काठमाडौं । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवास हस्तान्तरण गरिने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजे ती आवास प्रभावित परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार जिफन्टको नेतृत्वमा सञ्चालित आवास निर्माण अभियानको पहिलो चरण पूरा भएको हो । बाढीबाट प्रभावित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न स्वयंसेवक सहभागी भएका थिए ।
पहिलो चरणमा १८ वटा आवास निर्माण सम्पन्न भएको आचार्यले जानकारी दिए । प्रचार विभाग प्रमुख आचार्यका अनुसार आवास हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको तत्कालीन आवास समस्या सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ ।
एमालेको मजदुर संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार दशैँ लगत्तै १८ वटा अस्थायी आवास निर्माणको तयारी एमालेले गरेको छ ।