
काठमाडौं । व्यवसायी दीपक मल्होत्राले विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् ।
बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सुन तस्करीमा आफ्नो नाम नियोजितरूपमा जोडिएको हुनसक्ने मल्होत्राले बताए ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो ।
केही सञ्चारमाध्यममा उक्त सुन काण्डमा आफ्नो नाम जोडिएको भन्दै मल्होत्राले आपत्ति व्यक्त गरेका छन् ।
‘भन्सारमा गएको २५ वर्ष भयो होला । भन्सारका कुनै कर्मचारीलाई चिन्दिन । सुन जसले ल्याएको हो त्यसलाई जोगाउन नियोजितरुपमा मेरो नाम सार्वजनिक भएको हुनसक्छ’, उनले भने ।
बिहीबार दिउँसोसम्म आन्तरिक राजश्व र प्रहरीले उक्त सुन काण्डबारे बुझ्न आफूलाई कुनै सम्पर्कसमेत नगरेको अवस्थामा मिडियामा एकतर्फीरुपमा आफ्नो नाम जोडिएको उनले बताए ।
सुन तस्करीमा संलग्न भएको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको उनले बताए ।
‘त्यत्रो सुन तस्करीमा संलग्न भएको भए भागिसक्थे होला, पत्रकार सम्मेलन गरेर बस्थे होला र ?’, मल्होत्राले भने ।
आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको पनि उनले बताए ।