काठमाडौं । अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए । त्यसबाट १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको चिडियाखानाले जानाएको छ ।
अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै यहाँको मुख्य आम्दानीको स्रोत हो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा ३ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षका लागि २० करोड रुपैयाँको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा ३ करोड रुपैयाँ कम आम्दानी गरेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा ८ लाख ४३ हजार ६३० ले चिडियाखानाको अवलोकन गर्दा १४ करोड १८ लाख ४२ हजार रुपैयाँ आम्दानी भएको थियो । विगतका तीन वर्षमा कोरोनाका कारण अवलोकनकर्तामा कमी आएकाले आम्दानी कम भएको थियो । गत आवमा उलेख्यरूपमा अवलोकनकर्ता आएकाले आम्दानी बढेको सूचना अधिकारी कोइरालाको भनाइ छ ।
कोरोनाको त्रास हटेसँगै दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । अवलोकनकर्ता बढेकाले विगत वर्षमा भन्दा यस वर्ष बढी आम्दानी भएको हो । अवलोकन गर्न विदेशीका लागि ७५०, सार्क देशका लागि ५ सय, नेपालीलाई २ सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलबभत्ता र जीव, जनावरलाई खाना खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।
चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव, जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गरेका हुन् । वि.सं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको वि.सं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।