विकासन्युज

पोप लियोलाई फोक्सोको क्यान्सर भएको पुष्टि, भ्याटिकनले दियो यस्तो जानकारी

काठमाडौं । पोप लियोलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ । यद्यपि उनको दाहिने फोक्सोको तल्लो भाग हटाउन गरिएको शल्यक्रिया सफल भएको भ्याटिकनले जनाएको छ । भ्याटिकनले जारी गरेको स्वास्थ्यसम्बन्धी बुलेटिनअनुसार ७१ वर्षीय पोपको मंगलबार रोमस्थित जेमेली अस्पतालमा करिब ९० मिनेटसम्म शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई फोक्सोको एडेनोकार्सिनोमा नामक क्यान्सर भएको पत्ता लागेको हो । भ्याटिकनले भनेको छ, ‘शल्यक्रिया सफल भएको छ र यस क्रममा कुनै जटिलता देखिएको छैन ।’ शल्यक्रियापछि पोप सामान्य रूपमा होसमा आएको र केही समय चिकित्सकीय निगरानीमा राखेपछि उनलाई आफ्नो कोठामा सारिएको पनि भ्याटिकनले जनाएको छ । भ्याटिकनले नियमित स्वास्थ्य परीक्षणका क्रममा पहिलोपटक पोपको फोक्सोमा गाँठो देखिएको जानकारी दिएको छ । उनलाई करिब एक साता अस्पतालमै राखिने अपेक्षा गरिएको छ । यसअघि ठूलो संख्यामा मानिसहरू पोपको प्रतीक्षामा अस्पतालबाहिर घण्टौंसम्म बसेका थिए । पोप सवार गाडी अस्पताल परिसरमा पुग्दा उपस्थित मानिसहरूले उनको अभिवादन गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।  त्यस क्रममा पोपले गाडीको पछाडिको झ्यालबाट हात हल्लाउँदै र मुस्कुराउँदै उनीहरूको अभिवादन स्वीकार गरेका थिए । त्यसपछि अस्पतालको सिँढीमा कर्मचारीहरूले उनको स्वागत गरेका थिए । तीमध्ये एक कर्मचारीले सहानुभूति व्यक्त गर्दै ‘मलाई दुःख लागेको छ’ भनेका थिए । जवाफमा पोपले मुस्कुराउँदै काँध उचालेका थिए । कर्मचारीहरूले उनलाई ‘हामी तपाईंको साथमा छौं’ भन्दै आश्वस्त पारेका थिए । भ्याटिकनले जारी गरेको विज्ञप्तिमा शल्यक्रियाका क्रममा पोपको दाहिने फोक्सोको तल्लो भाग पूर्ण रूपमा हटाइएको उल्लेख छ ।  शल्यक्रिया आवश्यकताअनुसार पूर्ण रूपमा सम्पन्न भएको सुनिश्चित गर्न उक्त भाग हटाइएको भ्याटिकनले स्पष्ट पारेको छ । यसैबीच, भ्याटिकनका एक स्रोतले समाचार संस्था एएफपीलाई क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ वा छैन भन्ने पत्ता लगाउन थप परीक्षण भइरहेको जानकारी दिएका छन् ।

फर्स्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार संस्थाले कुल चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । यसअनुसार नगद लाभांशमा लाग्ने करसहित कुल १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ वितरण गरिनेछ । संस्थाले बोनस सेयर भने वितरण नगर्ने भएको छ । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्रै प्रस्तावित लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ। 

स्वाभिमान लघुवित्तले लाभांश नदिने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो । संस्थाको असोज २८ गते बुधबार बसेको सञ्चालक समितिको १२६औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाका अनुसार २०८३ असार मसान्तसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गरिनेछ । यससँगै आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारणसभाको प्रयोजनका लागि वार्षिक वित्तीय विवरण प्रकाशन गरिने संस्थाले जनाएको छ । सञ्चालक समितिबाट स्वीकृत वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । संस्थाको केन्द्रीय कार्यालय रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको छ। 

म आरक्षणको विरोधी हुँ, योग्यताका आधारमा सिफारिस भएकी हुँ : मञ्चलाकुमारी झा

काठमाडौं । श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणका आधारमा सिफारिस भएको हो? भन्ने प्रश्न उठाएपछि उनले यस्तो जवाफ दिएकी हुन् । आफू आरक्षणका आधारमा नभई योग्यताका आधारमा सिफारिस भएको उनले बताइन् । आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको उनले उल्लेख गरिन् । आफूले अवसर आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने पनि उनले बताइन् । उनले भनिन्, ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु । अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेकी छु । साथै, सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु । म अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले, आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताका आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु ।’ उनले कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको स्वीकार गरिन् । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । 

प्रस्तावित राजदूत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारूढ सांसदको प्रश्नैप्रश्न

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । संसदीय सुनुवाइका क्रममा चौलागाईंले उनको कूटनीतिक अनुभव, विगतको कार्यसम्पादन र प्रस्तावित नियुक्तिमाथि प्रश्न उठाएका हुन् । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कूटनीतिक क्षमतामाथि प्रश्न खडा गरे । सांसद चौलागाईंले प्रस्तावित राजदूत झाको बुद्ध सर्किट र नेपाल–श्रीलङ्काबीचको कूटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जवाफ माग गरे । उनले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सीमित रहेको भन्दै समग्र बौद्ध कला र नेपालका अन्य महत्त्वपूर्ण धार्मिक क्षेत्रलाई समेट्न नसकेको आरोप लगाए । सांसद चौलागाईंले कूटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औँल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलङ्काजस्तो संवेदनशील मुलुकमा उनले कसरी राष्ट्रिय हितको रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राखे । उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गरे । यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहँदा उनले द्वन्द्वपीडितलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उनको कार्यसम्पादनमाथि टिप्पणी गरे । उनले भने, ‘विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कूटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ?’ सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवर्द्धन गर्ने तथा लुम्बिनी–श्रीलङ्काबीचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेस गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिए । 

कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन् । ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा डा. भद्रा पराजुली भण्डारीले ६८० मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत प्राप्त गरेकी छन् भने गीता देवकोटा ५०५ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५ मत प्राप्त गरेका छन् । अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४ मत पाउँदा बिनिता अधिकारीले ४०२ मत प्राप्त गरेकी छन् । चम्पादेवी खड्काले ३९१, सन्तोषी साउद ऐरीले ३६७, उर्मिला कँडेलले ३१८ र शोभा अधिकारीले ३०३ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारमध्ये बिन्दु मल्ल ठकुरी (आस्थ) ले २६९, निर्मला वस्ताकोटी (निरु खड्का) ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५ र प्रमिला लम्सालले २२३ मत पाएका छन् । त्यसैगरी, निर्मला कुमारी रावल कार्कीले २१२, सरस्वती भट्टले २०४, कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बास्कोटा र नारायणी रायमाझीले समान १८० तथा बसन्ती भाटले १७९ मत प्राप्त गरेका छन् । गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सृजना लामिछाने फुयाँलले १३० मत प्राप्त गरेका छन् । हालसम्मको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अन्य प्रतिस्पर्धीभन्दा फराकिलो अग्रता बनाएकी छन् । ८ जना निर्वाचित हुने यस समूहमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । 

बाढीपीडितका लागि एमालेले बनायो १८ अस्थायी आवास, ओलीले आज हस्तान्तरण गर्ने

काठमाडौं । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवास हस्तान्तरण गरिने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजे ती आवास प्रभावित परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।  एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार जिफन्टको नेतृत्वमा सञ्चालित आवास निर्माण अभियानको पहिलो चरण पूरा भएको हो । बाढीबाट प्रभावित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न स्वयंसेवक सहभागी भएका थिए ।  पहिलो चरणमा १८ वटा आवास निर्माण सम्पन्न भएको आचार्यले जानकारी दिए । प्रचार विभाग प्रमुख आचार्यका अनुसार आवास हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको तत्कालीन आवास समस्या सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ ।  एमालेको मजदुर संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार दशैँ लगत्तै १८ वटा अस्थायी आवास निर्माणको तयारी एमालेले गरेको छ । 

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ९ हजार नाघ्यो, खोप परीक्षणको तयारी तीव्र

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ । गत मे महिनाबाट सुरु भएको यस महामारीले अहिलेसम्म ९ हजार ६६ जनालाई सङ्क्रमित बनाएको छ भने ४ हजार ३८१ जनाले ज्यान गुमाएका छन् । कङ्गोको स्वास्थ्य मन्त्रालय र इबोला टास्क फोर्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस महामारीको मृत्युदर ४८.३ प्रतिशत पुगेको छ । कुल सङ्क्रमितमध्ये २ हजार ३८९ जना उपचारपछि निको भएका छन् । सातवटा प्रान्तका ६५ स्वास्थ्य क्षेत्रमा फैलिएको यस रोगको इपिसेन्टर (केन्द्रबिन्दु) इटुरी प्रान्त बनेको छ, जहाँ कुल सङ्क्रमितको ७३.८ प्रतिशत हिस्सा देखिएको छ । उत्तर किभु प्रान्तमा भने मृत्युदर सबैभन्दा उच्च ५७.१ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्री रोजर काम्बाका अनुसार महामारी केही क्षेत्रमा नियन्त्रणउन्मुख देखिए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले केही स्थानमा भाइरसको सङ्क्रमण अझै बढ्दो क्रममा रहेको भन्दै चेतावनी दिएका छन् । समुदायस्तरमा हुने मृत्युको उच्च दर र कन्ट्याक्ट ट्रेसिङमा देखिएका कमी–कमजोरी हालका प्रमुख चुनौती बनेका छन् । यो प्रकोप ‘बुन्डिबुग्यो इबोला’ भाइरसका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै पनि विशेष खोप वा उपचार पद्धति आधिकारिक रूपमा स्वीकृत भइसकेको छैन । यद्यपि, ‘ट्युमाइनी’ नामक चरण २–३ को क्लिनिकल परीक्षण सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यस परीक्षणले बुन्डिबुग्यो भाइरसविरुद्धका खोपका उम्मेदवारहरूको प्रभावकारिता जाँच गर्नेछ । हाल अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई अनुसन्धान प्रोटोकलअन्तर्गत ‘इर्भेबो’ खोप लगाइँदै छ । तर यो खोप ‘जैर इबोला’ भाइरसका लागि मात्र प्रभावकारी मानिने भएकाले बुन्डिबुग्यो भाइरसविरुद्ध यसको प्रभावकारिता परीक्षणको विषय बनेको छ । मे १५ मा घोषणा गरिएको यो प्रकोप डीआरसीको इतिहासकै सबैभन्दा घातक र विश्वकै दोस्रो ठूलो इबोला महामारीका रूपमा दर्ज भएको छ ।