कर्मचारीले पाएनन् ११ महिनाको तलब
काठमाडौं । ११ महिनादेखि तलब नपाएको भन्दै सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाका १९२ कर्मचारीले प्रदर्शन गरेका छन् । विगत ११ महिनादेखिको भुक्तानी गर्न बाँकी तलब भत्ताको व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना÷परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने माग गर्दै उनीहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । वन रोयल्टीमा वृद्धि सूत्रका कारण आयतनमा वृद्धि र समितिको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वन रोयल्टीमा ५० प्रतिशत छुट गरिनुपर्ने र वन पैदावार विकास समितिको गठन आदेश संशोधन गर्नुपर्नेलगायतका माग गर्दै कर्मचारीहरूले गत एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् । सङ्घर्ष समितिका अध्यक्ष छत्रबहादुर लामाले लामो समय तलब नपाएकोमा पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नु परेको बताए ।
बिरामीको विवरण देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव डा.मदनकुमार उपाध्यायले मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिएका हुन् । मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्ट्याई निःशुल्क उपचार अनिवार्य गराउन पटकपटक परिपत्र दिइसकेको जनाएको छ । यस्तै मन्त्रालयले निजी तथा सामुदायिक र निजी मेडिकल कलेजलाई आफ्नो वर्गीकरणअनुसार सेवा प्रवाह गरे नगरेको जानकारी गराउन आग्रह गरेको छ । यसैगरी मन्त्रालयले सङ्घीय अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफूले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधाको विद्यमान सेवा शुल्क विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । आवश्यकताअनुसार ज्वरो क्लिनिकल गर्न निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई डेङ्गी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गीका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परिपत्र जारी गर्दै डेङ्गी रोगको निदान र उपचार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । “दैनिक डेङ्गी सङ्क्रमण बढिरहेको छ । सङ्घअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेङ्गी रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छाँै”, उनले भने । उनले डेङ्गी रोगको निदान, उपचार र व्यवस्थापन गर्नका लागि ती अस्पताल र प्रतिष्ठानलाई परिपत्र जारी गर्र्दै छ बुँदे निर्देशन दिए । परिपत्रमा डेङ्गी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअनुसार कार्य गर्न तथा डेङ्गी रोगको निदानका लागि आवश्यक कीटको सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ । यस्तै डेङ्गी रोगका बिरामी बढिरहेको अवस्थामा आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न उहाँले ती अस्पताललाई निर्देशन दिनुभएको हो । अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गरिने उनको भनाइ छ । रामीको मृत्यु भएको अवस्थामा प्रमाणीकरण गरेर मात्र प्रतिवेदन तयार गर्न, बिरामीको विवरण नियमितरूपमा सफ्टवेयरमा राखी प्रतिवेदन तयार पार्नेलगायतका काम गर्न निर्देशन दिए । अहिले ५ हजार ६८८ जनामा डेङ्गीको सङ्क्रमण र ४ जनाको निधन भएको छ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढिरहेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भाले वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । कार्ययोजनामा यस्तै लामखुट्टैको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसैगरी डेङ्गी नियन्त्रणका लागि महाशाखाले घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ । यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गी भाइरसको आइसोलेसन गर्नेसमेत कार्ययोजनमा उल्लेख गरिएको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ । रासस
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले साउन १८ गते बोलकबोल मार्फत् बिक्री गर्ने र साउन १९ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ । नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याउनुभएको २२ थान सोलार प्यानल सोही दिन उनका कान्छा भाइ रोजचन्द्रले वडाध्यक्षलाई समेत जानकारी नदिई आफ्नो टोलका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना सुरु भएको हो । वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गरेका छन् । “म च्यास्मिटारका जनताले दिएको मतले निर्वाचित भएको वडाध्यक्ष हो । वडामा हुने हरेक गतिविधि मसँग जोडिन्छ । त्यसको जस वा अपजस मैले नै लिनुपर्ने हुन्छ”, उनले भने, “नगर प्रमुखको भाइ भएकै आधारमा वडामा आएको योजनामा हस्तक्षेप गर्नु उचित होइन । यसले राम्रो सन्देश गएको छैन । आगामी दिनमा पनि यस्तो हर्कत दोहोरिए सहेर बस्दिनँ ।” च्यास्मिटारको साविक नौवटै वडाका विपन्न परिवारका लागि भनेर खरिद गरिएको सोलार प्यानल नगर प्रमुख राईका भाइ रोजचन्द्रले साविकको तीनवटा वडामा मात्र आफूखुसी वितरण गरेको पाइएको छ । साविकको वडा नं ६ भाग्रामा १५, वडा नं ३ सार्पामा पाँच र वडा नं ४ दाल्फुमा दुईवटा वितरण गरेको पाइएको हो । विपन्न परिवारका लागि खरिद गरिएको सोलार प्यानल वडामा ल्याउनुअघि च्यास्मिटारका लागि ११ वटा कोटा रहेको नगरपालिकाको जिन्सी शाखाबाट जानकारी आएको समेत वडाध्यक्ष राईले बताए । “विपन्न परिवारका लागि वितरण गर्न भनेर गत असारमै सोलार प्यानल खरिद गरिएको थियो । वडामा ल्याएर वितरण गर्न केही ढिला भएको थियो । सोही अवस्थामा नगर प्रमुख विमला राईज्यूले म आफ्नै गाडीमा हालेर ल्याइदिन्छु है भन्नुभयो । मैले हुन्छ भनेँ”, उनले भने, “सोलार प्यानल लिएर नगर प्रमुख वडा कार्यालयमा आउनुअघि नै उहाँका कान्छा भाइ रोजचन्द्रलगायतका साथीहरू भेला भएर बसेका रहेछन् । गाडीबाट झार्न नै नपाई डोकोमा हालेर लान थालेपछि कुनै प्रतिक्रिया नजनाई घर फर्किएँ ।” नगर प्रमुख राईका भाइ रोजचन्द्रले भने नगरपालिकाले उपलब्ध गराएको सोलार प्यानल आवश्यकताका आधारमा वडा कार्यालयका कर्मचारीलाई नै रोहबरमा विपन्न परिवारका लागि वितरण गरेको बताए । “यसअघिका कार्यक्रममा वडाध्यक्षज्यूबाट धेरै अनियमितता भएका छन् । हामी पनि यही वडाका नागरिक हौँ । वडामा आउने योजना हाम्रै लागि आएको हो”, उनले भने, “सोलार प्यानल वितरणमा प्रक्रिया मिचियो होला, यसमा मेरो कमजोरी भयो भने, स्वीकार गर्न म तयार छु, तर, पाउनुपर्ने व्यक्तिलाई उनीहरूको सबै विवरण राखेर वितरण गरिएको छ । वडाध्यक्षज्यूले यसअघि गर्नुभएको जस्तो अनियमितता भएको छैन ।” जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका विपन्न परिवारका लागि कोशी प्रदेशका तत्कालीन ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’को पालामा सोलार प्यानल उपलब्ध गराउने गरी योजना परेको थियो । केन्द्रीय प्रसारण लाइनको विद्युत् नपुगेका ठाउँमा बसोबास गर्ने विपन्न परिवारका लागि २० किलोवाट क्षमताको सोलार प्यानल उपलब्ध गराएर उज्यालो दिने गरी उक्त नगरपालिकाका ११ वटै वडाका लागि योजना पारिएको हो ।
भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या
काठमाडौं । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
सिनर्जी पावरले साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद बिक्री गर्ने, २ कित्ताले १ कित्ता पाउने
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ कित्ता सेयर बराबर १ कित्ताको अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन १२ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड
काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १५.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ । गत वर्षको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ५९ करोड ७२ लाख ४४ हजार रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा बढेसँगै लाभांश क्षमता पनि उच्च भएको हो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ९.७५ प्रतिशत बढेर १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेर ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दान िगरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेर ६ अर्ब ८८ करोड १२ लाख रुपैयाँ, सञ्चालन नाफा ९.९१ प्रतिशत बढेर २ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ, जगेडा कोष ४३.४२ प्रतिशत बढेर ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, निक्षेप संकलन ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ र कर्जा लगानी १.६४ प्रतिशत घटेर १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १.६० रुपैयाँ बढेर १८.५ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९.१० रुपैयाँ रहेको छ । मीक्षा अवधिमा बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ८.०७ प्रतिशत, आधार दर १०.७४ प्रतिशत र सीडी रेसियो ८०.६४ प्रतिशत रहेको छ ।
विद्युतीय सवारीको लागि विद्युतको शतप्रतिशत ग्यारेन्टी : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले विद्युतको शतप्रतिशत ग्यारेन्टी गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीलाई विद्युत सुनिश्चित गर्न सकिने बताएका हुन् । विद्युतीय सवारी वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट आयात गरेर भएपनि प्राधिकरणले विद्युत ग्यारेन्टी गर्ने घिसिङले बताए । ‘भारतबाट विद्युत नै आयात गर्दा पनि चार रुपैयाँमा पर्छ । पेट्रोलियम पदार्थ आयात गर्दा १५ रुपैयाँ पर्छ । विद्युत अभाव हुन्छ भन्ने कुरामा डराउन भएन । विद्युतको शत प्रतिशत ग्यारेन्टी गर्नसक्छौं’, घिसिङले भने । अहिले विद्युत निर्यात भइरहेको सन्दर्भमा विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरै नहुने उनले बताए । हेरक वर्ष एक हजार मेगावाट विद्युत थप भइरहेको र विद्युतीय सवारी बढ्दा प्राधिकरणलाई पनि नाफा हुने उनले बताए ।