काठमाडौं । काठमाडौंको पूरानो बसपार्कमा रहेको काठमाडौं भ्यू टावरको अगाडिको सडक भाँसिएकाे छ । हालसालै कंक्रिट ढलान गरेकाे उक्त सडकमा एक्कासी भ्वाङ परेर भाँसिएकाे हाे ।
काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीले मंगलबारको अविरल वर्षा र सडकभित्र माटो भरिएको कारण सडकमा भ्वाङ परेको हुन सक्ने जानकारी दिए । उनका अनुसार अहिले भ्वाङ परेको सडकको पुननिर्माण भइरहेको छ ।
दुई महिना अगाडि मात्रै सो सडक काठमाडौं भ्यू टावरले निर्माण गरेको थियो । सडक ढलान गरिएको भएपनि भ्वाङ परेको हो । अहिले सो सडकको पुनर्निर्माण काठमाडौं भ्यू टावरले नै गरिरहेको छ ।
सडकमा भ्वाङ परेपछि अहिले सो सडकमा सवारी साधनको आवतजावत बन्द छ । सवारी साधन आवतजावत बन्द भएपछि सर्वसाधारणलाई समस्या भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २८ को वडा कार्यालय समेत सोही ठाउँमा छ ।
