भारत पुगेर गृहमन्त्री गुरुङले राखे दुई महत्त्वपूर्ण प्रस्ताव
काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुँदै उनले अपराध नियन्त्रणका लागि सीमापार सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त पहल आवश्यक रहेको बताएका हुन् । गृहमन्त्री गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत बैठकमा नेपालका तर्फबाट राखेका धारणा र भारतीय समकक्षी अमित शाहसँग भएको छलफलबारे जानकारी दिएका छन् । आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौती बढिरहेको उल्लेख गर्दै उनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् । ‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ भन्ने मान्यता नेपालको तर्फबाट मैले स्पष्ट रूपमा राखेको छु,’ उनले लेखेका छन्, ‘यसका लागि प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य छ ।’ बैठकमा नेपालले प्राकृतिक विपद् व्यवस्थापनका लागि समेत नयाँ क्षेत्रीय संयन्त्र निर्माणको प्रस्ताव अघि सारेको छ । प्राकृतिक विपत्तिले मुलुकको सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै गुरुङले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका हुन् । यसैबीच, बैठकका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबीचका साझा सुरक्षा चासो तथा सुरक्षा क्षेत्रमा देखिएका नयाँ चुनौतीबारे छलफल भएको उनले जानकारी दिएका छन् । दुवै गृहमन्त्रीले द्विपक्षीय सुरक्षाका परम्परागत तथा नवीन चुनौती सम्बोधन गर्न आपसी समन्वय र सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटवार्तामा सुरक्षा मामिलासँगै नेपाली उद्योगी, व्यापारी र भारतमा रहेका प्रवासी नेपालीका समस्याले पनि प्राथमिकता पाएका थिए । गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँच विस्तार गर्दा सामना गर्नुपरेका चुनौती र भारतमा कार्यरत तथा बसोबास गर्दै आएका नेपालीका समस्याबारे भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए । उनका अनुसार यी विषयमा भएको छलफलका क्रममा भारतीय पक्षले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ । गृहमन्त्री गुरुङ आज साँझ ७ बजे स्वदेश फर्कने कार्यक्रम छ।
नेपाली चिया, कफी र पश्मिनालाई दक्षिण अफ्रिकी बजारमा पुर्याउन चेम्बरको जोड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटवार्तामा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको हो । भेटमा चेम्बर अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, बजार पहिचान तथा संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाली पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्री दक्षिण अफ्रिकी बजारमा प्रवर्द्धन गर्न सकिने उल्लेख गरे । कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा समेत सहकार्यको पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो । अग्रवालले नेपाली उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोड्न सकिने बताए । कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापनमा संयुक्त परियोजना सञ्चालन गर्न सके निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान पुग्ने उनले उल्लेख गरे । त्यस्तै, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायु अनुकूल पूर्वाधार विकासमा सहकार्यका अवसर खोज्नुपर्नेमा उनले जोड दिए। नेपालको हिमाली तथा सांस्कृतिक पर्यटनलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना पनि उनले औँल्याए। नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापारिक सम्बन्धलाई परिणाममुखी बनाउन चेम्बर, कूटनीतिक नियोग र सम्बन्धित सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको अग्रवालले बताए। दुवै देशका निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह गठन, प्राथमिकताका वस्तु तथा सेवाको सूची तयार र सम्भावित लगानी परियोजना पहिचान गरेर सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो। दक्षिण अफ्रिकाका राजदूत प्रा. सुकलालले नेपालसँग निजी क्षेत्रको सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउन सकिने क्षेत्रबारे चर्चा गर्दै पूर्वाधार विकास तथा खानी र खनिज क्षेत्रलाई प्राथमिकतामा राख्न सकिने बताए। उनले दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै उनीहरूको अनुभव नेपालका पूर्वाधार आयोजनामा उपयोगी हुन सक्ने बताए। त्यसैगरी, खानी तथा खनिज अन्वेषणमा दक्षिण अफ्रिकासँग लामो अनुभव र प्राविधिक दक्षता रहेको उल्लेख गर्दै नेपालमा उपलब्ध खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा सहकार्य गर्न सकिने उनले बताए। राजदूत सुकलालले भारत र दक्षिण अफ्रिकाबीच निजी क्षेत्रको व्यापारिक सहकार्यलाई पुनः सक्रिय बनाउने क्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेटेर सहकार्यका क्षेत्र पहिचान गर्ने पहल भइरहेको जानकारी दिए। उक्त अनुभवले नेपालसँगको व्यावसायिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो। भेटमा व्यापार विस्तारका क्रममा देखिने ढुवानी तथा पारवहन, भिसा प्रक्रिया, गुणस्तर मापदण्ड र लगानी स्वीकृतिसम्बन्धी अवरोध समाधान गर्न द्विपक्षीय समन्वय प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको थियो। भेटवार्तामा दक्षिण अफ्रिकाका लागि नेपालका मानार्थ वाणिज्यदूत प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा तथा आईटी समितिका सभापति विज्ञान श्रेष्ठलगायतको उपस्थिति थियो।
धर्म प्रचार गर्ने २४ कोरियाली डिपोर्ट
काठमाडौं । नेपालमा पर्यटक भिसामा आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै नेपालबाट प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल आउन नपाउने निर्णय गरेको हो । विभागका अनुसार नेपालमा उनीहरूको बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई विभागमा उपस्थित गराएको थियो । उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती मार्गको ‘सुन्दर डाँडा’ क्षेत्रमा रहेको नेपाल न्यु कभेनन्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए । पर्यटक भिसामा आएका उनीहरू धार्मिक गतिविधिमा सहभागी भएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो । विभागका अनुसार पक्राउ परेका सबै दक्षिण कोरियाली नागरिकको भिसा अवधि भने वैध थियो । तर, भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै प्रचलित अध्यागमन कानुनअनुसार उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । असोज २८ गतेको निर्णयअनुसार उनीहरूको भिसा रद्द गरी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको विभागले जनाएको छ ।
सूर्यज्योति लाइफको नयाँ सुविधा, घरमै बसेर अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर जोन’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकलाई बीमासम्बन्धी सेवा सहज, सुरक्षित र छिटो उपलब्ध गराउने उद्देश्यले उक्त पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार कस्टमर जोनमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका बीमा दाबीको अवस्था हेर्न सक्नेछन् । डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई आफ्ना बीमासम्बन्धी विवरणमा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउने उद्देश्यले यो पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कसरी अद्यावधिक गर्ने केवाईसी विवरण ? ग्राहकले सूर्यज्योति लाइफको आधिकारिक वेबसाइटमा गई ‘कस्टमर जोन’ विकल्पमा क्लिक गरेर प्रक्रिया सुरु गर्न सक्नेछन् । त्यसपछि कम्पनीमा दर्ता गरिएको मोबाइल नम्बर वा इमेल ठेगानामार्फत लगइन गर्न सकिनेछ । पहिलो पटक लगइन गर्ने ग्राहकले दर्ता गरिएको मोबाइल नम्बर वा इमेल प्रयोग गरी पासवर्ड सेट गर्न सक्नेछन् । साथै, उपलब्ध व्यवस्थाअनुसार एकपटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओटीपी) मार्फत पनि लगइन गर्न सकिनेछ । लगइन गरेपछि ‘केवाईसी विवरण’ खण्डमा गई कम्पनीको प्रणालीमा रहेको आफ्नो व्यक्तिगत विवरण जाँच गर्न र आवश्यक विवरण अद्यावधिक गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक राख्दा बीमा सेवा तथा ग्राहकसम्बन्धी आवश्यक प्रक्रिया सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ । कस्टमर जोन प्रयोग गर्ने वा केवाईसी विवरण अद्यावधिक गर्ने क्रममा समस्या आएमा ग्राहकले इमेल, ह्वाट्सएप, फेसबुक तथा ल्यान्डलाइनमार्फत कम्पनीसँग सम्पर्क गर्न सक्नेछन् । साथै, नजिकको शाखा कार्यालय वा केन्द्रीय कार्यालयबाट पनि आवश्यक जानकारी लिन सकिनेछ । कम्पनीले कस्टमर जोनलाई ग्राहकका लागि एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ । आगामी दिनमा यस प्लेटफर्ममा उपलब्ध सेवाहरू थप विस्तार गर्दै बीमासम्बन्धी जानकारी र सेवा प्रवाहलाई अझ छिटो, सरल तथा प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २० करोडको ऋणपत्र खुल्यो, ६ प्रतिशत ब्याज पाइने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी निष्कासन गरेको ‘६% आरबिबिएल डिबेन्चर २०८९’ मा असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई बराबरको १ अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्याइएको छ । बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाई बराबरको १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि खुला गरिएको हो । सात वर्ष अवधि रहेको यस ऋणपत्रमा लगानीकर्ताले कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म लम्बिन सक्ने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्कासित सबै इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ । बैंकका अनुसार देशभर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
जीवन बीमकको विभिन्न क्षेत्रमा ९ खर्बभन्दा बढी लगानी, कुन कम्पनीको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ९ खर्ब रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ९ खर्ब ९ अर्ब ९० करोड ४० लाख रुपैयाँ लगानी गरेका हुन् । बीमा कम्पनीहरूले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गरेका छन् । मुद्दति निक्षेपमा मात्रै कम्पनीहरूले ५ खर्ब ४४ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ लगानी गरेका हुन् । बीमा कम्पनीहरूले वाणिज्य बैंकहरूमा मात्रै ५ खर्ब ३७ अर्ब ३१ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, विकास बैंकहरूको मुद्दति निक्षेपमा ४४ अर्ब ५८ करोढ १८ लाख रुपैयाँ र वित्त कम्पनीमा ६ अर्ब ८३ लाख रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी, बीमा कम्पनीहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा ८६ अर्ब ७७ करोड ३५ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरूको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ खर्ब ६४ करोड लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, बीमा कम्पनीहरूले नागरिक लगानी कोष र म्युचुअल फन्डमा ११ अर्ब २३ करोड, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा २० अर्ब २६ करोड ७ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ३ अर्ब ३१ करोड लगानी गरेका छन् । कुन कम्पनीको कति लगानी ? प्राधिकरणको तथ्यांकअनुसार विभिन्न क्षेत्रमा सबैभन्दा धेरै लगानी नेपाल लाइफको रहेको छ । कम्पनीले एक वर्षमा २ खर्ब ४६ अर्ब ३० करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेनले विभिन्न क्षेत्रमा १ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ । तेस्रोमा नेशनल लाइफले ९० अर्ब २९ करोड रुपैयाँ लगानी गरेको छ। त्यस्तै, हिमालयन लाइफले ९१ अर्ब १६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ६३ अर्ब ५४ करोड, सूर्यज्योति लाइफले ५३ अर्ब ४ करोड, एशिएन लाइफले ५२ अर्ब ७४ करोड लाख रुपैयाँ संकलन गरेका छन् । त्यसैगरी, मेट लाइफले ३५ अर्ब ७ करोड रुपैयाँ, सिटिजन्स लाइफले ३० अर्ब ४९ करोड, सानिमा रिलायन्सले २७ अर्ब ५२ करोड, रिलायबल नेपालले २५ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २२ अर्ब ४८ करोड रुपैयाँ, आईएमई लाइफले २३ अर्ब २८ करोड रुपैयाँ र सन नेपाल लाइफले १७ अर्ब १६ करोड रपैयाँ लगानी गरेका छन् ।
ओलीद्वारा नुवाकोटका बाढीपीडितलाई १८ अस्थायी आवास हस्तान्तरण
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटका बाढीपीडित परिवारलाई निर्मित १८ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् । एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नेतृत्वमा निर्माण गरिएका आवास ओलीले बुधबार हस्तान्तरण गरेका हुन् । नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएका आवासको पहिलो चरणको काम सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो । जिफन्टको अगुवाइमा निर्माण गरिएका अस्थायी आवासमा बाढीबाट प्रभावित परिवारलाई बसोबासको व्यवस्था मिलाइएको छ । प्रत्येक आवासमा शौचालय, बिजुली र पानीको सुविधासमेत उपलब्ध गराइएको छ । बाढीका कारण घरबार गुमाएका वा आवासमा क्षति पुगेका परिवारलाई तत्काल बसोबासको व्यवस्था गर्न अस्थायी आवास निर्माण गरिएको हो। प्राकृतिक विपत्तिपछि प्रभावित परिवारको पुनःस्थापना र आधारभूत आवश्यकताको व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले यस्ता आवासले उनीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ। जिफन्टको नेतृत्वमा सञ्चालित आवास निर्माण अभियानमा श्रमिक तथा स्वयंसेवकहरू सहभागी भएका थिए। पहिलो चरणमा १८ वटा आवास निर्माण सम्पन्न गरी प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो। आवास हस्तान्तरणसँगै बाढीपीडित परिवारलाई सुरक्षित बसोबासको तत्कालीन समस्या समाधान गर्न सहयोग पुगेको छ। यद्यपि, अस्थायी आवासले तत्कालको आवश्यकता पूरा गरे पनि प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना, स्थायी आवास निर्माण र जीविकोपार्जनको व्यवस्थापन महत्त्वपूर्ण रहनेछ।
माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले बैंकको अध्यक्षमा रोशन केसीलाई पुनः नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतो निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन् । सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो । पोखरामा सम्पन्न साधारणसभामा बैंकका संस्थापक तथा सर्वसाधारण सेयरधनीको उल्लेख्य सहभागिता रहेको थियो ।