काठमाडौं । अध्यागमन विभागले कैलाश मानसरोवरबाट फर्कने विदेशीलाई हुम्लाको हिल्सा नाका हुँदै फर्कन आग्रह गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीन प्रवेश गर्ने सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्न अध्यागमन विभागले सहजीकरण गरेको हो ।
बाढीका कारण रसुवागढी नाका हुँदै नेपाल फर्किने अवस्था नरहेकाले नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाकालाई वैकल्पिक रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको हो ।
अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ अनुसार हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्ने तथा तोकिए बमोजिमको पदयात्रा दस्तुर तिर्नुपर्ने व्यवस्था छ।
तर, विषम परिस्थितिलाई मध्यनजर गर्दै मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखी कैलाश मानसरोवर तीर्थयात्रीको सहज आवतजावत सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ।
भदौ ११ गतेदेखि लागू हुने गरी एक हप्ताका लागि, रसुवास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर कैलाश मानसरोवर तीर्थयात्रामा गएका र फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको छ।
त्यस्तै, उक्त अवधिमा सो क्षेत्रमा पदयात्रा अनुमति लिनका लागि विदेशी नागरिक तथा ट्रेकिङ गाइडको बीमा र ट्रेकिङ गाइडसम्बन्धी व्यवस्थालाई समेत अनिवार्य नगरिएको सूचनामा उल्लेख छ।
बाढीबाट प्रभावित रसुवा नाका बन्दजस्तै भएपछि अलपत्र पर्न सक्ने तीर्थयात्रीको सुरक्षित र नेपाल फिर्तीका लागि यो सहज व्यवस्था गरिएको बताइएको छ ।