काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् ।
लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको व्यवस्था गरिदिन उर्जा मन्त्री भुसालसँग माग गरेका छन् ।
सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरीकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री अथकले तत्कालकालागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिंचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिंचाइको व्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताएका थिए ।
यसैबिच, मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका छन् ।