एक सातापछि नेप्सेमा देखियो सुधार, नबिलको सर्वाधिक कारोबार, बीएनएलमा लाग्यो सर्किट
काठमाडौं । नेपाली पुँजीबजारमा पछिल्लो एक सातापछि सुधार देखिएको छ । गत भदौ १९ गतेदेखि ओरालो लागेको बजार भदौ २८ गते दोहोरो अंकले बढेको हो । मंगलबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक उकालो लागेको छ । परिसूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.११ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८३ करोड १६ लाखको कारोबार भएको बजारमा मंगलबारमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन एकैदिनमा ९ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । सोमबार पनि सर्वाधिक कारोबार भएको बैंकको मंगलबार ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता ७७० रुपैयाँ पुगेको छ । बढी कारोबार गर्नेको दोश्रोमा रिडी पावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन ५ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा बोटलर्स नेपाल (बालाजु) (बीएनएल) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा १९४.१० रुपैयाँले बढेर प्रतिकित्ता २ हजार १३६ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.२२ अंकले बढेको छ ।
पाँच क्यासिनोले बुझाए महानगरलाई ६६ लाख रुपैयाँ कर, दुईले तिर्न बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकालाई ५ वटा क्यासिनोले मनोरञ्जन कर बुझाएका छन् । महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ताकेता गरेपछि पाँच वटा क्यासिनोहरुले महानगरपालिलाई कुल ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ कर बुझाएका हुन् । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालित ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न भदौ १९ गते पत्र पठाएको थियो । महानगरपालिका अनुसार म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । यस्तै, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसनले ९ लाख ८९ हजार ४ सय ६०, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्टले ९ लाख ९३ हजार ६ सय र होटल एलफ्टमा रहेको बाल्को क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर तिरेका महानगरले जनाको छ । मल्ल होटलमा रहेको बेली क्यासिनो, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट र र्याडीसन होटल–२ क्यासीनो र्याटले कर बुझाउन अटेर गरको महानगरपालिकाले जानकारी दिएको छ । यस्तै, काठमाडौं फनपार्कले पनि पनि महानगरलाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महानगरले क्यासिनो र फनपार्कसहित कुल ८४ लाख ३४ हजार रुपैयाँ मनोरञ्जन कर असुलेको छ ।
रामपुरमा व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल
रामपुर । तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ । हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि यसमा धेरै किसानको आकर्षण बढेको छ । उनी भन्छन्, ‘पहिलो वर्षमा नै राम्रो फल लाग्यो, स्याहारसुसार संरक्षणमा धेरै ध्यान दिनुपर्ने रहेछ, बजारमा यसको माग राम्रो देखेर नयाँ खेती थालनी गरेको हो, परीक्षणमा नै राम्रो उत्पादन दियो ।’ फल उत्पादन मात्र नगरी आफैँले नर्सरीमा बिरुवा तयार गरेर बेच्ने गर्छन् । फलसँगै बिरुवा बिक्रीबाट राम्रै फाइदा गर्न सकिने उनी बताउँछन् । ललितपुरबाट ल्याएर आफैँले घरमा बिरुवा बनाएर उनले खेती सुरु गरेका हुन् । उनले ड्रागनखेतीलाई व्यावसायिकरुपमा थालनी गरेपछि तानसेन नगरपालिकाबाट गत आर्थिक वर्षमा १२० बिरुवा खरिदमा अनुदान र संरचना तयार पार्न एक लाख रुपैयाँ रकम अनुदान प्राप्त गरेका छन् । यस व्यवसायसँगै उनले लहरे आँपको पनि खेती गरिरहेका छन् । खाली भएका र ड्रागन फल लगाएका जग्गा वरपरको जमिन सदुपयोग गर्दै ४३ बोट लहरे जातको आँप लगाएर बारी हराभरा बनाएका छन् । स्थायी संरचना तयार पारिएकाले अब ड्रागन फललाई यथावत नै खेती गर्ने, लहरे आँपलाई विस्तार गर्ने सोँच बनाएका छन् । तिनाउँ गाउँपालिका–१ कचलका टेकबहादुर रासकोटीले १४ महिनाअघि दाङ र सुनसरीबाट बिरुवा ल्याएर ड्रागनको व्यावसायिक तरिकाबाट खेती गरेका छन् । करिब एक हजार पाँच सय बोट लगाएका उनले चौथो पटकको उत्पादन बिक्री गरिसकेका छन् । यस वर्ष दुई क्वीन्टल बिक्री गर्ने लक्ष्य लिएका छन् । यहाँ उत्पादन भएको फल बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ । ‘बिरुवा को स्याहारसुसार राम्रो गरियो भने छिटो उत्पादन लिन पाइने रहेछ, मेहनत गरे अनुसारको उत्पादन भइरहेको छ, ११ महिनाभित्रमा नै मैले उत्पादन लिन सुरु गरेको हुँ, बजार सहज भएकाले बिक्री कसरी गर्ने भन्ने पिरलो छैन’, उनले भने । ठण्डीको समयमा रोगले आक्रमण गर्दा रेखदेखमा बढी ध्यान दिनुपर्दछ, विशेषगरी मङ्सीर, पुस, माघ तीन महिना बिरुवा लाई जोगाउनुपर्ने, यो समयमा कालो ढुसी नामक रोगले बढी सताउने हुँदा अन्य समय सामान्य रेखदेख नियमित गरियो भने राम्रो उत्पादन हुने उनको अनुभव छ । व्यवसाय विस्तार गर्न रहर छ तर मलजलको व्यवस्थापनमा समस्या रहेको उनी बताउँछन् । करिब १५ वर्ष डोजर अपरेटरमा काम गरेका रासकोटीको अहिलेको दिनचर्या ड्रागन फलको रेखदेखमै बितेको छ । जागिरे जीवनमा महिना सकिएपछि तलव बुझ्ने गर्नुभएका उहाँ कृषिमा लाभ लिन समय पर्खनुपर्ने बताउँछन् । परिवारको साथमा गाउँका जग्गा सदुपयोग गर्दै खेती गर्दा सन्तुष्ट भएको बताए । उनले यस व्यवसायमा करिब आठ लाख रुपैयाँ लगानी गरेका छन् । गाउँपालिकाले नर्सरी व्यवस्थापनमा केही अनुदान सहयोग गरेको छ । कङ्क्रिट र फलामको स्थायी संरचना तयार पारिएकाले पूर्वाधारमा अब धेरै लगानी गर्नु नपर्ने उनको भनाइ छ । स्थायी संरचना लामो समयसम्म कायम रहने हुँदा उत्पादित वस्तुबाट राम्रो फाइदा लिने बताएका छन् । भारतीय सेनाबाट अवकाश प्राप्त माथागढी गाउँपालिका–१ फेदीका सोमबहादुर आलेलाई ड्रागनको रेखदेख गर्दा समय बितेको पत्तै हुँदैन । पच्चीस वर्षसम्म भारतीय सेनामा जीवन बिताउनुभएका आले आफ्नै गाउँमा बसेर कृषि कार्य गर्दा झन् फूर्तिलो हुँदै गएका छन् । डेढ वर्षअघि खेती सुरु गरेमा आलेले राम्रो धान फल्ने खेतमा छ सय बिरुवा लगाएका छन् । उत्पादनका हिसावले धानबालीको तुलनामा यसबाट दोब्बर बढी फाइदा लिन सकिने उनको अनुभव छ । उत्पादित फल स्थानीय बजारका अलवा तानसेन, आर्यभञ्ज्याङ लगायतका बजारमा धमाधम बिक्री भइरहेको छ । अहिलेसम्म तीन टनजति फल बिक्री गरिसकेका छन् । बजारमा यस फलको माग धेरै बढेकाले तीन रोपनी जग्गामा खेती गरेका उनले खेती विस्तार गरी सात रोपनीमा पु¥याउने लक्ष्य राख्नु भएको छ । दैवी प्रकोपले समस्या नपारेमा यसबाट मनग्य कमाई गर्न सकिने र अर्कोतर्फ फुर्सदको समय राम्रोसँग सदुपयोग भएकोमा उनी यस व्यवसायप्रति खुसी छन् । उनले यस खेतीका अलवा एभोकाडो खेती पनि गरिरहेका छन् । यसले धेरै क्षेत्रफल ओगट्ने हुँदा अहिले २० बोट लगाएका छन् । रामपुर–३ रजघरा बस्ने हिरण्यराज रेग्मीले पनि एक वर्षअघि यस फलको खेती सुरु गरेका छन् । करिब ५० बोट लगाएका उनले भने नर्सरी पनि तयार पारेर बिरुवा उत्पादन तथा बिक्री गरिरहेका छन् । नर्सरीमा करिब २० हजार बिरुवा तयार भएका छन् । यो खेती नयाँ र स्वास्थ्यका लागि अति राम्रो भएकाले विभिन्न ठाउँबाट बिरुवा खरिद गर्न ग्राहक आउने गरेको रेग्मीले बताए । ‘एक पिल्लरमा चारैतिर लगाइको चारवटा बोटमध्ये एक बोटमा कम्तीमा ३० वटासम्म फल लाग्दोरहेछ, एक वर्षभित्र फल तयार हुने, यसको राम्रो सम्भावना रहेकाले अब व्यावसायिकरुपमा खेती विस्तार गर्नेछु’, उनले भने । कृषि ज्ञानकेन्द्र पाल्पामार्फत कृषि शाखा रामपुर परिसरमा १२० बोट बिरुवा गएको जेठ र असारमा लगाइएको छ । यहाँ लगाइएको बिरुवा हुर्कने क्रममा छन् । रामपुर नगरपालिकाले यसवर्ष व्यावसायिक खेतीका लागि तीन लाख रुपैयाँ रकम विनियोजन गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । पाल्पामा ड्रागन फलको खेती नयाँ भएकाले यसमा आकर्षण र बजार माग बढ्दो रहेको हुँदा अहिले केही पालिकाका कृषकले व्यावसायिक खेती सुरु गरेको ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए । “व्यावसायिक सफलताका लागि तीन वर्षको समय पर्खनु पर्नेहुन्छ, एक वर्षमा नै रोगकिरा, उत्पादनको हिसाबले सबै जानकारी नहुने हुँदा तीन वर्षभित्रमा यसलाई परीक्षणका रुपमा हेरिने र त्यसपश्चात् प्राविधिक अध्ययनले पाल्पामा व्यावसायिक खेतीका लागि उपयुक्त छ या छैन निष्कर्ष निकालिने छ” कार्यालय प्रमुख अधिकारीले भने । पाल्पालाई फलफूलमा कागती र सुन्तलाखेती नै राम्रो मानिएको छ । नयाँ खेती र बजारको माग बढेकाले जिल्लामा ड्रागन फलमा आकर्षण बढे पनि अध्ययन अनुसन्धानको काम भइरहेकाले व्यावसायिक खेतीका लागि उपयुक्त हो भनेर अहिले नै प्राविधिक हिसाबले भन्न नमिल्ने अधिकारीले बताए । यसको मूल्य बजारमा जातअनुसार न्यूनतम ३०० देखि माथि छ । यो फल रातो, सेतो, गुलाबीलगायतका विभिन्न प्रजातिका छन् । दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेलालगायतको नामले पनि चिन्ने गरिन्छ । गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको स्तम्भ कमजोर भएकाले सहयोग आवश्यकता पर्दछ । लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदाँ यसलाई ड्रागन फल भनिएको हो । फलको स्वाद गुलियो र अमिलोपनाको मिश्रण भएको हुन्छ । यस फलको तौल २०० ग्राम ९१।२ केजी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र सेतो गुदी भएको, पहेँलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गुदी भएको जात पर्दछ । ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन तर यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महङ्गो मूल्यलाई बिर्साइदिने प्रयोगकर्ताको भनाइ छ । ड्रागन फलका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुर्दी सतहदेखि एक हजार ५०० मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकाले यसका लागि पानी नजम्ने ठाउँ रोज्नु पर्दछ र बलौटेदेखि दोमट माटोमा सजिलै खेती गर्न सकिन्छ । नेपालकोसन्दर्भमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँमा तराई, भित्री मधेस र मध्य पहाडमा खेती गर्न सकिन्छ । नदीले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गरिएको छ । गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका खनिज पदार्थ तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । छालासम्बन्धी विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पु¥याउँछ । यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ । कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । कब्जियतको समस्यालाई समेत निको पार्ने विभिन्न अध्ययनले देखाएको छ । यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ । मजबुत हाड र दाँतका लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै शरीरमा सेल उत्पादनमा पनि मद्दत पु¥याउँछ । बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पु¥याउँछ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, घरको छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १५० ग्रामदेखि एक किलोसम्म हुने हुँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ । खेती गर्न त्यति गाहे छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिने यो खेती समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाइमा सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ । धेरै वर्षसम्म उत्पादन दिने यस फल फूल फुलेको ४५ दिनमा यसको तयार हुन्छ । जेठदेखि असोज–कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ । ड्रागनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ भने यस फललाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । विभिन्न स्विट परिकारमा निकै उपयोगी हुने यो फललाई कतिपयले फ्रुट प्लाटर, प्यान केकमा यसको प्रयोग गर्ने गरेका छन् । रासस
आइएमई पेमार्फत भुक्तानी गर्दा क्रिस्टल डाइग्नोस्टिकमा १५ प्रतिशत छुट पाइने
काठमाडौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्नेछन् । यस सम्झौता अनुसार आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् । यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् । यो अफर ३ महिना लागु हुने कम्पनीले जनाएको छ ।
विश्व बैंकले दिएको ३५ अर्ब ऋण स्वीकृत, यस्ता छन् मन्त्रीपरिषदका निर्णयहरु
काठमाडौं । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रीपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि बताए । उनका अनुसार सरकारले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन बिष्टलाई राष्ट्रिय स्वतन्त्रता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, महालेखा परीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखा परीक्षण संस्थानहरुको संगठनको २४ औं महाधिवेशनमा सहभागिता जनाउन स्वीकृत दिने, बेरुजु फछ्र्यौट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष वि.सं २०७९/०८० का लागि राजपत्राङ्कित स्तरको दरबन्धी स्वीकृत गर्ने, संयुक्त राज्य अमेरिकाको वाशिङटनडिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै, सरकारले वि.सं. २०७९ असोज ८ र ९ गते स्वीडेनको स्टक होममा आयोजना हुने १४ एनआरएन युरोपियन रिजनल मिटिङमा सहभागी हुन कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गर्ने, सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, नेपाल र रोमानियाबीच द्धिपक्षिय परामर्श संयन्त्र स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने, चीनका राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष, महासचिव श्री ली चान्सुको नेपाल भ्रमणको अवसरमा वार्ता गर्न प्रतिनिधि मण्डल गर्ने, पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले किबुज हाई लेभल स्टडी भिजिट इन इजरायल कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई स्वीकृृत दिने निर्णय गरेको पनि बताए । ‘प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन बिष्टलाई राष्ट्रिय स्वतन्त्रता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने,’ उनले भने ।
बच्चालाई जङ्कफुडको सट्टा लिटो र जाउलो
चौतारा । पाँचपोखरी थाङ्गपाल गाउँपालिका–४ रैथानेको लुत्ती तामाङले अचेल आफ्नो बच्चालाई लिटो र जाउलो खुवाउन थालेकी छिन् । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाएकी तामाङले यसअघि चाउचाउ र विस्कुटलाई पोसिलो खानाका रुपमा लिँदै आएका थिए । बजारका जङ्कफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बच्चाको लागि बढी पोसिलो हुने जानकारी पाएपछि उनले आफ्नो दोस्रो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन् । सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उनी बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ कि छैन भन्नेमा पनि सचेत हुन्छिन्। उनले आफ्नो बच्चाको खानामा ‘हरेक बार खाना चार’ भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेँलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेकी छिन् । युएसएआइडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उनी आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको बताउँछिन् । टुकी सँघ सुनकोशी र सुआहारा कार्यक्रमका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयं सेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधिमा उनीहरुको खानामा ध्यान पु¥याउनुपर्ने जानकारी दिएपछि उनले सबै खानेकुरा खुवाउन थालेकी हुन् । तामाङ मात्र हैन जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका महिलाले आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अवस्थामा भेटिन्छ त्यही अवस्थामा खाना बनाउने र खुवाउने गर्दै आएका ईन्द्रावती गाउँपालिका–१२ भिमटारकी माया दनुवार अचेल साबुन पानीले हात नधोइ खानेकुरा छुदिनन् । चौतारा साँगाचोकगढी नगरपालिका–७ इर्खकी सम्झना तामाङ छ महिना नपुगेको बच्चालाई दूध मात्रै खुवाउने गर्छिन् । मेलम्ची नगरपालिका–९ की गमला गिरी सुआहाराको पहलमा नियमित बैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकी छिन् । जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाइ, पारिवारिक स्वास्थ्यलगायत क्षेत्रमा काम गरिरहेको सुआहाराका जिल्ला संयोजक मनोज मिश्रले जानकारी दिए । रासस
४ वटा फाइनान्स नोक्सानीमा, साउनमा गुडविलले ६ करोड नाफा कमाउँदा अन्य कम्पनीको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा फाइनान्स कम्पनीहरुले १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ वटा फाइनान्स कम्पनीले १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । तथ्यांक अनुसार सबैभन्दा बढी नाफा गुडविल फाइनान्सले गरेको छ । गुडविल फाइनान्सले साउन महिनामा ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यस्तै, दोस्रोमा सेन्ट्रल फाइनान्सले २ करोड ८० लाख रुपैयाँ, तेस्रोमा पोखरा फाइनान्सले १ करोड ३० लाख रुपैयाँ, चौथौंमा आइसीएफसी फाइनान्स्ले १ करोड २० लाख रुपैयाँ र पाचौंमा गोर्खाज फाइनान्सले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यस्तै, श्रीइन्भेष्टमेन्ट फाइनान्सले ७० लाख रुपैयाँ, जानकी फाइनान्सले ६० करोड रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले ४० करोड रुपैयाँ, बेस्ट फाइनान्सले ३ करोड रुपैयाँ र नेपाल सेयर मार्केट फाइनान्सले १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । साउन महिनामा ४ वटा फाइनान्स कम्पनी भने नोक्सानीमा रहेका छन् । जसमा समृद्धि फाइनान्स, नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र क्यापिटल मर्चेन्ट फाइनान्स कम्पनी भने नोक्सानीमा रहेको तथ्याङ्कले देखाएको छ ।
एनसेलमा १०० रुपैयाँभन्दा बढी रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाइने
काठमाडौं । एनसेल आजियाटाले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । भदौ २८ गते मंगलबारदेखि याे सेवा संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्नेछन् । बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रिचार्ज गरेमा २० बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहनेछ । त्यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुनेछ । कम्पनीकाे अनुसार यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्नेछन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।