खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो
खोटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खोटाङमा किबी र लिचीको उत्पादन बढेको छ । दश स्थानीय तह रहेको जिल्लामा यो वर्ष किबी ३.१५ मेट्रिक टन र लिची ५ मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टरमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २०.३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३.५ मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किबी खेती गरिन्छ । जन्तेढूंगा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर र रावाबेँसी गाउँपालिकाको हौँचुरका किसानले व्यावसायिक रुपमा किबी खेती गरेका छन् । जिल्लामा हेवार्ड, एलिसन र रातो किबी लगाउने गरिएको किसानले बताएका छन् । ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा कृषि तथा पशुपक्षी फर्म जालपाले पाँच लाख ९९ हजार २५०, नमुना कृषि फर्म ऐंसेलुखर्क र नमुना कृषि तथा वन नर्सरी व्यवस्थापन केन्द्र ऐंसेलुखर्कले किबी खेती प्रवर्धन कार्यक्रमअन्तर्गत ६/६ लाख अनुदान पाएका छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पाँच मेट्रिक टनले लिचीको उत्पादन बढेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा १४८ मेट्रिक टन लिची उत्पादन भएको जिल्लामा २०७९/८० मा १५३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लाभर १५२ हेक्टर क्षेत्रफलमा लिची रोपिए पनि ३० हेक्टर क्षेत्रफलमा लगाइएको लिचीले मात्रै उत्पादन दिँदै आएको छ । जिल्लाको कुभिण्डे, खार्पा, हौंचुर, दुवेकोल, डुम्रेधारापानी, बुइपा, विजयखर्क, महादेवस्थान, धितुङलगायतका स्थानमा व्यावसायिक लिचीखेती हुँदै आएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा गत वर्ष १ करोडभन्दा बढीको लिची उत्पादन भएको थियो । जिल्लामा उत्पादित लिची सदरमुकाम दिक्तेल, धरान, विराटनगर तथा राजधानी काठमाडौँमा समेत निर्यात हुँदै आएको छ । यस्तै, खोटाङमा गत वर्षको तुलनामा यो वर्ष आँपको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा १९० मेट्रिक टन उत्पादन भएको आँप आर्थिक वर्ष २०७९/८० मा १८५ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षभन्दा यो वर्ष बढी कीरा लाग्नाले आँपको उत्पादन घटेको किसानले बताएका छन् । जिल्लाभर ९८ हेक्टर क्षेत्रफलमा आँपखेती गरिए पनि ५९ हेक्टरमा लगाइएको आँपले मात्रै उत्पादन दिँदै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फलफूल खेती प्रवर्धनका लागि हरेक स्थानीय तहले किसान समूहलाई बर्सेनि फलफूलका बिरुवा निःशुल्क वितरण गर्दै आएका छन् । खाली रहेको जग्गालाई उपयोग गर्दै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यका साथ निःशुल्क बिरुवा वितरण गरिएको स्थानीय तहहरुले बताएका छन् । जिल्लामा उत्पादित फलफूललाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी स्थानीय तहले तयारी थालेका छन् । रासस
वास्तविक तस्करलाई जोगाउन नियोजितरुपमा मेरो नाम जोडियो : दीपक मल्होत्रा
काठमाडौं । व्यवसायी दीपक मल्होत्राले वास्तविक सुन तस्करीलाई जोगाउन नियोजितरूपमा आफ्नो नाम जोडिएको दावी गरेका छन् । मंगलबार दिउँसो विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर मल्होत्राले सुन काण्डमा आफ्नो संलग्नता रहेको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताए । ‘त्यत्रो सुन तस्करीमा संलग्न भएको भए भागिसक्थे होला, पत्रकार सम्मेलन गरेर बस्थे होला र ?’, मल्होत्राले भने । आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको पनि उनले बताए । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो । उक्त सुन काण्डमा आफ्नो नाम जोडिएको भन्दै मल्होत्राले आश्चर्य व्यक्त गरेका छन् । ‘भन्सारमा गएको २५ वर्ष भयो होला । भन्सारका कुनै कर्मचारीलाई चिन्दिन । सुन जसले ल्याएको हो त्यसलाई जोगाउन नियोजितरुपमा मेरो नाम सार्वजनिक भएको हुनसक्छ’, उनले भने । बिहीबार दिउँसोसम्म आन्तरिक राजश्व र प्रहरीले उक्त सुन काण्डबारे बुझ्न आफूलाई कुनै सम्पर्कसमेत नगरेको अवस्थामा मिडियामा एकतर्फीरुपमा आफ्नो नाम जोडिएको उनले बताए । विगतमा वैधानिक च्यानलबाटै सुन ल्याएर बिक्री गर्ने भएका कारणले पनि कतिपय बेला सुन तस्करीमा आफ्नो नाम जोड्ने गरिएको तर, सुन ओसार पसारमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए ।
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पारे। पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको उनकाे भनाइ छ। ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ। सञ्चित कोष एक खर्ब ९३ अर्ब रूपैयाँले घाटामा छ। निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ,’ गभर्नर अधिकारीले भने । अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ । ‘अहिले बैंकिङ प्रणालीमा ८८ अर्ब ५४ करोड रूपैयाँ अधिक तरलता छ,’ उनले भने । उनका अनुसार गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । गभर्नर अधिकारीले हाल चालु खाता घाटा ७० अर्ब रूपैयाँ रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताए। अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उनकाे भनाइ छ । ‘घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो,’ उनले भने, मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौं।’ आगामी हप्ता मौद्रिक नीति जारी गर्ने तयारी रहेको पनि उनकाे भनाइ छ। कर्जा र निक्षेपको ब्याजदर तथा आधारदर घट्ने क्रममा रहेको र सिडी रेसियो ८२ प्रतिशतमा आएको पनि राष्ट्र बैंकको भनाइ छ। चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी लक्ष्य तय गरेकामा सोही आधारमा मौद्रिक उपकरण परिचालन गरिने राष्ट्र बैंकले जनाएको । अर्थ समितिको आजको बैठकमा अर्थसचिव अर्जुनकुमार पोखरेलले वित्त नीति र मौद्रिक नीतिको सामञ्जस्यता हुनुपर्ने धारणा राखे । त्यस्तै आर्थिक वृद्धिदर हासिल गर्ने र मूल्य वृद्धिदर नियन्त्रणमा राख्ने विषयलाई मौद्रिक नीतिले पहिलो प्राथमिकतामा राख्नुपर्ने उनकाे भनाइ छ । उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन र आन्तरिक उत्पादन बढाउनका लागि बजेटले राखेका योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
सुन काण्डमा संलग्न छैन, प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार छु : दीपक मल्होत्रा
काठमाडौं । व्यवसायी दीपक मल्होत्राले विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सुन तस्करीमा आफ्नो नाम नियोजितरूपमा जोडिएको हुनसक्ने मल्होत्राले बताए । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो । केही सञ्चारमाध्यममा उक्त सुन काण्डमा आफ्नो नाम जोडिएको भन्दै मल्होत्राले आपत्ति व्यक्त गरेका छन् । ‘भन्सारमा गएको २५ वर्ष भयो होला । भन्सारका कुनै कर्मचारीलाई चिन्दिन । सुन जसले ल्याएको हो त्यसलाई जोगाउन नियोजितरुपमा मेरो नाम सार्वजनिक भएको हुनसक्छ’, उनले भने । बिहीबार दिउँसोसम्म आन्तरिक राजश्व र प्रहरीले उक्त सुन काण्डबारे बुझ्न आफूलाई कुनै सम्पर्कसमेत नगरेको अवस्थामा मिडियामा एकतर्फीरुपमा आफ्नो नाम जोडिएको उनले बताए । सुन तस्करीमा संलग्न भएको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको उनले बताए । ‘त्यत्रो सुन तस्करीमा संलग्न भएको भए भागिसक्थे होला, पत्रकार सम्मेलन गरेर बस्थे होला र ?’, मल्होत्राले भने । आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको पनि उनले बताए ।
सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ १ असोजबाट सञ्चालन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघिय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ र्यापीड ट्रान्जीट (बीआरटी) सेवा सञ्चालन गर्ने भएको छ । राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार ब्यक्ति समयमा गन्तब्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताए । ‘भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिरहेका छौ’ मन्त्री ज्वालाले भने, ‘आगमी असोज १ देखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौ ।’ तत्कालका लागि द्रुत बस सेवा अध्याधिक जामको समय विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दा माथीका करिव २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए । ‘ठ्याक्कै बस र्यापिट ट्रान्जिट सिस्टम (विराटी) त होइन, तर हाम्रो नेपाली मोडेलको र्यापिट बस सर्भिस हो’ सचिव शर्माले भने, ‘सडकको लेनदेखि बसको आकार नै फरक हुनेगरी द्रुत बस सेवा सञ्चालनको तयारीमा जुटेका छौ ।’ द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुने भएको छ । द्रुत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड प्रमिटको ब्यवस्था मिलाउन यातायात ब्यवस्था विभागलाई निर्देशन दिइसकेका छन् । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ । अत्याधिक जामको बेला सुर्य विनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ । ‘द्रुत बस सेवा सञ्चालन भएपछि अध्याधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दैछौ’ यातायात ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने । दु्रत बस सेवाका लागि मन्त्रालयले मोवाइल एप समेत बनाउने जनाएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ । भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १३ किलोमिटर दूरीमा सुधारिएको बस सेवा तत्काल संचालनको ब्यवस्था मिउलान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यसअघि नै स्वीकृति दिएको छ । प्रधानमन्त्री कार्यालयबाट स्वीकृत पाएपछि मन्त्रालयले आवश्यक तयारी गरेर असोज १ गतेबाट सञ्चालनको तयारी गरेको हो । सरकारले सुधारिएको बस सेवा सन्चालन गर्नका लागि गत वैशाख ११ गते कार्यदल गठन गरेको थियो । कार्यदल गठन गरेपछि जेठ २१ देखि असार ५ गतसम्म अध्ययन भएको थियो । हाल कोलम्बियाको बोगाटा, अस्ट्रेलियाको सिड्नी, ताइवानको ताइपेई, बेलायतको लन्डन, टर्कीको इस्तानबुल, पाकिस्तानको पेसावरलगायत ठूला सहरमा यस्ता बस सेवा सञ्चालनमा छन् ।
प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट, द्विपक्षीय हित र चासोका विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।
विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने
काठमाडौं । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय-अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो । आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए । नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ । रासस
वीरगन्ज महानगरले अतिक्रमित संरचना हटाउँदै
पर्सा । वीरगन्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ । वीरगन्ज सहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटकपटक पत्राचार गरे पनि अटेर गरेकाले भत्काएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए । मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्थाबमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन थालिएको उनले बताए । महानगरले अहिले मुख्य नाला सफाइलाई तीव्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ । चालीस फिट चौडाइको मुख्य नालामाथि बनेको संरचनाका कारण बर्सातको पानी बग्न नसकी महानगर क्षेत्र नै डुबानमा परी जनधनको क्षति पुग्ने देखिएकाले अवैधरुपमा निर्माण गरिएका ती सबै संरचना हटाउन महानगरले अभियान चलाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । अवैध संरचना खाली गराउन महानगरद्वारा गठित सार्वजनिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा टोली परिचालन गरिएको छ । रासस