नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला
काठमाडौं । ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ । कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्ने जनाइएको छ । नबिल एसएसईको फेसबुक पेजमा रहेको लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सकिने बैंकले बताएको छ । यस्तै नबिल बैंकको वेभसाइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ । आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ । सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ । आर्थिक सामाजिक रुपान्तरणलाई बढवा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरी सकेका छन् । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो ।
१०० केजी सुन तस्करीमा आफ्नो नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै दीपक मलहोत्रा
काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । सुन ओसारपसारको आरोपमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई प्रहरीले पक्राउ गरेका छन् । दिलीप भुजेल र रामकुमार भुजेल रेडी ट्रेडका सञ्चालक भएको विभागले जनाएकाे छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि विहीबार बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताएका छन् । विभिन्न कोणबाट यस सुन तस्करी प्रकरणमा विभिन्न व्यवसायी नाम लिन थालिएको छ । यसरी लिइने नामहरु मध्ये केहीले दीपक मलहोत्राको नाम लिने गरेका छन् । विहीबार प्रकाशित नयाँ पत्रिकामा पनि दीपक मलहोत्राको संलग्नता रहेको आंशकासहितको समाचार प्रकाशित भएको छ । तर विकासन्युजसँग जिज्ञासामा मलाहोत्राले आफ्नो नाम जोडिएकोमा आश्चर्य व्यक्ति गरे । ‘सुन तस्करीमा मेरो संलग्नता छैन । पत्रिकामा प्रकाशित समाचार पढेर म पनि आश्चर्यमा परेको छु’ मलहोत्राले भने । यस विषयमा मेरा धारणा सार्वजनिक गर्न आजै मध्यान्य १ बजे पत्रकार सम्मेलन गर्दैछु’ उनले भने । पत्रकार सम्मेलन राजधानीको एक होटलमा गर्दैछन् । बरामत गरिएको सुन हङकङबाट ल्याइएको खुलेको विभागका महानिर्देशक ढुङ्गानाले बताएका छन् । ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने । शंका गरिएका मध्ये एक मलहोत्रा भने फरार नभई पत्रकार सम्मेलनको तयारीमा रहेका छन् ।
पैसाको अभावले बिहानदेखि सेवा दिन कान्तिमा असम्भव, अस्पतालको माग सुन्दैन सरकार
काठमाडौं । साउन १ गतेदेखि वीर अस्पतालले बिमारीहरुलाई बिहान ८ बजेदेखि सेवा दिन शुरु गरेको छ । सोहीअनुसार बिमारीहरुले बीर अस्पतालमा बिहान ८ बजेदेखि साँझ पाँचबजेसम्म सेवा पाउन शुरु गरेका छन् । तर, वीर अस्पतालले प्रदान गरेजस्तै बिहान आठबजेदेखि पाँच बजेसम्म आफूहरुले भने सेवा दिन नसक्ने कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले बताएका छन् । विहान आठबजेदेखि सेवा प्रवाह गर्दा सिर्जना हुने व्ययभार उठाउन सक्ने क्षमता नभएको उनको भनाइ छ । वीरको जस्तै सुविधा हाम्रोमा दिन सकिँदैन, किन सकिँदैन भने त्यहाँ ५० प्रतिशत भत्ता दिन्छ, हाम्रोमा भत्ता एक रुपैयाँ पनि छैन, उही सुख्खा तलब खाने कर्मचारी हो, आफ्नो कार्यालय समयमा आएर जाने हो’, निर्देशकले भने, ‘समिति पनि सक्षम छैन, म आउँदा जम्मा एक करोड रुपैयाँ मात्रै बचतको अवस्थामा थियो, कोभिड महामारीको बेलामा मुद्दति बचत खातामा राखेको तीन करोड रुपैयाँ निकालेर तलब खुवाएको हो ।’ पछिल्लो डेढ वर्षमा भने अस्पतालको आर्थिक अवस्थामा केही सुधार भएको उनले बताए । तर, चिकित्सक तथा कर्मचारीलाई ओभरटाइम परिचालन गरेर भत्ता दिने अवस्था भने नभएको उनले बताए । समितिबाट काम गरेका चिकित्सक तथा कर्मचारीलाई ठूलो मात्रामा उपदानमा खर्च हुने गरेको उनको भनाइ छ । सरकारले अनुदान उपलब्ध गराएमा भने बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा सञ्चालन गर्न आफूहरु पनि तयार भएको उनले बताए । शिशु अवस्थादेखि १३ वर्षसम्मका बालबालिकाहरुको उपचार गर्ने केन्द्रीय अस्पतालको रुपमा परिचित छ सो अस्पताल । सरकारले दरबन्दीअनुसार कतिपय विषयगत कर्मचारी उपलब्ध गराउन सकेको छैन, जसले गर्दा समिति र करारबाट अस्पतालले चिकित्सक तथा कर्मचारीहरुको पूर्ति गरिरहेको छ । तर, कतिपय विषयमा काम गर्ने विशिष्ट प्रकृतिका कर्मचारी भने पुर्ती नै नहुँदा दरबन्दी नै रिक्त रहेको अवस्था छ । जसले गर्दा बिमारीहरुले अस्पतालबाट प्राप्त गर्नपर्ने केही विशिष्ट सेवा समेत प्राप्त गर्न नसकिरहेको अवस्था छ । सो अस्पतालमा विभिन्न सेवा अन्तर्गत चारसय ६६ जनाले काम गर्छन । जसमध्ये एकसय ७३ जना संघीय सेवा अन्तर्गतका कर्मचारी रहेका छन् भने एकसय ३८ जना करार र एकसय ५५ जना समिति अन्तर्गतका कर्मचारी रहेका छन् । सरकारले उपलब्ध गराउने अनुदान बाहेक अस्पतालमा हुने सम्पूर्ण खर्च अस्पतालको आन्तरिक आम्दानीबाट नै हुने गर्छ । अस्पतालको कोष कमजोर भएका कारण चिकित्सक तथा कर्मचारीलाई अतिरिक्त समय काम गराएर भत्ता दिने अवस्था अस्पतालको नरहेको बसौलाको भनाइ छ । अस्पतालको माग सुन्दैन सरकार अस्पतालको स्तरवृद्धिका लागि अस्पतालले जनशक्ति, भौतिक पूर्वाधार र साधन स्रोतको व्यवस्थाको लागि सरकारसँग लामो समयदेखि माग राख्दै आएको छ । तर, सरकारले आफूहरुको मागको कुनै सुनुवाई नगरेको निर्देशक बसौलाले बताएका छन् । सरकारले लामो समयदेखि धेरै अस्पतालहरुको जनशक्ति प्रस्ताव (ओएनएम सर्वे)लाई वेवास्ता गर्दै आएको छ । त्यसमा कान्ति अस्पतालले प्रस्ताव गरेको ओएनएम सर्वे पनि एकवर्षदेखि अर्थमन्त्रालयमा थन्किएर स्वीकृत भएको छैन । अस्पतालले पाँचसय पचास बेड सञ्चालन गर्ने भनेर जनशक्ति संरचनाको प्रस्ताव गरेको छ । निर्देशक बसौलाका अनुसार अस्पतालले लामो समयदेखि पुराना भौतिक संरचनामा रहेर सेवा प्रवाह गर्दै आएको छ, नयाँ आधुनिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ, सोही अनुसार अस्पतालले सरकारसमक्ष डिपिआर तयार गरेर पनि पेस गरेको छ, सरकारले कुनै सुनुवाई गर्दैन । ‘एक वर्षदेखि हामीले डिपिआर गरेका छौं, प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयबाट पहल गर्दा पनि अहिले बजेट हाल्न सकिएन, नयाँ निर्माणमा सरकारले बजेट नदिने भनेपछि हामी फर्केर आयौं’, उनले भने, ‘हामीले करिब नौ अर्ब ३० अर्बको प्रोजेक्ट लिएर जाँदा फिर्ता आयो ।’ उनले अस्पतालमा प्रयोग भइरहेका प्रविधि तथा सामग्रीहरु पनि पुराना भएको बताए । उनले अस्पतालको फोहोरको व्यवस्थापन पनि राम्रो गर्न नसकेको बताएका छन् । ‘अस्पतालको फोहोरको व्यवस्थापन पनि त्यति राम्रो छैन, हामीले अटो क्लियर मेसिन सेभ द चिल्ड्रेनबाट डोनेसनबाट माग्दैछौं, सरकारले दिने स्थिति छैन, बजेट छैन, धेरै गाह्रो छ चलाउन’, उनले भने, ‘सायद १०/१५ दिनभित्र मेसिन आउँछ होला ।’ बालबालिकाहरुको उपचार गर्ने रिफरल अस्पताल हो कान्ति । तर, अस्पतालमा एमआरआई मेसिन छैन । पछिल्लो समयमा मृगौलामा समस्या देखिएका धेरै बालबालिकाहरु उपचारको लागि अस्पताल आउँछन्, अस्पतालमा हेमोडाइलासिस मेसिन छैन । दरबन्दीको अभावमा अस्पतालले नाक, कान, घाँटी र आँखाको उपचार सेवा शुरुवात नै गरेको छैन । जसले गर्दा खासगरी उपचारको लागि देशभरीबाट आउने गरिब र मध्यम वर्गका परिवारवारका बालबालिका बञ्चित हुने गरेका छन् । निर्देशक बसौलाले सहयोगी निकायहरु खोजेर कतिपय सेवा सुविधाको विस्तार गर्न लागिएको बताएका छन् । एमआरआई मेसिन जापान सरकारको अनुदानमा प्राप्त हुने प्रकृया अगाडि बढेको, नयाँ सिटी स्क्यान मेसिन पनि ल्याउने तयारी भएको तर, राख्ने नयाँ ठाउँको अभाव भएको बताएका छन् । अस्पतालको जग्गामा समस्या नभएपनि सरकारबाट भवन बनाउन आवश्यक सहयोग नहुँदा समस्या भएको उनको भनाइ छ । त्यस्तै, अस्पतालले हिस्टो प्याथोलोजी ल्याबको शुरुवात गर्न लागेको उनले निर्देशक बसौलाले बताए । सो ल्याब शुरु भएपछि बोनम्यारोको जाँच र मासुको जाँच गर्नका लागि बिमारीहरुलाई बाहिर पठाउने समस्याको अन्त्य गर्न सकिने पनि उनले बताए । त्यसको लागि पनि विश्व स्वास्थ्य संगठनले सामग्री खरिद गरेर दिन लागेको छ ।
छोरी जन्मने बित्तिकै ५ हजार खातामा
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०-८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । ‘छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ’, उपाध्यक्ष डाँगीले भने । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ । कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ मा १० लाख विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ । रासस
अन्नपूर्ण पदमार्गमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, ६ महिनामा भित्रिए दोब्बर
काठमाडौं । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे ६ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८ (साउन २ गते) सम्म १९ हजार पाँच सय ६२ पर्यटक पदयात्राका लागि आएका हुन् । सोमध्ये एक हजार चार सय २१ जना सार्क राष्ट्रका रहेका छन् भने अन्य पर्यटक जापान, चीन, युरोप, अमेरिका र कोरियका रहेका छन् । यो सङ्ख्या सन् २०२२ को तुलनामा झन्डै दोब्बर हो । सन् २०२२ को पहिलो छ महिनामा झन्डै ११ हजार जनाले पदयात्रा गरेका थिए । सन् २०२२ को वर्षमा कूल २४ हजार पाँच सय ४२ जना पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप विरेठाँटी चेकपोष्ट इञ्चार्ज याम गुरुङले जानकारी दिए । गुरुङले अगस्टपछि सुरु हुने अर्को याममा पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बताउनुभयो । यस वर्ष ४० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि सुरु हुने यो पदमार्ग विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्दछ । कोभिड सङ्क्रमणपछि यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा वृद्धि भएको गुरुङले बताए । “सन् २०२० र २०२१ मा नगण्यमात्रामा पर्यटक आए पनि सन् २०२२ को सेप्टेम्बरदेखि पर्यटक आवागमनमा सुधार हुँदै आएको थियो”, गुरुङले भने, “सन् २०२१ मा पर्यटकको सङ्ख्या ह्वात्तै बढेर आएको छ ।” उनका अनुसार अहिले भने ‘अफसिजन’ भएका कारण दैनिक १० देखि २० जनासम्म ‘इन्ट्री’ भइरहेका छन् । असार महिनाअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान जस्तै बनेको उनले बताए । यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घोरेपानी–मस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण राउन्ड पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । वीरेठाँटीमा दर्ता भएर पदयात्रा सुरु गर्ने सबै पर्यटक थोराङ भञ्ज्याङ पास भने गर्दैनन् । मुस्ताङको मुक्तिनाथभन्दा माथि पुग्दा लेक लाग्ने, बिरामी पर्ने जस्ता समस्याले अधिकांश पर्यटक अन्नपूर्ण बेसक्याम्पबाटै फर्किने गरेका छन् । यो क्षेत्रमा पर्यटकले सातदेखि नौ दिनसम्म बिताउने गरेको गुरुङले बताए । अहिले भने बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका इञ्चार्ज गुरुङले जानकारी दिए । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटकहरू आउने गर्दछन् । रासस
चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन
काठमाडौं । अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए । त्यसबाट १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै यहाँको मुख्य आम्दानीको स्रोत हो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा ३ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षका लागि २० करोड रुपैयाँको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा ३ करोड रुपैयाँ कम आम्दानी गरेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ८ लाख ४३ हजार ६३० ले चिडियाखानाको अवलोकन गर्दा १४ करोड १८ लाख ४२ हजार रुपैयाँ आम्दानी भएको थियो । विगतका तीन वर्षमा कोरोनाका कारण अवलोकनकर्तामा कमी आएकाले आम्दानी कम भएको थियो । गत आवमा उलेख्यरूपमा अवलोकनकर्ता आएकाले आम्दानी बढेको सूचना अधिकारी कोइरालाको भनाइ छ । कोरोनाको त्रास हटेसँगै दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । अवलोकनकर्ता बढेकाले विगत वर्षमा भन्दा यस वर्ष बढी आम्दानी भएको हो । अवलोकन गर्न विदेशीका लागि ७५०, सार्क देशका लागि ५ सय, नेपालीलाई २ सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलबभत्ता र जीव, जनावरलाई खाना खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ । चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव, जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गरेका हुन् । वि.सं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको वि.सं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।
नबिल बैंकले थप ४ वटा शाखा विस्तार गर्दै, भाडामा भवन खोज्दै
काठमाडौं । नबिल बैंकले विभिन्न ४ वटा ठाउँमा शाखा कार्यालय संचालन गर्ने भएको छ । बैंकले कास्की, सुनसरी, तेह्रथुम र दैलेखमा शाखा कार्यालय विस्तार गर्ने भएको हो । बैंकले कास्कीको पोखरा महानगरपालिका ९ चिप्लेढुंगा, सुनसरीको धरान उपमहानगरपालिका ८ बरगाछी, तेह्रथुमको म्याङलुङ नगरपालिका १ र दैलेखको दुल्लु नगरपालिका ७ मा शाखा कार्यालय विस्तार गर्ने भएको हो । सो क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा आवश्यक रहेको बैंकले जनाएको छ । बैंकका अनुसार प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्लाको १ हजारदेखि २ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन हुनु पर्नेछ । प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । भवनको भई तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।
मल्टीपर्पस फाइनान्सले हकप्रदका लागि बुक क्लोज मिति तोक्यो
काठमाडौं । मल्टीपर्पस फाइनान्सको हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकिएको छ । कम्पनीका अनुसार साउन १२ गते एक दिनका लागि बुक क्लोज हुनेछ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ११ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १ः०.३५ को हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको गत पुसमा सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।