इन्जिनियरिङ अध्ययनको शुल्क १४० प्रतिशतले बढाउने तयारी, विद्यार्थी पलायन बढ्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शैक्षिक शुल्क बढाउन लागेको छ । २०५३ सालपछि संस्थानले पहिलोपटक शुल्क बढाउने तयारी गरेको हो । इन्जिनियरिङ अध्ययन संस्थानले १४० प्रतिशतसम्म शुल्क बढाउनु पर्ने भन्दै अध्ययन समितिले प्रतिवेदन दिएको छ । तर, उक्त प्रतिवेदनअनुसार नै शुल्क बढाउने कि त्यसभन्दा कम मात्रै बढाउने भन्ने बारेमा भने संस्थानको कार्यान्वयन समितिमा छलफल भइरहेको छ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आंगिक क्याम्पसहरु सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयले स्थायी दरबन्दीमा रहेका प्राध्यापक तथा कर्मचारीलाई दिने तलब बाहेक अन्य खर्चको रकम उपलब्ध गराउन छाडेपछि शुल्क वृद्धि गर्नु पर्ने अवस्था आएको संस्थानका डिन प्राडा.शशीधरराम जोशीले विकासन्युजलाई बताए । डिन जोशीकाअनुसार शुल्क वृद्धिको विषयमा संस्थानमा एक वर्षदेखि छलफल हुँदै आएको छ । त्यसका लागि संस्थानले शुशिल बज्राचार्यको नेतृत्वमा एक समिति गठन गरेर प्रतिवेदन समेत तयार गरेको थियो । संस्थान स्रोतकाअनुसार उक्त प्रतिवेदनले अहिले इन्जिनियरिङ पढ्दा लाग्ने शुल्कलाई दोब्बरभन्दा धेरै बनाउन सुझाव दिएको छ । ‘संस्थान र आंगिक कलेजहरूले दुई वर्षभित्र शुल्क वृद्धि नगर्ने हो भने सञ्चालन नै हुन नसक्ने अवस्थामा पुग्छन्’, जोशीले भने । कार्यान्वयन समितिले निर्णय नगर्दासम्म शुल्क वृद्धिको विषय कार्यान्वयन नहुने उनले बताए । ‘हामीले २०५३ सालदेखि शुल्क वृद्धि गरेका छैनौं, वर्षैपिच्छे १० प्रतिशत शुल्क वृद्धि गर्न सकिने व्यवस्था छ, त्यसोगर्दा धेरै नै शुल्क वृद्धि गर्न सकिन्छ’, उनले भने, ‘ल्याब र लाइब्रेरी सञ्चालन गर्न, छात्रवृत्ति लगायतका विषयलाई सम्बोधन गर्न मिल्ने गरी मात्रै बढाउँछौं’, जोशीले भने । अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले तीन लाख २० हजार रुपैयाँ शुल्क बुझाउने गर्छन् । संस्थान स्रोतकाअनुसार प्रतिवेदनले सो शुल्कलाई सात लाख ७० हजार पुर्याउन सुझाव दिएको छ । प्रतिवेदनअनुसार नै शुल्क बढेमा अहिले विद्यार्थीहरुले तिरिरहेको शुल्कको तुलनामा करीब १४० प्रतिशतले बढेको शुल्क तिर्नुपर्ने हुन्छ । प्रतिवेदनमाथि कार्यान्वयन समितिमा छलफल भएर निर्णय भएपछि लागू हुने डिन प्राडा. जोशीले बताए । संस्थानको कार्यान्वयन समितिले शुल्कको विषयमा नयाँ निर्णय गरेपछि संस्थान लगायत पाँचवटा आंगिक क्याम्पसमा नयाँ शुल्क कार्यान्वयन हुनेछ । संस्थान अन्तर्गत पुल्चोक, थापाथली, पूर्वाञ्चल, चितवन, र पश्चिमाञ्चल गरी पाँचवटा आंगिक इन्जिनियरिङ कलेज छन् । साथै १० वटा निजी कलेजहरुले पनि स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । संस्थानले शुल्क वृद्धि गर्दा निजी कलेजको भन्दा धेरै नबनाउने जोशी बताउँछन् । सरकारले शैक्षिक कार्यक्रम सञ्चालनको लागि आवश्यक पुँजी दिएमा शुल्क वृद्धि गर्नुपर्ने अवस्था नहुने उनको भनाई छ । धेरै विद्यार्थी पलायन हुनसक्ने उच्च शिक्षामा प्राविधिक तथा अप्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको ठूलो संख्या पलायन भइरहेको छ । गत आर्थिक वर्षको असार मसान्तसमम मात्रै एक लाख १७ हजार दुई सय सत्र जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । विशेषगरी पछिल्लो पुस्ताका विद्यार्थीहरुले अध्ययनसँगै काम, आम्दानी र करिअरलाई जोड दिएको देखिन्छ । संस्थानका डिन प्राडा. जोशी पनि पछिल्लो समय इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या १० प्रतिशतले कमी आएको बताउँछन् । इन्जिनियरिङ अध्ययन पूरा गरेका झण्डै ९० प्रतिशत विद्यार्थीहरुले नेपालमा काम पाउन नसकेर विदेश पलायन भइरहेको अवस्थामा संस्थानले पढाइ शुल्क दोब्बर गर्दा पढ्ने विद्यार्थीकै संख्या घट्न सक्ने देखिन्छ । तर, डिन जोशी भने निजी क्षेत्रबाट सञ्चालित कलेजमा इन्जिनियर पढ्दा लाग्ने शुल्क दोब्बर भन्दा धेरै भएकाले संस्थानले शुल्क वृद्धि गर्दैमा विद्यार्थी नघट्ने दावी गर्छन् ।
ज्योति विकास बैंकको सेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । ज्योति विकास बैंकले सेयर रजिष्ट्रारमा पुनः एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटलले ज्योति विकास बैंकसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको हो । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका हुन् । नवीकरणले सेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ । साथै, एनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यी दुवै संस्थाहरूले विगत थुप्रै वर्षहरुदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका छन् । यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआइएमबि एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरूको असाधारण गुणस्तरलाई पनि पुष्टी गरेको जनाएको छ ।
‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा
काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ । क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफी प्रेमीहरूका लागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई हो । उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन् । कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू, दराज डट कम तथा किराना पसलहरुमा खरिद गर्न सक्नेछन् । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ ।
ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड
काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सिमित अवधिका लागि लागु हुनेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
साढे ५ अर्ब कमाएको प्रभु बैंकको नाफा पौने ३ अर्ब
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा साढे ५ अर्ब रुपैयाँ कमाएकाे छ । बैंक स्रोतका अनुसार गत असारसम्म बैंकले ५ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यद्यपि, बैंकले सार्वजनिक गर्ने वित्तीय विवरणमा सो नाफा घटेर आउनेछ । स्रोतका अनुसार बैंकले आर्जन गरेको नाफाबाट प्रोभिजन, सञ्चालन खर्च, कर्मचारीको बोनस, कर लगायतको रकम छुट्याउन बाँकी छ । यदि सो रकम छुट्यायो भने बैंकको खुद नाफा पौने ३ अर्बको हाराहारीमा हुने स्रोतको भनाइ छ । गत असारसम्म बैंकको खराब कर्जा भने घट्ने बैंक स्रोतको दाबी छ । उनका अनुसार ३ प्रतिशतको हाराहारीमा खराब कर्जा झर्नेछ । गत चैत मसान्तसम्म बैंकको खराब कर्जा ३.४८ प्रतिशत थियो भने अघिल्लो वर्षको सोही अवधिमा २.७९ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंक (साविक सेञ्चुरी बैंकसहित)ले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण
काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो । निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डायन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यलगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निष्कर्ष निकालेको छ । नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरियो गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका, २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेशन आवरको’ समय भन्दा अघिपछि विशेष गरी जुलाई, अगष्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिएको छ । आन्तरिक विमानस्थलले ‘अपरेशन आवर’भित्र बसी अपरेशनसम्बन्धी कार्य मौसम चुस्त रुपमा गरेरनगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थलले गर्ने जनाइएको छ । उल्लेखित निर्णय प्राधिकरणका महानिर्देशकबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइने प्राधिकरणको भनाइ छ । रासस
महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षबीच भेट, आर्थिक सुधार गर्न जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच भेटवार्ता भएको छ । मंगलबार महासंघ सचिवालय टेकुमा एक कार्यक्रमका बीच उक्त औपचारिक भेटवार्ता भएको हो । उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तिय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको बिकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार बिकास एवं लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए । कोभिडपछिको तिव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालको भनाई छ । निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घट्दै गएको उनले बताए । नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसंग सहकार्य गर्न आफु तयार रहेको बताए । पछिल्लो समय निगमसंगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो । महासंघले साना उद्यमीका लागि शुरु गर्न लागेको बिकास केन्द्र र सिप बिकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाई थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका बिषयको नेतृत्व गर्छन् । भेटका क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए । महासंघका उपाध्यक्ष हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको बताए । महासंघ लगानी तथा अन्तराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए ।
सेयर बजार २८.५९ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अङ्कले घटको छ । बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ । त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावरको सेयर मूल्य चार दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ ।