काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्याब्सनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रवृत्तिप्रति कडा आपत्ति जनाएको हो । विज्ञप्तिमा आलोचनाको अधिकार लोकतन्त्रको आधार भए पनि अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको आवरणमा उचित ठहर गर्न नसकिने स्पष्ट पारिएको छ ।
नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौँदेखि पुर्याउँदै आएको योगदान, लगानी र प्रतिबद्धता निर्विवाद रहेको प्याब्सनको भनाइ छ ।
राज्यको सीमित स्रोतसाधनका बीच निजी क्षेत्रले आफ्नै पुँजी, श्रम, जोखिम र जिम्मेवारी वहन गर्दै शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई पूर्वाग्रहपूर्ण टिप्पणी वा केही व्यक्तिगत घटनाका आधारमा अवमूल्यन गर्नु न्यायोचित नहुने तथा समग्र क्षेत्रलाई दोषारोपण गर्ने, संस्था र नेतृत्वको सार्वजनिक प्रतिष्ठामा प्रहार गर्ने र भ्रमपूर्ण धारणा फैलाउने प्रवृत्तिप्रति आपत्ति जनाइएको छ ।
प्याब्सनले आफू विद्यालय सञ्चालकहरूको जिम्मेवारीबाट विमुख नरहेको उल्लेख गर्दै शिक्षक तथा कर्मचारीका पारिश्रमिक, सेवासुविधा, पेशागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा विद्यालयहरू अझ जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिएको छ ।
जायज गुनासाहरूको निष्पक्ष सम्बोधन, कानुनको पालना र आवश्यक सुधार साझा दायित्व भएको बताउँदै विज्ञप्तिमा सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय तथा संस्थागत प्रक्रियामार्फत उठाउनुपर्नेमा जोड दिइएको छ। त्यस्ता विषयलाई सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको माध्यम बनाइनु समस्या समाधानको जिम्मेवार बाटो नभएको प्याब्सनले स्पष्ट पारेको छ ।
विशेषगरी स्वयं शैक्षिक संस्था सञ्चालन गरिरहेका तथा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादाको पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
असहमति राख्ने अधिकार सबैलाई भए पनि अरूको प्रतिष्ठा र संस्थागत सम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई नरहेको जनाइएको छ । कुनै विषयमा समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानबिन र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै प्याब्सनले तथ्यहीन आरोप, अपमानजनक अभिव्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्न दृढ रहने चेतावनी दिएको छ ।
प्याब्सन संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासको पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ । निजी विद्यालयको योगदानको सम्मान र विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काको विरोधी नभई परिपूरक रहेको तथा समग्र शिक्षा क्षेत्रको गरिमा, विश्वसनीयता र सम्मान कायम राख्नु सबैको साझा दायित्व रहेको प्याब्सनले जनाएको छ ।
विज्ञप्तिमार्फत आलोचना तथ्यमा आधारित हुनुपर्ने, अभिव्यक्ति मर्यादित हुनुपर्ने र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित रहनुपर्नेमा जोड दिइएको छ । उक्त प्रेस विज्ञप्तिमा प्याब्सनका महासचिव आरवी कटवाल र अध्यक्ष कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।