ब्याजदर बढ्ने भएपछि सेयर बजारमा पहिरो, ३ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले बिहीबार ब्याजदर खुला छाड्ने निर्णय गरेको हो । लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेपछि ब्याजदर बढ्न सक्ने भएको छ । बिहीबार दिउँसो १ः५५ बजेसम्ममा सेयर बजारमा भारि गिरावट आएको छ भने सबै समूहमा राताम्य छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४ मा झरेको छ । यस्तै, सोही समय अवधिसम्ममा २२८ कम्पनीको ४१ लाख २८ हजार ६८६ कित्ता सेयर खरिदबिक्र हुँदा १ अर्ब ३४ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा राताम्य छाएको छ भने विभिन्न ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
कपिलको ट्राफिक ट्र्याकिङ मेसिन बन्यो इन्फ्रास्ट्रक्चर आइडिया हन्टको विजेता
काठमाडौं । कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ मेसिन इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ को विजेता भएको छ । हन्टको विजेता बन्दै अधिकारीले साढे १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, हन्टको उपविजेता सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र सहविजेता जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिन भएको छ । उपविजेता सिंहले १ लाख रपैयाँ र सहविजेता श्रेष्ठले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ संचालन गरेको थियो । यो प्रतियोगिता नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा संचालन गरिएको थियो । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२, सेप्टेम्बर ८ र ९ गते सोल्टि होटलमा समपन्न भएको थियो । उक्त कार्यक्रममा ५०० भन्दा बढी सरकारी कर्मचारी, विदेशी प्रतिष्ठित व्यक्तिहरू, थिंक ट्याङ्कहरू र लगानीकर्ताहरूको उपस्तिथि रहेको थियो ।
अघि बढ्यो माथिल्लो अरुण जलविद्युत् आयोजना
काठमाडौं । अर्धजलाशयुक्त प्रकृतिको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ आज ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । विश्व बैङ्कसमेतको लगानी रहने सो परियोजनामा आन्तरिकरुपमा ५३ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रेसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएको नेतृत्वमा अन्य सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । पहिलो चरणमा एचआइडिएसिएलको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी प्रारम्भिक सम्झौता हुनलागेको हो । त्यसमा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र नागरिक लगानी कोष रहनेछन् । ती संस्थाबीच आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी हुनलागेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए । ‘आन्तरिकरुपमा जुटाउनुपर्ने लगानीमध्येको पहिलो चरणअन्तर्गत हामीले आज प्रारम्भिक समझदारीमा हस्ताक्षर गर्न लागेका हाँै’, उनले भने, ‘विस्तारै अन्य बैङ्क तथा वित्तीय संस्थासँग पनि यस्तै प्रकारको सम्झौता गर्छौँ ।’ अन्य संस्थासँग पनि छलफल जारी रहेको जानकारी दिँदै उनले आज साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको बताए । सरकारले अर्धजलाशययुक्त प्रकृतिको सो आयोजनालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ परियोजनाका रुपमा परिभाषित गरेको छ । गेम चेञ्जर भन्नुको अर्थ सो आयोजना नेपालमा निर्माणमा जाने तयारीमा रहेकामध्ये हालसम्मकै ठूलो हो । ‘जनताको जलविद्युत् कार्यक्रम’मा समावेश भएको सो आयोजनाको क्षमता चार अङ्क बराबरको छ । अर्थात् कूल जडित क्षमता एक हजार ६१ मेगावाट बराबर छ । पछिल्लो विकसित प्रविधिको प्रयोग गर्ने हो भने आयोजनाको क्षमता एक हजार दुई सय मेगावाटभन्दा माथि हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गर्न लागेको सो आयोजना हालसम्मकै ठूलो पनि हो । आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर तथा विश्व बैङ्क, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण लगानी रहनेछ । आयोजनामा सङ्घीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ । विद्युत् बढी माग हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्णक्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत करिब दुई खर्ब २४ अर्ब रुपैयाँ बराबर छ । कूल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने योजना छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ । प्राधिकरणले माथिल्लो अरुणकै अङ्गका रुपमा रहने गरी ३० मेगावाट क्षमताको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो । सो आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यसै वर्षबाट अधिग्रहण र करिब २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यकपर्ने एक सय ८० हेक्टर जग्गामध्ये एक सय २० हेक्टर अधिग्रहण गर्नुपर्ने छ । आयोजनाबाट २५ घरपरिवार विस्थापित हुने छन् । यसै वर्षभित्र सबै काम पूरा गरेर सन् २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनाका साथ काम भइरहेको छ । आयोजनाको निर्माण सन् २०३० भित्र सक्ने लक्ष्य राखिएको छ । विश्व बैङ्कको एक करोड ३१ लाख डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भएको हो । आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिन अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत विश्व बैङ्कका प्रतिनिधि गत असारको तेस्रो साता आयोजनास्थल पुगेका थिए । आयोजनाका बारेमा सरकारको तीव्र चासो बढेको र त्यसका लागि कामसमेत सुरु भइसकेको अवस्थामा स्थानीयवासीले तत्काल निर्माण प्रक्रिया थाल्न अर्थमन्त्री शर्मालगायतको उच्चस्तरीय टोलीलाई आग्रह गरेका थिए । आयोजनाको पहुँचमार्ग निर्माणका लागि गत जेठमा विश्वव्यापी बोलपत्र आह्वान भइसकेको छ । ठेकेदार छनोटको प्रक्रिया अगाडि बढीसकेको छ । यस्तै आयोजनाको सुरपरीवेक्षणलगायतको कामका लागि परामर्शदाता छनोटका लागि पनि यसअघि नै बोलपत्र आह्वान गरिएको छ । आयोजनास्थल सङ्खुवासभाको भोटखोला गाउँपालिकामा पर्छ । चालु आवको बजेटमा चतरा–लेगुवा–तुम्लिङटार हुँदै अरूण नदीको किनारै किनार किमाथाङ्कासम्म पुग्ने द्रुतमार्गलाई विशेषरुपमा बजेट विनियोजन गरिएको छ । सो सडकलाई अन्तरराष्ट्रियस्तरको सडक बनाउने सरकारको योजना छ । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट हात झिकेर फर्केको विश्व बैङ्कले २७ वर्षपछि त्यस नदी करिडोरमा लगानीका लागि चासो व्यक्त गर्नु आफँैमा नेपालका लागि महत्वपूर्ण छ । गत असोजमा पनि ऊर्जामन्त्री भुसाल नेतृत्वको टोलीले आयोजनास्थलको निरीक्षण गरेको थियो । चालु आवको बजेटमा सरकारले सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख गरेको छ । आयोजनामा लगानी गर्न विश्व बैङ्क तयार छ । सरकारले एचआइडिसिएललाई समन्वय गर्न यसअघि दिएको जिम्मेवारीअनुसार नै आज सम्झौता हुनलागेको हो । गत चैतमा स्वदेशी लगानीकर्तासँग सरकारले बृहत् छलफल गरी लगानीका लागि आग्रह गरेको थियो । निर्माणमा लैजान ठिक्क अवस्थामा रहेका आयोजनामा बूढीगण्डकी र माथिल्लो अरुण मात्रै हो । यी आयोजनाको सम्पूर्ण अध्ययन सम्पन्न भइसकेको छ । माथिल्लो अरुणमा लगानी गर्न विश्व बैङ्कका अलावा, एशियाली पूर्वाधार लगानी बैङ्कलगायतका बहुपक्षीय दातृ निकाय पनि तयार छन् । ऊर्जा सुरक्षा र आन्तरिकरूपमा बहुउद्देश्यीय परियोजनाको विकासका लागि पनि ठूला परियोजना अगाडि बढाउनु अत्यावश्यक भइसकेको सन्दर्भमा सो आयोजना नेपालका लागि पावरहाउसजस्तै रहेको जानकारको भनाइ छ । वर्षामा बिजुली बढी हुने र हिउँदमा खेर जाने अवस्थाको अन्त्यका लागि पनि जलाशय र अर्धजलाशयुक्त प्रकृतिका आयोजना निर्माणमा जोड दिनुपर्ने आवश्यकता बढेर गएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सो आयोजनाको पहुँचमार्ग निर्माण गर्नु नै त्यसको सबैभन्दा जटिल कामका रुपमा रहेको छ । त्यसमा मात्रै दुई वर्ष लाग्नसक्ने प्राधिकरणको बुझाइ छ । पहुँचमार्ग निर्माणमा मात्रै रु नौ अर्ब बराबरको खर्च लाग्ने प्रारम्भिक अनुमान छ । त्यसलाई घटाउन सकिए आयोजनाको निर्माण अवधिसमेत छोटिनेछ । सरकारले लगानीको कुनै पनि समस्या नहुने यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ । सरकारले परियोजनाका लागि नै ऋण लिने र तिर्ने नीतिगत प्रबन्ध तयारी गरेको छ । आयोजनामा स्थानीयवासीसमेतको लगानी रहने गरी शेयर संरचना तयार पार्ने गरी सरकारले काम गरिरहेको छ । आयोजनामा जनसहभागिता भए मात्रै त्यसको दिगो विकास हुने भएकाले लगानीको ढाँचा बनाउँदैमा त्यसमा सचेत हुने गरी सरकारले प्रक्रिया थालेको हो । सोही नदीमा नै भारतीय कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको भौतिक प्रगति ६० प्रतिशतको हाराहारीमा पुगेको छ । सोही कम्पनीले तल्लो अरुणसमेतको विकास गर्ने भएको छ । प्राधिकरण र सतलजले नै अरुण चार आयोजना निर्माण गर्ने गरी सहमति गरिसकेका छन् । पछिल्ला दिनमा सो नदी करिडोरमा एकपछि अर्को आयोजना विकासको क्रममा वृद्धि भएको छ । रासस
आइएनजी फुटसल टोर्नामेन्ट सम्पन्न, विजेताले पाए एक-एक लाख रुपैयाँ
कमलपोखरी । पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९ को उपाधी हेराल्ड र इस्लिङटल कलेजले हात पारेका छन् । टोर्नामेन्टको पुरुषतर्फ हेराल्ड र महिलातर्फ इस्लिङटल कलेजले उपाधी हात पारेको हो । विजेता टिमले सम्मान पत्र, पदक र ट्रफीसँगै एक(एक लाख नगद पुरस्कार पाएका छन् । कर्मचारीलाई प्रोत्साहन गर्न आइएनजी ग्रुपले ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ गरेको जनाएको छ । उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोली सहभागि थिए । प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए । फुटसल प्रतियोगिताको ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा भएको थियो । प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजले इएनजी स्किललाई हराउँदै उपाधि हात पारेको थियो । त्यस्तै, महिला टोलीतर्फ इस्लिङ्टन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
झापामा क्यान्सर रोगीको सङ्ख्या बढ्दो
झापा । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए । विसं २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले जानकारी दिए । अघिल्लो वर्ष १२ क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले बताए । ‘पहिला वर्षको पाँच–छ जनाले सिफारिस लिने गरेका थिए’, उनले भने, ‘पछिल्लो समय क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको छ ।’ ‘अस्वस्थ्य खानपान र जीवनशैली नै क्यान्सरको मुख्य कुरा हो’, स्वास्थ्य शाखा प्रमुख यादवले भने, ‘सीमामा क्वारेन्टाइन राख्न जरुरी छ ।’ कचनकवल भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यहाँका मानिस स–साना खाद्य सामग्रीसमेत लिन सीमावर्ती भारतीय बजार जाने गर्दछन् । सीमामा क्वारेन्टाइन नहुँदा बिना परीक्षण खाद्य सामग्री भित्रिने गरेको छ । बिर्तामोडस्थित कृषथोक बजारमा भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा धेरै पाइएपछि आयातमा कडाइ गरिएको थियो । तर यहाँका सीमावर्ती बजारबाट सागसब्जीदेखि अन्य घरायसी उपभोग्य वस्तु बिनापरीक्षण सोझै भित्रिने गरेको छ । त्यस्तै गाउँपालिकाबाट ११ मिर्गौला रोगी र सात मुटुसम्बन्धी रोगीले उपचार सहुलित र डायलायसिसका लागि सिफारिस लिएका छन् । क्यान्सर रोगीलाई उपचार सहुलितका लागि भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धरान, पूर्वाञ्चल क्यान्सर अस्पतला बिर्तामोडलगायतका अस्पतालमा सिफारिस दिने गरेको छ । उक्त सिफारिसका आधारमा बिरामीले एक लाख रुपैयाँ बराबरको उपचारमा सहुलियत पाउने गरेका छन् । गाउँपालिकाले समेत क्यान्सर रोगीलाई उपचारका लागि १० हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । ‘उपचारमा सहयोग मिलोस् भनेर यातायात खर्चका रूपमा केही रकम सहयोग गर्ने गरेका छौँ’, उनले भने । त्यस्तै गाउँपालिकाले सुत्केरी महिलालाई पोषण खर्चवापत घरमै पुगेर तीन हजार रुपैयाँ र मृत्यु संस्कारमा पाँच हजार रुपैयाँ गाउँपालिकावासीलाई दिने गरेको छ । सङ्घीय सरकारको लगानीमा गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन छ भने एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, नौवटा स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्रबाट गाउँपालिकावासीले स्वास्थ्य सेवा लिँदै आएका छन् । रासस
बालेनको कामलाई समर्थन छ तर हामीलाई व्यवस्थित गर्दिनु पर्यो : फुटपाथ व्यवसायी
काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध फुटपाथ व्यवसायीले बिहीबार आन्दोलन गरेका छन् । फुटपाथ व्यवसायीहरुले बिहीबार महानगरविरुद्ध आफुहरुलाई व्यवस्थित गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् । उनीहरुले व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै प्रदर्शन गर्दै महानगर घेराउ गरेका थिए । फुटपाथ व्यवसायीहरुले बालेनको कामलाई आफुहरुको समर्थन रहेको तर आफुहरुलाई यसरी बेवारिसे रुपमा हटाउन नमिल्ने बताएका छन् । आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु पर्ने उनीहरुको माग छ ।
पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ
गलकोट । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसके । उनले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसकेका छन् । पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन भइसकेको बताँए । ‘भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अग्र्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक आउन ठिक्क परे पनि ल्याउन सकिएन’, ज्याकले भने, ‘अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।’ अहिले उक्त मार्गको अध्ययन सकिएको ज्याकको भनाइ छ । यसो त बागलुङ सदरमुकाम घुम्नका लागि आउनेहरु आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ बागलुङ बजारबाटै छोटो दूरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ बागलुङका अधिकांश होटल व्यवसायीलाई आउने प्रश्नको जवाफ हुन्छ पर्यटकीय गाउँ भकुण्डे । दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँ । बागलुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुनाहरु अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् । प्रकृतिको बरदानको रुपमै रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको वासिन्दा स्थानीय खिमबहादुर थापाको बताउँछन् । अतिथि सत्कार सामुदायिक घरबासको अध्यक्ष समेत रहनुभएका थापाका अनुसार भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भइसकेको छ । किन लोभिन्छन् भकुण्डेमा पर्यटक एउटा पर्यटकीय गन्तब्य बन्नका लागि धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलकन । नभन्दै यस गाउँमा तालदेखि दृश्यावलोकन स्तम्भसम्म र सङ्ग्रहालयदेखि उद्यानसम्मको पूर्वाधार निमाृण गरिएको छ । भकुण्डेको मध्यभागमा छ सुन्दर बराह ताल छ । बराह तालमा पर्यटकको माग अनुसार डुङ्गासमेत शयर गर्न सकिन्छ । यहाँको कला संस्कृतिसँगै अग्र्यानिक खानाका परिकार र न्यानो आथित्यताले यहाँ आउने पर्यटकहरु लोभिने गरेका छन् । तालको छेउबाटै बागलुङ बजारको दृश्यसमेत अवलोन गर्न सकिन्छ । भकुण्डेस्थित मुलावारीमा हिराताल भने विस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको दृश्यावलोकन स्तम्भबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेसहित एक दर्जन हिमश्रृङ्खलाको मनोरम दृश्य आँखामा कैद गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको दृश्यावलोकन स्तम्भबाट देखिने सूर्योदयका दृश्यले पर्यटकहरु सम्मोहित हुने गरेका छन् । घरबासमा आएका पहुनाको स्वागत र बिदाई गर्ने संस्कारले घरबासमा आउने पर्यटकहरु लोभिन्छन् । यहाँले मगर सङ्ग्रहालयले स्थानीय जीवनशैलीलाई जीवन्त तुल्याएको छ । भकुण्डेबाट केही बेरको पदयात्रामै वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ । घरबास पर्यटनका अभियन्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उहाँको शहिदसहितको उद्यान समेत निर्माण भइरहेको छ । क्याप्टेन रुद्रमानले नै नेपालको पहिलो घरबासको रुपमा स्याङजाको शिरुबारीमा घरबास सञ्चालन गरेका थिए । आन्तरिक पर्यटकको आकर्षण केन्द्रका रुपमा लिए पनि यहाँको घरबास विदेशी पर्यटकहरु हेलिकप्टरमार्फत समेत आउने गरेका छन् । भकुण्डेमा चीन, कोरिया र जापान, अमेरिकालगायतका देशबाट पर्यटकहरु आउने गर्दछन् । घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरु पदयात्रा गर्दै यहाँ आउन थालेका छन् । साहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरुमध्ये केही पर्यटक बागलुङ कालिका दर्शनपछि भकुण्डे पुग्ने गरेका छन् । खानेपानी र सडक सुधारको आवश्यक घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भए पनि यहाँ आउने सडक मार्ग भने सुधार गर्न आवश्यक रहेको बागलुङ नगरपालिका–१० का वडाध्यक्ष तीलबहादुर थापाले बताए । थापाका अनुसार यहाँ आउने पर्यटकलाई सडक मार्गको स्तरोन्नति नहुँदा सास्ती छ, बरु हिडेर छिटो आउन सकिन्छ तर सडक मार्गमार्फत ढिलो हुँने गरेको छ, पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पु¥याउन पहल भइरहेको उनले बताए । ‘यहाँका महिलाहरु चुलाचौकामा मात्रै सीमित थिए, अहिले पर्यटकका कारण यहाँका महिलाले घरबास सञ्चालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन्, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण भकुण्डेमा अन्य विकासका पूर्वाधारहरु समेत निर्माणले गति लिएको छ’ थापाले भने ‘अहिले मुख्य समस्या भनेको पानी र सडकको सुधार हो । खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा वर्खाको पानी संकलनका लागि घैटो निर्माण गरिएको छ । केहीवर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणधीन अवस्थामा रहेको छ ।’ भकुण्डे विशेष पर्यटकीय क्षेत्र घोषणाको तयारी बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गर्ने तयारी रहेको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गर्ने तयारी रहेको बताए । ‘गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसँग मैले कुरा गरेको छु, बागलुङ नगरपालिकाले पर्यटनकै शिर्षकमा बर्षेनी बजेट हाल्ने गरी भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरे अगाडि बढ्नेछ’ उपप्रमुख खड्काले भने । भकुण्डे बागलुङ जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य भइसके पनि पर्यटकीय पूर्वाधारमा जोड दिइएको उनको भनाइ छ । भकुण्डे नजिकै बलेवाको ढिकबाट प्यराग्लाइडिङ समेत गर्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुरु भएपछि सराङ्कोटको प्याराग्लाइडिङ गुम्ने खतरा छ । त्यसको विकल्पको रुपमा उक्त स्थानलाई लिन सकिने भन्दै प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण भइसकेको छ भने प्याराग्लाइडिकङको सफल परीक्षण समेत भइसकेको छ । पर्यटकको आकर्षण अग्र्यानिक परिकार भकुण्डे गाउँमा उत्पादन भएका अग्र्यानिक परिकारले समेत पर्यटकहरुलाई थप आकर्षण गरेको छ । अहिले यहाँका आठ घरमा घरबास सञ्चालन गरिएको छ । भकुण्डे घुम्न आएका पर्यटकहरुको बसाई लम्बाउनका लागि स्थानीय परिकारले सहयोग पु¥याएको घरबासका सञ्चालक इन्द्र कुमारी थापाले बताए । विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएका यहाँको घरबासमा एकै रात ५० जना भन्दा बढी पहुना राख्न सकिने क्षमता रहेको घरबास सञ्चालक अप्सरा थापाले बताए । सामुदायिक घरबासमा पछिल्लो पटक पहुनाको रोजाइअनुसारको सेवा सुविधा दिँइदै आएको छ । सामुदायिक घरबासबाहेक भकुण्डेमा अन्य व्यक्तिगत रेष्टुराँ र होटल समेत सञ्चालित छन् । घरबासमा कोदोको सेल रोटी, गुन्द्रुकको अचार, आलुको परिकार, लोकल खसी तथा कुखुराको मासुको परिकारले पर्यटकहरलाई लोभ्याउने गरेको घरबास सञ्चालक इन्द्र कुमारी थापाले बताए । चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार र भाङ्गोको अचार समेत निकै स्वादिष्ट हुने गरेको छ । घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, मकै, भटमास, साग, सिस्नो, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् भने बस्नका लागि आरमदायी कोठाको सुविधा दिइएको छ । शुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै लगेका छन् । घरबासमा तातो चिसोपानीको व्यवस्थापनसहितको शौचालय र स्नानघरको समेत सुविधा छ । स्थानीय उत्पादनहरुको स्वादको मज्जा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् । कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटकन अहिले पुनः फष्टाउन थालेको छ । वर्षाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको बेला यहाँका घरबासमा भने पर्यटकको चहलपहल भइरहेको अतिथि सत्कार घरबासका सञ्चालक थापाले बताए । भकुण्डे गाउँमा आउने पर्यटकको कारण यहाँको मुहारै फेरिएजस्तै जिल्लाको अन्य स्थानमा समेत ग्रामीण पर्यटनको अवधारणा ल्याउन सकिनेतर्फ ध्यान दिन थालिएको छ । रासस
बैंकको एउटा शाखाले साढे ४ हजारलाई सेवा दिँदै, बझाङको साइपालमा पुग्न सकेनन् बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो शाखा सञ्जाल विस्तारमा व्यापकता ल्याएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ७७ वटा जिल्लाका ७५२ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुले आफ्नो बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । अझै एउटा स्थानीय तह अर्थात् बझाङको साइपालमा भने वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । केन्द्रिय बैंकको तथ्याङ्क अनुसार वाणिज्य, विकास र वित्त कम्पनीका शाखा सञ्जालको संख्या ६ हजार ४२० वटा रहेका छन् । राष्ट्र बैंकका अनुसार ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शाखा सञ्जाल ५ हजार १३५ वटा छन् । २६ वटा वाणिज्य बैंकका ५ हजार ३१ वटा शाखा, १७ वटा विकास बैंकका १ हजार १२० वटा शाखा, १७ वटा फाइनान्स कम्पनीका २६९ वटा शाखा र ६५ वटा लघुवित्तका ५ हजार १३५ वटा शाखा कार्यालय रहेका छन् । प्रदेश नं. १ मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका ९९२ वटा शाखा, मधेश प्रदेशमा ६९७ वटा शाखा, बागमति प्रदेशमा २ हजार २४५ वटा शाखा, गण्डकी प्रदेशमा ८२९ वटा शाखा, लुम्बिनी प्रदेशमा १ हजार ४४ वटा शाखा, कर्णाली प्रदेशमा २२४ वटा र सुदूरपश्चिम प्रदेशमा ३८९ वटा गरी कुल ६ हजार ४२० वटा शाखा सञ्जाल रहेका छन् । देशभरको तुलनाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको एउटा शाखाले ४ हजार ५४७ जनालाई सेवा दिने गरेको राष्ट्र बैंकले जनाएको छ । तर, लघुवित्तहरुको संस्थाहरुको शाखा सञ्जालसहित जोड्ने हो भने एउटा शाखाले २ हजार ५२६ जनालाई सेवा प्रदान गर्ने गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेश नं. १ मा वाणिज्य बैंकका ७६६ वटा, विकास बैंकका १९४ वटा र फाइनान्स कम्पनीका ३२ वटा गरी कूल ९९२ वटा शाखा सञ्चालनमा रहेका छन् । प्रदेशको १ मा ४९ लाख ७२ हजार २१ कूल जनसंख्या रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले ५ हजार १२ जनालाई सेवा प्रदान गर्ने गरेका छन् । यस्तै, मधेश प्रदेशमा वाणिज्य बैंकका ५७५ वटा, विकास बैंकका ८४ वटा र फाइनान्स कम्पनीका ३८ वटा शाखा गरी कूल ६९७ वटा शाखा सञ्चालनमा छन् । मधेशमा ६१ लख २६ हजार २८८ जनसंख्या रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले ८ हजार ७९० जनालाई सेवा दिने गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, बागमति प्रदेशमा वाणिज्य बैंकका १ हजार ८१५ वटा, विकास बैंकका ३२३ वटा र फाइनान्सका १०७ वटा गरी कूल २ हजार २४५ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा ६० लाख ८४ हजार ४२ जनसंख्या रहेकोमा एउटा शाखाले २ हजार ७१० जनालाई सेवा दिने गरेका छन् । यस्तै, गण्डकी प्रदेशमा वाणिज्य बैंकका ६०२ वटा शाखा, विकास बैंकका १९० वटा शाखा र फाइनान्सका ३७ वटा शाखा गरी प्रदेशभरि ८२९ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा २४ लाख ७९ हजार ७४५ जनसंख्या रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले २ हजार ९९१ जनालाई सेवा दिने गरेको छ । यस्तै, लुम्बिनी प्रदेशमा वाणिज्य बैंकका ७४२ वटा, विकास बैंकका २५६ वटा र फाइनान्सका ४६ वटा गरी कूल १ हजार ४४ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा ५१ लाख २४ हजार २२५ जनसंख्या रहेकोमा बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले ४ हजार ९०८ जनालाई सेवा प्रदान गर्ने गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यस्तै, कर्णाली प्रदेशमा वाणिज्य बैंकका २ सय वटा, विकास बैंकका २१ वटा र फाइनान्सका ३ वटा गरी कूल २२४ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेकोमा बैंक तथा वित्त संस्थाको एउटा शाखाले ७ हजार ५६६ जनालाई सेवा दिने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३३१ वटा, विकास बैंकका ५२ वटा र फाइनान्सका ६ वटा शाखा गरी कूल ३८९ वटा शाखा सञ्चालनमा छन् । यस प्रदेशमा २७ लाख ११ हजार २७० जनसंख्या रहेकोमा एउटा शाखाले ६ हजार ९७० जनालाई सेवा दिइरहेका छन् । जिल्लागत हिसाबमा हेर्ने हो भने सबैभन्दा धेरै जाजरकोटमा एउटा शाखाले १३ हजार ५२६ जनालाई सेवा दिने गरेका छन् । यस्तै, बैतडीमा एउटा शाखाले १२ हजार ८६३ जनालाई, रौतहटमा एउटा शाखाले ११ हजार ७९५ जना, सप्तरीमा ११ हजार ३२१ जना, अछाममा १० हजार ९४४ जना, रोल्पामा १० हजार २७१ जना, दैलेखमा १० हजार १३३ जनालाई एउटा शाखाले सेवा दिने गरेका छन् । यस्तै, मनाङमा एउटा शाखाले ५१३ जना र मुस्ताङमा एउटा शाखाले ८५९ जनालाई सेवा दिने गरेका छन् । बैंक तथा वित्त संस्थाका मनाङमा ११ वटा र मुस्ताङमा १७ वटा शाखा सञ्चालनमा रहेका छन् ।