प्रधानमन्त्री देउवाद्वारा पूर्वाधारमा लगानी गर्न आग्रह, वातावरण सहज बन्दै गएको विदेशी लगानीकर्ताको भनाइ

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानीको आवश्यकता भएका बताएका छन् । बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपालले दिगो विकासको लक्ष्य प्राप्त गर्न १९ अर्ब डलर आवश्यक पर्ने भन्दै उनले नेपालमा सार्वजनिक निजी साझेदारी मोडेलमा लगानी [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानीको आवश्यकता भएका बताएका छन् । बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालले दिगो विकासको लक्ष्य प्राप्त गर्न १९ अर्ब डलर आवश्यक पर्ने भन्दै उनले नेपालमा सार्वजनिक निजी साझेदारी मोडेलमा लगानी गर्न सकिने बताए । सरकारले १५औं पञ्चवर्षीय योजना अनुसार काम गरिरहेको, पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेका र सन् २०४५ सम्ममा कार्वन उत्सर्जन शून्यमा झार्ने नीति रहेको बताए ।

कार्यक्रममा सहभागी भएका विदेशी लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको बताएका थिए । अरुण तेस्रो जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले परियोजनाको काम लक्ष्य भन्दा अगाडि सम्पन्न गर्नेगरी अगाडि बढेको बताए । उनले नेपाल सरकार र सम्बन्धित निकायको सहयोगका कारण प्रगति भइरहेको भनाइ राखेका थिए ।

हुवासिन सिमेन्टका लिउ गाङले आफूहरुलाई नेपालमा काम गर्न निकै सहज भएको बताएका थिए । त्यस्तैगरी माथिल्लो त्रिशुली जलविद्युत् परियोजनाका प्रमुख कार्यकारी अधिकृत हे उङ काङ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले पनि पछिल्लो समयमा नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको बताएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ७ वटै प्रदेशमा नमूना परियोजना सञ्चालनको लागि लगानी भित्र्याउने गरी बोर्डले काम गरिरहेको बताएका थिए । जसको लागि सम्भाव्य लगानीकर्ता पहिचान गरी समन्वय गरिरहेको उनको भनाइ थियो ।

बुधबारबाट नै लगानी बोर्डले वेबसाइटमा आधारित ‘वान स्टप सेवा’ को शुरुवात गरेको छ । प्रधानमन्त्री देउबाले उद्घाटन गरेर सञ्चालनमा ल्याएको सो नयाँ सेवामार्फत् इच्छुक लगानीकर्ताहरुले विभिन्न आयोजना सञ्चालनका लागि आवेदन दिएर प्रकृया अगाडि बढाउन सक्छन् ।

त्यस्तै बोर्डले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘इस्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा इलेक्ट्रिोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक रुपमा अध्ययन प्रस्तुत गरिएको बोर्डका सहसचिव अमृत लम्सालले बताएका छन् ।

Share News