नेप्से ५० अंकले बढ्यो, कारोबार रकम पनि बढ्दै
काठमाडौं । निरन्तरको ओरालो लागेको सेयर बजारमा मंगलबादेखि भने हरियाली छाएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४९.८० अंकले बढेर १९८२.८९ अंकमा कारोबार भइरहेको छ । साढे २ बजेसम्म नेप्से परिसूचकबढेसँगै कारोबार रकम पनि बढेको छ । २२५ कम्पनीको ३४ लाख ९९ हजार ६५५ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १० करोड ८३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेप्सेमा रहेको म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा बन्द भएको थियो । पछिल्लो समय आर्थिक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेको र चाडपर्वको समय नजिक आउन लागेपछि सेयर बजार बढ्ने सेयर जानकारहरु बताउँछन् । साथै केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।
सेञ्चुरी बैंकका ग्राहकलाई नारायणी सामुदायिक अस्पताल र सिराईचुली होटलमा विशेष छुट
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटलमा छुट पाउनेछन् । बैंकका ग्राहकले एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा ९ओपिडी, फार्मेसि, सिटी स्क्यान बाहेक० शुल्कमा १० प्रतिशत छुट पाउनेछन् भने सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेशन शुल्कमा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का, एनपिआइ नारायणी सामुदायिक अस्पतालका तर्फबाट अस्पतालका संचालक बिष्णु कुँवर र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरेका छन् । सेञ्चुरी कमर्सियल बैंकले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
यी हुन् काभ्रेका उत्कृष्ट नौ विद्यालय
काभ्रेपलाञ्चोक । शैक्षिक गुणस्तर परीक्षण केन्द्र आरओले कार्यसम्पादन परीक्षण गरेको उत्कृष्ट एक सयमध्ये काभ्रेपलाञ्चोकका नौ विद्यालय छनोटमा परेका छन् । केन्द्रद्वारा सार्वजनिक देशभरका सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजाअनुसार उत्कृष्ट एक सयमध्ये काभ्रेपलाञ्चोकका नौ विद्यालय रहेका हुन् । केन्द्रले देशका चार हजार आठ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको छ, रोशी गाउँपालिका एक, पनौती नपाको एक र मण्डनदेउपुर नगरको एक माध्यमिक विद्यालय छनोटमा परेका छन् । जिल्लास्थित शिक्षा विकास समन्वय इकाईका अनुसार विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङक मेरिटका आधारमा पाँचखाल नगरका छ विद्यालय एक सयमध्येमा छनोट भएका छन् । पाँचखालमा नगरमा १३ माध्यमिक विद्यालय छन् । पाँचखाल नगरका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले इआरओको कार्यसम्पादन परीक्षणका उत्कृट एक सयमध्ये आजाद मावि बालुवा ३५ नं, ज्ञानेश्वरी मावि अनेकोट ४० नं, भक्रमदेवी मावि अनेकोट ५० नं, सर्वमंगला मावि पाँचखाल ६५ नं, मंहाङकाल मावि बेला ८१ नं र जोरपाटी मावि तिनपिप्ले १०० नं मा छनोट भएको जानकारी दिए । त्यस्तै रोशी गाउँपालिकाको मंगलजनविजय मावि उत्कृष्ट ५ नं मा छनोट भई काभ्रेपलाञ्चोककै उत्कृष्ट विद्यालय बनेको छ । पनौती नगरको भालेश्वर मावि मल्पी २८ नं तथा मण्डनदेउपुर नगरको महाकाली मावि चैनपुर ४४ नं मा परेका हुन् । इकाईप्रमुख गोकर्णध्वज कार्कीले इआरओको कार्यसम्पादन परीक्षणमा उत्कृष्ट सयमध्ये काभ्रेपलाञ्चोकमा नौ विद्यालय छनोटमा परेकोमा खुसी व्यक्त गरे । जिल्लामा पाँच सय २७ सामुदायिक विद्यालय छन् । देशका चार हजार आठ सय ६७ विद्यालयलाई श्रेणीकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि प्रथम श्रेणीमा परेको छ । उक्त विद्यालयले इआरओको कार्यसम्पादन परीक्षणमा ९४ दशमलब ५९ अङ्क प्राप्त गर्दै प्रथम भएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलले स्थानीय जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका सबै क्षेत्रको सहयोगमा आफ्नो क्षेत्रका छ विद्यालय उत्कृष्ट सयमध्येभित्र परेकामा खुसी व्यक्त गरे । ‘नगरले शिक्षालाई प्राथमिकतामा राखेका कारण यसको समग्र परिवर्तनका लागि विद्यालय प्रधानाध्यापक र शिक्षकको क्षमता सुदृढ बनाउनेतर्फ उन्मुख छौँ’, खरेलले भने । रासस
प्रधानमन्त्री देउवाद्वारा पूर्वाधारमा लगानी गर्न आग्रह, वातावरण सहज बन्दै गएको विदेशी लगानीकर्ताको भनाइ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानीको आवश्यकता भएका बताएका छन् । बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपालले दिगो विकासको लक्ष्य प्राप्त गर्न १९ अर्ब डलर आवश्यक पर्ने भन्दै उनले नेपालमा सार्वजनिक निजी साझेदारी मोडेलमा लगानी गर्न सकिने बताए । सरकारले १५औं पञ्चवर्षीय योजना अनुसार काम गरिरहेको, पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेका र सन् २०४५ सम्ममा कार्वन उत्सर्जन शून्यमा झार्ने नीति रहेको बताए । कार्यक्रममा सहभागी भएका विदेशी लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको बताएका थिए । अरुण तेस्रो जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले परियोजनाको काम लक्ष्य भन्दा अगाडि सम्पन्न गर्नेगरी अगाडि बढेको बताए । उनले नेपाल सरकार र सम्बन्धित निकायको सहयोगका कारण प्रगति भइरहेको भनाइ राखेका थिए । हुवासिन सिमेन्टका लिउ गाङले आफूहरुलाई नेपालमा काम गर्न निकै सहज भएको बताएका थिए । त्यस्तैगरी माथिल्लो त्रिशुली जलविद्युत् परियोजनाका प्रमुख कार्यकारी अधिकृत हे उङ काङ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले पनि पछिल्लो समयमा नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको बताएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ७ वटै प्रदेशमा नमूना परियोजना सञ्चालनको लागि लगानी भित्र्याउने गरी बोर्डले काम गरिरहेको बताएका थिए । जसको लागि सम्भाव्य लगानीकर्ता पहिचान गरी समन्वय गरिरहेको उनको भनाइ थियो । बुधबारबाट नै लगानी बोर्डले वेबसाइटमा आधारित ‘वान स्टप सेवा’ को शुरुवात गरेको छ । प्रधानमन्त्री देउबाले उद्घाटन गरेर सञ्चालनमा ल्याएको सो नयाँ सेवामार्फत् इच्छुक लगानीकर्ताहरुले विभिन्न आयोजना सञ्चालनका लागि आवेदन दिएर प्रकृया अगाडि बढाउन सक्छन् । त्यस्तै बोर्डले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘इस्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा इलेक्ट्रिोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक रुपमा अध्ययन प्रस्तुत गरिएको बोर्डका सहसचिव अमृत लम्सालले बताएका छन् ।
फुटपाथ व्यवसायीले भोलि महानगरविरुद्ध प्रदर्शन गर्ने
काठमाडौं । नेपाल स्वरोजगार श्रमिक व्यापार संघले काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई व्यवस्थापन गर्नुपर्ने बेला विस्थापित गरेको कारण आफुहरुले आन्दोलन गर्न लागेको संघले बताएको छ । संघले बिहान ११ बजे सुन्धारामा साना व्यवसायीहरु जम्मा भएर महानगर कार्यालय परिसरमा पुग्ने जानकारी दिएको छ ।
दराजको वार्षिक दशैं धमाका अभियान सुरु : ७० प्रतिशतसम्मको छुट, इलेक्ट्रिक स्कुटर जित्ने मौका
काठमाडाैं । दराजकाे वार्षिक दशैं धमाका अभियान सुरु भएकाे छ । बुधबारबाट लागु हुने गरी दराजकाे वार्षिक दशैं धमाका अभियान सुरु भएकाे हाे । यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, नि:शुल्क सपिंङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजारसम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआइयु एनक्युआइ इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ । यस अभियानमा ग्राहकले डेबिट कार्ड मार्फत भुक्तानि गर्दा १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २५ सय) पाउन सकिनेछ । यसमा विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले छुट प्राप्त गर्न सक्ने दराजले जानकारी दिएकाे छ । साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै, अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन् ।
डेङ्गुबाट बच्न सतर्कता अपनाउन राज्यमन्त्री केसीकाे आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए । ‘डेङ्गु सङ्क्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ । जनप्रतिनिधिसँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, चेतना फैलाउनेलगायत काम भइरहेको छ’, राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ । डेङ्गुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनसमेत उनले अनुरोध गरेका छन् । ‘डेङ्गुको प्रकोपलाई ध्यानमा राख्दै मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ’, अपिलमा उल्लेख छ । मन्त्रालयले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेङ्गु देखिएको छ । रासस
चोलेन्द्रशम्शेरले पालेका बहालवाला न्यायाधीशलाई अनुसन्धानका लागि बोलाइने
काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । ‘निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको वयानका क्रममा नाम जोडिएर आएका नाम सङ्कलन गरी बोलाउछौँ’–उनले भने, ‘वयानमा नाम जोडिएर आएका वहालवाला न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।’ समितिको अर्को वैठक बिहीबार बिहान ८ः३० मा बस्ने छ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकिएको छ । समितिले यही भदौ ८ गते वयान लिने निर्णय गरी भदौ १६ गतेदेखि वयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको वयान सकिएको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बँुदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र वयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ । रासस