काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुधबारको भन्सार जाँचपासको जिम्मा शाखा अधिकृत सन्तोष चन्द र नायवसुब्बा कुमार ढकालको थियो । नियमित प्रक्रिया जसरी उनिहरुले बुधबार भन्सार जाँचपासको काम गरेका थिए ।
कार्गाेबाट आएका सामग्रीहरु भन्सार जाँचपासका लागि सिधै भन्सार कार्यालयको गोदाममा आउने गर्छ । गोदाममा रहेका उक्त सामग्रीहरु चन्द र ढकालको नेतृत्वको टिमले भन्सार जाँचपास गराएका थिए ।
तर, भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको सामग्रीमा सून रहेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले टोलीले अनुसन्धान गरिरहेको छ ।
भन्सारबाट पास भएका सामग्रीमा सुन रहेको गोप्य सूचनाका आधारमा बुधबार विभागको टोलीले अनुसन्धान गर्दा करिब एक क्विन्टल सुन बरामद गरेको छ । सुन बरामद भएसँगै बुधबार बिहानको भन्सार जाँचपासको जिम्मा पाएका कर्मचारीलाई निगरानीमा राखिएको छ ।
भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी गरिएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको जानकारी दिएका छन् ।
हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अरुण पोखरेलसँग छ । तर, उनि बिदामा बसेसँगै निमित्तको जिम्मा नारद गौतमले पाएका छन् ।