नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि हुँदै

<p>काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।  बिहीबारदेखि काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलन हुने भएको हो । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ नेपाल उद्योग परिसंघले सरकारसँगको साँझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको [&hellip;]</p>

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।  बिहीबारदेखि काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलन हुने भएको हो ।

दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ नेपाल उद्योग परिसंघले सरकारसँगको साँझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ ।

सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ ।

आयोजक परिसङ्घकाअनुसार सम्मेलनको थिम विकासका लागि पूर्वाधार ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ’ रहेको छ । सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०७६/७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतमा नै सीमित भयो । आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गरिरहेको छ ।

नेपालले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ  भने कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अङ्कको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य देखिएको छ ।

नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्ने विश्वास विश्वास रहेको परिसङ्घले जनाएको छ ।

परिसङ्घद्वारा मङ्गलबार जारी विज्ञप्तिमा सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने बताइएको छ ।

पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रूपमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका मेयरहरू, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क, एशियाली विकास बैङ्क, विश्व बैङ्क, प्राध्यापकहरूको प्रस्तुती हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक रहेको नेपाल पूर्वाधार सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेको छ ।

पूर्वाधार सम्बन्धी महत्वपूर्ण रहेको सो सम्मेलनमा विकासप्रेमी व्यक्ति तथा सरोकारवाला संस्थाहरूलाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।

सम्मेलनको टाइटल स्पोन्सरमा सगरमाथा सिमेन्ट र जेसिबी, प्लाटिनम स्पोन्सरमा नेपाल इन्भेष्टमेन्ट बैंक, गोल्ड स्पोन्सरमा नेपाल दूरसञ्चार प्राधिकरण र भूमी रहेका छन् । यसैगरी सिल्भर स्पोन्सरमा स्ट्याण्डर्ड चार्टर्ड, आइएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क रहेका छन् ।

Share News