
काठमाडौं । यसपटकको दशैंमा सार्वजनिक सवारी साधनमा भाडा वृद्धि नहुने भएको छ । यातायात व्यवसायीहरुले साविककै दरमा असोज १ गतेबाट दशैंको लागि अग्रिम टिकट काट्न सकिने जनाएका छन् ।
देशमा विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीको लागि बसेकाहरुको लागि दशैँ मनाउन घर जान अग्रिम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केही वर्षदेखि दशैँ अगाडि नै टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।
यसपटकको दशैंमा राजधानी लगायत अन्य ठाउँबाट हवाई उडानमार्फत् घर जानेहरुका लागि हवाई भाडा महँगो भएको छ । दुईदिन यता हवाइ टिकट काट्न सकिने मोवाइल एप्लिकेसनमा हवाई भाडाको न्यूनतम दर वृद्धि गरेर राखिएको छ ।
हवाई सेवा सञ्चालकहरुले दशैंको ६० प्रतिशतभन्दा लागि अग्रिम टिकट बुकिङ भइसकेको जनाएका छन् । तर, सार्वजनिक यातायात व्यवसायीले झैं दशैंको लागि हवाई सेवा सञ्चालकहरुले भने अग्रिम बुकिङको आह्वान नै नगरी गुपचुपमा नै टिकट बुकिङ भएको बताएका हुन् ।
दुर–दराज क्षेत्रमा हवाई मार्गमार्फत् जाने यात्रुहरुको लागि हवाई सञ्चालकहरुले गुपचुपमा गरेको भाडा वृद्धि र बुकिङ भैसकेको कुराले चिन्ता उत्पन्न गराएको छ । यात्रुहरुले सार्वजनिक सवारीसाधनको अग्रिम टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने बताएका छन् ।
अनलाइनबाटै बसको टिकट बुकिङ गर्नका लागि बस सेवा लगायतका प्लेटफर्म उपलब्ध रहेका छन् । टिकट बुकिङको शुल्क इसेवा, खल्ती, आईएमई पे लगायत प्रयोग गरी अनलाइनबाटै तिर्न सकिन्छ ।