विकासन्युज

लेभ्निङ इलेक्ट्रिक स्कुटर अफर : दुई पटक एसएमएस गर्दा ५ लाखसम्म छुट पाइने

काठमाडौं । बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । ुलेभलिंग को सफर दशैँ तिहारमा डबल अफरु भन्ने यस स्किममा मात्र एसएमएस गरेर लाखौं रुपैयाँ छुट पाउन सकिनेछ । यस योजना अन्तर्गत सबैभन्दा पहिला घरमै बसेर एसएमएस मात्र गरी १ लाखसम्म छुट त्यसपछि शोरुम गएर त्यहाँ पाएको कोड एसएमएस गरेर ७ हजारदेखि ५ लाखसम्मको नगद छुट पाउन सकिनेछ । यसका साथै, ग्राहकले नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सक्नुको साथै कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सक्नेछन् । लेभ्निङ ब्रान्डको स्कुटर जर्मन कम्पनीको बोस्चको मोटर्स प्रयोग गरिएको बनाइएको स्कुटर हो । यसले फुल चार्जमा राम्रो माइलेज दिने कम्पनी बताउँछ । नेपाली बजारमा लेभ्लिंगको एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

बीमाको डिपोजिटलाई व्यक्तिगत निक्षेपकै रुपमा मान्न लबिङ, बीमा सुविधा दिने बैंकले नाम खुलाउनै पर्ने

काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो डिपोजिटलाई व्यक्तिगत निक्षेपको रुपमा मान्न नेपाल राष्ट्र बैंकसँग लबिङ् गर्न थालेका छन् । जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन जीवन बीमक संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष उक्त माग राखेका हुन् । मंगलबार भएको उक्त भेटमा संघको तर्फबाट गएका प्रतिनिधिहरुले हाल बैंकहरुले संस्थापक मुद्दती निक्षेपमा २ प्रतिशत कम व्याजदर लिँदै आएकोमा असन्तुष्ट जनाउँदै यसलाई परिमार्जन गराउनमा माग गरेका हुन् । बीमा कम्पनीलाई मुद्दती निक्षेपको व्याजदरमा संस्थापक रुपमा नहेरी व्यक्तिगत रुपमा हेरेर व्याजदर लागू गर्नुपर्ने मेटलाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले बताए । ‘इन्स्योरेन्स कम्पनीहरुले संकलन गर्ने प्रिमियम व्यक्तिबाट नै हो, हामीले व्यक्तिबाट सानो सानो रकम जम्मा गरेर आएको रकमलाई बैंकमा डिपोजिट गर्छौं, त्यसैले यसलाई व्यक्तिगत रुपमा मान्नु पर्छ, संस्थापकको रुपमा लिनुहुँदैन,’ उनले थप प्रष्टाउँदै विकासन्युजसँग भने । हाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिलाईभन्दा संस्थालाई २ प्रतिशत कम व्याज दिँदै आएको छ । बीमा कम्पनीको निक्षेपलाई बैंकले संस्थागत रुपमा मान्दा यसले बीमितलाई दिने बोनसदर घट्न सक्ने र बीमा व्यवसायमा प्रत्यक्ष असर पर्न सक्ने जानकारहरु बताउँछन् । बीमा कम्पनीहरुले अधिकतम ३५ वर्षसम्म बीमा पोलिसी जारी गरेका हुन्छन् । त्यसबाट आर्जीत बीमाशुल्क रकम लामो समयको डिपोजिट राम्रो व्याजदरमा राख्न सकियो भने यसले बीमा क्षेत्रमै सकारात्मक प्रभाव पार्छ । यदि व्यक्तिले बढी पाउने र संस्थाले कम पाउने भयो भने भोलिको दिनमा कम्पनीहरुलाई बीमाको व्यवसाय गर्न अफ्ठ्यारो पर्ने र बैंकलाई पनि व्यवसाय गर्न प्रतिकूल परिस्थिति हुन सक्ने रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताउँछन् । योसँगै बैंकहरुले विभिन्न योजना तथा खातामा बीमा सुविधा पनि उल्लेख गर्दै आएका छन् । यसलाई आधिकारिक रुपमा गराउन पनि बीमा कम्पनीहरुले राष्ट्र बैंकसमक्ष माग गरेका छन् । ‘बैंकहरुले बीमाको सुविधा पनि दिने हो भने यसलाई अथेन्टिक वेबाट गर्नुपर्छ, कुन कम्पनीमा गरेको हो ? कस्तो हो ? त्यो स्पष्ट रुपमा खुलाउनु पर्छ भन्ने हाम्रो माग हो,’ मेटलाइफका सीईओ समेत रहेका श्रेष्ठले विकासन्युजसँग भने । बीमा कम्पनीहरुको यी दुबै मागमा नेपाल राष्ट्र बैंक सकारात्मक देखिएको र यसमा परिमार्जन हुनेमा आफू लगायत बीमा क्षेत्र नै विश्वस्त रहेको श्रेष्ठको भनाई छ । त्यस्तै, पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम दीर्घकालिन मुद्दती निक्षेप योजना ल्याइरहेका छन् । यसले निर्जीवन बीमा कम्पनीलाई असर नगरेपनि जीवन बीमा कम्पनीहरुलाई धेरथोर असर गरेको बीमाका जानकारहरु बताउँछन् । जीवन बीमक संघका अध्यक्ष श्रेष्ठले पनि यसले जीवन बीमाको व्यवसायलाई असर गरेको स्वीकारेका छन् । बैंकमा र इन्स्योरेन्समा गर्ने लगानी एउटै हो भन्ने गलत बुझाई आम मानिसमा बढी भएकोले पनि बैंकहरुका १५ गुणासम्मको प्रतिफल पाइने दीर्घकालिन निक्षेप योजनाले बीमा क्षेत्रमा असर पर्ने उनले बताए । तर, बैंकहरुले ग्राहकलाई कति प्रतिफल दिने भन्ने उनीहरुको अधिकार हो बीमा कम्पनीले केही भन्न नमिल्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यसलाई न्यूनिकरण गर्नको लागि बीमा सुरक्षा पनि हो भन्ने विषयमा जनसचेतना फैलाउन आवश्यक रहेको छ । बैंकका योजना सरसर्ती हेर्दा आकर्षक लागेपनि यसमा चुनौती पनि रहेको संघका उपाध्यक्ष पोषकराज पौडेल बताउँछन् । यसमा उल्लेख गरिएका विभिन्न सर्त अनुसार चुनौति रहेकको उनको बुझाई छ । ‘बैंकहरुले गरेको मार्केटिङ्मा ग्राहकले गलत बुझाइ नबुझुन् भन्नेमा हामी सचेत छौं, तर यसको लागि के गर्ने भन्ने बारेमा टुङ्गो लागि सकेको छैन,’ सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेलले बताए । बैंकका योजना झट्ट हेर्दा के हो के हो लागेपनि बीमाको महत्व बीमासँग नै रहेको रिलायबलका सीईओ लोहनी बताउँछन् । ‘बैंकमा अहिले पैसा राखेर सीमित अवधिपछि मात्रै रिटर्न लिन सकिन्छ भने बीमा कम्पनीले वर्षैपिच्छे रिटर्न दिइरहेको हुन्छ, त्यसबीचमा जोखिम बहन पनि गरिरहेको हुन्छ र सीमित अवधि सकिएपछि पनि आएको बोनससमेत जोडेर रिटर्न दिन्छौं, त्यसैले बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ, हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लग्छौं, जुन बैंकले दिन सक्दैनन्,’ लोहनीले स्पष्ट पार्दै भने । जीवन बीमक संघका अध्यक्ष तथा मेटलाइफका सीईओ निर्मलकाजी श्रेष्ठ, उपाध्यक्ष तथा सिटिजन लाइफका सीईओ पोषक कुमार पौडेल, महासचिव तथा सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल, कोषाध्यक्ष तथा नेपाल लाइफका सीईओ प्रविणरमण पराजुलीले भदौ २८ गते राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरलाई भेटेका हुन् ।

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीको ब्रान्ड सोनामले चाडपर्वलाई लक्षित गर्दै छुट अफर ल्याएको छ । यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट दिने घोषणा गरेको छ । कम्पनीको अनुसार यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने छ । विशेष छुट सबै आउटलेटमा लागू गरिएको कम्पनीले जानकारी दिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनमका शोरुम छन् । साथै, बुटवलमा यसै दशैभन्दा पहिला सोनमका शोरुम ओपन हुँदैछ ।

असोज १ गते नर्भिकले कमलपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले असोज १ गते शनिबारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा  निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ । अस्पतालले निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्ने अस्पतालले जानकारी दिएको छ ।

खल्तीबाट ‘नाडा ईभी एक्सपो’को टिकट काट्दा २५ प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । खल्ती र नाडा ईभी एक्सपो २०२२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार खल्तीले नाडाको एक मात्र टिकेटिङ पार्टनरको रुपमा काम गर्नेछ । यसार्थ नाडा ईभी एक्सपो २०२२ को टिकट खल्तीबाट काट्न सकिनेछ । असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पो मा बिद्यार्थी वर्गले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २५ प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । विद्युतीय सवारी साधनबारे जनचेतना अभिवृद्धि गर्न आयोजना गरिएको एक्स्पोमा विभिन्न कम्पनीहरूले आफ्नो प्रोडक्ट प्रदर्शन गरी आफ्नो सेवा र स्किमहरुको बारेमा जानकारी दिनेछन् । एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन्।एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । एक्स्पोलाई बढी जानकारी मूलक, सेवा मूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, बिक्री पछिको सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू पनि रहनेछन् । एक्स्पोमा खल्तीको स्टल पनि रहनेछ जहाँ सहभागीहरूले खल्तीको विभिन्न अफरहरुङ्को बारे सम्पूर्ण जानकारी प्राप्त गर्नुको साथै खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन् ।

प्राविधिक मर्मतपछि जापानको नारिता उड्यो वाइडबडी जहाज

 काठमाडाै‌ । प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो । एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाँजमा प्राविधिक समस्या देखिनासाथ विमान चालकले जहाजलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए । उक्त जहाज मर्मतपछि बिहान १० बजे नारिताका लागि उडान भरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनले भने, ‘हिजो राति जहाज उडेको केहीसमयपछि प्राविधिक समस्या देखिएकाले जहाज फर्किएको थियो, प्राविधिक मर्मतपछि जहाज उडिसक्यो, कार्गो होल्डमा धुँवा देखिएपछि जहाज काठमाडौँ फर्किएको थियो ।’  निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारो बडी जहाज छन् । रासस

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । सर्वसाधारणले आजदेखि दशैंका लागि आवश्यक नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरेपछि बैंकहरुले सर्वसाधरणको लागि आजदेखि नोट सटही सुविधा प्रदान गरेको हो । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् ।

‘बालबालिकालाई जिम्मेवार नागरिक बनाउन लागि परौँ’

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्वन्धित पक्षलाई लागि पर्न आब्हान गरेका छन् । बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारीगर्दै प्रदेश प्रमुख शर्माले बालबालिकाको सवालमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरुको स्थानीय, प्रदेश तथा सङ्घ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् । प्रदेश प्रमुख शर्माले सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गरेका छन् । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज मनाइँदै गरिएको ५८औँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा सम्पूर्ण बालबालिका तथा अभिभावकहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु’, प्रदेश प्रमुख शर्माद्वारा जारी सन्देशमा भनिएको छ । रासस