काठमाडौं । मुक्तिनाथ विकास बैंकले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको हो ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत ठूलो असर पारेको बैंकले जनाएको छ ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति बैंक परिवारले दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ ।
देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।
विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।