प्रतिकित्ता ३९५ रुपैयाँमा आशा लघुवित्तले ३ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । आशा लघुवित्तले संस्थथापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । लघुवित्तको उक्त सेयर योग्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने छन् । लघुवित्तको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सकिनेछ । लघुवित्तको संस्थापक सेयर बिक्री विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लघुवित्तको सेयरमा लगानीकर्ताले असोज ४ गतेदेखि असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अब पूर्वाधार एम्बुलेन्स सडक पिच गर्न प्रयोग गरिने, महानगरले छुट्यायो २० करोड बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले अब सडकमा भएको खाल्डालाई पिच गर्ने भएको छ । सडकमा भएको खाल्डा पुर्दै आएको महानगरले अन्ततः अब पिच गर्ने योजना भएको हो । महानगरपालिकाले टेन्डरको आव्हान गरेर सडकका खाल्डो पिच गर्ने योजना बनाएको काठमाडौं महानगरपालिका इन्जिनियर हरि बहादुर बुढाले जानकारी दिए । महानगरले अहिले टेन्डरको आव्हान गर्ने प्रक्रिया अगाडि बढाएको छ । इन्जिनियर बुढाका अनुसार सडकका खाल्डोहरु पिच गर्नको लागि महानगरले २० करोड रुपैयाँ बजेट छुट्याएको छ । पूर्वाधार एम्बुलेन्सको साहयताले सडकको खाल्डोहरु पुर्दै आएको महानगरले अब टेन्डरको आव्हान गरेर महानगर भित्रका सडकको पिच गर्ने लक्ष्य लिएको हो । ‘अहिले हामीले एम्बुलेन्सको साहयताले सडकमा भएका खाल्डा पुर्दै आएका छौं, अब टेन्डर प्रक्रियाबाट खाल्डालाई पिच गर्ने योजना बनाएका छौं, यसका लागि इस्टिमेट गरी सार्वजनिक निर्माण विभागलाई बुझाएका छौं, उहाँहरूले स्वीकृत गरेर खरिद विभागमा पठाइसकेपछि टेन्डरको काम सुरु हुन्छ,’ उनले विकासन्युजसँग भने । महानगरले तिहारपछिदेखि काम सुरु गर्ने तयारी गरिरहेकाे छ । महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक महिनादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आइरहेको छ । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदैछ । पूर्वाधार एम्बुलेन्सको सहायताले महानगरले अहिले नागरिकको गुनासो अनुसार टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ । महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुमा मात्र हुन्छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्न थालेको हो । महानगरपालिकाका अनुसार कल सेन्टरमार्फत् सडक पेटी, ढल, इँटा, ब्लकहरू बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने महानगरले गरेको छ । हिजोबाट खाल्डा पुर्ने कच्चा पदार्थ सकिएको पनि बुढाले जानकारी दिए । अहिले कच्चा पदार्थ ल्याउने प्रक्रियामा पनि महानगर लागेको छ । महानगरका अनुसार अहिले २ वटा पूर्वाधार एम्बुलेन्सले सडकका खाल्डा पुर्दै आएको छ । टेन्डरको आव्हान गरी ठेक्का लगाए पश्चात् महानगरले सडकका खाल्डाको पिच सुरु गर्ने लक्ष्य लिएको पनि बुढाले बताए । ‘अहिले बर्खा समय छ, खाल्डामा माटो हालेर पुर्दा पानीले बगाएर लान्छ, सडक हिलो हुने जस्ता समस्या बढी भयो, पूर्वाधार एम्बुलेन्स पनि निरन्तर काम गरी राख्छ,’ उनले भने । काठमाडौं महानगरपालिकाले यसअघि पनि खाल्डाखुल्डी पुर्न र मर्मतसम्भार निजी कम्पनीलाई जिम्मा दिएर ठेक्कामार्फत गर्दै आएको थियो । तर ठेकेदार कम्पनीले मर्मतसम्भार गर्न ढिलो जाने भएकाले प्रभावकारी भएको थिएन । अब महानगरले आफै काम गर्न लागेको हो ।
म्याग्दीको रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताए । ‘गाउँपालिकाले तीन सय १५ एमएम क्षमताको एक सय ३८ मिटर पाइप उपलब्ध गराएको थियो’, उनले भने, ‘परियोजनासँग रहेको १२ मिटर पाइपलाई दुईलाइनमा जोडेर ७५ मिटर दूरीमा पानी तारिएपछि मङ्गलबारदेखि विद्युत् उत्पादन थालिएको छ ।’ जमिन भासिएपछि नहर पुलजस्तै बनेर जुनसुकै बेला भत्किएर थप क्षतिको जोखिम भएकाले त्यसलाई भत्काएर पाइप राखिएको हो । परियोजना बन्द हुँदा उज्यालोका लागि टुकी, सोलारमा भर पर्नुपरेको थियो । घरायसी कामकाज र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । विसं २०६६ देखि नियमित विद्युत् उत्पादन गर्दै आएको परियोजनाबाट मालिका गाउँपालिकाको दरवाङ, थापाचौर, बतासे, फूलबारी, गरजरा, महभिर, अदिभारा, डाडागाउँ, औल, कोदालिवाङ र खहरेका आठ सय ५५ घरधुरी विद्युत् उपभोक्ता छन् । मालिका गाउँपालिकाको करिब चार लाख अनुदान सहयोगमा गत असार अन्तिम साता परियोजनाको मुहान मर्मत गरिएको थियो । रासस
रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ भदौ २८ गते मंगलबार बाँडफाँट सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओको नतिजा निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, सहनिष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाइटबाट हेर्न सकिनेछ । कम्पनीको सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं.६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए । कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आज (भदौ २९ गते, बुधबार) देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरिएको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताए । “गाउँपालिकाले तीन सय १५ एमएम क्षमताको एक सय ३८ मिटर पाइप उपलब्ध गराएको थियो”, उनले भने, “परियोजनासँग रहेको १२ मिटर पाइपलाई दुईलाइनमा जोडेर ७५ मिटर दूरीमा पानी तारिएपछि मङ्गलबारदेखि विद्युत् उत्पादन थालिएको छ ।” जमिन भासिएपछि नहर पुलजस्तै बनेर जुनसुकै बेला भत्किएर थप क्षतिको जोखिम भएकाले त्यसलाई भत्काएर पाइप राखिएको हो । परियोजना बन्द हुँदा उज्यालोका लागि टुकी, सोलारमा भर पर्नुपरेको थियो । घरायसी कामकाज र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । विसं २०६६ देखि नियमित विद्युत् उत्पादन गर्दै आएको परियोजनाबाट मालिका गाउँपालिकाको दरवाङ, थापाचौर, बतासे, फूलबारी, गरजरा, महभिर, अदिभारा, डाडागाउँ, औल, कोदालिवाङ र खहरेका आठ सय ५५ घरधुरी विद्युत् उपभोक्ता छन् । मालिका गाउँपालिकाको करिब रु चार लाख अनुदान सहयोगमा गत असार अन्तिम साता परियोजनाको मुहान मर्मत गरिएको थियो ।
नेपाल ट्रान्जिट तथा वेयरहाउजिङको अध्यक्षमा पन्त, निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनीको अध्यक्षमा छपिराज पन्त नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले उनलाई सो कम्पनीको अध्यक्षका रुपमा नियुक्त गरेको हो । सरकारी स्वामित्वको उक्त कम्पनीको अध्यक्षको रुपमा उनले मंगलबार सपथ पनि लिएका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयबाट उनले सपथ लिएका हुन् । बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव हासिल गरिसकेका उनी नेपाल एसबिआई बैंकका सल्लाहकार पनि हुन् । उनले सो बैंकबाट अवकास पनि पाएका हुन् । उनीसँग करिब ५ वर्ष सरकारी बैंकमा काम गरेको अनुभव पनि छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । नव नियुक्त अध्यक्ष पन्तले सफ्टवेरको प्रयोग, कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको क्षमता अभिवृद्धि तथा निजी क्षेत्रलाई यस क्षेत्रमा आकर्षित गर्नका लागि आफुले महत्वपूर्ण पहल गर्ने बताए । विभिज्न गोदाम तथा बन्दरगाहहरुलाई इनोभेट गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ । नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनी लिमिटेड नेपाल सरकारको एक मात्र सार्वजनिक क्षेत्रको संस्था हो । जसले पारवहन यातायात, गोदाम र लजिस्टिक सञ्चालनको हेरचाह गर्छ । यस कम्पनीले कोलकत्ता, हल्दिया र नेपाल सीमानाको बन्दरगाहको बीचमा सामानको ट्रान्जिट आवागमनको संरक्षकको रूपमा काम गर्दै आएको छ ।
मेलम्चीका बाढी प्रभावितको समस्या सुल्झाउन पूर्वमन्त्री बस्नेतको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन् । मङ्गलबार हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उहाँले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरुको समस्या समाधान गर्न आग्रह गरे । उनले जोखिमयुक्त स्थानहरुको निर्माण तथा मर्मतसम्भार गर्न प्रदेश सरकारलाई आग्रह गरे । प्रदेश सरकारले सो क्षेत्रका लागि उपलब्ध गराएको रु १० करोडको बजेट पनि समयमै कार्यान्वयन नभएको भन्दै नेता बस्नेतले सयौँ घर विस्थापित भएकामा चिन्ता व्यक्त गरेका छन् । प्रदेश सरकारले पीडितहरुको घर बनाइदिने भनेर निर्णय गरेको भए पनि हालसम्म निर्माण कार्य नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले हेटौंडामा सडक विस्तार गर्न, व्यवस्थित राजधानीका रूपमा विकास गर्न र प्रदेशको आफ्नै संरचना निर्माण गर्नसमेत सुझाव दिए । रासस