भदौ १३ देखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
काठमाडौं । सरकारले यही भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका विभिन्न विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित गरेको छ । बाढीका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गर्न औपचारिक निर्देशन दिएको हो । शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकारको प्रयोग गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिइएको छ । साथै, शुक्रबार सञ्चालित परीक्षामा परिस्थितिवश सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि समेत उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । यी हुन् विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयका ५ निर्देशन: नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन गर्दछौं । साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ ! । साथै, देहायबमोजिम आवश्यक व्यवस्था गर्न/गराउन अनुरोध गर्दछौंः १. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने । २. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने । ३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने । ४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने । ५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने । वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न/गराउन आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं । विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं । सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्री
' सरकार सामाजिक सञ्जालमा मात्रै देखियो '
काठमाडौं । विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको क्षेत्रमा उद्धार, राहत र खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै स्थानीय जनप्रतिनिधिले संघीय सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका सरकारको उपस्थिति पीडितले अनुभूति गर्न नसकेको स्थानीयले बताएका छन्। उतरगयाँ गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीको सूचना जारी गर्न खटिएका चार जना कर्मचारी अझै बेपत्ता रहेको तथा सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचान भएपछि दाहसंस्कार गरिएको जानकारी दिएका छन्। उनले कार्यपालिका सदस्य ज्ञानु बिक तथा केही शिक्षकहरूसँग समेत सम्पर्क हुन नसकेको बताएका छन् । उनका अनुसार वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति पुगेको छ। भूकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० घरपरिवार समेत बाढीको मारमा परेका छन्। उनले त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाका ठूलो संख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारहरू हराइरहेको जानकारी दिएका छन् । केही कामदार सुरुङभित्र फसेको आशंका उनले बताएका छन् । गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्किएका धेरै यात्रुहरूसँग पनि सम्पर्क हुन नसकेको अध्यक्ष अर्यालले बेपत्ता भएको बताएका छन् । आफन्तहरूले निरन्तर सम्पर्क गरी उद्धारका लागि हारगुहार गरिरहेको जनप्रतिनिधिको भनाइ छ। ‘बाढीपछि सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ भने विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल नेटवर्कसमेत प्रभावित भएको छ। मोबाइल बन्द भएपछि धेरै व्यक्तिसँग सम्पर्क हुन सकेको छैन,’ अर्यालले भने । टिमुरे र स्याफ्रुबेशी क्षेत्रमा ठूलो मानवीय क्षति पुगेको भए पनि मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अवस्था अझ भयावह रहेको उनको भनाइ छ। ठूलो संख्यामा परिवार घरबारविहीन भएका छन्। अर्यालले मरणासन्न अवस्थाका घाइतेलाई उद्धार गर्न प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायसँग समन्वय गरी हेलिकप्टरको प्रतिक्षा गर्दा पनि तत्काल सुनुवाइ नभएको गुनासो गरेका छन्। घाइतेलाई कालिकास्थान–जिवजिवे अस्पताल हुँदै करिब १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनु परेको उनले बताएका छन्। 'नदी किनारमा दर्जनौँ शव देखिएको र पहिचान भएका शवको समेत तत्काल व्यवस्थापन गर्न कठिनाइ भएको छ,' उनको भनाइ छ,' दाहसंस्कारका लागि फिल्डमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न नमिल्ने’ जवाफ दिन्छन् ।' बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता रहेको उनले बताएका छन् । कालिकास्थानमा रहेका इन्स्पेक्टरसहित पाँच–छ जना प्रहरी सीमित स्रोतसाधनका बीच खाना र पानीको समेत अभावमा खटिइरहेको उनले बताएका छन् । सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरी सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको सन्देश देखेको उल्लेख गर्दै अर्यालले भनेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ।' उनले आफूले सरकारको आलोचना राजनीतिक उद्देश्यले नभई पीडित जनताको वास्तविक अवस्था सार्वजनिक गर्न गरेको स्पष्ट पारेका छन्। ‘हामीले यस्तो आवाज उठाउन नपर्ने अवस्था सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ,’ अर्यालले गृहमन्त्रीको सचिवालयबाट आएको फोनमा दिएको जवाफ उद्धृत गर्दै बताएका छन्। उनका अनुसार गृहमन्त्रीको सचिवालयबाट ‘नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न’ आग्रह गरिएको थियो। आफूले भुइँमा बसेर काम गरिरहेको जनप्रतिनिधिको हैसियतले वास्तविकता बोल्नुपर्ने बाध्यता रहेको उनले बताएका छन्। आफ्नो पार्टीभित्रका सीमित नेताबाहेक अन्य नेतृत्वले समेत प्रत्यक्ष रूपमा खोजखबर नगरेको अर्यालको गुनासो छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेको तथा सुरेन्द्र पाण्डेलगायत विभिन्न नेता र सहयोद्धाले सम्पर्क गरी चिन्ता व्यक्त गरेको उनले बताएका छन्। सामाजिक सञ्जालमा मात्र सीमित हुने बैठक र सन्देशले पीडितको पीडा झनै बढाउन सक्ने भन्दै अर्यालले परिणाममुखी काम गर्न आग्रह गरेका छन्। ‘परिणामविहीन सामाजिक सञ्जाल रंग्याउने काम नगरौँ। के गर्न सकिन्छ, मैदानमै जनताले अनुभूति गर्नेगरी गरौँ,’ उनले भनेका छन्। उनका अनुसार प्रभावित क्षेत्रका करिब ३५० जनालाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा आश्रय दिइएको छ। कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायत सहयोग प्राप्त भएको र उपलब्ध खाद्यान्नले थप करिब तीन दिन धान्ने अनुमान छ। पीडितहरू विद्यालयका कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन्। केही मनकारी स्थानीयले आफ्नै घरमा आश्रय दिएर प्रभावित परिवारलाई सहयोग गरिरहेका छन्। नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाको अवस्था संवेदनशील भए पनि आवश्यक सहयोग गर्न नसकिएको उनले बताए । नदी किनारमा रहेका दर्जनौं शव सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिन थालेको र यसबाट संक्रमण तथा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुने जोखिम बढेको अर्यालले बताएका छन्। बिरामीको संख्या पनि बढ्दो क्रममा रहेकाले तत्काल उद्धार र उपचारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन् । पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै व्यक्ति फसेको सूचना आएको छ। त्यहाँ खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव रहेकाले तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनले माग गरेका छन् । त्रिशूली नदी वारिपारि फसेर परिवारबाट अलग भएका सदस्यलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराउनुपर्ने आवश्यकता पनि उनले औल्याएका छन् । सहयोगी संघसंस्थाले राहत उपलब्ध गराउने इच्छा व्यक्त गरिरहेकाले राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन आवश्यक सहजीकरण गरिदिन सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन् । उनले घरबारविहीन, बेपत्ता, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलन भइरहेको बताए । प्रमुख जिल्ला अधिकारीसँग अघिल्लो साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारदेखि सुरु हुने जानकारी प्राप्त भएको उनले बताएका छन्। स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरबाट ओझेलमा परेको महसुस गरेका क्षेत्रमा उद्धार, राहत र अन्य अत्यावश्यक काम प्रभावकारी रूपमा सुरु हुने विश्वास उनले व्यक्त गरेका छन्। ‘आफन्त गुमाएका र घरबारविहीन जनताले अब राज्यको उपस्थिति प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउनुपर्छ,’ अर्यालले दुःख व्यक्त गर्दै भनेका छन् । रसुवामा बुधबार ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ।
राहत लिएर प्रभावित क्षेत्रमा नजान अपिल, सिडियो कार्यालयसँग समन्वय गर्न आग्रह
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण र उद्धार कार्यलाई थप व्यवस्थित बनाउन वालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था र सरोकारवालासँग समन्वय गरेर मात्रै राहत परिचालन गर्न आग्रह गरेको छ । सचिवालयले विपद्को कठिन घडीमा पीडितलाई सहयोग गर्न नागरिक र सामाजिक संस्थाले देखाएको सद्भाव तथा सक्रियताको प्रशंसा गर्दै पूर्वसमन्वयबिनै व्यक्तिगत रूपमा राहत लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढेको जनाएको छ । सचिवालयका अनुसार साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्यधिक ट्राफिक जाम भएको छ । त्यसका कारण एम्बुलेन्स, सरकारी उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न कठिन भएको उल्लेख गरिएको छ । जोखिमयुक्त भूगोल र विषम परिस्थितिमा आवश्यक तयारीबिनै प्रभावित क्षेत्रमा पुग्दा राहत लिएर जाने व्यक्तिको सुरक्षासमेत जोखिममा पर्ने सचिवालयको भनाइ छ । त्यसैले उद्धार तथा राहत कार्यलाई थप भद्रगोल हुन नदिन र वास्तविक पीडितसम्म छिटो राहत पुर्याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा नजान आग्रह गरिएको छ । राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अबदेखि अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग पूर्वसमन्वय गरेर मात्रै राहत सामग्री हस्तान्तरण वा परिचालन गर्नुपर्ने सचिवालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई एकीकृत रूपमा सम्बन्धित स्थानसम्म पुर्याउने व्यवस्था मिलाउने पनि सचिवालयले स्पष्ट पारेको छ । सद्भाव र सहयोगको भावनालाई राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा परिचालन गर्न सबैमा सचिवालयले हार्दिक अपिल गरेको छ ।
पृथ्वी राजमार्गको गल्छी-बैरेनी खण्ड एकतर्फी खुल्यो, पूर्ण रूपमा सञ्चालनमा ल्याउन लेदो हटाइँदै
काठमाडौं । बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी-बैरेनी सडकखण्ड बिहीबार बेलुकादेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बुधबार आएको बाढीले राजमार्गको जरिखेतखण्डमा पुल बगाउनुका साथै सडक गेग्र्यान र माटोले ढाकेको थियो । सडक विभागले जरिखेतको माटो तथा लेदो हटाएपछि बिहीबारदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालन गराइएको हो । जरिखेत खण्ड खुकुलो भएसँगै विभागले अब मलेखुतर्फका पोखरी, बाँगे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो हटाउने काम तीव्र पारिएको जनाएको छ । ती स्थानहरूमा करिब ७०० मिटर क्षेत्रमा लेदो सफा गर्नुपर्ने अवस्था छ । विभागका अनुसार पोखरी, बाँगे र गलौदीको लेदो हटाउने काम शुक्रबार बेलुकासम्म सकिने अनुमान गरिएको छ । सो कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग पूर्ण रूपमा दुवैतर्फ सुचारु हुनेछ ।
विदेशबाट बाढीपीडितलाई सहयोग पठाउन आइएमईको निःशुल्क सुविधा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकलाई सहयोग गर्न आइएमईले विदेशबाट नेपालमा निःशुल्क रकम पठाउने सुविधा उपलब्ध गराएको छ । आइएमईका अनुसार प्राकृतिक विपद्को यस संवेदनशील घडीमा विदेशमा रहेका नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने अन्य व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा कुनै शुल्क नतिरी आइएमईमार्फत सिधै रकम पठाउन सक्नेछन् । कम्पनीले विभिन्न बैंकमा रहेका सरकारी कोषका खातामा विदेशबाट पठाइएको सहयोग रकम सहज, सुरक्षित र निःशुल्क रूपमा जम्मा हुने व्यवस्था मिलाइएको जनाएको छ । यसबाट विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउन सहज हुने विश्वास गरिएको छ । नेपालभित्र रहेका सेवाग्राहीले पनि खल्ती बाइ आइएमई मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । आइएमईले सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढीपीडितको राहत तथा पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेको छ । प्रभावित परिवारहरूको दुःखमा साथ दिन र सरकारी राहत अभियानलाई सघाउन सबैमा हातेमालो गर्न कम्पनीले अपिल गरेको छ । यसैबीच, आइएमई ग्रुप परिवारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेका परिवारप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ । साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
प्याज किलोको १०० रुपैयाँ, यस्तो छ कालीमाटीमा कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल, मसला तथा माछालगायतका वस्तुको अधिकतम थोक मूल्य निर्धारण गरेको हो । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) ६५ रुपैयाँ कायम गरिएको छ। आलु रातो (लाम्चो) प्रतिकिलो ५१ रुपैयाँ, आलु रातो (गोलो) ५३ रुपैयाँ, आलु सेतो ४० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ तोकिएको छ। हरियो तरकारीतर्फ स्थानीय काउली प्रतिकिलो ११० रुपैयाँ, स्थानीय गाजर १२० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा ४० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ४० रुपैयाँ निर्धारण गरिएको छ । सिमी, करेला, लौका र फर्सीजस्ता तरकारीको मूल्य पनि सार्वजनिक गरिएको छ। बोडी तने र मकै बोडी प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर ८० रुपैयाँ, चिचिण्डो र घिरौँला ३० रुपैयाँ तथा पाकेको फर्सी ६० रुपैयाँ तोकिएको छ। सागपाततर्फ पालुङ्गो प्रतिकिलो १५० रुपैयाँ, रायो र तोरीको साग १०० रुपैयाँ तथा हरियो प्याज २०० रुपैयाँ कायम भएको छ। च्याउमध्ये कन्य च्याउ २६० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ, डल्ले च्याउ ६०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ। फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती र अनार प्रतिकिलो ३०० रुपैयाँ, जुनार २०० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, चिनियाँ नास्पाती २५० रुपैयाँ, किबी ४०० रुपैयाँ र ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ। मसलातर्फ अदुवा प्रतिकिलो ३०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ र चिनियाँ लसुन २२० रुपैयाँ कायम गरिएको छ। समितिले ताजा माछाको मूल्य पनि सार्वजनिक गरेको छ । राहु माछा प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ तोकिएको छ ।
४६९ जनाको शव फेला, २८ जना प्रहरी सम्पर्क विहीन
काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ८ जिल्लामा ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४६९ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी १ हजार ५४५ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन् । यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८४ रहेको प्रहरीले जनाएको छ। ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन चेम्बरको ड्रोन सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान अघि बढाएको छ । चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा चेम्बर सधैं रहने प्रतिबद्धता जनाएको छ । बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ । विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले चेम्बरले राहत संकलन तथा वितरण कार्य अघि बढाएको जनाएको छ । चेम्बरले रसुवा, नुवाकोट तथा धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको छ भने आवश्यकताअनुसार थप राहत सहयोग जारी राख्ने जनाएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० केजी पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । त्यस्तै, १०० केजी पेलोड क्षमताको ड्रोन पठाउने अन्तिम तयारी भइरहेको र थप सहयोग गरिने चेम्बरले जनाएको छ । चेम्बरले प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइसकेको छ । यसैगरी नेपाल युथ चेम्बरले भाद्र ११ गते जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत संघलाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापन कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेको छ । विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै एकजुट हुनुपर्ने चेम्बरले बताएको छ । चेम्बरले तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।