काठमाडाैं । प्रधानमन्त्री शेरबहादुरले देउवाले देशको आम्दानी नहुँदा कर्मचारीलाई पनि विदेशबाट पैसा मागेर तलब दिनुपर्ने अवस्था भइसकेको बताएका छन् । बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताउँदै देश बनाउन सबै जिम्मेवार हुनुपर्ने बताए ।
‘तपाईंहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ, पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो, काम हुनुपर्छ नि, देशको आम्दानी हुनुपर्छ नि, ब्यूरोकेसीको सहयोग बिना कुनैपनि देश अघि बढ्दैन, जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोकेसी हो नि, उसले गर्दैन त कसरी देश बन्छ ?,’ उनले भने ।
प्रधानमन्त्री देउवाले देश विकासको लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको पनि बताए । ‘कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन, सबै जिम्मेवार हुनुपर्छ, जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि, त्यही भएर तपाईंहरु काम गर्नुहोस्, के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ,’ उनले भने ।