८७ वर्षीया राजी राणाले प्रधानमन्त्री राहत कोषमा गरिन् १ करोड ९ लाख सहयोग

काठमाडौं । ८७ वर्षीया राजी राणाले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन् ।

उक्त रकम व्यक्तिगततर्फबाट कोषमा प्राप्त हुने ठूलो सहयोगमध्ये एक हो ।

उक्त रकमको चेक राणाका सहयोगी कृष्ण बस्नेतले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मन्त्रालयमा हस्तान्तरण गरे ।

राणाको सहयोगप्रति अर्थमन्त्री वाग्लेले धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो तर्फबाट ८० हजार रुपैयाँ सहयोग गरेका छन् । 

यसैगरी, राणाले २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री समेत सहयोग गर्ने तयारी गरेकी छन् । 

आवश्यकताका आधारमा अर्थ तथा गृह मन्त्रालयसँग समन्वय गरी विपद् प्रभावित क्षेत्रमा उक्त सहयोग उपलब्ध गराइने बस्नेतले जानकारी दिए ।

Share News