवाफको अभिन्न अंग मानी पाऊँ । ५. यसमा लेखिएको व्यहोरा ठिक साँचो छ, झुठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।  

इन्धन आपूर्तिमा अवरूद्धता मर्मतका लागि भएको पुटिनको दावी

काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो ऊर्जा निर्यातलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको भन्ने आरोपको बुधबार खण्डन गरेका छन् । जाडो याम नजिकिँदै गर्दा युरोपमा ऊर्जा मूल्य सङ्कट उत्पन्न हुने डरलाई थप प्रमाणित गर्दै रूसले मर्मतका लागि नोर्ड स्ट्रिम पाइपलाइन केही दिनका लागि बन्द गरिएको जनाएको छ । रूसी आपूर्तिमा अत्यधिक निर्भर रहेको युरोपले युक्रेनमा रूसको सैन्य अभियानलाई लिएर लगाइएको प्रतिबन्धको जवाफमा मस्कोले ऊर्जालाई आपूर्तिलाई ब्ल्याकमेलिङको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ । पुटिनले प्रशान्त महासागरीय बन्दरगाह शहर भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा भने, “रूसले ऊर्जालाई हतियारको रुपमा प्रयोग गर्छ भन्ने उनीहरूको भनाइ छ, यो निकै गलत छ,  आयातकर्ताको अनुरोध र आवश्यकताअनुसार आफ्नो क्षमतामा इन्धन आपूर्ति गर्छौं ।” रूसी ग्याँस कम्पनी गजप्रोमले शुक्रबार एक टर्बाइनमा तेल चुहावट भेटिएपछि नोर्ड स्ट्रिम मर्मतका लागि बन्द गर्ने जनाएको छ । क्रेमलिनको प्रतिबन्धले रूसी ग्याँस पूर्वाधारको उचित मर्मतसम्भारमा बाधा पु¥याएको र विशेष गरी क्यानाडामा मर्मत भइरहेको सिमेन्स टर्बाइनको फिर्तीमा अवरोध पु¥याएको बताएको छ । भ्लादिभोस्तोक फोरममा पुटिनले भने, “हामीलाई टर्बाइन दिनुहोस्, हामी भोलि नोर्ड स्ट्रिम घुमाउनेछौं।” “हामी भोलि यो गर्न तयार छौं, केवल एक बटन थिच्न आवश्यक छ तर हामीले नै प्रतिबन्ध लगाएका होइनौं,” पुटिनले भने ।

नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वोर्कसप’ सम्पन्न

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सकाे तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वाेर्कसप’ सम्पन्न गरेकाे छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । पोखरामा सम्पन्न भएको कार्यक्रममा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायबाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा जानकारी गराएका थिए । सम्मेलनमा सहभागी कर्मचारीहरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल सुगारिका केसीले व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण प्रदान गरेकी थिइन् भने नेपाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जोखिमाङ्कन प्रक्रृयाको महत्वको बारेमा जानकारी दिएका थिए । साथै, वर्कशपमा कम्पनीका विभागिय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

माछापुच्छ्रे बैंक बन्यो फुडमाण्डुको बैंकिङ पार्टनर

काठमाडाैं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएकाे छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरेका छन् । यसका साथै, बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाईन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशत (बढिमा ३००) सम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले आउँदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखि ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थमन्त्री असोज १० गते फिलिपिन्स जाने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गते फिलिपिन्स जाने भएका छन् ।  असोज १० गतेदेखि १४ गतेसम्म  हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं वार्षिक बैठकमा सहभागी हुने अर्थमन्त्री शर्मा फिलिपिन्स जान लागेका हुन् । गत भदौं २१ गते बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्विकृति प्रदान गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरण सम्बन्धि आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ्ग’ शुरु

काठमाडौ । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तगर्त ‘वे टु लिस्टिङ्ग’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यस सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनसंरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ । साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुर्याउने क्यापिटलले जनाएकाे छ । क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ- – व्यवसायिक तथा वित्तिय योजनाको तयारी – वित्तिय तथा संगठनात्मक पुनर्संरचना – वित्तिय श्रोत जुटाउन सहयोग – कम्पनि मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन – प्रबन्धपत्र तथा नियमावली संशोधन – आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन – व्यवस्थापकिय परामर्श

दशैंको अग्रिम हवाई टिकट गुपचुपमै ‘प्याक’, बसको भाडा नबढ्ने, मोबाइलबाटै टिकट

काठमाडौं । यसपटकको दशैंमा सार्वजनिक सवारी साधनमा भाडा वृद्धि नहुने भएको छ । यातायात व्यवसायीहरुले साविककै दरमा असोज १ गतेबाट दशैंको लागि अग्रिम टिकट काट्न सकिने जनाएका छन् । देशमा विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीको लागि बसेकाहरुको लागि दशैँ मनाउन घर जान अग्रिम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केही वर्षदेखि दशैँ अगाडि नै टिकटको अग्रिम बुकिङ खुला गरिन्छ । यसपटकको दशैंमा राजधानी लगायत अन्य ठाउँबाट हवाई उडानमार्फत् घर जानेहरुका लागि हवाई भाडा महँगो भएको छ । दुईदिन यता हवाइ टिकट काट्न सकिने मोवाइल एप्लिकेसनमा हवाई भाडाको न्यूनतम दर वृद्धि गरेर राखिएको छ । हवाई सेवा सञ्चालकहरुले दशैंको ६० प्रतिशतभन्दा लागि अग्रिम टिकट बुकिङ भइसकेको जनाएका छन् । तर, सार्वजनिक यातायात व्यवसायीले झैं दशैंको लागि हवाई सेवा सञ्चालकहरुले भने अग्रिम बुकिङको आह्वान नै नगरी गुपचुपमा नै टिकट बुकिङ भएको बताएका हुन् । दुर–दराज क्षेत्रमा हवाई मार्गमार्फत् जाने यात्रुहरुको लागि हवाई सञ्चालकहरुले गुपचुपमा गरेको भाडा वृद्धि र बुकिङ भैसकेको कुराले चिन्ता उत्पन्न गराएको छ । यात्रुहरुले सार्वजनिक सवारीसाधनको अग्रिम टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने बताएका छन् । अनलाइनबाटै बसको टिकट बुकिङ गर्नका लागि बस सेवा लगायतका प्लेटफर्म उपलब्ध रहेका छन् । टिकट बुकिङको शुल्क इसेवा, खल्ती, आईएमई पे लगायत प्रयोग गरी अनलाइनबाटै तिर्न सकिन्छ ।  

प्रभु क्यापिटलका ग्राहकलाई गोल्ड जिममा तीन महिनासम्म ३० प्रतिशत छुट

काठमाडौं ।  प्रभु क्यापिटलले बियन्ड फिट प्राइभेट लिमिटेड सम्झौता गरेको छ । क्यापिटलले डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकलाई छुट दिन बियन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो । भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउनेछन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ । यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सक्ने कम्पनीले जनाएको छ । अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ ।