विकासन्युज

मर्जरमा ग्लोबल बैंक अब्बल, २० बैंकमा ६७ संस्था बिलय, कुन बैंकले कसलाई गाभ्यो ?

काठमाडौं । नेपालको बैंकिङ्ग इतिहास लामो छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाको संख्या २७१ पुगेको छ । २०४० को दशक अघि नेपालमा बैंकिङ्ग अभ्यास न्यून थियो । तर, २०४० को दशकमा सरकारले वित्तीय उदारिकरणको नीति अबलम्वन गरेपछि बैंकिङ्ग क्षेत्रमा निजी क्षेत्रले प्रवेश पायो । र, एकपछि अर्काे बैंक खुल्ने क्रम बढ्यो । २०४० को दशकदेखि वि.सं. २०७४ सालसम्म २७१ बैंक तथा वित्तीय संस्था पुगे । सो अवधिमा ३२ वटा वाणिज्य बैंक, ९५ वटा विकास बैंक, ८७ वटा वित्त कम्पनी र ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरे । तर, बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन तथा सुवरीवेक्षण गर्न कठिनाइ परेपछि संख्या घटाउन तर्फ राष्ट्र बैंक अग्रसर बन्यो । यसबीचमा राष्ट्र बैंकले संख्या घटाउनका लागि विभिन्न उपकरणहरु अगाडि बढायो । निजी क्षेत्रको लगानीमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुने क्रम बढ्न गई संख्या बढेपछि अस्वस्थ प्रतिस्पर्धा र संस्थागत सुशासनको अभावमा कतिपय संस्थाहरु समस्याग्रस्त हुने, इजाजतपत्र नै खारेज गर्नुपर्ने तथा सम्बद्ध पदाधिकारीहरुलाई समेत कारवाही गर्नुपर्ने अवस्था आउन थालेको भन्दै राष्ट्र बैंक संख्या घटाउन तर्फ लाग्यो । यस्ता गतिविधि रोक्न र नियन्त्रण गर्न राष्ट्र बैंकले पूँजी बढाउन लगाएर सक्षम र थोरै बैंक तथा वित्तीय संस्थाको आवश्यकता महसुस गर्यो र गाभ्ने/गाभिने तथा प्राप्तिको प्रक्रियाको नीति अगाडि सार्यो । राष्ट्र बैंकले चाहेअनुसार नै बैंक तथा वित्तीय संस्थाको संख्या ह्वात्तै घटाएर हाल १२६ वटा बैंक तथा वित्तीय संस्था मात्रै सञ्चालनमा छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी र ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यो संख्या अझै घट्ने देखिन्छ । संख्या घटाउन मर्जर तथा एक्विजीशनमा जाने संस्थालाई सहुलियतको व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंक अहिले वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउनमा जोड दिइरहेको छ । कुनै समयमा ३२ वटा वाणिज्य बैंक पुगेपनि हाल २६ वटामा सीमित छन् । केही बैंकहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेकाले यो संख्या अझै घट्ने निश्चित छ । हालसम्म २० वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सहभागी भएका छन् । यी बैंकहरुले विभिन्न ६७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेको राष्ट्र बैंकले जनाएको छ । सेञ्चुरी कमर्सियल बैंक सेञ्चुरी बैंकले हालसम्म विभिन्न पाँच वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.स. २०७४ मंसिर २२ गते एकैदिन प्राप्ति गरेको थियो । त्यसअघि बैंकले सगरमाथा फाइनान्सलाई वि.स २०७४ असार ३१ गतेका दिन प्राप्ति गरेको थियो । बैंकले शुरुमा दुइटा बैंक इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनीको डेभलपमेन्ट बैंकलाई सोही वर्ष जेठ २८ गते प्राप्ति गरेको थियो । राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २०७५ बैशाख १९ गतेका दिन एनआइडीसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ । यसअघि यस बैंकलाई पनि मर्जर गराएर अन्य बैंकमा गाभ्नु पर्ने आवाज उठेपनि पछिल्लो समय भने वाणिज्य बैंकहरुमा नाफा आर्जन गर्नेमा एक नम्बरको बैंक बनेको छ । बैंक अहिले निजी क्षेत्रका वाणिज्य बैंकसँग प्रतिस्र्धाको दौरानमा छ । मेगा बैंक नेपाल हाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभ्ने÷गाभिने तथा प्राप्तिका लागि सम्झौता गरेको मेगा बैंकले पनि विभिन्न तीन वटा विकास बैंकलाई प्राप्ति गरेको छ । बैंकले २०७३ बैशाख १३ गतेका दिन पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरी एकिकृत कारोबार गरेको थियो । यस्तै, बैंकले २०७५ वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंक र २०७७ असार २१ गते गण्डकी विकास बैंकलाई प्राप्ति गरेको थियो । ग्लोबल आइएमई बैंक हाल बैंक अफ काठमाण्डूसँग मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । यस बैंकले पहिलो पटक २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । यस्तै, कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो । यस्तै, २०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बैंकले जनता बैंकसँग २०७६ पौष ४ गते एकीकृत कारोबार गरेको थियो । जुन वाणिज्य बैंकहरुमा बिग मर्जरको संज्ञा दिइएको थियो । प्राइम कमर्सियल बैंक यस बैंकले हालसम्म विभिन्न ४ वटा बैंकलाई प्राप्ति गरिसकेको छ । जसमध्ये कन्ट्री देव र विराटलक्ष्मी विकास बैंकलाई २०७४ बैशाख १७ गते, कंकाई विकास बैंकलाई २०७६ भदौ २९ गते र कैलाश विकास बैंकलाई २०७६ चैत ७ गते प्राप्ति गरेको थियो । एनएमबि बैंक यस बैंकले विभिन्न ६ वटा वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । जसमध्ये बैंकले पाथिभरा विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्ससँग २०७२ साल कात्तिक १ गते एकीकृत कारोबार गरेको थियो । यस्तै, बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गरी २०७६ असोज ११ गते र कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७७ भदौ ७ गते एकीकृत कारोबार गरेको थियो । सिटिजन्स बैंक यस बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्था गरी कूल ६ वटालाई प्राप्ति गरेको छ । बैंकले पिपुल्स फाइनान्स र नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सलाई २०७२ बैशाख २५ गते, प्रिमियर फाइनान्सलाई २०७३ साउन २ गते, सहयोगी विकास बैंकलाई २०७७ असार २० गते, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई २०७७ चैत १४ गते र श्रृजना फाइनान्सलाई २०७८ असार २६ गते एकीकृत कारोबार गरेको थियो । कुमारी बैंक यस बैंकले पनि विभिन्न ५ वटा विकास बैंक र वित्त कम्पनीलाई प्राप्ति गरेको छ । बैंकले काँक्रेविहार विकास बैंक, पश्चिामाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काष्ठमान्डप डेभलपमेन्ट बैंकलाई २०७४ असार १२ गते र देव विकास बैंकलाई २०७७ असार २८ गतेका दिन प्राप्ति गरी एकीकृत कारोबार गरेको हो । सानिमा बैंक बैंकले बागमति डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ पौष १९ गतेका दिन एकीकृत कारोबार गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक हाल मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको यस बैंकले विभिन्न कालखण्डमा ३ वटा संस्थालाई प्राप्ति गरेको छ । बैंकले एस डेभलपमेन्ट बैंकलाई २०७४ असार २९ गते, जेबिल्स फाइनान्सलाई २०७६ असार ३० गते र सिटी एक्सप्रेस फाइनान्सलाई २०७७ माघ १२ गते प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । एनआईसी एशिया बैंक बैंक अफ एशिया नेपाललाई प्राप्ति गरी २०७० असार ६ गतेका दिन एकीकृत कारोबार गरेको थियो । सिद्धार्थ बैंक बैंकले विजनेश यूनिभर्सल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ असार ७ गते एकीकृत कारोबार गरेको थियो । बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंकसँग मर्जर सम्झौता गरेको यस बैंकले लुम्बिनी बैंकसँग मर्जर गरी २०७३ असार ३० गते एकीकृत कारोबार गरेको थियो । सनराइज बैंक सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई २०७३ असार ३० गते र एनआईडीसी क्यापिटल मार्केटलाई २०७३ माघ २८ गते एकीकृत कारोबार गरेको थियो । प्रभु बैंक प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक सञ्चालनमा आएको थियो । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो । माछापुच्छ्रे बैंक बैंकले स्ट्याण्र्डड फाइनान्ससँग मर्जर गरेर २०६९ असार २५ गते एकीकृत कारोबार गरेको थियो । एनसीसी बैंक बैंकले इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्जर गरेर २०७३ पुष १७ गते एकीकृत कारोबार गरेको थियो । सिभिल बैंक हाल हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको यस बैंकले यसअघि विभिन्न बैंकलाई प्राप्ति गरिसकेको छ । बैंकले सिभिलम मर्चेन्ट वित्तीय संस्था र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्ससँग २०७३ कात्र्तिक १ गते, हामा मर्चेन्ट एण्ड फाइनान्स र यूनिक फाइनान्ससँग २०७४ असार १८ गते एकीकृत कारोबार गरेको थियो । लक्ष्मी बैंक यस बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरी २०७३ माघ २ गते एकीकृत कारोबार गरेको थियो । नबिल बैंक आफूलाई नम्बर एक दाबी गर्ने नबिल बैंकले पनि २ वटा संस्थालाई गाभिसकेको छ । यस बैंकले नेपाल बङ्गलादेश बैंकसँग २०७९ असार २७ गते र यूनाइटेड फाइनान्ससँग २०७८ असार २७ गते एकीकृत कारोबार गरेको हो ।

महानगरले हटायाे सोह्रखुट्टेका अनधिकृत संरचना

काठमाडौ‌ । काठमाडौ‌ महानगरपालिकले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो । काठमाडौँ महानगरापलिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको हो । सो वडाले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनअघि पत्राचारसमेत गरेको थियो । सोह्रखुट्टे क्षेत्रमा डोजर चल्न थालेपछि घरधनी र महानगर प्रहरीबीच विवाद भएको थियो । काठमाडौँ महानगरपालिकाले यसअघि न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृत रुपमा बनाइएका संरचना हटाइसकेको छ ।

आज वसन्तपुरमा इन्द्रजात्रा हेर्न आउनेलाई खुलामञ्चमा पार्किङ सुविधा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको सवारीसाधन खुलामञ्चमा पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

‘रेमिट्यान्सबाट देश चलाएर सरकार ढाड थाप्न थाल्यो, चोरी पैठारीमा तत्काल कडाइ गरौं’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार रेमिट्यान्समै निर्भर भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रममा बोल्दै उनले सरकारले वस्तु उत्पादन र उपभोगमा ध्यान नदिएर रेमिट्यान्समै निर्भर भएर ढाड थाप्न थालेको बताएका हुन् । सरकारले लाखौं युवाहरुलाई विदेश पठाएर उनीहरुले पठाएको रेमिट्यान्समा सरकार व्यस्त रहेको उनको धारणा छ । उनले रेमिट्यान्सबाट भान्सा चलाउने र सरकार ढाड थाप्न लागेको बताए । ‘पछिल्लो समय विदेशी मुद्रामा ठूलो चाप आएको छ, सरकार युवाहरुलाई विदेश पठाएर उनीहरुको रेमिट्यान्सबाट भान्सा चलाउन लाग्यो, आफु ढाड थापेर बस्न लाग्यो, अब यस्तो गरर भएन उत्पादन र उपभोगमा ध्यान दिन आवश्यक छ,’ उनले कार्यक्रममा भने । यस्तै, उनले हरेक संकटले अवसर ल्याउने बताउँदै प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रमले एउटा महत्वपूर्ण सहयोग गर्न सक्ने विश्वास व्यक्त गरे । यस्तै उनले अहिले हरेक वस्तु चोरी पैठारी बढेको बताउँदै तत्काल चोरी पैठारी बन्द गरेर न्यून बिजकिकरण गर्नु पर्ने बताए । यस्तै, उनले नेपाली वस्तुको उत्पादन बढाउन र उपभोग विस्तार गर्नका भाटभटेनी जस्ता स्टोरमा २० प्रतिशत स्पेस नेपाली उत्पादनका लागि छुट्याउनु पर्ने धारणा राखे ।

आयात प्रतिस्थापन गर्न सकिएन भने अर्थतन्त्र धरासायी हुन्छ : उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र नै धरासायी हुन सक्ने बताएका छन् । बुधबार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हन् । उनले आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धरासायी हुने अवस्था देखा पर्ने बताएका हुन् । आयात कम गर्न सकिएन भने अर्थचतन्त्र उकास्न नसकिने उनको धारणा छ । देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी काम गर्ने बताए । यस्तै, उनले अहिले नयाँ आर्थिक वर्षको प्रारम्भ भएकोले प्रारम्भमा मन्त्रालयले नीति तथा कार्यक्रम तयार पारेका र अब एकपछि अर्को काम गर्दै अगाडि बढ्ने बताए । ‘यो आर्थिक वर्षको प्रारम्भमा नीति तथा कार्यक्रम तयार गरेका छौं, हामी कृषिमै परनिर्भर छौं, समग्र अर्थतन्त्र सुधारका लागि निजि क्षेत्रको अहम भूमिका हुन्छ, त्यसका लागि हामी सबैले सहकार्य गर्न आवश्यक छ,’ उनले कार्यक्रममा भने । उद्योग मन्त्रालयले बुधबार प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रममको अवधारणापत्रको ड्राफ्ट पनि सार्वजनिक गरेको छ । उक्त अवधारणा पत्रको कार्यान्वयन गरेर कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान हालको ५.९ प्रतिशतबाट दश वर्षभित्र १५ प्रतिशत पुर्याउने, उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने लक्ष्य छ । यस्तै, स्वदेशी वस्तुको उत्पादन बृद्धि गर्न औद्योगिक लगानी र गुणस्तरीय पूर्वाधार विस्तार गर्ने, स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय वस्तुको उत्पादकत्व अभिवृद्धि गरी बजार पहुँच कायम गर्ने र उद्यमशीलताको विकास मार्फत रोजगार र स्वरोजगारका अवसरहरु सिर्जना गर्ने यस कार्यक्रमको उद्धेश्य छ । स्वदेशी वस्तुको उत्पादन बृद्धि गर्न औद्योगिक लगानी र गुणस्तरीय पूर्वाधार बिस्तार गर्नु, कृषि, वन, खानी तथा खनिजजन्य लगायतका क्षेत्रमा तुलनात्मक लाभ, प्रतिस्पर्धी क्षमता र रणनैतिक महत्वका वस्तु तथा सेवाहरुको पहिचान गर्ने, कानूनी एवं प्रकृयागत सरलीकरण र औद्योगिक प्रवर्द्धन मार्फत लगानी वृद्धि गर्ने र कृषिजन्य, वनजन्य, खानी तथा खनिजजन्य औद्योगिक उत्पादन वृद्धि गर्ने यस कार्यक्रमका रणनीति छन् । विद्यमान औद्योगिक तथा व्यापारजन्य पूर्वाधारहरूको सुधार, पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्दै औद्योगिक र व्यापारिक लागत घटाउने. लघु, घरेलु तथा साना उद्योगलाई सूक्ष्म अर्थतन्त्रको आधारका रुपमा विकास गर्ने, स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय वस्तुको उत्पादकत्व अभिवृद्धि गरी बजार पहँच कायम गर्ने, पुँजी प्रविधि र क्षमता विकास मार्फत औद्योगिक वस्तुको उत्पादकत्व बढाई उत्पादन लागत घटाने र गुणस्तरीय वस्तुहरुको उत्पादन, ब्राण्डिङ्ग र बजारीकरणलाई अभियानको रुपमा अगाडि बढाउने पनि कार्यक्रमा रणनीति छन् ।

बालेनलको एक्सनपछि ८४ लाख रुपैयाँ कर संकलन, ५० करोड रुपैयाँ उठाउने लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले गत भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म ८४ लाख ३४ हजार रुपैयाँ असुल भएको कामपा राजश्व विभागका प्रमुख डा‌‍‍. शिवराज अधिकारीले जानकारी दिए । ‘अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो, अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्’, उनले भने । कस्ले तिरे मनोरञ्जन कर मनोरञ्जन करबापत काठमाडौं फन पार्कले १७ लाख ३६ हजार रुपैयाँ, डेन्टिन क्यासिनो होटल म्यारिटले २१ लाख ४२ हजार रुपैयाँ, क्यासिनो प्यालेस अन्नपूर्ण होटलले ११ लाख ८५ हजार रुपैयाँ, प्राइट इन्टरटेनमेन्ट एन्ड सिक्रिएशन हयात होटलले ९ लाख ८९ हजार रुपैयाँ, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार रुपैयाँ र बेलिज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार रकम बुझाएको महानगरले जनाएकाे छ । मनोरञ्जन कर तिर्नका लागि अन्य केहीले विवरण बुझाएर आगामी मिति तय गरेका छन् । नगरप्रमुख बालेन्द्र साह निर्वाचित भएर आएसँगै कामपाको विगत २९ वर्षदेखि असुल हुन नसकेको सम्पत्ति कर, बहाल कर र मनोरञ्जन करका ताकेता गरिँदै आएको छ । सो अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी छन् । ‘उक्त शीर्षकको करस्वरूप कामपाले ५० करोड रुपैयाँ बक्यौता असुल गर्नुपर्ने छ’, अधिकारीले भने, ‘७० करोड रुपैयाँ असुल गर्नुपर्ने थियो, गत वर्ष २० करोड रुपैयाँ असुल गरियो, अब ५० करोड रुपैयाँ बाँकी छ ।’ गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई पटक-पटक जानकारी गराएको थियो । उक्त सूचनाका आधारमा केही संस्थाले सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै करदाता सम्पर्क गर्नसम्म नआएको कामपाले जनाएको छ । बक्यौता असुल गर्नका लागि कामपाले पहिलो चरणमा पत्राचार गरेको छ । पत्रका आधारमा विवरणसहित कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने तथा त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारीमा कामपा छ । सम्पर्कमा आउन थाले सरकारी निकाय विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबैभन्दा बढी सार्वजनिक संस्थान रहे पनि पछिल्लो समय विवरणसहित सम्पर्कमा आउने क्रम बढेको छ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण, वीर अस्पताल र अन्य केही पनि कामपाको सम्पर्कमा आएका छन् । यसरी कर नतिर्नेमा साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल शेयर मार्केटलगायत छन् । त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाले जनाएको छ । समयमै कर नतिरे प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवाना स्वरूप रकम वृद्धि हुँदै जान्छ । कामपाले अघिल्लो दुई वर्षमा भने कोरोनाका कारण करदाता समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो । लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ५० करोड रुपैयाँ असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन थालेको छ । डा अधिकारी भन्छन्,’सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाएका छौँ ।’ रासस

खानेपानी धारा जडान गर्दा घुस माग्ने सिनियर प्लम्बरविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदातलमा मद्दा दर्ता गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते पाँच हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घूस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो पाँच हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ । रासस

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप र वेवसाइटबाट रेमिट्यान्स सेवा

काठमाडौं । माछापुच्छ्रे र्बैंकले मोबाइल बैकिङ्ग एप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप वा वेवसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् । बैंकको अनुसार याे सेवाकाे लागि नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन पर्नेछ जुन लिंकमा गएर विदेशमा रहेका नेपालीले सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार यो सुविधाको प्रयोग रेमिट्यान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।