विकासन्युज

आत्मदाह प्रयास गरेका मण्डलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले विकासन्युजलाई जानकारी दिए ।  उनका अनुसार सर्लाहीबाट ल्याउँदा ८५(९० प्रतिशत शरीर जलन भएको थियो । शरीर जलेर गहिरो घाउ भएको थियो । मण्डलले पेट्रोल छर्केर आफैंलाई आगो लगाएका थिए । शुक्रबार मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

सरकारी ठेक्काबाट बाहिरिए ५ निर्माण कम्पनी, ३ वर्षसम्म प्रतिबन्ध

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा पाँच निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २९ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम कालोसूचीमा राखिएको जनाएको हो ।  कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।  सडक डिभिजन विराटनगरको सिफारिसमा गढी गाउँपालिका-३, सुनसरीस्थित सरोज कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।  यस्तै, सडक डिभिजन पोखराको सिफारिसमा ललितपुरको सानेपास्थित शान्ति/आरोग्य जेभी (आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, इच्छाकामना गाउँपालिकाको सिफारिसमा भक्तपुरको मध्यपुर थिमिस्थित क्रेटर कन्स्ट्रक्सन प्रालि र सडक डिभिजन सुर्खेतको सिफारिसमा कलंकि काठमाडौंस्थित कृष्टल एण्ड श्रषण निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, सडक विभागअन्तर्गत मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास (गुल्मी) को सिफारिसमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा)प्रालि लाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीको अवधि समाप्त नहुँदासम्म कुनै पनि सरकारी खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन् ।

२ महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन, ३३ लाख निकासा

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि हालसम्म भएका काम र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो । मन्त्रालयका अनुसार प्रतिवेदन औपचारिक रूपमा बुझाइए पनि परीक्षण उत्पादनको तयारी भने यसअघि नै सुरु भइसकेको छ । अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयले उद्योगका मेसिन मर्मत र अन्य प्राविधिक तयारी अघि बढाइसकेको छ ।  सरकारले दिएको निर्देशनानुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने म्याद पाएको छ । सोही म्यादलाई ध्यानमा राखेर हाल तीव्र रूपमा काम अगाडि बढिरहेको प्रतिवेदनमा उल्लेख छ । उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ, जसले गर्दा प्रारम्भिक कामहरू गर्न सहज भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोलीले उद्योग स्थलमा खटिएर सरसफाइ कार्य तीव्र पारेको छ । टोलीले परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको र सेनाको उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिन मर्मतको काम प्रारम्भ गरेको छ । उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट ५० लाख रुपैयाँको लागत अनुमान पेस भएको छ । सोही अनुमानका आधारमा पूर्वाधार मन्त्रालयले संरचनाहरू मर्मत गर्ने जिम्मेवारी लिएको छ । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हाल हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ र हालसम्म बिजुली मर्मतको कामसमेत सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख छ । तत्कालका लागि परीक्षण उत्पादनकै उद्देश्यले पुराना मेसिनहरूलाई मर्मत गरेरै सञ्चालन गरिनेछ । परीक्षण उत्पादनको नतिजा र आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । सोही अनुरूप आवश्यक कानुनी तथा अन्य नीतिगत निर्णयहरू गर्दै सरकार अगाडि बढ्ने प्रतिवेदनमा औंल्याइएको छ । उद्योगमन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले कार्यदलका सुझाव कार्यान्वयन गर्दै तोकिएको समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

२१.२० खर्ब रेमिट्यान्स, ३७.५५ खर्ब विदेशी मुद्रा सञ्चिति, महँगी र व्यापार घाटा चुनौती

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, चालु खाता र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ । यद्यपि, आयात निर्यातभन्दा तीव्र गतिमा बढ्दा व्यापार घाटा विस्तार भएको छ भने जेठ महिनामा वार्षिक मुद्रास्फीति ५.२२ प्रतिशत पुगेर महँगीको दबाब पनि बढेको देखिएको छ । मूल्यवृद्धि ५.२२ प्रतिशत, फलफूल र यातायातमा उच्च वृद्धि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैर-खाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत थियो । यद्यपि, चालु आर्थिक वर्षको पहिलो ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिको ४.२४ प्रतिशत भन्दा कम हो ।  खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्य सबैभन्दा धेरै १७.४० प्रतिशत बढेको छ । त्यसपछि घ्यू तथा तेल १५.१० प्रतिशत, माछा तथा मासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशत महँगिएको छ भने दाल तथा गेडागुडीको मूल्य ०.९३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा १६.६८ प्रतिशत, यातायात १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५३ प्रतिशत महँगिएको छ । क्षेत्रगत रूपमा सहरी क्षेत्रमा मुद्रास्फीति ५.३८ प्रतिशत र ग्रामीण क्षेत्रमा ४.७८ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ । यस्तै, मधेश प्रदेशको ५.६२ प्रतिशत, बागमती प्रदेशको ४.७९ प्रतिशत, गण्डकी प्रदेशको ५.०५ प्रतिशत, लुम्बिनी प्रदेशको ५.६२ प्रतिशत, कर्णाली प्रदेशको ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ । त्यस्तै, भौगोलिक क्षेत्रअनुसार तराईमा मुद्रास्फीति ५.७४ प्रतिशत, पहाडमा ५.०७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत र हिमाली क्षेत्रमा ३.७१ प्रतिशत रहेको छ ।  २१.२० खर्ब रेमिट्यान्स भित्रियो, जेठमा मात्रै २ खर्ब बढी चालु आवको ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनामा यो रकम १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा डलरमा विप्रेषण २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो वृद्धि १२.८ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ थियो ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो । ११ महिनामा व्यापार घाटा १६ खर्ब नाघ्यो  चालु आवको जेठसम्म नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा निर्यात ७७.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.२ प्रतिशतले बढेको छ । तर चीनतर्फको निर्यात ३५.८ प्रतिशतले घटेको छ । वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, चाउचाउ र ब्रानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामानको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ । साथै, समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा आयात १३.१ प्रतिशतले बढेको थियो । मुलुकगत आधारमा भारतबाट आयात ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको छ ।  वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पाट्र्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट, लसुन, एमएस तार, छड, बार, क्वाइल र एमएस बिलेटको आयात घटेको छ । आयात उच्च दरले बढेसँगै कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि हुँदै १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत मा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५.१ प्रतिशत थियो । बाह्य क्षेत्र थप मजबुत  समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरू उल्लेख्य रूपमा सुधारिएका छन् । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ बचतमा थियो । अमेरिकी डलरमा पनि चालु खाताको स्थिति थप बलियो बनेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ३७ करोड अमेरिकी डलर बचतमा रहेको चालु खाता यस वर्ष ५ अर्ब ५३ करोड अमेरिकी डलर बचतमा पुगेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ९६ करोड रुपैयाँ भन्दा उल्लेख्य बढी हो ।  त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई-इक्विटी मात्र) २२ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ बचतमा पुगेको छ । गत वर्ष सोही अवधिमा शोधनान्तर बचत ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर बचत ६ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो ३ अर्ब ६२ करोड अमेरिकी डलर बचतमा रहेको थियो ।  विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा राष्ट्र बैंकका अनुसार चालु आवको जेठसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि हुँदै ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । जबकि २०८२ असारमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड डलरबाट २६.५ प्रतिशतले बढेर २४ अर्ब ६८ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन गत असारको तुलनामा ३७.९ प्रतिशतले बढी हो । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ६१.८ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो । जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी मुद्रा सञ्चिति २२.५ महिनाको वस्तु आयात तथा १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । त्यस्तै, जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको अनुपात ६१.५ प्रतिशत, कुल आयातसँगको अनुपात १५९.५ प्रतिशत तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

८१ हजार रोपनी सार्वजनिक जग्गा अतिक्रमण, १६० संरचना हटाइयो

काठमाडौं । पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो । प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको भने प्रशंसा गरे । महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिंह चोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो । सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो । कार्यक्रममा पोखराका अन्य क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाबारे उठेका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले किन्तु परन्तु भनेर सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछाडि नहट्ने बताए । ‘केही समय भित्रै महानगरले पोखरामा रहेको सार्वजनिक जग्गाको लगत विवरण सार्वजनिक गर्छ, वनक्षेत्र समेत गरी झण्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘सार्वजनिक जग्गा यकिन गर्दा यदि कसैले जग्गा अतिक्रमण गरेको पाइएमा जग्गा खाली गर्न सूचित गर्छौं, सम्बन्धितले खाली नगरेमा प्रक्रियाअनुसार महानगर आफैले अतिक्रमण हटाउँछ, यसमा कुनै सम्झौता हुँदैन ।’ कुनै बेला पाटन र चौरका नामले चिनिने पोखरामा अहिले खुला ठाउँ देख्न पनि मुस्किल हुन थालिसकेको उनको भनाइ छ । प्रमुख आचार्यले महानगरका ३३ वटै वडामा खेलमैदान र उद्यान निर्माणको योजना अगाडि सारिएको सुनाए । उनले फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका १६० वटा संरचना हटाइसकिएको र अझै केही संरचना हट्न बाँकी रहेको बताए । अँधेरी कुनादेखि गाईघाटसम्मको ८ किलोमिटरमा समेटिएको फिर्के खोलाको किनारमा पैदलमार्ग र साइकल मार्गसहितको आकर्षक करिडोर बनाउने महानगरको योजना छ । प्रमुख आचार्यले पोखरा बसपार्कमा बसोबास गर्दै आएका सुकुमवासीको उचित व्यवस्थापनपछि बसपार्क निर्माणको काम सुरु हुने जानकारी दिए । कार्यक्रमका सहभागीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गाकै बसपार्क बनाउनुपर्ने सुझाव दिएका थिए । प्रमुख आचार्यले बसपार्क क्षेत्रमा कतिपयको व्यक्तिगत जग्गा भएकाले तीनलाई मुआब्जा दिएर अन्यत्र व्यवस्थापन गर्न सकिएमा सबै क्षेत्रमा बसपार्क बन्ने बताए । ‘व्यक्तिको लालपूर्जा भएको जग्गालाई मुआब्जा दिन नसकिने अवस्थामा अहिले रहेकै ठाउँमा व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘बसपार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ, अतिक्रमित जग्गा सबै खाली गरेर बसपार्क बनाउँछौँ ।’ पोखरा–१ स्थित टुँडीखेलको जग्गा पनि यकीन गर्ने काम छिट्टै सुरु गरिने उनले बताए । सडक, राजकुलो, चौरलगायत जुनसुकै सार्वजनिक जग्गा अतिक्रमण गर्नु कानूनविपरीत हुने उनको भनाइ छ । यदि कसैले त्यस्तो जग्गामा मिचेर निजी संरचना, व्यवसाय सञ्चालन गरेको भए पनि आफैं जग्गा खाली गर्न प्रमुख आचार्यले आग्रह गरे । प्रश्नकर्ताले महानगरको सेवा प्रवाह, विकास निर्माणका गतिविधि आदिका विषयमा प्रश्न उठाएका थिए । भूपेन्द्र गिरीले राम्रो काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्नुपर्ने बताए । उनले सार्वजनिक ठाउँमा उद्यान निर्माण गर्न महानगरलाई सुझाव दिए । स्थानीवासीले भरत चालिसेले फिर्के खोलाको मापदण्ड कायम हुनुपर्ने बताए । उनले पोखरामा रहेका राजकुलो र नहरको जग्गा पनि अतिक्रमणमा परेको भन्दै तिनको संरक्षण गर्न माग गरे । अर्का सहभागी प्रभात कँडेलले सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाउनेलाई महानगरले बेवास्था गरेको उल्लेख गर्दै कानुन सबैका लागि समान रुपमा लागू हुनुपर्ने बताए । पोखरा-१ का चन्द्रबहादुर गुरुङले १८७ रोपनी जग्गामै पोखरा बसपार्क बन्नुपर्ने धारणा राखे । यस्तै, अशोक राईले सुकुमवासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्कको निर्माणका प्रक्रिया सुरु गर्नुपर्ने बताए । कार्यक्रममा प्रविण सुवेदी, किशोर भण्डारीलगायत सहभागीहरूले महानगरको कार्यसम्पादन, सेवा प्रवाह आदिका विषयमा प्रश्न राखेका थिए । प्रमुख आचार्यसहित जवाफदेहीका तर्फबाट सहभागीका प्रश्न र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको थियो ।

५ समस्याग्रस्त सहकारीका ३ हजारलाई रकम फिर्ता, १ लाखसम्म पाइने

काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम १ लाख रूपैयाँसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नेछन् । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो । यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिए । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ । बचतकर्तालाई रकम फिर्ता गर्न करिब ९ करोड रुपैयाँ जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका १ लाख लाख रूपैयाँसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै ५ सहकारीका करिब ३ हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।  समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

आज पनि भारी वर्षाको चेतावनी, बाढी-पहिरोको उच्च जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले वर्षा हुने क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनु हुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ ।

चोरी भएका ५१ ओटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सोमबार (आज) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३५ ओटा मोटरसाइकल र १६ ओटा स्कुटर धनीहरूलाई जिम्मा लगाउनुभएको हो ।  सर्वसाधारणबाट प्राप्त निवेदन र सूचनाका आधारमा खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले केही वास्तविक र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाका सिरुटार, वाफल, भिमढुङ्गा, मुड्खु, नेपालटार, कपन, सुन्दरीजल, गोकर्ण, साङ्ला, फर्पिङ, चुनदेवी, नयाँवस्ती, बौद्ध, मंगलबजार, भैसेपाटी र कंलकी लगायतका स्थानबाट ती सवारी साधनहरू फेला पारेको थियो ।  आज बुझाइएका ५१ ओटा सहित चालु आर्थिक वर्षको गत साउन महिना यता मात्रै कुल ५८७ ओटा चोरीका सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको कार्यालयले जनाएको छ । यसका साथै प्रहरीले चोरीका ३६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तहरूमा पठाइसकेको छ । सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए ।  सोही अवसरमा कार्यालय प्रमुख सुरेश प्रसाद काफ्लेले सवारी साधन चोरी तथा हराउनबाट रोक्न सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, एकान्त ठाउँमा नलगाउन तथा ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन र जीपीएस जडान गर्न अनुरोध गरे ।  सवारी साधन हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको १०० मा फोन गर्न वा नजिकैको कार्यालयमा निवेदन दिन समेत प्रहरीले आग्रह गरेको छ ।