हेल्दी होम २१ वर्षमा, नयाँ प्रविधि र सेवामा लगानी बढाउने
काठमाडौं । नेपालमा समग्र स्वास्थ्य, वेलनेस र एस्थेटिक सेवा प्रदान गर्दै आएको हेल्दी होमले आफ्नो स्थापना दिवसको २१औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले दुई दशकभन्दा लामो यात्रामा ग्राहकको विश्वासलाई मुख्य उपलब्धिका रूपमा लिँदै अब नयाँ नेतृत्वसँगै सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा केन्द्रित हुने जनाएको छ । २०६३ सालमा मोहन भुसाल र कृष्ण भट्टराईद्वारा स्थापना गरिएको हेल्दी होमले हाल काठमाडौं र पोखरामा आफ्ना शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । संस्थाका अनुसार हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीले यसको सेवा लिइसकेका छन् । वार्षिकोत्सव कार्यक्रममा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा संस्थाका लागि उपलब्धिमात्र नभई थप जिम्मेवारीको सुरुआत भएको बताए । ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवाप्रतिको प्रतिबद्धताले संस्थालाई यहाँसम्म ल्याएको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालभित्र र बाहिर पनि हेल्दी होमको सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए । उनले संस्थाको सुरुआती उद्देश्य उपचारमात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु रहेको उल्लेख गर्दै अब नयाँ पुस्ताको नेतृत्वसँगै सोही मूल्य र दृष्टिकोणलाई अझ व्यापक बनाइने बताए । कार्यक्रममा हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले संस्थापकले स्थापित गरेको विश्वासलाई नयाँ प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । आगामी वर्षहरूमा नयाँ शाखा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा थप नागरिकको पहुँचमा पुर्याउने योजना रहेको उनले बताए । वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष ग्राहक सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो । लक्की ड्रमार्फत नगद पुरस्कार तथा विभिन्न सेवा प्याकेज प्रदान गरिएको कम्पनीले जनाएको छ । हेल्दी होमले आगामी चरणमा ब्रान्ड विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग तथा वेलनेस र एस्थेटिक क्षेत्रमा नवीन सेवामार्फत आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।
युवा खेलाडीको प्रतिभा उजागर गर्दै ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सम्पन्न
काठमाडौं । ह्युन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगितामार्फत नेपाली फुटबलका युवा प्रतिभालाई अवसर प्रदान गर्दै ग्रासरुट फुटबल विकासमा योगदान पुर्याउने कम्पनीले जनाएको छ । ललितपुरको च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू–१६) को एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा रहेको ह्युन्डाईले ‘नेक्स्ट स्टार्ट्स नाउ’ अवधारणाअनुसार स्थानीय तहबाटै फुटबल प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक–५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० निओस र टिम पालिसेडबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित भयो । कम्पनीका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास बढाउने तथा खेलप्रतिको समर्पणलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ । साथै, एजी–१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको ग्रासरुट विकासलाई दीर्घकालीन रूपमा टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको कमी नभए पनि अवसरको अभाव रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई साकार पार्ने आत्मविश्वास प्रदान गर्ने बताए । ह्युन्डाई नेपालले युवा विकास, समुदायसँगको सहकार्य र ग्रासरुट खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैन : सांसद राणा
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले राष्ट्रिय योजना आयोगद्वारा प्रस्तावित १६औँ योजनाको लक्ष्य र कार्यान्वयनको पक्षमाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै योजना आयोगले आर्थिक वर्ष २०८५/८६ सम्म अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउने र उच्च आर्थिक वृद्धि हासिल गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको सन्दर्भमा उनले कार्यान्वयनको विश्वसनीयतामाथि चासो व्यक्त गरेकी हुन् । सांसद राणाले योजनाको सफलता लक्ष्यले नभई प्रभावकारी कार्यान्वयनले निर्धारण गर्ने बताइन् । योजना आयोग र सरकारसमक्ष विभिन्न बुँदामा स्पष्टीकरण माग गरिन् । सांसद राणाले १६औँ योजनाले रोजगारी र समृद्धिलाई मुख्य उद्देश्य बनाए पनि हालसम्म कति रोजगारी सिर्जना भयो र आगामी दिनमा सरकारी एवं निजी क्षेत्रबाट कति रोजगारी थपिने भन्ने स्पष्ट खाका नभएको बताइन् । ‘प्रोजेक्ट पाइपलाइन’मा रहेका २३१ आयोजनामध्ये उद्योग तथा खानी क्षेत्रमा केवल ३ वटा (१.३ प्रतिशत) मात्र आयोजना पर्नुले औद्योगिक विकासमा सरकारको न्यून प्राथमिकता देखिएको उनको तर्क छ । राष्ट्रिय गौरवका आयोजनाहरूको सन्दर्भमा २३१ वटा आयोजनामध्ये केवल ३ वटाको मात्र स्थलगत अनुगमन गरिएकोप्रति उनले आपत्ति जनाइन् । यस्तो सीमित अनुगमनले आयोजनाहरूको वास्तविक अवस्था र कार्यान्वयनको पाटो स्पष्ट नहुने उनको भनाइ छ । साथै, विगतका वर्षहरूमा पुँजीगत खर्च ६० देखि ७० प्रतिशतमा मात्र सीमित रहने गरेको उल्लेख गर्दै यसपटक खर्च गर्ने क्षमता बढाउन के–कस्ता नयाँ व्यवस्था गरिएका छन् भनी उनले जिज्ञासा राखिन् । उनले भनिन्, ‘७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि र आयात प्रतिस्थापन गर्ने लक्ष्य राख्ने हो भने उद्योग क्षेत्रलाई किन यसरी उपेक्षा गरियो ? एकातर्फ निजी क्षेत्रले लगानी खुम्च्याइरहेको र उद्योगहरू बन्द भइरहेको अवस्था छ भने अर्कोतर्फ युवाहरू विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैन ।’ कुल लगानीमा निजी क्षेत्रको हिस्सा ६७.२ प्रतिशत रहने अनुमान गरिए पनि लगानीमैत्री वातावरण, कर्जा प्रवाह र नियामकीय सुधारमा ठोस कदम नचालिएको राणाले बताइन् । योजना आयोगले उच्च आर्थिक वृद्धिको लक्ष्य राख्ने तर राष्ट्र बैंकको मौद्रिक नीतिले कर्जा अभाव र कडा प्रोभिजनिङका कारण लगानी सुस्त बनाउने विरोधाभासपूर्ण अवस्था रहेको उनले उल्लेख गरिन् । सांसद राणाले योजना आयोग र राष्ट्र बैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने र निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिइन् । लगानीकर्ताहरू वर्तमान अवस्थामा लगानी विस्तार गर्न त्रसित रहेको भन्दै उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सुनिश्चित नगरेसम्म योजनाले लिएका लक्ष्यहरू हासिल हुन कठिन हुने उनको भनाइ छ ।
बीपी स्मृति दिवससम्म कांग्रेस इतर समूहको ‘पर्ख र हेर’ रणनीति
काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो शक्ति संघर्ष अहिले नयाँ मोडमा पुगेको छ । संस्थापन इतर समूह तत्काल कुनै निर्णायक कदम चाल्ने पक्षमा नदेखिए पनि आगामी साउन ६ गतेको बीपी स्मृति दिवसलाई एउटा राजनीतिक टर्निङ प्वाइन्टका रूपमा हेरिरहेको उक्त समूहका नेताहरूले बताउने गरेका छन् । त्यही दिनसम्म पार्टीको शक्ति सन्तुलन, सभापति गगन थापाको राजनीतिक कदम र संस्थापन पक्षको रणनीति मूल्याङ्कन गरेर मात्र आफ्नो आगामी निर्णय सार्वजनिक गर्ने मनस्थितिमा इतर समूह पुगेको नेताहरूले बताएका छन् । अघिल्लो आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहको बैठकमा नेताहरूले पार्टीभित्रको लामो अन्योल अब अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । छलफलको निष्कर्ष तत्काल विभाजन वा नयाँ संगठन घोषणा गर्नेभन्दा पनि केही दिन राजनीतिक घटनाक्रमलाई नियाल्ने र त्यसपछि मात्र स्पष्ट रणनीति तय गर्ने रहेको नेता जितजंग बस्नेतले जानकारी दिए । बैठकपछि नेता मीन विश्वकर्माले पनि अब निर्णय टार्ने अवस्था नरहेको संकेत गरेका थिए । उनले अधिकांश वक्ताले ‘अब अलमल नगरौं, जे गर्ने हो छिटो गरौं’ भन्ने धारणा राखेको संकेत गरेका थिए । यस समूहका एक नेता डा. प्रकाशशरण महतले अहिले आफूहरूको मुख्य चासो गगनकुमार थापाको अन्तिम राजनीतिक स्ट्यान्ड के हुन्छ भन्नेमा केन्द्रित रहेको जानकारी दिए । यदि गगनले पार्टीभित्र सबै पक्षलाई समेट्ने पहल गरे भने एकताको सम्भावना अझै जीवित रहने उनको भनाइ छ । बैठकमा पनि अधिकांश नेताहरूले एकताको प्रयास निष्कर्षमा पुग्न नसके आफ्नो राजनीतिक बाटो अलग ढंगले तय गर्न सक्ने सम्भावनामा खुलेर छलफल भएको थियो । यही कारण इतर समूहले बीपी स्मृति दिवसअघि कुनै ठूलो घोषणा नगरी परिस्थिति हेर्ने रणनीति बनाएको बुझिएको छ । साउन ६ सम्मको समयलाई उनीहरूले अन्तिम राजनीतिक वेटिङ पिरियडका रूपमा लिएका छन् । कांग्रेस नेता तथा पूर्वसहमहामन्त्री समेत रहेका डा. महत यस बीचमा घटनाक्रमले खासै विकसित स्वरूप ग्रहण नगरेको बताउँछन् । बरु आफूहरू ६ गतेको तयारीमा लागेको जानकारी डा. महतले दिए । पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवा पक्षले यस वर्ष बीपी स्मृति दिवसलाई विगतभन्दा फरक ढंगले मनाउने तयारी गरिरहेको छ । पूर्वप्रवक्ता समेत रहेका डा. महतका अनुसार कार्यक्रमलाई केवल श्रद्धाञ्जलीमा सीमित नराखी पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक सन्देश दिने मञ्चका रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ । त्यसैले देउवा पक्षको कार्यक्रमलाई कांग्रेसभित्र शक्ति प्रदर्शन र सन्देश प्रवाहको अवसरका रूपमा पनि हेरिएको छ । साउन ६ गते बीपी स्मृति दिवशको दिन कांग्रेसको संस्थापन पक्षले लामो समयदेखि सुरु गरेको जरा अभियान पनि समापन गर्ने घोषणा गरेको छ । कांग्रेस नेताहरू समापन कार्यक्रमलाई भव्य कार्यक्रमको रूपमा सञ्चालन गर्ने तयारीमा रहेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका नेता प्रकाशसिंह कार्की बीपी स्मृति दिवश र जरा अभियानको समापन समेत भएकोले उक्त दिन पार्टी जीवनको विशेष दिन हुने बताउँछन् । अघिल्लो आइतबारको बैठकमा बोल्ने इतर पक्षका नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । तर, एकता सम्भव नभए शक्ति निर्माण वा आवश्यक परे नयाँ संगठनात्मक संरचनासमेत निर्माण गर्न पछि हट्न नहुने धारणा पनि बैठकमा बलियो रूपमा उठेको विश्वकर्माले बताएका थिए । राजनितिक विश्लेषक अधिवक्ता परसुराम घिमिरेका अनुसार कांग्रेसभित्र अहिले देखिएको गतिविधिले एउटा स्पष्ट संकेत भने दिएको छ । उनका अनुसार दुवै पक्ष सार्वजनिक रूपमा पार्टी एकताको पक्षमा देखिए पनि भित्री रूपमा आ–आफ्नो शक्ति संगठित गर्न व्यस्त छन् । बीपी स्मृति दिवस त्यसको पहिलो सार्वजनिक परीक्षण बन्न सक्ने घिमिरेको विश्लेषण छ ।
राहदानी विभागमा नयाँ प्रणाली सञ्चालन सुरू, अत्यावश्यक भए मात्र आवेदन दिनू
काठमाडौं । राहदानी विभागले राहदानी अतिआवश्यक भएका व्यक्तिहरूलाई मात्र आवेदन दिन आग्रह गरेको छ । विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउँदै सेवा सञ्चालन सुरु गरेपछि अतिआवश्यक सेवाग्राहीलाई मात्र आवेदन दिन अनुरोध गरेको हो । नयाँ प्रणालीलाई चाँडै पूर्ण क्षमतामा सञ्चालनमा ल्याएपछि थप सेवाग्राहीले आवेदन दिन सक्ने विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको नेपालको सूचना प्रविधि इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ समेत सम्पन्न गरेको छ । यस प्रक्रिया अन्तर्गत करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी व्यक्तिगत विवरणहरू सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यो वृहत् प्रणाली कार्यान्वयनसँगै राहदानी सेवा थप आधुनिक र व्यवस्थित हुने विभागले उल्लेख गरेको छ । नयाँ प्रणाली ‘गो लाइभ’ भएपछि सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौतीहरू देखिनु स्वाभाविक रहेको विभागको भनाइ छ । प्रणालीमा केही सुस्तता र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विभागले पूर्वतयारी स्वरूप प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको छ । विभागका अनुसार प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ र विभागको प्राविधिक टोली चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएका छन् । सुरुवातीमा देखिएका समस्याहरूको शीघ्र र दीर्घकालीन समाधानका लागि विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रणालीलाई स्थिर र थप प्रभावकारी बनाउन सहयोग पुर्याउन विभागले सेवाग्राहीहरूमा विशेष अनुरोध गरेको छ । साथै, राहदानी सेवासम्बन्धी कुनै पनि भ्रममा नपर्न र विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र आधार मान्न सम्पूर्ण सेवाग्राहीहरूलाई सूचित गरिएको छ । विभागले नेपाली नागरिकहरूलाई छिटो, छरितो र विश्वसनीय सेवा प्रदान गर्न विभाग सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
अन्सारीलाई भेटेका सहमहामन्त्री रसाइली भन्छन् - सरकारले प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अधिकारकर्मी मजिद अन्सारीलाई भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटका क्रममा रसाइलीले अन्सारीको अधिकारको लडाइँप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गर्दै उनीमाथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाए । अस्पतालबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रसाइलीले सुकुम्बासी समुदायको अधिकारका पक्षमा आवाज उठाएकै कारण अन्सारीलाई राज्यको निशानामा पारिएको दाबी गरे । लोकतान्त्रिक व्यवस्थामा अधिकारका लागि संघर्ष गर्ने व्यक्तिलाई दण्डित गर्ने प्रयास स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । ‘सुकुम्बासीको अधिकारका पक्षमा उभिएकै कारण एउटा अधिकारकर्मीले यस्तो तहको प्रतिशोध खेप्नुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि लज्जास्पद विषय हो,’ रसाइलीले भने, ‘अधिकारका लागि आवाज उठाउने नागरिकलाई अपराधीसरह व्यवहार गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो ।’ रसाइलीले उपचाररत अन्सारीमाथि सरकारले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरिरहेको सूचना आफूले पाएको बताए । उनले अन्सारीलाई आफ्ना कानुनी प्रतिनिधिसँग समेत एकान्तमा भेट गर्न नदिइएको तथा स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नभइसकेकै अवस्थामा अस्पतालबाट डिस्चार्ज गराउन दबाब दिइएको जानकारी पनि आफूले पाएको दाबी गरे । उनले उपचाररत व्यक्तिको आधारभूत कानुनी तथा मानवीय अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गर्दै अन्सारीलाई निष्पक्ष र मानवीय व्यवहार गर्नुपर्नेमा जोड दिए । रसाइलीले अधिकारकर्मीमाथि हुने कुनै पनि प्रकारको दमन वा प्रतिशोध लोकतान्त्रिक समाजका लागि चिन्ताको विषय भएको उल्लेख गरे । अधिकारकर्मी अन्सारी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।
चीनले किन ऋण युआनमै फिर्ता माग्न थाल्यो ?
काठमाडौं । चीन विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये एक हो । उसले विश्वका धेरै देशलाई ठूलो परिमाणमा ऋण दिएको छ । धेरै अफ्रिकी देश पनि चिनियाँ ऋणको भारी बोझमा छन् । अहिले चीनले आफूले दिएको ऋण आफ्नै मुद्रा युआनमा फिर्ता माग्न थालेको छ । विश्व व्यापारमा अमेरिकी डलरको वर्चस्व कम गर्ने चीनको नयाँ रणनीतिका रूपमा यसलाई हेरिएको छ । नाइजेरियाको एक अखबारका अनुसार केन्याले चीनबाट लिएको ऋणको केही हिस्सा अमेरिकी डलरको सट्टा युआनमा तिर्ने निर्णय गरेको छ । विश्लेषकहरूले यसलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सम्भावित ठूलो परिवर्तनको सुरुवातका रूपमा लिएका छन् । आर्थिक संकटसँग जुधिरहेका देशहरूले डलरमाथिको निर्भरता घटाउने उपाय खोजिरहेका छन् । अफ्रिकी देशहरू किन समस्यामा परे ? पछिल्ला २० वर्षमा अफ्रिकी देशहरूले चीनबाट करिब १५० अर्बदेखि १८० अर्ब अमेरिकी डलर बराबरको ऋण लिएका छन् । विश्व बैंकजस्ता संस्थाले कडा सर्तहरू लगाइरहेका बेला चीनले अपेक्षाकृत सहज रूपमा ठूलो रकम ऋण उपलब्ध गराएको थियो । अंगोला, इथियोपिया, केन्या, इजिप्ट र नाइजेरियालगायत देशहरूले सो रकमबाट रेलमार्ग, विमानस्थल तथा जलविद्युत आयोजना निर्माण गरे । तर अहिले ती देशहरू ऋणको भारले दबिन थालेका छन् । यी परियोजनाबाट ऋणको किस्ता र ब्याज तिर्न पुग्ने आम्दानी हुन सकेको छैन । अफ्रिकी सरकारहरूले कर आफ्नै स्थानीय मुद्रामा उठाउँछन्, तर चीनलाई विदेशी मुद्रामा ऋण तिर्नुपर्छ । जब स्थानीय मुद्रा कमजोर हुन्छ, ऋणको वास्तविक भार झन् बढ्छ । त्यसको परिणामस्वरूप सरकारी आम्दानीको ठूलो हिस्सा ऋण भुक्तानीमै खर्च हुन्छ र शिक्षा, स्वास्थ्य तथा सुरक्षाजस्ता क्षेत्रमा लगानी गर्न पर्याप्त स्रोत बाँकी रहँदैन । यही समस्याबाट जोगिन केन्याले आफ्नो ऋण डलरबाट युआनमा रूपान्तरण गरेको छ, जसले डलरको विनिमय दरमा हुने उतारचढावबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ । कतिपयले यसलाई व्यवहारिक निर्णय मानेका छन् । तर विज्ञहरूका अनुसार यो केवल मुद्रा परिवर्तनको विषय मात्र होइन, विश्व आर्थिक प्रभाव विस्तार गर्ने चीनको दीर्घकालीन रणनीति पनि हो । चीनले तत्काल डलरलाई विस्थापित गर्न खोजेको होइन, बरु डलरसँग प्रतिस्पर्धा गर्न सक्ने समानान्तर वित्तीय प्रणाली निर्माण गरिरहेको छ । ऋण डलरमा होस् वा युआनमा, परियोजनाले पर्याप्त आम्दानी नगरेसम्म ऋणको समस्या समाधान हुँदैन । कुनै पनि आयोजना ऋणको ब्याजभन्दा बढी प्रतिफल दिन नसकेसम्म दीर्घकालीन आर्थिक विकास सम्भव हुँदैन । यदि विश्वका धेरै देशहरूले डलर छाडेर अन्य मुद्रामा व्यापार र ऋण भुक्तानी गर्न थाले भने अन्तर्राष्ट्रिय बजारमा डलरको माग घट्न सक्छ । त्यसले अमेरिकी डलरको विश्वव्यापी प्रभुत्व कमजोर पार्ने सम्भावना बढ्नेछ । ब्रिक्सको साझा मुद्राको बहसमा चिनियाँ समर्थन ब्रिक्स राष्ट्रहरूबीच साझा मुद्रा (ब्रिक्स करेन्सी) प्रयोग गर्ने अवधारणामा चीनले पनि ऐक्यबद्धता जनाएको थियो । पहिलोपटक व्यापक अन्तर्राष्ट्रिय चर्चा सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न १५औं ब्रिक्स शिखर सम्मेलनपछि पाएको थियो । सम्मेलनका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सदस्य राष्ट्रहरूबीच व्यापार तथा लगानीका लागि साझा मुद्रा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । चीन र रुसले भने अमेरिकी डलरमाथिको निर्भरता घटाउने प्रयासलाई समर्थन गरेका थिए । यद्यपि, ब्रिक्स सदस्य राष्ट्रहरूले हालसम्म साझा मुद्रा लागू गर्ने कुनै औपचारिक निर्णय गरेका छैनन् । त्यसको सट्टा सदस्य देशहरूबीच आ–आफ्नै राष्ट्रिय मुद्रामा व्यापार विस्तार गर्ने, वैकल्पिक अन्तरदेशीय भुक्तानी प्रणाली विकास गर्ने तथा डलरमाथिको निर्भरता क्रमशः घटाउने रणनीतिमा जोड दिइरहेका छन् । सन् २०२४ मा रुसको कजानमा सम्पन्न १६औं ब्रिक्स शिखर सम्मेलनमा पनि साझा मुद्रा जारी गर्ने विषयभन्दा स्थानीय मुद्रामा कारोबार बढाउने र वित्तीय सहकार्यलाई सुदृढ बनाउने एजेन्डाले प्राथमिकता पाएको थियो । विश्लेषकहरूका अनुसार ब्रिक्सले तत्काल साझा मुद्रा ल्याउने सम्भावना न्यून रहे पनि विश्व व्यापारमा अमेरिकी डलरको वर्चस्व घटाउने दीर्घकालीन रणनीतिअन्तर्गत सदस्य राष्ट्रहरूबीच राष्ट्रिय मुद्राको प्रयोग विस्तार गर्ने प्रयास भने निरन्तर अघि बढिरहेको छ ।
धौलागिरि लघुवित्तको सञ्चालक समिति विस्तार, दुई जना थपिए
काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिमा संस्थापक र स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको असार २७ गते बसेको ५३औँ बैठकले रिक्त रहेको सञ्चालक पदमा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी दुई जनालाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । निर्णयअनुसार संस्थापक सेयरधनी समूहबाट रणदेव कृष्ण श्रेष्ठलाई सञ्चालक नियुक्त गरिएको छ । उनी ललितपुर महानगरपालिका–९, च्यासलका बासिन्दा हुन् । त्यसैगरी, स्वतन्त्र सञ्चालकमा अधिवक्ता गोविन्दप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनी बागलुङ नगरपालिका–३, बागलुङका निवासी हुन् । लघुवित्तले यी नियुक्तिहरू आगामी वार्षिक साधारणसभाबाट अनुमोदनका लागि पेश गरिने जनाएको छ ।