रुस सबैभन्दा ठूलो खतरा, एआई र इरानबाट पनि सतर्क रहनुपर्छ : बेलायती गुप्तचर निकाय

एमआई–५ का प्रमुख केन म्याककलम । फाइल तस्बिर ।

काठमाडौं । बेलायतको गुप्तचर निकाय एमआई–५ का प्रमुख केन म्याककलमले रुस अहिले बेलायत र उसका सहयोगी देशका लागि सबैभन्दा ठूलो सुरक्षा खतरा बनेको बताएका छन् ।

रुसलाई ‘आक्रामकताको मामिलामा नम्बर एक’ भन्दै उनले रुसबाट उत्पन्न खतरासँग जुध्न एमआई–५ ले शीतयुद्धको समयमा भन्दा पनि बढी स्रोतसाधन परिचालन गरिरहेको बताए ।

लन्डनस्थित एमआई–५ को मुख्यालयमा आफ्नो वार्षिक सम्बोधन गर्दै म्याककलमले पछिल्लो १० वर्षमा विदेशसँग सम्बन्धित सुरक्षा खतराहरू चार गुणाले बढेको बताए ।

उनका अनुसार अहिले आतंकवाद र विदेशबाट उत्पन्न हुने सुरक्षा खतरासँग जुध्न गरिने कामको भार लगभग समान स्तरमा पुगेको छ ।

एमआई–५ प्रमुखले इरान र दक्षिणपन्थी अतिवादबाट बढ्दै गएको खतराप्रति पनि चेतावनी दिए ।

उनले आफ्नो निकायले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गर्ने प्रयासमा रहेका आतंकवादीहरूलाई पक्राउ गरेको बताए । केही घटनामा एआईलाई ड्रोनसँग जोडेर प्रयोग गर्ने प्रयाससमेत गरिएको उनले जानकारी दिए ।

म्याककलमका अनुसार, रुसले नेटो सदस्य राष्ट्रहरूविरुद्ध प्रत्यक्ष युद्ध गर्नुको सट्टा ‘हाइब्रिड युद्ध’ अर्थात् अप्रत्यक्ष माध्यमबाट दबाब सिर्जना गर्ने रणनीति अपनाइरहेको छ ।

यद्यपि, रुसले अहिलेसम्म नेटोसँग प्रत्यक्ष सैन्य द्वन्द्व हुने सीमासम्म पुग्नबाट जोगिँदै आएको उनले बताए ।

युक्रेनमाथि आक्रमण गरेपछि बेलायत र अन्य देशबाट ठूलो संख्यामा रुसी जासुसहरू निष्कासित गरिएकाले रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको परम्परागत गोप्य सञ्जाल निकै कमजोर बनेको पनि उनले दाबी गरे ।

उनका अनुसार अहिले रुसले आफ्ना उद्देश्य पूरा गर्न अपराधीहरूलाई पैसा दिएर उनीहरूलाई प्रयोग गर्ने प्रयास गरिरहेको छ ।

Share News