चिनिया नाकाहरु दशैंअघि नै खुल्ने
काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु दशैं अगाडि नै खुल्ने बताएका छन् । मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरुसँग छलफल गरेर दशैं अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् । उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाई छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाई गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए । उनले पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताए । उनले एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको छ । ‘उत्तरी सीमा नाकाको विषयमा दुई पक्षबीचको बैठकमा स्वास्थ्य मापदण्डका कारण बन्द गरिएको बताएका छन् । कोभिड शुन्य नीतिमा तल माथि गर्न सक्दैनौं, चीन पक्ष नेपालको कोभिड सम्बन्धी मापदण्ड चीनको भन्दा कमजोर रहेको भन्ने रुपमा प्रस्तुत हुन्छन्, चीन पक्षले परराष्ट्र मन्त्रालय वा वाणिज्य मन्त्रालयको बैठकमा एउटै विषय उठाउने गरेका छन्, तर अहिले नेपालको स्थास्थ्य मापदण्डलाई हेरेर नाका खुला गर्ने तयारी भएको छ, दशैँ अगाडि नाका खुल्छ, पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकमार्फत हुने अवैध कारोबार बढेको छ । एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गरेको देखिएको छ ।’ उनले भने । त्यस्तै, नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गरे । उनले राजश्व परामर्श समितिलाई लिखित रुपमा नै सुझाव सहित माग पेस गरेको बताए । सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीहरुको महान पर्व दशैँको लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताए । उनले दशैंमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारीहरु पलायन हुने अवस्था आउनसक्ने बताए । उनले नेपाली व्यवसायीहरुले अर्बौं रुपैयाँमा खरिद गरेर ल्याएका सामानहरु उत्तरी नाका लासा, सिगासे, केरुङ र खासा लगायतका नाकाहरुमा सामानहरु राकिएको समेत बताए । सचिव पराजुलीले सरकारले व्यवसायीहरुलाई सहजरुपमाव्यापार गर्ने वातावरण बनाउनुपर्ने बताए ।
बजारमा आयो नयाँ सुपर स्प्लेन्डर, विभिन्न कलरमा २ लाख ६६ हजार रूपैयाँमै पाइने
काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै कम्पनीले उक्त बाईक सार्वजनिक गरेको हो । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर-पावर, सुपर-माइलेज र सुपर-कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको छ । यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी-एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड-स्ट्यान्ड इन्जिन कट-अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर-प्याक गरिएको छ । यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा २ लाख ६६ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्ना उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ र आफ्ना ग्राहकहरूलाई वर्ग-अग्रणी कार्यसम्पादन प्रदर्शन (पर्फमेन्स), सुविधाहरू र शैली प्रदान गर्दै आएको छ । हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो । यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेट सहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन् । हीरो सुपर स्प्लेन्डर-उत्पादन हाइलाइटहरू स्मार्ट टेक्नोलोजी सुपर स्प्लेन्डरको साथ सवारी चालक (राइडर)लेसवारी र कनेक्टिभिटीको कार्यहरू पहुँच छिटो र छरितोरूपमा प्राप्त गर्न सक्दछ । इन्टिग्रेटेड यूएसबी चार्जिङ पोर्टका साथै डिजी-एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ्युल इन्डिकेटर पनि उपलब्ध गराउँछ । इन्जिन नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ७५०० आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ र ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ । इन्जिनमा एडभान्स प्रोग्राम्ड फ्युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालन (राइड)को सेवा प्रदान गर्दछ । यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ । सुरक्षा चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड-स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड-स्ट्यान्ड इन्जिन कट-अफ’ रहेको छ । यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङको लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) को विकल्प पनि रहेको छ । रङ सुपर स्प्लेन्डर ग्लेज ब्ल्याक, नेक्सस ब्लु, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रंगमा उपलब्ध छ ।
डेङ्गुको प्रकोप रोक्न महानगरले छुट्टायो वडाहरुलाई बजेट, कुनलाई कति ?
काठमाडौं । पछिल्लो समय बढ्दै गइरहेको डेङ्गुको प्रकोप रोक्न काठमाडौं महानगरपालिकाले बजेट छुट्टाएको छ । यसलाई न्यूनिकरण गर्न केहि अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको महानगरले वडाको आकार अनुसार बजेट छुट्टाएको हो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)का अनुसार महानगरले ठूला वडाहरुमा १ लाख रुपैयाँ, मध्यमका लागि ७५ हजार रुपैयाँ र साना वडाहरुमा ५० हजार रुपैयाँका दरमा बजेट छुट्याएको छ । तर यो प्रयत्न पनि अपुग भएको बालेनले बताए । ‘किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ,’ उनले भनेका छन् । साथै, उनले यो प्रकोपलाई न्यूनिकरण गर्न तीन वटा सुझाव अर्थात आग्रह गरेका छन् । जसमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्न उनले आग्रह गरेका छन् । त्यस्तै, लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्ने भएकाले सडकमा हिड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिन उनले आग्रह गरेका छन् । उनले पानी जम्मा हुन नदिन पानी जम्मा भएको ठाउँ छ भने त्यसलाई घोप्ट्याइदिन समेत उनको आग्रह छ । साथै, डेङ्गुबाट संक्रमण भएकाले स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्न उनले आम मानिसलाई आग्रह गरेका छन् । ‘डेङ्गुको प्रकोप बढ्दो छ, घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन्, जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौं,’ सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् । महानगरले हाल सञ्चालन गरिरहेका ७ कार्यक्रमहरु गत भदौ १३ गतेदेखि सबै क्लिनिक इन्चार्जहरुलाई केन्द्रमा प्रशिक्षण सञ्चालन भएको छ । भदौ १४ गतेबाट वडा वडामा जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयंसेविका, संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिई घरदैलो अभियान चलाइएको छ । जुन हालसम्म जारी छ । प्रत्येक विद्यालयमा विद्यालय नर्स र स्वास्थ्यकर्मीबाट विद्यार्थीहरुलाई डेंगीबारे सचेत गराउने कार्यक्रमको थालनी गरिएका छन् । ब्रोसर, ब्यानर छपाई गरी घरदैलो कार्यक्रममा वितरण गरिएको छ । घरदैलो कार्यक्रममा लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान ३२सै वडामा सञ्चालन भइरहेको छ । सचेतनामूलक सन्देश बनाई सञ्चार माध्यमहरुबाट प्रसारण गर्न शुरुवात गरिएको छ । आरडीटी (र्यापिड डाइगोनिष्ट टेष्ट) परीक्षण कार्य भदौ २९ गतेदेखि शुरु गरिने छ । शरुमा प्रयोगशाला भएका क्लिनिक जस्तै : रामघाट, २६ वडा, १९ वडा र ३० वडामा सञ्चालन गरिने महानगरले जानकारी गराएको छ ।
मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुँदैन : वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् । तनहुँको म्याग्दे-१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गरेका छन् । वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले त्यसबारेमा आपत्ति जनाउँदै दमौली आउने पानीको मुहान बन्द गरी दिएका छन् । पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पुर्याउन आग्रह गरेका छन् । गुणादीका स्थानीयवासीले पानीको मुहान बन्द गरिदिएपछि दमौलीमा पानीको अभाव सुरु भएको छ । रासस
कर्पोरेट कर्जाभन्दा सानो कर्जाले अर्थतन्त्रमा सहयोग, बैंकले कुन क्षेत्रमा लगानी गर्दा बढी सुरक्षित ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि विभिन्न क्षेत्र तोकेर कर्जा लगानीका लागि सीमा निर्धारण गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् पनि राष्ट्र बैंकले विभिन्न क्षेत्रहरु तोकेर कर्जाको सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले २०८२ सम्ममा कृषिमा १५ प्रतिशत, उर्जामा १० प्रतिशत, लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने व्यवस्था गरेको छ । १ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यससँगै बैंकहरुले अन्य धेरै क्षेत्रमा पनि लगानी गर्छन् । बैंकरहरु ठूला आयोजना तथा परियोजनामा कर्जा प्रवाह गर्दा समयावधि बढी हुने भएकाले जोखिम बढी हुने बताउँछन् । साना तथा मझौला खालका उद्योगहरुमा कर्जा गर्दा सर्वसाधारणको जीवन सहज हुने र अर्थतन्त्रलाई समेत ठूलो सहयोग पुग्ने गरेको उनीहरुको बुझाइ छ । ग्लोबल आइएमई बैंकका डीसीईओ सुरेन्द्रराज रेग्मी साना तथा मझौला उद्योग (एसएमई) हरुमा कर्जा प्रवाहमा कर्जा प्रवाह सबैभन्दा सहज भएको अनुभव सुनाउँछन् । एसएमई कर्जा प्रवाह गर्दा जोखिम कम र सजिलो हुने गरेको उनले बताए । साना कर्जा प्रवाह गर्दा बैंकलाई फाइदा नभएपनि देशलाई फाइदा हुने उनको धारणा छ । ‘अधिकांश बैंकहरु एसएमई प्रकारको कर्जामा बढी जोड दिन्छन्, एसएमई रिटेल विजनेश बढी दिगो हुने भएकाले बढी जोड दिएको हो, ग्लोलब आइएमई बैंकले पनि एसएमई कर्जामा बढी जोड दिएको छ, यस्ता कर्जामा जोखिम कम हुन्छ, ठूलो कर्जा बिग्रियो भने बैंकहरुलाई पनि गाह्रो हुन्छ तर सानो कर्जा बिग्रियो भनेपनि बैंकले व्यवस्थापन गर्न सक्छ,’ उनले भने, ‘ग्लोबल आइएमई बैंकको सबैका लागि बैंक भन्ने नारा बोकेको हुँदा सबै क्षेत्रलाई समेट्नु परेको छ, एसएमई कर्जा प्रवाह गर्दा बैंकलाई फाइदा नभएपनि देशलाई बढी फाइदा हुन्छ,’ उनले भने । तर, बैंकले एउटा क्षेत्रलाई मात्रै बढी जोड नदिएर अन्य क्षेत्रमा पनि कर्जा प्रवाह गर्ने गरेको उनको भनाइ छ । बैंकको अधिकतम् पोर्टफोलियो व्यवस्थापन गर्नुपर्ने भएकाले सबै क्षेत्रमा बैंकले कर्जा प्रवाह गर्ने उनले बताए । उनले भने, ‘सबै कर्जा एसएमईमा मात्रै प्रवाह गरिदैंन, सर्टेन पोर्टफोलियो कर्पाेरेटको पनि लिनुपर्छ किनभने विजनेश ग्रोथ पनि गर्नुपर्ने हुन्छ तर अधिकतम कर्जा एसएमईमा प्रवाह गरेका छौं ।’ यस्तै, नबिल बैंकका डीसीईओ मनोज ज्ञवाली कुन क्षेत्रमा बढी कर्जा प्रवाह गर्ने भन्दा पनि ऋणीको प्रकृति हेरेर भर पर्ने बताउँछन् । राम्रो पोर्टफोलियो भएको ऋणी कर्जा माग गर्न आएमा जुनसुकै क्षेत्रको भएपनि स्वीकार गर्ने उनको धारणा छ । ‘कुन क्षेत्रभन्दा पनि ऋणी अनुसार कर्जा लगानी गर्छाै, ऋणी कुन लेभलको छ भन्ने हुन्छ, हामी हाइड्रोपवारलाई गज्जब मान्छौ तर जसले पनि हाइड्रोपावरका लागि कर्जा माग गर्योे भने कम्फर्टेबल फिल नगर्न सक्छौं, हामी रियलस्टेटमा जाँदैनौ भन्छौं तर विश्वासिलो समूह वा ग्राहकले रियलस्टेका लागि कर्जा माग गर्याे भने कम्फर्टेबल हुन सक्छौं,’ उनले भने ‘ऋणीको हिसावमा कुरा गर्ने हो भने फरक आम्दानीका स्रोत देखिन्छ, अधिकतम आम्दानीको स्रोत भएको, विश्वासिलो ऋणीले ल्याएको जुनसुकै परियोजनामा पनि बैंकले कर्जा प्रवाह गर्छ ।’ कर्जा प्रवाह गर्दा आयोजना मात्रै राम्रो भएर नहुने उनको तर्क छ । कर्जा प्रवाह गर्दा ऋणीको नियत हेर्नुपर्ने उनको भनाइ छ । कर्जाको आवश्यकता पुरा गर्नुपर्ने भएकाले आयोजना राम्रो भएर मात्रै नहुने उनले बताए । कर्जा प्रवाह गर्दा ऋणीको नियतमा भर पर्ने भएकाले रिक्वायरमेन्टको नियत राम्रो र क्षमता भएको ऋणीलाई छनौट गर्ने गरेको उनको धारणा छ । ‘लगानीयोग्य रकम अभाव, निक्षेप संकलन भएको छैन भने त्यो बेलामा उपभोगयोग्य कर्जा, उत्पादनशिल क्षेत्रमा लगानी गर्न सकियो भने अर्थतन्त्रमा सहयोग पुर्याउँछ, राष्ट्र बैंकले पनि अपेक्षा गरेको हुँदा अर्थतन्त्रमा सपोर्ट गर्ने कर्जालाई जोड दिनुपर्छ, उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने । गरिमा विकास बैंकका सीईओ गोविन्द ढकाल उत्पादनमुलक क्षेत्र, एसएमई कर्जा, हाउजिङ कर्जामा बढी सुरक्षित हुने गरेको बताउँछन् । कर्जा प्रवाह गर्दा पनि बेला–बेलामा अनुगमन गर्न सकिने क्षेत्रमा ऋण प्रवाह गर्दा सहज हुने गरेको उनको धारणा छ । उनले अनुत्पादक क्षेत्र र परियोजना नखुलाइएका क्षेत्रमा कर्जा प्रवाह गर्दा जोखिम हुने गरेको बताए । ‘उत्पादनमुलक क्षेत्र, एसएमई कर्जा, हाउजिङ कर्जामा बढी सुरक्षित देखिन्छ, ब्यापारमा लगानी गरेको कर्जालाई अनुगमन गर्न सकिन्छ, जसलाई कर्जा दिएको हो त्यसमा लगानी भयो भने त्यो कर्जा बढी सुरक्षित हुन्छ, साना–साना ऋणीलाई दिएको छ भने बढी कर्जा सुक्षित भएको देखिन्छन्,’ उनले भने, ‘रियलस्टेट कर्जा बढी जोखिम हुन्छ किनभने जुनसुकै बेला पनि ‘अप एण्ड डाउन’ हुन सक्छ, अनुत्पादनक क्षेत्रमा गरिएको कर्जा र परियोजना नखुलाएका क्षेत्रमा गरिएका कर्जा पनि बढी जोखिम हुन्छन् ।’ एनएमबि बैंकका डीसीईओ सुदेश उपाध्याय ग्राहकले बढी नगद प्रवाह गर्ने र धितोले धान्न सक्ने क्षेत्रमा कर्जाको जाखिम कम हुने गरेको बताउँछन् । ठूला कर्जामा लगानी बढी र समयावधि पनि धेरै लाग्ने भएकाले जोखिम बढी हुने गरेको उनको भनाइ छ । उनले पनि एसएमई कर्जामा बढी जोड दिने गरेको बताए । ‘ग्राहककानगद प्रवाह र धितोले धान्न सक्ने कर्जा गर्न सुरक्षित हुन्छ, लगानी छटो गर्न चाहेको हो भने रिटेल कर्जा सजिलो हुन्छ, सानो एसएमई लोन छिटाछिटो प्रयोग गरेर छिटै बन्द गर्न सकिन्छ,’ उनले भने, ठूलो कर्जाका लागि अध्ययन गर्नुपर्ने, आयोजनाको जोखिम, क्यास फ्लो लगायतका कुरा हेरेर मात्रै कर्जा प्रवाह गर्नुपर्छ, ठूलो कर्जाका लागि समय पनि बढी लिनुपर्ने हुन्छ, ठूला कर्जामा जोखिम बढी र पैसा पनि बढी लाग्छ ।’ सानिमा बैंकका डीसीईओ तेज बहादुर चन्दले गरिखाने वर्गलाई बढी कर्जा प्रवाह गर्ने गरेको बताए । विभिन्न संस्थाहरुको सहयोगमा सानो क्षेत्रमा अर्बाै रकम कर्जा प्रवाह गरेको उनको भनाइ छ । ठूला कर्पाेरेट हाउसलाई कर्जा दिएर कम सुरक्षित हुने गरेको र यस्ता कर्पाेरट हाउसको अर्थतन्त्रमा समेत खासै सहयोग नरहने उनको धारणा छ । ‘सानिमा बैंकले ४५ प्रतिशत कर्जा न्यून वर्ग, साना साना गरिखाने ऋणीलाई बढी कर्जा प्रदान गरेका छ, यूकेएड सक्षमसँगको सहकार्यमा कृषि कर्जा लगायत सानासाना क्षेत्रमा अर्बाै रुपैयाँ कर्जा लगानी गरेका छौं, सस्टेनबल, उत्पादनशिल, देशभित्रैको अर्थतन्त्रलाई एक्टिभ गर्ने क्षेत्रमा लगानी गरेका छौं,’ उनले भने, ‘ठूला कर्पाेरेट हाउसलाई कर्जा दिँदा कम सुरक्षित, मार्जिन पनि कम हुन्छ, उनीहरुको नेगोसेसन पावर पनि बढी हुने गर्छ, अर्थतन्त्रलाई पनि उनीहरुले खासै टेवा दिँदैनन्, यस्ता कम्पनीले बढीभन्दा बढी आयात गर्छ, अनि विदेशी मुद्रा बाहिर जान्छ, जसले गर्दा रिजर्भ नै सकिन्छ ।’ उनका अनुसार राज्यका नीतिलाई पनि कार्यान्वयन गर्नुपर्ने भएकाले बैंकहरुले उर्जा लगायत ठूला क्षेत्रमा पनि लगानी गर्नु परेको छ । कृषि कर्जा, एजुकेसन लोन, होम लोन, रेसिडेन्टल प्रपोटी कर्जा, विपन्न वर्गका कर्जा, महिला कर्जा, महिला उद्यमी कर्जा सबैभन्दा बढी सुरक्षित रहेको उनको धारणा छ । उनीहरुले आफूले लिएको कर्जा तोकिएको समयमा तिर्नुपर्छ भन्ने धारणा राख्ने गरेको उनले बताए । ‘दीर्घकालका कर्जामा भोलुम बढी हुन्छ, गाडी कर्जा, ब्यापार कर्जा लगायत ठूला कर्जा खहरे खोला जस्ता हुन्, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पनि पारेको हुँदैन,ठूला कर्जाले जनजिविकालाई उजागर गर्न भूमिका खेल्दैन,’ उनले भने । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले साउन महिनासम्मा झण्डै ४२ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तरलता अभावबाट ग्रसित भएका बैंकहरुले साउन महिनसम्ममा ४१ खर्ब ७७ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वाणिज्य बैंकहरुले कुल ३ खर्ब १ अर्ब ५३ करोड रुपैयाँ कृषिमा कर्जा लगानी गरेका छन् भने पर्यटन क्षेत्रमा १ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ र उपभोग्य वस्तुमा ७ खर्ब ४६ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
अघि बढ्दै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी अघि लैजाने भन्ने सन्दर्भमा सदस्यबीच लामो छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा दिननाथ पराजुली इलामको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । समितिले उनीबारे सर्वसाधारणलाई जानकारी दिई १० दिने सूचना प्रकाशित गरी कुनै गुनासो र उजुरी भए माग गर्ने निर्णय गरेको छ । यसअघि बैठकमा सदस्यले संसदीय सुनुवाइको अभ्यास र समितिको कार्यकालकै बारे विभिन्न कोणबाट भनाइ प्रस्तुत गरे । बैठकमा सभापति लक्ष्मणलाल कर्णले समितिले हालसम्म सर्वसम्मतरुपमा निर्णय सुनाउँदै जानकारी दिँदै उठेका प्रश्नको निरुपण गर्न गरेको आग्रहमा सदस्यबीच १० दिनको सूचना प्रकाशित गरी अघि बढ्ने निर्णय भएको हो । रासस
अशोक लेल्यान्डको पिकअप किन्दा थाइल्याण्ड वा युरोप टुर
काठमाडौं । आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । यस अफरमा अशोक लेल्यान्ड दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउनेछन् । अफर अन्तर्गत आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् भने एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन । कम्पनीकाे अनुसार ग्राहकले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको कम्पनीले जानकारी दिएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीका साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।
विपद्मा परेको पाकिस्तानलाई नेपालले दियो राहत सामग्री
काठमाडौं । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज (भदौ २८ गते) आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले पाकिस्तानको सिन्ध प्रान्तका समाज कल्याणमन्त्री सजिद जोखियोलाई सहायता सामग्री हस्तान्तरण गरे । अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्साल नेतृत्वको नेपाली प्रतिनिधीमण्डल आजै यहाँ आएको हो । पाकिस्तानमा हालै आएको भारी वर्षाका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको थियो भने हजारौं घर डुबानमा परेका थिए । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत पाकिस्तानको कराँची सहर ल्याइएको हो । यसअघि उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिदाई गरेका थिए । उक्त प्रतिनिधी मण्डल आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । रासस