आईएमई लाइफका अभिकर्तालाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैठौं बाषिकोत्सवको अवसरमा तीन सयभन्दा बढी अभिकर्तालाई सहभागी गराएर स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । वेविनारमार्फत अभिकर्तालाई जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरुष लाइफस्टाइल अस्पतालसँगको समन्वयमा कार्यक्रम आयोजना भएको कम्पनीले बताएको छ । आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनको लागि अपनाउनुपर्ने सन्तुलित भोजन, सक्रिय जीवनशैली, तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा बताएका थिए ।
२० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय
फाइल तस्बिर। काठमाडौं । विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैंकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उक्त सहायता दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि खर्च हुने उनले बताइन् । त्यसैगरी, मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको शर्माले जानकारी दिइन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन् ।
कामना सेवा विकास बैंकका ग्राहकले तुलसी कुञ्जमा १० प्रतिशत छुट पाउने
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ । मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कामना सेवा विकास बैंकका ग्राहकले उक्त रेष्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई होटल चितवन र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट दिने बारे सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा २५ प्रतिशत र बागबजारमा रहेको डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने समझदारी भएको बैंकले बताएको छ । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै डिजिटल कारोबारलाई प्रोत्साहन मिल्ने बैंककले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुन तस्करी छानविन गर्न छुट्टै समिति चाहिन्छ : सांसद पौडेल
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेललेसुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले प्राविधिक पक्षलाईसमेत ख्याल गरेर पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष छानवीन गर्नुपर्ने बताएका छन् । ‘सुन तस्करी प्रकरणमा राज्य जुन ढंगले गम्भीर हुनुपर्ने हो, त्यो देखिएको छैन । संसदमा छलफल हुनुपर्छ । टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनुपर्छ’, पौडेलले भने, ‘मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानविन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पक्षलाई ख्याल गरेर सुन तस्करी प्रकरण निर्मम ढंगबाट छानबिन गरिनुपर्छ ।’
सञ्चय कोषले किस्ता नतिरेको बताएपछि निगमले भन्यो : एक वर्षमै पौने ३ अर्ब तिरिसक्यौं
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता बापत कर्मचारी सञ्चय कोषलाई मात्रै तीन अर्ब रुपैयाँ भुक्तानी गरिएको जनाएको छ । निगमले २०७९ को असारदेखि २०८० को असारसम्म जहाजको किस्ता बापत २ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरिसकेको बताएको छ । कर्मचारी सञ्चय कोषले निगमले ऋणको किस्ता नतिरेहको बताएपछि निगमले निरन्तर रुपमा किस्ता भुक्तानी भइरहेको बताएको हो । एक वर्षको अबधिमा झन्डै ३ अर्ब रुपैयाँ भुक्तानी हुँदा समेत कोषले किस्ता नै नपाएको भन्नु कोषले ठूलो गल्ती भएको निगमका प्रवक्ता रमेश पौडेल बताउँछन् । ‘हामीले कोरोना महामारीकालमा जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी गर्न नसकेको सत्य हो, तर अहिले अवस्था केही सहज भएपछि हामीले झन्डै ३ अर्ब बक्यौता रकम भुक्तानी गरिसक्यौँ, पहिलाको कुरालाई जोडेर अहिले गलत रुपमा प्रचार गर्नु कोषको ठूलो गल्ति हो,’ उनले भने । उनले निगमले किस्ता बापतको रकम कोषको हिमालयन बैंकमा रहेको खातामा जम्मा भइरहेको जानकारी गराए । ‘एक वर्षको अबधिमा कर्मचारी संचय कोषलाई झन्डै ३ अर्ब रुपैयाँ ऋण बक्यौता भुक्तानी भएको छ, बिस्तारै कमाउदै र निगमको नियमित खर्च धान्दै कोषको बक्यौता समेत तिरिरहेको अहिलेको सुधारोन्मुख अवस्थामा नकारात्मक टीका टिप्पणी हुनु दुखलाग्दो कुरा हो’, निगमका प्रवक्ता पौडेलले भने, ‘किस्ता तिरेको छैन भनेर गलत रुपमा टिप्पणी हुनु राम्रो कुरा होइन, निगमले किस्ता बापतको रकम कोषको हिमालयन बैंकमा रहेको खातामा जम्मा गरिरहेका छौँ ।’ उनका अनुसार निगमले २०७९ को असारमा न्यारोवडी जहाजको ९एयबस ३२०० असारमा ४ करोड ५० लाख, असोजमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ, पुसमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको बताए । यस्तै, २०७९ को चैतमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ र २०८० को असारमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको जानकारी दिए । निगमले एक वर्षको अबधिमा न्यारोवडी जहाज खरिद गर्दा लिएको ऋणको १ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरेको देखिएको छ । यस्तै, वाइडबडी जहाज ९एयरबस ३३०० खरिद गर्दा लिएको ऋणको किस्ता बापत एक वर्षको अबधिमा निगमले १ अर्ब भुक्तानी गरेको छ । विकासन्युजलाई प्राप्त तथ्यांक अनुसार निगमले २०७९ को असारमा ४५ करोड, असोजमा २० करोड, चैतमा १ करोड र २०८० को असारमा २५ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले मंगलबार नै प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् । यसअघि पनि उनी सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर हुने फैसला गरेको थियो । अहिले सत्तारुढ गठबन्धनले सभामुखलाई राजीनामा गराएर थापालाई मुख्यमन्त्रीमा समर्थकको संख्या पुर्याएको छ । तर, विश्वासको मत लिने अवस्थामा भने थापाको मुख्यमन्त्री पद कायम नरहने सक्ने जोखिम अझै छ ।
‘आइएमई पे’मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने
काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सक्नेछन् । यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ । यसरी लिङ्क भई सके पछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ । ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धमा पनि ठुलो टेवा पुर्याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’, आइएमई डिजिटल सोलुसन ’आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाई छ।