काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ ।
विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा विभागले छानबिन समिति बनाएको हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार उक्त समितिले भन्सार जाँचपासमा क–कसको संलग्नता रहेको, भन्सारको जाँचमा भेटिएको वा अन्य कुराको अध्ययन गर्नेछ । यस्तै, उक्त समितिले भन्सार जाँचपासको सिसिटिभी फुटेजको समेत अध्ययन गर्नेछ ।
बुधबार बिहान हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट ल्याईएको स्कुटरको ब्रेक शुमा सुन राखेर झन्डै १ सय किलो सुन ल्याईएको पाइएको छ ।
राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए ।
नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने ।
सम्बन्धित समाचार ः