मन्त्री अथक भन्छन् : नरैनापुरको लागि राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषदमा लैजानु पर्याे
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् । लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको व्यवस्था गरिदिन उर्जा मन्त्री भुसालसँग माग गरेका छन् । सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरीकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री अथकले तत्कालकालागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिंचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिंचाइको व्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताएका थिए । यसैबिच, मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका छन् ।
पिपुल्स हाइड्रोपावरको आइपीओ भदौ ३१ गतेदेखि बिक्री हुँदै
काठमाडौं । पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित दरका ३२ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं। ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज ३० गतेसम्म लम्बिनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्सटेन्सन काउन्टर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
विदेशी संस्थालाई पुँजीबजारमा लगानी गर्न दिनुपर्छ : युवराज खतिवडा
काठमाडाैं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी संस्थालाई पुँजीबजारमा लगानी गर्न दिनुपर्ने बताएका छन् । बुधबार काठमाडाैंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले यस्ताे बताएका हुन् । खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले विदेशी लगानीकर्तामार्फत पुँजीबजारमा लगानी ल्याउनु पर्ने बताए । ‘साना आयोजनाका लागि पैसा समस्या नभए पनि ठुला परियोजना विदेशी लगानी ल्याउँदा ब्याजदरमा हुने उतारचढाव र सटही दरको जोखिम हुन्छ, त्यसैले पुर्वाधारका क्षेत्रमा ॠणभन्दा पनि पुँजी लगानी ल्याउन सक्दा दिगो पुर्वाधार विकासमा योगदान दिन सक्छ,’ उनले भने ।
…त्यसपछि सुरु भयो कुलमान र बालेनबीच ‘ब्याटल’
काठमाडौं । अहिले सर्वत्र रुपमा रुचाइएका व्यक्ति हुन् बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ । बालेन काठमाडौं महानगरपालिकाका मेयर हुन् भने घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक । नेपालमा लोडसेडिङको अन्त्य गरेर उज्यालो नेपाल अभियानका एक मुख्य पात्र भएर काम गरेका घिसिङ सोही कारण चर्चामा आए । प्राधिकरणमा एक कार्यकाल पुरा गरेर बाहिरिएका उनी चौतर्फी रुपमा दबाब पुनः दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भए । सोही वाहीवाही र लोकप्रियताले पनि अहिले उनी राजनीतिमा आउने चर्चा पनि चल्न थालेको छ । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर बनेका बालेन साह पनि अहिले देशभर चर्चित पात्रका रुपमा चिनिन्छन् । उनी मेयरमा विजयी भइसकेपछि पनि चर्चामा आउने काम गरेकै कारण थप चर्चा पाउन उनलाई मद्दत पुगेको छ । काठमाडौंको फोहोर व्यवस्थापन, अनधिकृत संरचना हटाउनेदेखि कर तिरेका संस्थालाई कर तिराउनेसम्मको कदम चालेपछि सर्वत्र रुपमा उनको प्रशंसा भइरहेको छ । यही बिचमा मेयर बालेनले नेपाल विद्युत प्राधिकरणलाई पनि कर तिर्न ताकेता गरे । उनले विद्युत प्राधिकरणसँगै विभिन्न २३ वटा संस्था तथा कम्पनीहरुलाई कर तिर्न निर्देशन दिए । यसअघि पनि आन्तरिक रुपमा महानगर र प्राधिकरण ‘पत्र वार’ भइरहेको थियो । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई सम्पत्ति कर बुझाउन यसअघि पटक–पटक पत्राचार गर्यो । तर, विद्युत प्राधिकरणले कर नतिर्ने अडान लिँदै गयो । अन्तिममा महानगरले कर नतिर्ने संस्थालाई कर तिर्न ताकेता गरेको पत्र सार्वजनिक नै गर्न बाध्य भयो । ‘हामीले नेपाल विद्युत प्राधिकरणलाई विगतमा पनि सम्पत्ति कर तिर्न ताकेता नगरेका होइनौं, पटक–पटक कर तिर्न भनेका छौं तर प्राधिकरणले विभिन्न वाहना बनाउँदै गयो, पत्र कहिले फिर्ता गर्यो कहिले नतिर्ने भनेर जवाफ पठायो, कहिले तिर्ने व्यवस्था नरहेको भन्यो, अहिले मेयर बालेन आएपछि पनि धेरै ताकेता गरेका थियौं, तर नतिर्ने नै भनेपछि हामीले पुनः पत्र नै सार्वजनिक गर्नु पर्ने आवश्यकता आइलाग्यो,’ महानगर स्रोतले भन्यो । महानगरपालिका अनुसार विद्युत प्राधिकरणले स्थापना कालदेखि नै सम्पत्ति कर बुझाएको छैन । प्राधिकरणले महानगरपालिकालाई करोडौं रुपैयाँ सम्पत्ति बुझाउन बाँकी छ । महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले प्राधिकरणले हालसम्म कुनै पनि कर तिरेको छैन । महानगरले पत्र नै सार्वजनिक गरेपछि मेयर बालेन र कार्यकारी निर्देशक घिसिङबीच एक किसिमको मतभेद बढेको बुझिन्छ । महानगरपालिकाले सम्पत्ति कर बुझाउन भन्दै प्राधिकरणलाई पटक–पटक ताकेता र अन्तिममा पत्र नै सार्वजनिक गरेपछि प्राधिकरणले पनि महानगरपालिकालाई अर्बौंको विद्युत बक्यौता तिर्न भनेको छ । प्राधिकरणले महानगरलाई २ अर्ब रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी रहेको दाबी गरेको छ । उक्त रकम महानगर क्षेत्रमा राखिएको सडक बत्तीको भएको नेपाल विद्युत प्राधिकरणका प्रशासनिक प्रमुख लोकहरी लुइँटेलले बताए । महानगरले लामो समयदेखि सडक बत्तीको बिल भुक्तानी नगरेको प्राधिकरणको पनि भनाइ छ । प्राधिकरणले विद्युत् महसुल बाकी रहेको बताए पनि काठमाडौं महानगरपालिकाले भने इन्कार गरेको छ । महानगरपालिकाले हचुवाको भरमा प्राधिकरणले चुहावटलगायत अन्य हिसाब महानगरको नाममा बक्यौता राखिदिएको दाबी गरेको छ । तर, महानगरले बुझाएको विवरणमै आधार भएर हिसाब निकालिएको प्राधिकरणले जानकारी दिएको छ । ‘राति कति बजेदेखि विद्युत् बत्ती बल्छ, कति बजे निभ्छ, त्यसबाट कति महसुल आउँछ, हामीले सबै तथ्यांक राखेका छौं, त्यसको आधारमा महानगरले २ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ,’ लुइँटेलले भने । मेयर बालेनले महानगरपालिकाले नियमसंगत तरिकाले कर उठाउने र वैद्यानिक कागजातसहित आएका महसुल चुक्ता गर्ने बताइसकेका छन् । प्राधिकरणले कर नतिर्ने बताएपछि मेयर बालेनले सो कुरा बताएका हुन् । मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै उनले नियमसंगत रुपमा कर उठाउने र महसुल पनि भुक्तानी हुने बताएका छन् । करको विषयलाई लिएर दुवै निकायबिच औपचारिक रुपमा भेटघाट गरेर छलफल भने नगरेको स्रोतको भनाइ छ । ‘प्राधिकरणले सम्पत्तिको विवरण दिनु पर्याे, उसको क्षेत्रको सम्पूर्ण विवरण आइसकेपछि बल्ल उसको सम्पत्ति कर निकाल्ने हो, त्यो निकाल्नको लागि महानगरलाई सम्पत्तिको विवरण बुझाउनु पर्ने हुन्छ, त्यसपछि उसले कति तिर्नु पर्छ भन्ने हामी हिसाब निकाल्छौं,’ राजश्व प्रमुख अधिकारीले विकासन्युजसँग भने । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिकालाई कर नबुझाउने बताएको छ । विद्युत प्राधिकरण ऐनमा कुनै पनि स्थानीय कर नलाग्ने व्यवस्था भएका कारण महानगरलाई कर नतिर्ने प्राधिकरणले जनाएको हो । विद्युत प्राधिकरण ऐनको अवलम्बन गरेका कारण हालसम्म महानगरपालिकालाई कर नबुझाएको नेपाल विद्युत प्राधिकरणका प्रशासनिक प्रमुख लोकहरी लुइँटेलले बताए । ऐनमा नै स्थानीय कर नतिर्ने व्यवस्था भएपछि महानगरपालिकालाई कर तिर्नुपर्ने बाध्यता नरहेको प्राधिकरणले जानकारी दिएको छ । ऐनमा स्थानीय कर नलाग्ने भनेर उल्लेख गरिएको छ, महानगरपालिका भने कर तिर्नु भनेर ताकेता गरिरहेको छ, हामीले उहाँहरूलाई ऐनमा छुटको व्यवस्था छ भनिरहेका छौं, कर तिर्नु पर्याे भने ऐनलाई संशोधन गर्नुपर्छ,’ उनले भने । काठमाडौं महानगरले १० दिनभित्र सम्पत्ति कर तिर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्र काटेको हो । समयमै कर नतिरे कारवाही गर्ने चेतावनी समेत महानगरको छ । मेयर साहले भनेका छन्, ‘महानगर क्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ, महानगरका उपभोक्ताप्रति प्राधिकरण जवाफदेही रहन्छ रहँदैन ? सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नुपर्छ, सो विषयमा नेपाल विद्युत् प्राधिकरण आफै जानकार छ ।’ बालेनले सार्वजनिक मठ मन्दिर, सडकबत्ती, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तीको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नमा स्पष्ट हुनुपर्ने बताएका छन् । सम्बन्धित सामग्री : प्राधिकरणले भन्यो : महानगरलाई कर तिर्दैनौं, फनपार्कले बुझायो १९ लाख रुपैयाँ राजश्व
कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै
जनकपुरधाम । जयनगर-बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र साधारण काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको उनले बताए । रेलको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन गरिने झाको भनाइ छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनलले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा नियमित छ । रासस
प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर ९३ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार १३५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
‘नयाँ स्टकमा कमिसन र घुसका कुरा छोडौं, लगानीकर्ताकाे सहज सेवाका लागि अतिआवश्यक छ’
लामो समयदेखि अर्को स्टक एक्सचेञ्ज चाहिन्छ भन्ने लगानीकर्ताको माग सम्बोधन हुने प्रक्रियामा गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकार र राष्ट्र बैंकको स्वामित्वमा रहेको सेयर पब्लिक कम्पनी, निजी क्षेत्रका कम्पनी र विदेशी रणनीतिका साझेदारलाई सेयर विनिवेस गर्नु पर्याे भनेर आवाज उठाएको धेरै समय भयो । ५८ बुँदे माग राखेर आन्दोलन गर्दा बुँदा नम्बर ३८ मा २०७६ साल असार मसान्तभित्र नेपाल सरकार र राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर विनिवेश गर्ने भनेर उल्लेख गरेको थियो । हामीले अनशन बसेर ५८ बुँदे तयार गर्दा उल्लेख भएको हो । आजभन्दा ४ वर्ष अघि नै त्यो काम सम्पन्न हुनुपर्थ्याे । तर, अहिलेसम्म पनि भइसकेको छैन । त्यो गरेको भए सबैभन्दा राम्रो हुन्थ्यो । सरकारले डेपुटी गभर्नरको संयोजकत्वमा समिति नै गठन गरेको थियो । विदेशी रणनीतिक साझेदार वा निजी क्षेत्रलाई त्यसको बहुमत सेयर दियो भने नेप्सेको संरचनाले एकदम राम्रोसँग काम गर्न सक्छ । अनुभवी कर्मचारीले काम गर्न सक्छन् । सरकारले नेप्सेको सेयर निजीकरण गर्याे भने सरकारलाई पनि धेरै पैसा आउँछ । विकास गर्न, सरकारलाई अन्य खर्च गर्न ठूलो रकम नेप्सेको सेयर बिक्री गर्दा आउँछ । हामीले निरन्तर आवाज उठाउँदै आयौं । दोस्रो आमरण अनशनमा यो कुरा उठाएको थियौं । तेस्रो आमरण अनशनमा पनि सबैभन्दा बढी प्राथमिकतामा राखेर एक नम्बरमा नै यो कुरालाई उठाएका थियौं । तर सरकारी निकायले हाम्रो कुरा सुन्दै सुनेन । अर्थमन्त्रालयका बहुमत प्रतिनिधिहरु सञ्चालक भएर नेप्सेमा जान्छन् । उनीहरुले तलव भत्ता बुझ्छन् । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पनि सरकारले नियुक्त गरेर हालिमुहाली गरेका छन । सीईओले पनि अर्थमन्त्रीको स्वार्थ अनुसार काम गरिरहेको हुन्छ । नेप्सेले सर्वसाधारण लगानीकर्ताका लागि फाइदा हुने काम गर्दै गरेन । नेप्सेलाई सुधार गर्नु पर्छ भन्दाभन्दै सबै लगानीकर्ताको सम्पत्ति क्षय भएर गइसक्यो । धेरै लगानीकर्ताले आफ्नो लगानी गुमाइसके । बजारमा हुनुपर्ने सुधार विस्तारका काम पनि भएन । नयाँ उपकरण ल्याउने जस्तो डेरिभेटिभ, इन्ट्रा-डे लगायत अन्य उपकरण ल्याउने कुनै सुरसार छैन । नेप्सेको सुधार नहुँदा स्टक मार्केट नै बन्धक बन्नु पर्ने एउटा विडम्वना पूर्ण अवस्था रह्यो । अहिले पनि हामी नेप्सेमा रहेको सरकारको लगानी विनिवेश गर्दा सबैभन्दा राम्रो हुन्छ भनिरहेका छौं । विदेशी रणनीतिक साझेदारले पैसासँगै प्रविधि पनि ल्याउँछ । यदि विदेशी रणनीतिक साझेदार नल्याउने हो भने स्वदेश कै पब्लिक कम्पनीहरुलाई सेयर बिक्री गर्न गर्नुपर्याे । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ३४ प्रतिशत सेयर बिक्री गर्नका लागि सूचना सार्वजनिक गर्याे । तर, प्रभु बैंक र लक्ष्मी बैंक बाहेक अन्य कम्पनी सेयर किन्न तयार भएनन् । किनभने बहुमत सेयर सरकारको स्वामित्वमा छ । नेप्सेमा गएर केही पनि गर्न सक्दैन । पूँजी मात्रै फस्छ भन्ने भयले अन्य कम्पनी सेयर किन्न डराए । सरकारको पकड हुने भएपछि त्यसले काम गर्न सक्दैन । अहिले पनि नेप्सेले ठूलो रकम आम्दानी गरिरहेको छ । नेप्सेको जम्मा ५० करोड रुपैयाँ चुक्ता पूँजी छ । नेप्सेले डेढ अर्ब रुपैयाँ कमाउँछ । सरकारले हिरालाई ढुंगा ठानेर कब्जामा राखेको छ । यदि सरकारले नेप्सेलाई पुनसंरचना गर्याे भने अहिले पाइरहेको भन्दा बढी कर पाउँछ । नेप्सेलाई नै सुधार गर्नुपर्छ भन्दा भन्दा लगानीकर्ता थाकिसके । प्राइभेट स्टक एक्सचेञ्ज ल्याउने प्रक्रिया सुरु भएको हो । प्रतिस्पर्धी आएपछि नेप्सेले पनि काम गर्ला नी । यदि नेप्सेले काम गरेन भने पतन भएर जान्छ । नेप्से र प्राइभेट स्टक एक्सचेञ्जबीच प्रतिस्पर्धा बढ्छ । नेपाल दूरसञ्चार मात्रै हुँदा एउटा सिमको लागि ५/१० हजार रुपैयाँ तिर्नु पर्थ्याे । जब एनसेल आयो उसले सित्तैमा सिम, कल र डाटा पनि बाड्न थाल्यो । जसले गर्दा नेपाल टेलिकम पनि प्रतिस्पर्धामा उत्रिनु पर्याे । अहिले टेलिकम र एनसेलको धेरै प्रतिस्पर्धा छ । यो सुविधा सर्वसाधारणले पाएका हुन् । अर्काे प्रतिस्पर्धी आयो भने नेप्से सुध्रिन बाध्य हुन्छ । यदि सुध्रिएन भने नेप्से पतन भएर जान्छ । नयाँ स्टक आउँदा लगानीकर्तालाई केही पनि घाटा हुँदैन । जति घाटा हुन्छ सरकारलाई हुन्छ । आफ्नो सेयर कौडीको भाउमा बिक्री गर्न बाध्य हुन्छ । नेप्सेलाई विघटन गर्ने वा प्राइभेटमा मर्ज गराउनुपर्ने अवस्था आउँछ । सरकारले कामै गर्न नचाहेकाले नयाँ स्टक एक्सचेञ्ज ल्याएर चुनौति दिन खोजेको हो । सरकारले आफ्नै खुट्टामा बञ्चरो हानेर नयाँ स्टक लिएर आउन लागको हो । यसले लगानीकर्तालाई फाइदा नै हुन्छ । सरकारले नेप्सेमा सुधार नै गर्न नचाहेपछि नयाँ स्टक आवश्यक भएको हो । स्टक मार्केटमा लगानीकर्ताले विकल्प खोज्नु परेको हो । नेप्सेमा रहेको सेयर बिक्री गर्याे भने कर्मचारीले ५ प्रतिशत सेयर पनि पाउँछन् । नेप्सेको सेयर बाँकी नपाएका ब्रोकरलाई पनि दिए हुन्छ । जसले नेप्सेको सेयर १ हजार ५ सय रुपैयाँमा किनेर आउँछ उसैले नेप्सेमा सुधार र मार्केटको विकास विस्तार गर्छ । दुई वटा स्टक हुँदा जसले राम्रो सेवा सुविधा दिन्छ उसैकोमा लगानीकर्ता जान्छन् । दुइटा स्टक हुँदा प्रतिस्पर्धा बढ्छ । भारतमा २ वटा स्टक छन् । जसले राम्रो गरेको स्टकमा लगानीकर्ता जान्छन् । यस आधारमा हामीले निजी स्टक मार्केटको समर्थन गरेका हौं । एउटा कम्पनीको १५ प्रतिशतभन्दा बढी सेयर होल्डिङ नहुने भनेको छ । १५ प्रतिशत भन्दा बढी होल्डिङ नहुने भएपछि १ सय प्रतिशत बनाउनका लागि ७/८ वटा समूह मिलेर आउनु पर्ने हुन्छ । धेरै वटा समूह मिलेर आउँदा एउटाको मात्रै स्वार्थले काम गर्दैन । सबै कम्पनीको फरक-फरक हुन्छ । एउटै कुरा भयो भने पनि हामी लगानीकर्ताले विरोध गर्छाैं । धितोपत्र बोर्डले नियमन गर्छ । गल्ति गर्याे भने लाइसेन्स पनि खारेज हुन सक्छ । त्यो जोखिम पनि मोल्नु पर्ने हुन्छ । नयाँ स्टकले बदमासी गर्याे भने लगानीकर्ता नेप्सेमा जान्छन् । सूचीकृत कम्पनी पनि नेप्सेमा आउँछन् । नयाँ स्टकले बदमासी गर्याे भने नेप्सेले राम्रो काम गर्न सक्छ । सडकमा एक्लै दौडेर मलाई जित्ने कोही छैन भनेर दौडेर हुँदैन । जब प्रतिस्पर्धी आँउछ त्यो भन्दा अघि दौडिन्छ । जोखिम मोलेर पैसा लगानी गरेर ३ अर्बको पूँजी बनाएको हुन्छ । नयाँ स्टकले जथाभावी लगानीकर्तालाई शोषण गर्ने, पूँजी बजारलाई ध्वस्त बनाउन सक्दैन । यदि त्यसो गर्याे भने हामी लगानीकर्ता प्रतिवादमा उत्रिन्छौं । त्यसको अफिसमा ढुंगा हान्न जान्छौं । धितोपत्र बोर्डले त्यसलाई कारवाही गरेर लाइसेन्स नै खारेज गर्न पनि सक्छ । यदि इन्साईडर ट्रेडिङ गर्याे भने प्रहरीले छानविन गर्ने भनेको छ । निजी स्टक एक्सचेञ्जका सेयरधनी, अध्यक्ष र सीईओले इन्साइडर ट्रेडिङ गर्याे भने हतकडी लगाएर प्रहरीले लैजान्छ । उनीहरुले जोखिम मोल्नुपर्ने हुन्छ । राम्रो काम गर्ने, जोखिम लिएर आउने, पूँजी लगानी गरेर आउनेलाई स्वार्थ समूह भनेर आलोचना गर्ने आरोप लगाउने । ३ अर्बको लाइसेन्स ल्याउन ६ अर्ब लगानी गरेर ल्याउनुपर्ने बाध्यता छ । उनीहरुको त्यो ६ अर्ब पनि त जोखिममा पर्छ नी । नयाँ स्टकले गल्ति गर्याे भने लगानीकर्ता आक्रोसित भएर अफिसमा ढुंगा हान्न जान्छन् । सञ्चालकले पनि त्यो जोखिम मोल्नु पर्ने हुन्छ । यसैले अँध्यारो कोठामा बसेर स्वार्थ समहू भनेर भन्नु भन्दापनि जसले स्टक ल्याउने हो उसले जोखिम बुझेको हुन्छ । (सेयर लगानीकर्ता कोइरालासँग गरिएकाे कुराकानीमा आधारित)
पर्यटकले छुटाउनै नहुने पर्वतका ५ गन्तब्य
कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे,’ कुश्मामा होटल व्यवसाय गर्दै आएका सूर्य केसीले भने, ‘पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ’, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ । ‘पर्वत र बागलुङलाई जोडेर बन्जी निर्माण गरिए पनि यसको बढी फाइदा पर्वतलाई नै भएको छ ।’, कुश्माका दिनेश तिवारीले भने, ‘यहाँका होटल तथा रेष्टुराँ व्यवसाय फस्टाएका छन् भने गुमनाम पर्वतलाई सबैले चिन्न थालेका छन् ।’ बन्जी र स्वीङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुश्मादेखि पारी बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । पाँच सय रुपैयाँको टिकट काटे पछि मात्रै पुलको बाटो रिसोर्ट परिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइचियर, साइकिलिङ, स्काइक्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ । ‘हिजो पोखरा बसेर बिहानै कुश्मा आइकन बन्जी पनि गरिसक्यौँ ।’ रिसोर्ट परिसरमा तस्बिर खिच्नमा व्यस्त धादिङका सुसन तामाङले भने, ‘बागलुङ दर्शन गरेर आजै धादिङ फर्कन्छौँ ।’ धादिङका सुसन तामाङजस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे । ‘कुश्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महत्वका आकर्षक गन्तव्य छन् ।’ सञ्चारकर्मी अगन्धर तिवारीले भने, ‘स्थानीय सरकारको उदासिनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँ सम्मपुग्न सकेको देखिँदैन ।’ दुर्लुङकोट कुश्मादेखि दुर्लुङ गाउँपुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन । हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुग्न सकिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाटडाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ । बाइसे, चौबिसे राजाको पालादेखिनै महत्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । ‘हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ ।’ दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भने, ‘धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ ।’ उनले भने, ‘दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ । यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ ।’ केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन् । मोदीबेनी दिब्यधाम दामोदर कुण्डबाट अविरल बग्दै आएको कालीगण्डकी नदी र माछापुच्छ्रे हिमशृङखलाबाट बगेर आएको मोदिनदीको सङ्गमस्थलमा भगवान नृसिंहको पुरानो मन्दिर छ । विसं १८९० मा निर्मित यस मन्दिर क्षेत्रलाई मोदीबेनी दिब्यधाम भनेर पनि चिनिन्छ । कालीगण्डकीमा मात्र पाइने शालीग्रामलाई नृसिंह भगवान्को अवतारका रुपमा पूजाआजा गरिँदै आइएको छ । गङ्गा स्नान गरेपछि पवित्र भइने मान्यताका कारण मोदी र कालीनदीमा स्नानका लागि तीर्थाल आउने गर्छन् । ‘दाहासंस्कारका लागि पनि मोदीबेनीदिब्य धाम उत्तम मानिन्छ,’ नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले भने- ‘पहिले भारतबाट आउने धेरै तीर्थालरु यहाँ आइपुग्थे तर हिजोआज त्यो सङ्ख्या ज्यादै कम छ ।’ यातायातको सहज पहुँच नहुँदा भारतबाट मुक्तिनाथ र दामोदरकुण्ड हिँडेका तीर्थालु यहाँ एक दिन बास बसेर भोलिपल्ट बिहानै यात्रामा निस्कन्थे । यहाँ एक सय आठ तुलसीको बोट, गणेश मन्दिर, शिवमन्दिर, हनुमान मन्दिरलगायतका संरचना निर्माण गरिएको छ । कुश्मा-मुडिकुवा पुल छेउको बाटोदेखि दश मिनेटमा नै मोदीबेनी दिब्यधाम पुग्न सकिन्छ । गुप्तेश्वर गुफा बन्जीस्थलबाट मात्र पाँच मिनेटमा गुप्तेश्वर गुफा पुग्न सकिन्छ । यो गुफा डेढ किलोमिटरभन्दा बढी लामो र सात तला भएको अलौकिक गुफा हो । ‘धेरै गुफा ओरालो मुखतर्फ फर्किएर बनेका हुन्छन्, तर गुप्तेश्वर गुफा ओरालो नभइ उकालो मुख फर्किएको छ ।’ गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्थाको अध्यक्ष पृथवीनारायण शर्माले भने- ‘शिवपार्वतीको मिलन भएको ठाउँका कारण पनि यस गुफाको महत्व विशेष छ ।’ यस गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्छ । गुफाभित्र भगवान् शिवका दसौँ पाउँ, विभिन्न देवीदेउताका मूर्ति, शिवलिङ्ग शिवपञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्ति देख्न सकिन्छ । गुफाको महत्वलाई प्रचारप्रसार गर्दै उल्लेख्य पर्यटक भित्र्याउने उद्देश्यले १५ रोपनी जग्गामा ७८ फिट अग्लो शिवपार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माण भइरहेको छ । अल्पेश्वर गुफा पहिलो नेपालकै अग्लो र लामो कुश्मा-ज्ञादी झोलुङ्गे पुलबाट पाँच मिनेटको दूरीमा जङ्गलको बीचमा अल्पेश्वर गुफा अवस्थित छ । बजारबाट एकान्त मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । फराकिलो क्षेत्रफलमा रहेका हरियाली वनभित्र चराचुरङ्गीको चिरबिरले मनलाई आनन्दित बनाउने गर्छ । विसं २०६४ मा कटुवा चौपारीका केही युवाले गुफा पत्ता लगाएका थिए । गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ । तीन तला रहेको गुफाभित्र प्राकृतिक तालतलैया र छहरा छन् । एडभेन्चर मन पराउनेका लागि यस गुफा उत्कृष्ट गन्तव्य भएको अल्पेश्वर गुफा पर्यटकीय केन्द्र पर्वतका पूर्व अध्यक्ष नारायण अधिकारीको भनाइ छ । उनका अनुसार यस गुफामा विभिन्न प्रजातिका २० हजारभन्दा बढी चमेरा बस्छन् । ‘सदरमुकामबाट नजिकमा भएर पनि ओझेलमा परेको छ,’ उनले भने- ‘चुन ढुङ्गाबाट बनेका ३३ कोटी देवीदेउताको मूर्ति जताततै देख्न सकिन्छ । कम्तीमा दुई घण्टा यहाँभित्र मज्जाले भुल्न सकिन्छ ।’ सहस्रधारा सहस्रधारा पुग्न कुश्माबाट यातायातको साधनमा जम्मा १५ मिनेट लाग्छ । बाह्रै महिना पहाडबाट खस्ने झरना हेर्न र नजिकै रहेको लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न केही पर्यटक आउने गरेका छन् । तर यसको प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भएर पनि ओझेलमै परेको छ । कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्या बस्ने र सहस्रधारामा स्नानका लागि जाने गरेको किम्वन्दती छ । यसलाई शिव र पार्वतीको क्रिडास्थलको रुपमा लिने गरिएको छ । धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय बताउँछन् । केही वर्ष अघि स्थानीयस्तरबाट सह्रसधारा दिब्यधामलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचले महायज्ञको आयोजना गरिएको थियो । सङ्कलित रकमले एक सय आठ गौ धारा निर्माण, शिवको मूर्ति, मन्दिरलगायत पूर्वाधारको समेत निर्माण गरियो तर, उचित प्रचारप्रसार र व्यवस्थापन नहुँदा सोचेअनुरुप पर्यटक भने भित्रन सकेका देखिँदैन । कुश्मामा रहेका अग्ला र लामा झोलुङ्गे पुल, बन्जी, जिपलाइनलगायत साहसिक खेलले पर्वतको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको छ । अब यहाँ आइपुग्ने पर्यटकलाई अन्य प्राकृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय गन्तव्यसम्म पुर्याउने वातावरणको सिर्जना गरिनु आवश्यक छ । रासस