काठमाडौं । भोटेकोसी नदीमा आएको भिषण बाढीले ठूलो क्षति पुर्याउँदा रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शुक्रबार एक जानकारी सार्वजनिक गर्दै दुवै जिल्लाका गरी कुल १३ वटा जलविद्युत् आयोजना बाढीबाट क्षतिग्रस्त भएको र त्यसमध्ये ११ वटा आयोजनाका जनशक्ति सम्पर्कविहीन बनेको पुष्टि गरेको छ ।
इप्पानका अनुसार बाढीका कारण सबैभन्दा बढी जनशक्ति रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा प्रभावित भएका छन्, जहाँ ५७६ जना सम्पर्कबाहिर छन् ।
यसैगरी रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, लाङटाङ खोलाका ४२ जना, चिलिमेका आठ जना, मेलुङ खोलाका सात जना र रसुवा-भोटेकोसी आयोजनाका चार जना पनि हालसम्म सम्पर्कमा आउन सकेका छैनन् ।
यता नुवाकोट जिल्लामा निर्माणाधीन र सञ्चालनमा रहेका ६ वटा आयोजनामध्ये पाँच वटाका २०४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
जसमा माथिल्लो त्रिशूली-३ ‘बी’ का १५८ जना, माथिल्लो त्रिशूली-३ ‘ए’ का ४२ जना, मिडल त्रिशूली गंगाका दुई जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक/एक जना रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको र हालसम्म माथिल्लो त्रिशूली-१ का २५४ जनाको सकुशल उद्धार भइसकेको इप्पानले जनाएको छ ।
अन्य आयोजनाहरूमा पनि उद्धार टोली परिचालन गरी बाँकी व्यक्तिहरूको खोजी तथा उद्धारको पहल भइरहेको छ ।