टक्सार पिखुवा खोलाको १ लाख ४९ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ५ गते समाप्त हुने जनाएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको उक्त सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो । लकइन अवधि समाप्त भएपछि नियमानुसार ती सेयर कारोबारका लागि फुकुवा हुन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यसमध्ये सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता सेयर छुट्याएर बाँडफाँट गरिएको थियो । सर्वसाधारणलाई सेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषको स्वामित्वमा रहेका सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लकइनमा राखिएका सेयरको अवधि मंसिर ५ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ । यसअघि सामूहिक लगानी कोषका दुईवटा योजना परिपक्व भइसकेकाले तिनको स्वामित्वमा रहेका २ हजार ५०१ कित्ता सेयर भने लकइन अवधि अगावै फुकुवा गरिएको सूचनामा उल्लेख छ ।
बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले संसद सचिवालयमा राजीनामा बुझाएका छन् । उनले मंगलबार प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका हुन् । पूर्वमन्त्रीसमेत रहेका थापाले सभामुखको कार्यकक्षमा राजीनामा बुझाएपनि सभामुख भीमबहादुर भण्डारीले उक्त राजीनामा अध्ययन गर्न नपाएको जानकारी दिए । प्रदेश सरकारले ल्याएको बजेटप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थापाले बजेट पारित भएपछि मंगलबार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
कांग्रेस सहमहामन्त्रीमा लामाको शानदार जित, १ हजार ७९९ मतको अन्तर
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ । सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन् । लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरेका छन् । त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् । आदिवासी जनजाति क्लस्टरको महिला र खुला सदस्यतर्फ पनि मतगणना सम्पन्न भएको छ । महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठ जना निर्वाचित भएका छन्। खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । महिला सदस्यतर्फ आठ जना निर्वाचित आदिवासी जनजाति महिला सदस्यतर्फ गीता गुरुङ सर्वाधिक २ हजार ८५९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निर्वाचित हुने अन्य उम्मेदवारमा डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछा मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन् । खुलातर्फ १२ जना निर्वाचित आदिवासी जनजाति खुला सदस्यतर्फ तीर्थ लामा सर्वाधिक ४ हजार ४२५ मतसहित निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२ र बुद्ध लामाले १ हजार ९५६ मत प्राप्त गरेका छन् । त्यस्तै, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी खुला सदस्यतर्फ निर्वाचित भएका छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चरले तीन कम्पनीमा १ अर्ब २९ करोड लगानी गर्ने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जलविद्युत् आयोजना र उद्योगमा लगानी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले तीनवटा आयोजना तथा कम्पनीमा कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले सङ्ग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजना, दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडद्वारा प्रवर्द्धित ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजना र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले छुजुङ खोला जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्नेछ। यसका लागि २० लाख कित्ता सेयर खरिद गर्ने निर्णय भएको छ । त्यस्तै, सोलुखुम्बु जिल्लामा अवस्थित ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। उक्त आयोजनामा कम्पनीले १ करोड कित्ता सेयर खरिद गर्नेछ । यसैगरी, मोरङ जिल्लामा अवस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय भएको छ। कम्पनीले उक्त उद्योगको २ लाख ८५ हजार कित्ता सेयर खरिद गर्नेछ । कम्पनीले यी लगानीसम्बन्धी निर्णयबारे नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ । सञ्चालक समितिको निर्णयअनुसार यी लगानीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको हो ।
लक्ष्मी सनराइज बैंकको सीईओ बने सुमेद भट्टराई, को हुन् उनी ?
काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव पियुषराज अर्यालका अनुसार भट्टराईको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ । हाल सीईओ रहेका अजय विक्रम शाहको दोस्रो कार्यकाल पुरा भएसँगै बैंकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई हाल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)का रूपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका उनले बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी सन् १९९९ सेप्टेम्बरदेखि सन् २००१ सेप्टेम्बरसम्म साविक नेपाल इन्डोस्वीज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)मा कार्यरत थिए । त्यसपछि सन् २००१ जनवरीदेखि सेप्टेम्बरसम्म साविक पूर्वाञ्चल ग्रामीण विकास बैंकमा सञ्चालकको भूमिका निर्वाह गरेका थिए । भट्टराई सन् २००१ सेप्टेम्बरदेखि सन् २००२ सम्म कुमारी बैंकमा कार्यरत थिए । उनी सन् २००२ देखि लक्ष्मी सनराइज बैंकमा आबद्ध छन् ।
पोप लियोलाई फोक्सोको क्यान्सर भएको पुष्टि, भ्याटिकनले दियो यस्तो जानकारी
काठमाडौं । पोप लियोलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ । यद्यपि उनको दाहिने फोक्सोको तल्लो भाग हटाउन गरिएको शल्यक्रिया सफल भएको भ्याटिकनले जनाएको छ । भ्याटिकनले जारी गरेको स्वास्थ्यसम्बन्धी बुलेटिनअनुसार ७१ वर्षीय पोपको मंगलबार रोमस्थित जेमेली अस्पतालमा करिब ९० मिनेटसम्म शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई फोक्सोको एडेनोकार्सिनोमा नामक क्यान्सर भएको पत्ता लागेको हो । भ्याटिकनले भनेको छ, ‘शल्यक्रिया सफल भएको छ र यस क्रममा कुनै जटिलता देखिएको छैन ।’ शल्यक्रियापछि पोप सामान्य रूपमा होसमा आएको र केही समय चिकित्सकीय निगरानीमा राखेपछि उनलाई आफ्नो कोठामा सारिएको पनि भ्याटिकनले जनाएको छ । भ्याटिकनले नियमित स्वास्थ्य परीक्षणका क्रममा पहिलोपटक पोपको फोक्सोमा गाँठो देखिएको जानकारी दिएको छ । उनलाई करिब एक साता अस्पतालमै राखिने अपेक्षा गरिएको छ । यसअघि ठूलो संख्यामा मानिसहरू पोपको प्रतीक्षामा अस्पतालबाहिर घण्टौंसम्म बसेका थिए । पोप सवार गाडी अस्पताल परिसरमा पुग्दा उपस्थित मानिसहरूले उनको अभिवादन गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । त्यस क्रममा पोपले गाडीको पछाडिको झ्यालबाट हात हल्लाउँदै र मुस्कुराउँदै उनीहरूको अभिवादन स्वीकार गरेका थिए । त्यसपछि अस्पतालको सिँढीमा कर्मचारीहरूले उनको स्वागत गरेका थिए । तीमध्ये एक कर्मचारीले सहानुभूति व्यक्त गर्दै ‘मलाई दुःख लागेको छ’ भनेका थिए । जवाफमा पोपले मुस्कुराउँदै काँध उचालेका थिए । कर्मचारीहरूले उनलाई ‘हामी तपाईंको साथमा छौं’ भन्दै आश्वस्त पारेका थिए । भ्याटिकनले जारी गरेको विज्ञप्तिमा शल्यक्रियाका क्रममा पोपको दाहिने फोक्सोको तल्लो भाग पूर्ण रूपमा हटाइएको उल्लेख छ । शल्यक्रिया आवश्यकताअनुसार पूर्ण रूपमा सम्पन्न भएको सुनिश्चित गर्न उक्त भाग हटाइएको भ्याटिकनले स्पष्ट पारेको छ । यसैबीच, भ्याटिकनका एक स्रोतले समाचार संस्था एएफपीलाई क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ वा छैन भन्ने पत्ता लगाउन थप परीक्षण भइरहेको जानकारी दिएका छन् ।
फर्स्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार संस्थाले कुल चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । यसअनुसार नगद लाभांशमा लाग्ने करसहित कुल १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ वितरण गरिनेछ । संस्थाले बोनस सेयर भने वितरण नगर्ने भएको छ । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्रै प्रस्तावित लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ।
स्वाभिमान लघुवित्तले लाभांश नदिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो । संस्थाको असोज २८ गते बुधबार बसेको सञ्चालक समितिको १२६औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाका अनुसार २०८३ असार मसान्तसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गरिनेछ । यससँगै आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारणसभाको प्रयोजनका लागि वार्षिक वित्तीय विवरण प्रकाशन गरिने संस्थाले जनाएको छ । सञ्चालक समितिबाट स्वीकृत वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । संस्थाको केन्द्रीय कार्यालय रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको छ।