हिमालयन बैंकबाट बाहिरिँदै ४ जना संस्थापक, बिक्रीमा साढे ७ लाख कित्ता सेयर
काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका ४ जना सेयरधनीहरुले कूल कित्ता साढे ७ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक मंडला इन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको १ हजार २८६ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, बाल कृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता र राजन कृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।
आयल निगम १८ अर्ब नाफामा
काठमाडौं । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो । रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो । तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो । निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाउन सफल भएको जानकारी दिए । “रुस–युक्रेन युद्धका कारण महँगोमा इन्धन खरिद गरेर सस्तोमा बिक्री गर्दा दुई वर्षदेखि लगातर निगम घाटामा गएको थियो,” साहले भने “आव २०७९/८० को भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले इन्डियल आयल कर्पोरेसन (आइओस) को ३१ अर्ब ऋण तिरेर नाफा कमाउन सफल भएका छौँ ।” अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै गएकाले बिक्री मूल्यमा नाफामा राखेर आइओसीको बक्यौता रकम र ऋण तिर्न सफल भएको उनले जानकारी दिए । मूल्य स्थिरीकरण कोषमा राख्नुपर्ने साढे तीन अर्ब रुपियाँ र भ्याटबापतको साढे तीन अर्ब रुपियाँसमेत आइओसीलाई तिरेको रकम तिरेको निगमले जनाएको छ । जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैङ्कबाट लिएर साढे तीन अर्ब रुपियाँ तिरिसकेको निगमले जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट लिएको सात अर्ब रुपियाँ रकम तिर्न बाँकी रहेको निगमले जनाएको छ । सो ऋण पाँच वर्षका लागि लिइएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ।
स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ । त्रिविले सबैभन्दा पहिला २०७१/७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो । मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन । चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस सङ्कायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन् । विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न सङ्कायका डिनले दिनुभएको थियो । परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय व्यक्त गरेको छ । पछिल्लो समय त्रिविमा विद्यार्थीलाई एउटै तह उत्तीर्ण गर्न चार वर्ष समय खर्च गर्नुपर्ने बाध्यता छ । त्यसमाथि परीक्षा सञ्चालन तथा नतिजा सार्वजनिकको काम नियमित नहुँदा स्नातक तह उत्तीर्ण हुन न्यूनतम पाँच वर्ष कुर्नुपर्ने बाध्यता छ । अहिले पनि त्रिविमा स्नातकका कुनै विषयमा पढाइ सुरु भएको डेढ वर्षसम्म विद्यार्थीले परीक्षा दिन नपाएका घटना छन् । त्रिविको व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्नातकलाई चारवर्षे बनाउँदा विद्यार्थी अड्याउन मुस्किल परेको बताए । “प्राज्ञिक परिषद्को बैठकमा सहभागी धेरैले चारवर्षे स्नातकको विषयमा पुनर्विचार गर्नुपर्छ भन्ने विषयमा राय दिनुभयो,” शर्माले भने, “चारवर्षे कोर्सलाई तीन वर्ष पढेर एक वर्ष रोजगारीसँग जोड्ने गरी इन्टर्नसिपमा पठाउने कि पाठ्यक्रम नै परिमार्जन गर्ने भन्ने विषयमा छलफल भएको छ ।” यस्तो बाध्यताबाट मुक्ति पाउन विद्यार्थी बिदेसिने तथा स्वदेशमै भर्ना भए पनि बिचैमा पढाइ छाडेर रोजगारी तथा अन्य व्यवसायमा लाग्ने प्रवृत्ति बढेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा २०७८ सालमा पहिलो वर्षको परीक्षा दिन १३ हजार जनाले फाराम भरेकामा तेस्रो वर्षको परीक्षा (२०८० साल) मा आइपुग्दा नौ हजार जना मात्रै बाँकी रहेका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
माथिल्लो मैलुङको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले आज असार ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २५ प्रतिशत अर्थात् २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १ लाख १५ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार १८ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दालाई ढिलोमा भदौ १ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
हाथवे इन्भेष्टमेन्टको ५० रुपैयाँमा आईपीओ बिक्री खुला, कति कित्ता भर्ने ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ करोड ४६ लाख २५ हजार रुपैयाँको २ लाख ९२ हजार ५ सय कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । यस्तै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता र २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
६५ प्रतिशत हकप्रद जारी गर्ने प्रभु इन्स्योरेन्सको प्रस्ताव
काठमाडौं । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साउन ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गरेको हो । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी बढाउन हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । जुन बीमा प्राधिकरणले स्वीकृति दिएपछि मात्रै कम्पनीले सो मात्राको सेयर जारी गर्न पाउने छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । जसको समय सीमा पनि गत असार मसान्तसम्म तोकिदिएको थियो । तर यो अवधिमा प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी पुर्याउन सकेको छैन । कम्पनीले अनेकौं प्रयास गर्दा पनि तोकिएको सीमाभित्रमा पुँजी बढाउन नसकेको जनाउँदै अन्तत हकप्रदको विकल्प रोजेको बताएको छ । यसअघि कम्पनीले अजोड इन्स्योरेन्ससँग मर्ज हुने प्रकृया अघि बढाएको थियो जुन अन्तिम चरणमा पुगेपछि भंग भयो । त्यसपछि कम्पनीले मर्जरमा जानको लागि नै अन्य कम्पनीहरुसँग विशेष पहल गरिरहेको र हालसम्म कुनै कम्पनीसँग पनि प्रकृया अघि नबढेको इन्स्योरेन्सले जानकारी गराएको छ । मर्जरसँगै कम्पनीले विदेशी कम्पनीहरुसँग समन्वय गरी वैदेशिक रणनीतिक साझेदार ल्याउने प्रयास गरिरहेको छ । तर यो प्रयासमा पनि अन्तिम निर्णय नभईसकेकोले कम्पनीले हकप्रदमार्फत सेयर जारी गर्ने निर्णय गरेको हो । जसको स्वीकृतिको लागि कम्पनीले बीमा प्राधिकरणमा निवेदन पेश गरिसकेको छ । इन्स्योरेन्सले प्राधिकरणसँग हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत अर्थात ९९ करोड २७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति मागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३६ करोड ८८ लाख पुग्ने छ । जुन प्राधिकरणले तोकेको पुँजी भन्दा १३ करोड १२ लाख रुपैयाँ कम हो । उक्त अपुग पुँजी भने बोनस सेयर मार्फत पुर्याउने इन्स्योरेन्सको योजना छ । पाउँला त प्राधिकरणको स्वीकृति ? बीमा प्राधिकरणले भने कम्पनीहरुलाई बोनस र हकप्रदबाट मात्रै पुँजी वृद्धि गर्न नदिने निर्णय गरेको थियो । तर पछिल्लो समय भने प्राधिकरण यसमा लचिलो बनेको देखिन्छ । प्राधिकरणले अनौपचारिक रुपमा पुँजी पुर्याउन प्रयास गर्दा गर्दै पनि पुर्याउन नसक्ने कम्पनीलाई भने बोनस र हकप्रद सेयर निष्काशन गर्न दिने बताउँदै आएको छ । यस हिसावमा भने पुँजी वृद्धिको लागि अनेकौं प्रयास गरेको प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न पाउने चान्स बढी देखिन्छ । तर प्राधिकरणले हकप्रद जारी गर्न दिँदा पनि ३० देखि ४० प्रतिशतसम्म मात्रै जारी गर्न दिने त्योभन्दा बढी नदिने बताउँदै आएको छ । यदि प्राधिकरणले यसलाई नै औपचारिक रुपमा लागू गर्यो भने प्रभुले प्रस्ताव गरेबमोजिमको हकप्रद सेयर जारी गर्न नपाउने देखिन्छ । यद्पि, तोकिएको समयमा पुजी नपुर्याउने कम्पनीलाई के गर्ने भन्ने विषयमा प्राधिकरण आफै अन्योलमा रहेकोले प्रभु इन्स्योरेन्सले हकप्रदको लागि स्वीकृति पाउँछ की पाउँदैन भन्ने विषय पनि अन्योलमा देखिन्छ ।
त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद
काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उनको भनाइ छ ।
बीमा क्षेत्रले ११ हजारलाई दियो रोजगारी, कुन कम्पनीमा कति छन् कर्मचारी ?
काठमाडौं । पछिल्ला दिनमा बीमाको दायरा बढेसँगै कम्पनी शाखा र कर्मचारीको संख्या पनि बढिरहेको छ । केही वर्षअघि बीमा क्षेत्रमा नयाँ कम्पनी आएपछि बीमा बजार उत्तिकै तरङ्गीत पनि भएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकको जोखिम बहनको क्षमता बढाउन योगदान गरिरहेको नेपालको बीमा क्षेत्रले रोजगारीमार्फत हजारौंलाई आर्थिकरुपमा सक्षम बन्ने आधार समेत दिइरहेको छ । बीमाको क्षेत्रमा क्रमशः बढिरहेको दायरासँगै रोजगारी पाउनेको संख्यामा पनि बढोत्तरी आइरहेको छ । पछिल्लो तथ्यांकअनुसार, नेपालको बीमा क्षेत्रले ११ हजार बढीलाई रोजगार दिएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जेठ मसान्तसम्मको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा क्षेत्रमा कूल ११ हजार १९९ जनाले रोजगार पाएका हुन् । जसमध्ये जीवन बीमा क्षेत्रमा ५ हजार ६६६ जना कर्मचारी आवद्ध रहेका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका १५ वटा कम्पनीमा ती कर्मचारी आवद्ध छन् । जसमध्ये सबैभन्दा बढी कर्मचारी हिमालयन लाइफ इन्स्योरेन्समा रहेका छन् । साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ मर्ज भई बनेको हिमालयन लाइफमा कूल ८०० जना कर्मचारी छन् । उक्त कर्मचारीले कम्पनीको कूल २१८ वटा शाखामार्फत ग्राहकलाई बीमा सेवा दिइरहेका छन् । हिमालयन लाइफ पछि बढी कर्मचारीको दोश्रो सूचीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । १८२ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको इन्स्योरेन्समा कूल ६२२ जना आवद्ध छन् । त्यस्तै, जीवन बीमा क्षेत्रको विभिन्न सूचकमा अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्समा भने ६१२ जना कर्मचारी आवद्ध छन् । कर्मचारी संख्याको आधारमा भने नेपाल लाइफ सबैभन्दा बढी कर्मचारी हुने कम्पनीको तेश्रो सूचीमा देखिन्छ । समीक्षा अवधिमा कम्पनीले १८४ वटा शाखाबाट बीमितहरुलाई बीमा सेवा दिइरहेको छ । सबैभन्दा कम कर्मचारी राष्ट्रिय बीमा संस्थानमा रहेका छन् । २४ वटा शाखाबाट सेवा दिइरहेको कम्पनीले हाल १०२ जना कर्मचारीलाई रोजगार दिएको छ । यता निर्जीवन बीमा क्षेत्रमा ५ हजार ५३३ जनाले रोजगार पाएका छन् । जुन जीवन बीमा क्षेत्रको तुलनामा कम हो । सञ्चालनमा रहेका १४ कम्पनीले देशभर सो संख्यामा रोजगारी दिएका हुन् । जसमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात ६७७ जनालाई रोजगारी दिएको छ । शाखा संख्यासँगै कम्पनीको कर्मचारी संख्या पनि अन्य कम्पनीको तुलनामा बढी देखिएको हो । हाल कम्पनीको कार्यालय शाखा संख्या १२७ रहेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६५२, शिखर इन्स्योरेन्समा ६३०, युनाइटेड अजोड इन्स्योरेन्समा ५६४ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ५०७ जना कर्मचारी आबद्ध रहेका छन् । निर्जीवन बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्समा सबैभन्दा कम कर्मचारी रहेका छन् । १३ वटा शाखा रहेको कम्पनीमा ६६ जना कर्मचारी आवद्ध रहेको प्राधिकरणले जनाएको छ ।