काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।
सुन ओसारपसारको आरोपमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई प्रहरीले पक्राउ गरेका छन् ।
दिलीप भुजेल र रामकुमार भुजेल रेडी ट्रेडका सञ्चालक भएको विभागले जनाएकाे छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि विहीबार बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताएका छन् ।
विभिन्न कोणबाट यस सुन तस्करी प्रकरणमा विभिन्न व्यवसायी नाम लिन थालिएको छ । यसरी लिइने नामहरु मध्ये केहीले दीपक मलहोत्राको नाम लिने गरेका छन् । विहीबार प्रकाशित नयाँ पत्रिकामा पनि दीपक मलहोत्राको संलग्नता रहेको आंशकासहितको समाचार प्रकाशित भएको छ ।
तर विकासन्युजसँग जिज्ञासामा मलाहोत्राले आफ्नो नाम जोडिएकोमा आश्चर्य व्यक्ति गरे । ‘सुन तस्करीमा मेरो संलग्नता छैन । पत्रिकामा प्रकाशित समाचार पढेर म पनि आश्चर्यमा परेको छु’ मलहोत्राले भने । यस विषयमा मेरा धारणा सार्वजनिक गर्न आजै मध्यान्य १ बजे पत्रकार सम्मेलन गर्दैछु’ उनले भने । पत्रकार सम्मेलन राजधानीको एक होटलमा गर्दैछन् ।
बरामत गरिएको सुन हङकङबाट ल्याइएको खुलेको विभागका महानिर्देशक ढुङ्गानाले बताएका छन् । ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने । शंका गरिएका मध्ये एक मलहोत्रा भने फरार नभई पत्रकार सम्मेलनको तयारीमा रहेका छन् ।