मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा भौतिक प्रगति न्यून
दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म ३.४६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । योजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार यसअवधिमा वित्तीय प्रगति २३ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७८/७९ मा पूर्वी खण्डका लागि दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा ५७ करोड ३७ लाख चार हजारमात्रै खर्च भएको छ । कुल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताए । योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इञ्जीनियर नारायण पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा यो खण्डका लागि एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ । यो खण्डअन्तर्गत सडक दायाँबायाँतर्फका ९५ प्रतिशत रुख कटान सम्पन्न भएका छन् । तनहुँका एक सय ३८ घरटहराको मूल्याङ्कन सम्पन्न गरी मुआब्जा रकम वितरण कार्य प्रारम्भ भइसकेको पौडेलले जानकारी दिए । खैरेनीटार बजार क्षेत्र (कुम्ले खोलाबाट भिमाद जाने चोकसम्मको) बाहेक तनहुँ जिल्लाका अन्य क्षेत्रको मूल्याङ्कन सकिएको जनाइएको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा समस्या भएको पौडेलले बताए । साथै सडक विस्तार तथा स्तरोन्नति कार्यका लागि अधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र स्वीकृत आइइ प्रतिवेदनमा सेती नदी र आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भएता पनि स्थानीय तहबाट ठेक्कापट्टा भइसकेको हुँदा योजनालाई निर्माण सामग्री अभाव हुने देखिएको पौडेलले बताए । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस
पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ । यस्तै, काठमाडौं जोड्ने, पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजमार्ग, कान्तिराजपथ, कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइहरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सरकारी कर्मचारीलाई दशैं भत्ता : कुन तहका कर्मचारीले कति पाउँछन् ?
काठमाडौं । नेपाल सरकार अन्तर्गत विभिन्न सेवामा जागिर खाने कर्मचारीहरुले वर्षको १ पटक चाडपर्व खर्च पाउने गर्छन् । यस्तो चाडपर्व खर्च नेपाल सरकारको राज्यकोषमार्फत पारिश्रमिक बुझ्ने शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, जनपथ प्रहरी, ससस्त्र प्रहरी, जनस्वास्थ्य, विभिन्न संस्थान, बोर्ड र समिति लगायत कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले पाउँछन् । कार्यरत कर्मचारी मात्रै नभएर जागिरबाट अवकाश भएर पेन्सन बुझ्दै आएका व्यक्तिहरुलाई पनि सरकारले चाडपर्व खर्च दिने गरेको छ । कर्मचारीहरुले प्राप्त गर्ने दशैंभत्ता बापत उनीहरुले बुझ्दै आएको मासिक तलब र ग्रेड अनुसार थप हुन आउने एकमुस्ट बापतको रकम प्राप्त गर्दछन् । कर्मचारीहरुले मासिक रुपमा तलब बुझ्दा सञ्चय कोष, बीमा र लगानी बोर्डमा जम्मा गर्नुपर्ने कट्टी गरेर हुन आएको रकम बुझ्छन । तर, दशैंमा प्राप्त गर्ने चाडपर्व खर्चमा भने सरकारले कर बाहेक कुनै शिर्षकमा रकम कट्टी नगरी उपलब्ध गराउने गर्दछ । सरकारी कर्मचारीहरुले यसरी राज्यकोषबाट वर्षको एकपटक प्राप्त गर्ने चाडपर्व खर्च उनीहरुको पदीय जिम्मेवारी अनुसार कायम भएको तलब र निर्धारण गरिएको ग्रेड अनुसार फरक–फरक हुन्छ । चालु आर्थिक वर्ष ०७९/८० मा मुख्य सचिवको लागि सरकारले ७७,२११ रुपैयाँ शुरु तलब स्केल कायम गरेको छ भने २ ग्रेडको व्यवस्था गरेको छ । मुख्य सचिवको प्रतिग्रेड २५७४ रुपैयाँ कायम गरिएको छ । जसअनुसार मुख्यसचिवले दशैंमा शुरुको तलबमा उनको कायम भएको ग्रेडअनुसार हुन आउने रकम जोडेर चाडपर्व खर्च प्राप्त गर्छन् । त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा कार्यालय सहयोगी प्रथम स्तरको लागि शुरु तलब स्केल २४,७०२ रुपैयाँ कायम गरेको छ भने २ ग्रेडको व्यवस्था गरेको छ । कार्यालय सहयोगी प्रथमस्तरको प्रतिग्रेड ८२३ रुपैयाँ व्यवस्था गरेको छ । जसअनुसार अहिलेको दशैंमा कार्यालय सहयोगी प्रथम स्तरमा कार्यरत कर्मचारीले चाडपर्व खर्च स्वरुप शुरु तलब स्केल २४,७०२ मा थपिन आउने ग्रेड बराबरको रकम प्राप्त गर्छन् । सरकारले कर्मचारीहरुको विभिन्न तहअनुसार ग्रेडको व्यवस्था गरेको छ । सोही अनुसार नै उनीहरुको पारिश्रमिक सुविधा निर्धारण हुने गर्दछ । कर्मचारी कुनै तहमा नियुक्ति भएपछि पहिलो एकवर्ष सम्म उसको तलबमा ग्रेड नजोडिने व्यवस्था रहेको छ । जसअनुसार कुनै तहको सेवामा प्रवेश गरेको कर्मचारीको यो दशैंमा एक वर्ष समय पूरा भएको छैन भने उसले आफुले बुझ्दै आएको शुरु तलब स्केल बराबर मात्रै चाडपर्व खर्च प्राप्त गर्छ । सरकारले करारमा नियुक्ति भएका कर्मचारीहरुलाई पनि वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने गरेको छ । करारमा काम गरेका कर्मचारीहरुलाई ग्रेडको व्यवस्था नहुने भएकाले उनीहरुले भने मासिक रुपमा प्राप्त गर्दै आएको तलब अनुसार नै चाडपर्व खर्च प्राप्त गर्छन् ।कुनै कार्यालयमा काम सुरु गरेको ६ महिना अवधि पुगेको छ भने उसले यो सुविधा प्राप्त गर्ने नियममा उल्लेख छ।
ड्रोन बनाउन चाहनेलाई सफ्टवेरिका कलेजले निःशुल्क वर्कसप गराउने
काठमाडौं । १२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले निःशुल्क ड्रोन वर्कसप गर्ने भएको छ । कलेजमा पढिरहेका विद्यार्थी तथा अन्य कलेजका विद्यार्थी, प्लस टु, ए लेभल, सिबिएसई पूरा गरेका विद्यार्थीहरु वर्कसपमा सहभागी हुन सक्ने कलेजले जनाएको छ । वर्कसप असोज १ गते शनिबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ब्लक इ मा सञ्चालन हुनेछ । ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कसप केन्द्रित हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए । वर्कसपमा सहभागी हुनका लागि विद्यार्थीहरुले यो लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् । र, थप जानकारी ९८४३४७३५१२ मा सम्पर्क गरी लिन सकिने कलेजले जानकारी गराएको छ । कलेजले हालै एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन सुरू गरेको छ । विगतमा कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको अध्ययन गराइरहेको यस कलेजले अहिले स्नातकोत्तर तहको पठनपाठन पनि सोही विश्वविद्यालयको सम्बन्धनमा सुरू गरेको छ ।
ग्लोबल आईएमई लघुवित्त ८० जना ग्राहकलाई दियो बाख्रापालन तालिम
विजयपुर । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लास्थित समनपुर शाखा कार्यालयबाट ८० जना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम दिएको छ । वित्तीय संस्थासग आवद्ध सदस्यहरुको आम्दानीको श्रोत वृद्धि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभ कुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दाका फाइदा, बाख्रापालन गर्ने तरिका तथा बाख्रालाई रोगलाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा तालिम दिएका थिए । विगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार २०५ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ५३ करोड ६६ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट २ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
असोज १ गतेदेखि काठमाडौंको सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने
काठमाडौं । असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रमा धुम्रपान गर्ने नपाइने भएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ । सूचनामा उल्लेख गरिए अनुसार नियम पालन नगरे महानगरले कारवाही गर्ने पनि बताएको छ । यसअघि ललितपुर महानगरले सार्वजनिक स्थानमा धुम्रपान गर्ने निषेध गरिसकेको छ ।
भ्रमण सम्पन्न गरी फर्किए चिनियाँ नेता ली
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले बिदाई गरे । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए । उनी सोमबार विशेष विमानबाट काठमाडौं आइपुगेका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोग सम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए । परराष्टमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।
आजदेखि दर्ता नभएका मोबाइल नचल्ने
काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका हुन् । योसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरु दर्ता गर्नुपर्नेछ । त्यसो नगरेको अवस्थामा उक्त मोबाइल फोन नेपालमा चल्ने छैन । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यो प्रणाली लागु गरेको हो ।