विकासन्युज

सुन तस्करी प्रकरण : भन्सार विभागले निलम्बन गर्याे २ कर्मचारी

काठमाडौं । भन्सार विभागले सुन तस्करी प्रकरणमा जोडिएको भन्दै २ जना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सार विभागले बुधबार विमानस्थल स्थित भन्सार जाँचपासको जिम्मा पाएका शाखा अधिकृत सन्तोष चन्द र नायवसुब्बा कुमार ढकाललाई निलम्बन गरेको हो । भन्सारबाट पास भएका सामग्रीमा सुन रहेको गोप्य सूचनाका आधारमा बुधबार विभागको टोलीले अनुसन्धान गदौ करिब १ क्विन्टल सुन बरामद गरेको छ । सुन बरामद भएसँगै बुधबार बिहानको भन्सार जाँचपासको जिम्मा पाएका कर्मचारीलाई निगरानीमा राखिएको छ । बाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार ६ सय पुग्यो

काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको छ। नेपाली सुनचाँदी व्यबसायीका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले बढेको हो । आज छापावाल सुनको मूल्य १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ ।

विमानस्थलबाट बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो, यस्तो छ प्रक्रिया

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको सुन नापतौल तथा जाँच गर्नका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ विमानस्थलमा बरामद गरेको सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग बबरमहल पठाइएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार ८० देखि १०० किलोको बीचमा रहेको भएपनि स्पष्ट नरहेकाले तौल नाप्नका लागि राष्ट्र बैंक पठाइएको हो । राष्ट्र बैंकको बैंकिङ्ग विभागले सो सुनको तौल नाप्ने काम गर्नेछ । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोखरेलले केशको किनारा नलागेसम्म राष्ट्र बैंकको मातहत नरहने बताए । अहिले नापतौल गर्ने काम मात्रै हुने भएकाले सो सुन राष्ट्र बैंक मातहत नआउने उनको भनाइ छ । ‘केशको किनारा नलागेसम्म मुचुल्का बनाएर उनीहरुसँग रहन्छ, केश फाइनालाइज भएपछि नेपाल सरकार वा आन्तरिक राजश्व कार्यालयले सकारेपछि त्यो सुन राष्ट्र बैंकसँग रहन्छ ।’ उनका अनुसारे बरामद गरेको सुन सरकारको नाममा रहने छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । विभागका महानिर्देशक ढुङ्गानाका अनुसार सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए ।

दुइलाख नगदसहितको हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई

काठमाडौं । नेपाल जनप्रशासन संघले गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरेको छ । संघले प्रधानलाई हेमबहादुर मल्ल सम्मान २०७७ र आचार्यलाई हेमबहादुर मल्ल सम्मान २०७८ बाट सम्मान गरेको हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन संघको आयोजनामा सम्पन्न कार्यक्रममा सम्मान पत्र र जनही दुई लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपतिले उपयुक्त पात्रहरुले सम्मान पाएकोमा खुसी व्यक्त गरे । मुलुकमा सदाचार, इमान्दारिता तथा पारदर्शिता अभिबृद्धि गर्न सबै क्षेत्रको पैरवी आवश्यक रहेको कुरा अगाडि सार्दै प्रशासन तथा व्यवस्थापन क्षेत्रमा सक्रिय भूमिका खेल्नु हुन शुभकामना व्यक्त गरे । नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले नेपाल सरकारको पूर्व सचिव, स्टाफ कलेजको पूर्व कार्यकारी निर्देशक र प्रशासन सुधार अनुगमन समितिको संयोजक भै उत्कृष्ट कार्य गरेवापत गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई हेम बहादुर मल्ल सम्मान २०७७ प्रदान गरिएको कुरा बताए । यसैगरी, नेपाल सरकारको पूर्व सचिव र महालेखा परीक्षक भै उत्कृष्ट कार्य गरेवापत भानु प्रसाद आचार्यलाई हेम बहादुर मल्ल सम्मान २०७८ प्रदान गरिएको कुरा पनि उल्लेख गरे । साथै, कार्यक्रममा सम्मान प्राप्त गर्ने गोरक्ष बहादुर न्हुच्छे प्रधानले के नेतृत्व परिवर्तन आजको आवश्यक्ता हो ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, भानु प्रसाद आचार्यले उदारीकरण तथा आर्थिक सुधारको संक्षिप्त समीक्षा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।  

राष्ट्र बैंकले साउन ९ गतेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेको सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदेश भ्रमण सकेर बिहीबार मात्रै कार्यालयमा फर्किएका छन् । उनले साउन ९ गतेभित्र मौद्रिक नीति सार्वजनिक गरिसक्ने बताए । ‘बल्ल गभर्नर आज कार्यालयमा आउनु भएको छ, अबको केही दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने, ‘व्यवस्थापन टिम र सञ्चालक समितिमा पेश हुन्छ, छिटोमा साउन ७ गते र ढिलोमा साउन ९ गतेसम्म सार्वजनिक गर्छाैं ।’

सुन तस्करी प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा विभागले छानबिन समिति बनाएको हो । विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार उक्त समितिले भन्सार जाँचपासमा क–कसको संलग्नता रहेको, भन्सारको जाँचमा भेटिएको वा अन्य कुराको अध्ययन गर्नेछ । यस्तै, उक्त समितिले भन्सार जाँचपासको सिसिटिभी फुटेजको समेत अध्ययन गर्नेछ । बुधबार बिहान हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट ल्याईएको स्कुटरको ब्रेक शुमा सुन राखेर झन्डै १ सय किलो सुन ल्याईएको पाइएको छ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने । सम्बन्धित समाचार ः सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ सुन बाहिरिँदा सन्तोष चन्द र कुमार ढकालको जिम्मामा थियो भन्सार जाचँपास

डेङ्गुबाट चितवनमा २ हजार सङ्क्रमित

चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताउनुभयो । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए । यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए । डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन् । डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ । रासस

सुन बाहिरिँदा सन्तोष चन्द र कुमार ढकालको जिम्मामा थियो भन्सार जाँचपास

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुधबारको भन्सार जाँचपासको जिम्मा शाखा अधिकृत सन्तोष चन्द र नायवसुब्बा कुमार ढकालको थियो । नियमित प्रक्रिया जसरी उनिहरुले बुधबार भन्सार जाँचपासको काम गरेका थिए । कार्गाेबाट आएका सामग्रीहरु भन्सार जाँचपासका लागि सिधै भन्सार कार्यालयको गोदाममा आउने गर्छ । गोदाममा रहेका उक्त सामग्रीहरु चन्द र ढकालको नेतृत्वको टिमले भन्सार जाँचपास गराएका थिए । तर, भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको सामग्रीमा सून रहेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले टोलीले अनुसन्धान गरिरहेको छ । भन्सारबाट पास भएका सामग्रीमा सुन रहेको गोप्य सूचनाका आधारमा बुधबार विभागको टोलीले अनुसन्धान गर्दा करिब एक क्विन्टल सुन बरामद गरेको छ । सुन बरामद भएसँगै बुधबार बिहानको भन्सार जाँचपासको जिम्मा पाएका कर्मचारीलाई निगरानीमा राखिएको छ । भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी गरिएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको जानकारी दिएका छन् । हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अरुण पोखरेलसँग छ । तर, उनि बिदामा बसेसँगै निमित्तको जिम्मा नारद गौतमले पाएका छन् ।