विकासन्युज

सनराइज बैंकको खातामा भारतबाट सिधै पैसा राख्न सकिने

काठमाडौं । सनराइज बैंकले युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तरआवद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ । मंगलबार एक समारोहबीच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदान प्रदान गरेका छन् । सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआइ नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जानकारी दिएकाे छ । यस सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपिआइमार्फत सनराइज बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न सक्नेछन् । यस्तै, भारतिय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।

१ करोडको पुरस्कार लिँदै महाविरले भने : एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर अर्थतन्त्र सुधार हुँदैन

काठमाडाैं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलबार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पु¥याउन आवश्यक रहेको बताए । उनले एउटा मात्रै आविष्कार केन्द्रहरु नभइ धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो । ‘देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु पर्दैन, आविष्कार केन्द्रहरुलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने हुँदैन, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुँदैन, उनले भने ।  

चीनकोविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न दिनेछैनौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताएका छन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाए । उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे । सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरे । सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए । उनले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिए । अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गरे । उनले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिए । उनले नेपालको सार्भभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताए । रासस

महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी गौतमलाई

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानबिन गर्न गठित सो समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । समितिको कामकारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए । सबै राजनीतिक दलका प्रतिनिधिहरु भएकाले हुनाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद समितिमा नभएको पनि उनले बताए । नेता विश्वकर्माले भने, ‘सञ्चारकर्मी साथीहरुले समितिका सदस्यहरुसँग समितिको बारेमा र समितिको कामकारबाहीको बारेमा लिएका सूचनाहरुको विषयलाई लिएर विभिन्न किसिमका अंशमा प्रशारण गरिएको सूचनाहरुले भ्रम सृजना गरेको हुनाले समितिको सूचना एकद्वार प्रणालीबाट जाओस् भनेर समितिका सचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोक्ने निर्णय हामीले ग¥यौं, प्रवक्ता तोक्ने विषयमा विवाद भएन, हामी सबै राजनीतिक दलहरुबाट प्रतिनिधित्व गर्ने हुनाले समितिको सचिवलाई तोक्दा निर्विवाद हुन्छ भनेर प्रस्ताव गरियो, त्यसमा विवाद भएन ।’ बैठकमा समितिको सूचना गलत ढंगले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको थियो ।

नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल युवा उद्ममशीलता शिखर सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल युवा उद्ममशीलता शिखर सम्मेलन सम्पन्न भएको छ । युवा उद्ममशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्र्रतनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने मागसहित सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको समुद्घाटन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र समापन नेपाल उद्मोग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरेका थिए । सम्मेलनले बागमती प्रदेश सरकार, नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको सयुक्त आयोजना सम्पन्न सम्मेलनले स्टार्टअप इकोसिस्टम निमार्णमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तिनवटै सरकारले प्राथमिकता दिनुपर्ने, स्टार्टअपका लागि परियोजना धितो राखेर लोन दिने व्यवस्था गर्नुपर्ने र यसको प्रक्रिया सर्वसुलभ र झन्झटरहित हुनुपर्ने निष्कर्ष निकालेको छ । यसका साथै सम्मेलनले सरकारले दिने सहुलियतपुर्ण कर्जा सहि ठाँउमा जानुपर्ने सुझाव पनि दिएको छ । सम्मेलनका आयोजक समितिका संयोजक विशाल गैरेले बैंक, वित्तिय संस्था, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र विभिन्न प्राइभेटमार्फत नेपालमा युवा उद्ममशीलता प्रवद्र्धन हुँदै गएको र आगामी दिन नेपालको युवा उद्ममका लागि सकारात्मक रहेको निष्कर्ष समेत निकालेको जानकारी दिएका छन् । यस्तै, राष्ट्रिय युवा परिषद्का पाध्यक्ष सुरेन्द्र बस्नेतले युवा उद्ममका चुनौती र अवशर दुवै भएकोले चुनौतीलाई असवसरमा बदल्न डिजिटलमैत्री उद्ममको परिकल्पनामा राष्ट्रिय युवा परिषद् रहेको बताए । सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पुर्व अर्थमन्त्री सु्रेन्द्र पाण्डे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, प्रधानमन्त्रीका आइटी सल्लाहकार दिपेश बिष्ट, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, नेपाल दुरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्म खनाल, बरिष्ठ उद्ममी पवन गोल्यान, हरीभक्त सर्मा, भवानी राणालगायतले बिभिन्न सेसनमा आफनो धारणा राखेका थिए । त्यसैगरी, उद्ममी रञ्जीत आचार्य, मौषमी श्रेष्ठ, बैंकर किरण कुमार श्रेष्ठ, मनोज ज्ञवाली, प्रविन बस्नेत, डा। नरबहनदुर बिष्ट, डा।छिरिङ् लामा, इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंसीलगायतका वक्क्ताहरुले उद्ममशीलताका अनुभव, धारणा र अहिलेको अवस्थाका सम्बन्धमा युवाहरुसँग अन्तरक्रिया गरेका थिए । युवाहरुको नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग गरेर युवाहरुले पनि बजारको सम्भाब्यता अध्ययन गरेर नयाँ आइडिया ल्याउनुपर्ने सम्मेलनको निष्कर्ष रहेको छ । सम्मेलनमा ५५ जिल्लाका युवा उद्ममी र युवा उद्ममी बन्न चाहने करिव ४०० युवाहरुको सहभागीता रहेको थियो ।

कपिलवस्तुका बासिन्दा अझै अन्धकारमा बस्न बाध्य

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण यहाँका ४५ घर परिवार वर्षौदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् । चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा विसं २०२८ मा गाउँ बसेको हो । गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय एम वि सेन्चुरीले बताए । वनकासवासा र धानखोलामा विद्युत् नहुँदा त्यहाँका बासिन्दालाई निकै कठिनाइ भोग्नुपरेको धानखोलाका समाजसेवी दिनेश पुनले बताए । वनकसबासा देखि आठ किलोमिटर र धानखोलादेखि सात किलोमिटरको दुरी मात्र रहेपनि सम्बन्धित निकायले विद्युत् लाइन विस्तारको लागि खासै चाँसो नदिएको समाजसेवी दिनेश पुनले बताए । स्थानीय धर्मविर मगर विद्युत् सेवा नहुँदा सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेको बताउँछन् । शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले त्यस क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण कृष्णनगरसंग समन्वय गरिरहेको बताए । अहिले बर्खाको समय भएकाले काम सुरु हुन समस्या हुदाँ असोजदेखि विद्युत् विस्तारको काम सुरु हुने उनले बताए । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण शाखा प्रमुख कमर आलम खाँले अब केही महिनाभित्रै चोरखोलामा विद्युत् विस्तार गरिने बताए । टेन्डर प्रक्रियाअघि बढेकाले अब विद्युत् विस्ताको काम सुरु गर्ने शाखा प्रमुख खाँले जानकारी दिए । रासस

परराष्ट्रमन्त्री डा खड्का र अध्यक्ष लीबीच भेटवार्ता

काठमाडाै‌ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् । आज यहाँ भएको भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । रासस

ग्लोबल आइएमई क्यापिटल पनि अब एनिपएसमा आवद्ध

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झाैता भएकाे छ ।क्यापिटलले एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनिपएस)को लागि सम्झौता गरेकाे हाे । सम्झौता पत्रमा क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनिपएसको उक्त सम्झौता पश्चात क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी ग्राहकले डिभिडेण्ड भुक्तानी, डिपीको शुल्क संकलन, म्युचल फण्ड सम्बन्धी भुक्तानी लगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन । क्यापिटलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसिएचएल आइपिएस प्रणालीको प्रयोग गर्दै आएको छ ।