विकासन्युज

मर्जरपछि एनआईएमबिको नाफा ४ अर्ब बढी, एनपीएल ४ प्रतिशत पुग्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्ष ४ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले  गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकले झण्डै ७ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड र मेगा बैंकले २ अर्ब ८३ करोड गरी कूल ६ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको देखिन्छ । बैंक स्रोतका अनुसार अहिले खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । गत असारसम्म बैंकको खराब कर्जा (एनपीएल) ४.३ प्रतिशत पुगेको छ । जसकारण बैंकले ठूलो रकम लस प्रोभिजिनिङ गर्नु परेको बैंक स्रोतले बताएको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा २.२१ प्रतिशतको हाराहारीमा थियो । यस्तै, समीक्षा अवधिमा बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकसँग निक्षेप ३ खर्ब ३७ अर्ब रुपैयाँ थियो । यस्तै, गत असारसम्म बैंकले ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ बढी छ । बैंकले मेगा बैंकसँग मर्ज गरेपछि हरेक सूचकमा सुधार आएको देखिएको छ । तर, सिनर्जी नै सिर्जना भने भएको देखिँदैन । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज भएका हुन् ।

नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी

नेपालगञ्ज । नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन् । बागेश्वरी चलचित्र मन्दिरले क्युएफएक्ससँगको समन्वयमा हल आधुनिकीकरण गरेर आधुनिक प्रविधिअनुसार सञ्चालन गरिरहेको बेलामा २५ करोड रुपैयाँ बढीको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ थपिएको छ । ’यो एउटा सिनेमा हलमात्रै होइन, नेपालगञ्जमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, सिने रोयलका प्रबन्ध निर्देशक डा राहुल थापाले भने, ’समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट  मनोरञ्जन दिन खोजिएको हो ।’ उनले पश्चिम नेपालमा सिनेमा रुचाउनेहरुका लागि नेपालगञ्जसम्म आउने माध्यमका रुपमा सिने रोयल हुने अपेक्षासहित भारतीय सीमावर्ती जिल्लाका लाखौँ दर्शकलाई यसले आकर्षित गर्ने आशा व्यक्त गरे । पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउन्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित तीन स्क्रिनसहितको मल्टिप्लेक्स हल तयार गरिएको सञ्चालक डा थापाले जानकारी दिए । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशकसमेत रहेएका उनको योजना र लगानीमा नेपालगञ्जमा यो सुविधासम्पन्न हल निर्माण भएको हो । नेपालगञ्ज–१० आदर्शनगरमा हलसँगै तत्काललाई क्याफ्टेरिया पनि सुरु गरी यो स्थानमा बिस्तारै विभिन्न शपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना रहेको डा थापाले जानकारी दिए । सिनेमा हल निर्माणका टोली नेता किरण ढकालले सिने रोयल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउन्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन’मा आधारित रहेको बताए । सिनेरोयलमा तीनवटा स्क्रिन छन् । छ सय ५० दर्शक क्षमता भएको सिनेरोयलका दुईवटा प्रतिहल दुई सय ५० क्षमता तथा तेस्रो हल एक सय ५० सिट क्षमताका छन् । बेल्जियमबाट प्रोजेक्टर र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली जडान गरिएको उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्य एवम् नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा धवलशम्शेर राणाले सिने रोयललाई नेपालगञ्जको गौरवका रुपमा लिनुपर्ने बताए । यसले नेपालगञ्जको पर्यटनलाई ठूलो टेवा दिनाका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सिने रोयलजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताए । सिने रोयल सञ्चालनमा आउनु नेपालगञ्जका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै उनले नेपाललगायत भारतबाट समेत यहाँ आउने दर्शकले नेपालगञ्ज बजारलाई चलायमान गराउने विश्वास गरे । रासस

२१ प्रतिशतले निकासी घट्यो

काठमाडौं । सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा  एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कूल पैठारीमा १६ दशमवल एक प्रतिशतले ह्रास आएको जानकारी दिए । गत आवमा  १६ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो । गत आवमा नेपालको कूल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ । सो आवमा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो । ‘गत आवको प्रारम्भिक तथ्याङ्कअनुसार कूल व्यापारमा आठ दशमलव नौ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ’, उनले भने, ‘समीक्षा अवधिमा नेपालको कूल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ ।’ आव २०७८/७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिए । नले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए । उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्वपूर्ण निर्णय भएको उनले जानकारी दिए । रासस

प्रस्तावित राजदूतको उजुरीमा छलफल नै नहुने

फाइल तस्वीर काठमाडाै‌ं । विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि संसदीय सुनुवाई समितिमा छलफल नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्न लायक नै नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको समितिका ज्येष्ठ सदस्य एवं सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । राजदूत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई बोलाउने निर्णय गरेको छ । साउन १७ गते बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय गरिएको कार्कीले बताए । सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदुतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदुतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो । संसदीय सुनुवाई समितिले उनीहरूमाथिको सुनुवाई प्रक्रिया सुरू गर्नका लागि यस अघिको बैठकमा उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 दुई वर्षमा सबै घरमा विद्युत पुग्छ, युवालाई बिना धितो ऋण दिएका छौं : अध्यक्ष बोहरा

काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका अध्यक्ष हुन् भक्तसिंह ठेकरे बोहरा । सुदुरपश्चिम प्रदेशकै दुर्गममध्येमा पर्ने उक्त गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धनमा लागेका छन् उनी । त्यसबाहेक, गाउँपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नमुना काम गर्न लागिएको अध्यक्ष बोहराले बर्ताका छन् । उनै अध्यक्ष बोहरासँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको करिब डेढ वर्ष हुन लाग्यो, निर्वाचित भए पश्चात् पालिकामा उल्लेख्य के काम गर्नुभयो ? हामी निर्वाचित भएर आइसकेपछि पालिकाभित्र उल्लेखनीय काम भएका छन् । हाम्रो पालिका सुदूरपश्चिम प्रदेशकै विकट तथा दुर्गम क्षेत्रमा पर्छ । पूर्वाधार विकासका काम न्यून मात्रामा भएका थिए । हामीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन आदि क्षेत्रलाई प्राथमिकता दिएर काम अगाडि बढाएका छौं । पालिकामा आकर्षक पर्यटकीय गन्तव्य छन् । ती स्थानहरूको पहिचान गर्दै प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक पालिकामा ल्याइरहेका छौं । यसले यहाँका नागरिकहरूको जीविकोपार्जन सहयोग पुगेको छ । यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेका छौं । शिक्षा क्षेत्रमा सुधार र परिवर्तन गर्नुपर्छ भनेर सबै विद्यालय भौतिक पूर्वाधार निर्माणसहित शैक्षिक गुणस्तरका कार्यक्रमहरू सञ्चालन गरेका छौं । हामीले योजनाबद्ध तरिकाले विकासको काम अघि बढाएका छौं । गाउँपालिकाले पर्यटन प्रवर्द्धन  गर्ने उद्देश्यले यस वर्षलाई भ्रमण वर्षकोरूपमा मनाउने योजना बनाएको छ, यस वर्ष कति पर्यटक भित्र्याउने तपाईंहरुको लक्ष्य हो ? हामीले चालु आर्थिक वर्ष २०८०/८१ लाई अपिहिमाल भ्रमण वर्षकोरूपमा मनाउने घोषण गरेका छौं । गत वर्ष हामीले अपिहिमाललगायत पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारको लागि अपिहिमाल वेस क्याम्प भ्रमण सप्ताह कार्यक्रमको आयोजना गरेका थियौं । भ्रमण सप्ताह कार्यक्रम सञ्चालन गर्दा यहाँ पर्यटकको उपस्थिति एकदमै राम्रो थियो । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र पर्यटन विकासमा यो कार्यक्रम कोशेढुङ्गाकोरूपमा सावित हुने अपेक्षा राखेका छौं । हाम्रो यस वर्ष तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याने उद्देश्य हो । हाम्रो कार्यकालमा गाउँपालिकाभित्र १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेका छौं । गाउँपालिकाले पर्यटन प्रवद्र्धन तथा विकासका लागि आवश्यक गृहकार्य गरिरहेको छ । तपाईंहरुले के विषयलाई प्राथमिकता थिएर पर्यटन प्रवर्द्धनको काम गरिहनुभएको छ ? सुदूरपश्चिमका अधिकांश पर्यटकीय स्थलहरू भर्जिन छन् । पूर्वी भेगका धेरै ठाउँहरू आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरिसकेका छन् । सुदूरपश्चिम पर्यटकको लागि नौलो ठाउँ हो । त्यसमध्ये पनि हाम्रो गाउँपालिकामा प्रदेशकै अग्लो अपिहिमाल छ । त्यसैले यहाँ हिमाल आरोहण तथा ट्रेकिङका पारखीहरू पनि आउन सक्ने भए । गाउँपालिकामा सुन्दर रमणीय स्थानको कमी छैन । जसले गर्दा पर्यटनलाई यहाँको प्राकृतिक सुन्दरताले लोभ्याउँछ । धार्मिक पर्यटकहरू पनि आउँन सक्ने भए । यहाँ ऐतिहासिक तथा धार्मिक क्षेत्रहरु पनि प्रसस्त छन् । पर्यटकीय क्षेत्रहरूलाई सफा राख्नको लागि प्लास्टिक निषेधको घोषणा गरेका छौं । पर्यटकलाई लक्षित गर्दै ग्रामीण बस्तीहरूका होमस्टेहरू सञ्चालनमा ल्याएका छौं । त्यी होमस्टेहरूले मौलिक खानेकुरा पस्कन्छन् । यहाँको टिपिकल स्वादसँगै अवलोकन गर्न पर्यटकहरू आउन सक्ने भए । युवालाई विदेशिन रोकेर गाउँमै रोजगार बनाउन स्थानीय तहको ठूलो भूमिका रहन्छ । तपाईंले गाउँपालिकामा युवा लक्षित रोजगारीको लागि कस्तो नीति बनाउनुभएको छ ? गाउँपालिकाले युवालाई कृषि र पर्यटकीय क्षेत्रमा जोड्नको लागि पहल गरिरहेको छ । गाउँपालिकालाई पर्यटकीय हब बनाएपछि यहाँ प्रशस्त पर्यटक भित्रिन्छन् । पर्यटनको आवागमन बढ्यो भने यहाँ उत्पादन भएको सामाग्री पनि सहजै बिक्री गर्न सकिन्छ भनेर गाउँपालिकाले युवालाई यस क्षेत्रमा जोड्न खोजेको हो । त्यसका लागि गाउँपालिकाले युवालाई टुरिस्ट गाइड, लघु उद्यम, होटल व्यवसाय आदिको तालिम पनि दिँदै आएको छ । हामीले यस वर्षदेखि उद्यम गर्न चाहने युवाहरूको लागि न्यून ब्याजदरमा बिना धिता दुई लाखसम्म व्यवसायिक ऋण उपलब्ध गराउने छौं । युवालाई उक्त कर्जा युवा स्वरोजगार संघको सहकार्यमा दिने योजना बनाएका छौं । गाउँपालिकाले यस कार्यक्रमलाई छिट्टै कार्यान्वयन गरी युवालाई सहुलियत तरिकाले कर्जा प्रवाह गर्ने छौं । करिब ४०/५० जना युवालाई कर्जा दिने कोष पनि खडा गरेका छौं । युवालाई स्वदेशमै टिकाउन र व्यवसायमा आबद्ध गर्नका लागि विभिन्न कार्यक्रमहरू पालिकाले गरिरहेको छ । स्थानीय उत्पादनमा जोड दिँदै औद्योगिक क्षेत्रको विकासमा कस्ता रणनीतिहरू अपनाउनुभएको छ ? हामीले लघु उद्यम मार्फत स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्नुपर्छ भनेर लागेका छौं । गाउँपालिकाले युवालाई बेलाबखत व्यवसायिक तालिम दिँदै आएको छ । गाउँपालिकाले युवाहरूलाई घरेलु उद्योगबाट बिस्कुट, ऊनका कपडा, टमाटरको सस्, सिलाई कटाइ आदीको तालिम दिएका छौं । जसले युवालाई उद्यमी बन्न र घरेलु उद्योग सञ्चालन गर्नमा मद्दत र प्रोत्साहन गर्ने छ । शैक्षिक गुणतर तथा विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने काममा पालिका कसरी काम गरेको छ ? गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्नुपर्ने छ । किनभने समाजको मेरुदण्ड नै शिक्षा हो । त्यसैले यस क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकताकोरूपमा लिएको छ । निर्वाचित भए पश्चात् सुविधा सम्पन्न भौतिक संरचनामा पठन पाठन सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले काम गर्यौं । हाल करिब ७० प्रतिशत विद्यालयका भौतिक पूर्वाधारको काम सम्पन्न गरेका छौं । हामीले हाम्रो कार्यकालभित्र सम्पूर्ण विद्यालयको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने छौं । कक्षा तथा विषयगत शिक्षकको व्यवस्थापन सबै विद्यालयमा गरेका छौं । गत आर्थिक वर्षबाट शिक्षकलाई तालिम दिने कामको सुरुवात गरेका छौं । त्यसले शैक्षिक गुणस्तर अभिवृद्धीमा सहयोग पुग्ने नै छ । गाउँपालिकाले यस वर्षदेखि शैक्षिक क्यालेन्डर पनि लागु गरेको छ । कुन समयमा के काम गर्ने भनेर पहिला नै तयारी गरेका छौं । विद्यार्थीलाई सिक्दै कमाउँदै, पढ्दै कमाउँदै गर्ने कार्यक्रम जोडेमा छौं । प्राविधिक धार भएका विद्यालयलाई हाल सो कार्यक्रममा जोडेका हौं । विद्यार्थीले विद्यालयमै च्याउ उत्पादन, मौरी पालन, फलफूल खेतीको सुरुवात गरेका छन् । हप्ताको एक पटक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सहभागिता गराउनु पर्ने व्यवस्था मिलाएका छौं । त्यसले पनि विद्यार्थीको मानसिक तथा बौद्धिक विकास गर्ने छ । ‘सिक्दै कमाउँदै’ भन्ने कार्यक्रम कसरी कार्यान्वयन गरिराख्नु भएको छ, यो कार्यक्रम गाउँपालिकाका कति वटा विद्यालयमा लागू भएको छ ? हाम्रो गाउँपालिकाको एउटा विद्यालयमा मात्रै यो कार्यक्रम लागू भएको छ । जहाँ प्राविधिक धारतर्फको बाली विज्ञान शिक्षा पढाइ भइरहेको छ । यसलाई क्रमागतरूपमा अन्य विद्यालयमा पनि लागू गर्दै जान्छौं । पालिकाले यस कार्यक्रमलाई गत वर्षदेखि लागु गरेको हो । यस वर्ष सिकाइ केन्द्र बनाएर किसानहरूलाई पनि विद्यालयसँग जोड्ने कार्यक्रम रहेको छ । गाउँपालिकाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति कसरी दिलाउनुभएको छ ? हाम्रो गाउँपालिका विटक क्षेत्रमा पर्छ । जसले गर्दा यस क्षेत्रमा थुप्रै समस्याहरू छन् । स्वास्थ्यका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने जमर्को गरिरहेका छौं । तथापि स्वास्थ्य क्षेत्रको काम प्रभावकारी हुन सकिरहेको छैन । स्वास्थ्यका कार्यक्रम प्रभावकारी कसरी बनाउने भन्ने कुरामा गाउँपालिको ध्यान केन्द्रित नै छ । जेष्ठ तथा असहाय नागरिकको लागि घरमै गएर स्वास्थ्यका सेवा दिँदै आएका छौं । यसका साथै गाउँपालिकाभित्रै स्वास्थ्यका शिविरहरू सञ्चालन गर्दै आइरहेका छौं । यसपटक भने जटिल बिरामीहरूको उपचारको लागि बजेट पनि छुट्याएका छौं । विशेषज्ञहरूसँग हाम्रो स्वास्थ्यकर्मीलाई जोडेर त्यसको रोकथामका उपायहरू सुरूवात गर्ने लागेका छौं । गाउँपालिकाले ‘एक घर, एक घारा’को नीति गाउँपालिकाले लिएको धेरै समय भइसक्यो तथापि अझै पनि प्रत्येक घरमा पानी पुर्‍याउँन सकस पर्‍याे नि किन ? एक घर एक घाराको नीति लिएता पनि बजेट अभाव भएका कारण सबै ठाउँमा पानीको धारा पुर्‍याउन गाह्रो परेको हो । हामी निर्वाचित हुनुभन्दा अघि झन्डै ७५ प्रतिशत घरधुरीमा यस कार्यक्रम अन्तर्गत पानी पुर्‍याइसकिएको थियो । हामी आइसकेपछि गाउँपालिकाकै लगानीमा ५ वटा खानेपानीको आयोजनाको काम सम्पन्न भएका छन् । हाल ९२ प्रतिशत खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । अब ८ प्रतिशत मात्र काम हुन बाँकी छ । चालु आर्थिक वर्षमा २ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने योजना बनाएका छौं । यसै वर्ष एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने छौं । बजेट कार्यान्वयनको तयारी के छ ? हामीले बजेट कार्यन्वयनलाई प्रमुख प्राथमिकता दिएका छौं । गत आर्थिक वर्षमा दार्चुला जिल्लाको सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने पालिकामध्ये हाम्रो पालिकाको नाम आउँछ । हामीले ९० प्रतिशत पुँजीगत खर्च गरेका थियौं । ८७ प्रतिशत जति चालु खर्च गरेका छौं । यद्यपि संघीय सरकारको बजेट कटौति गर्दा केही कार्यक्रमहरू गर्न सकेनौं । सोही कारण केही आयोजनाहरु सम्पन्न हुन सकेनन् । यस पटक पनि छिटोभन्दा छिटो बजेटको कार्यान्वयन गरी योजनाहरू अगाडी बढाउने तयारी गरिरहेका छौं । अन्त्यमा, तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले ५ वर्षभित्रमा धेरै काम गर्ने सोच बनाएका छौं । हाम्रो कार्यकालमै सदरमुकामसम्म सडक पुर्‍याउँने र वडा कार्यालयसम्म सडक सञ्जालले जोड्ने योजना छ । ती कुरामा हामी फोकस छौं । हाम्रो गाउँपालिका जलविद्युतको हब पनि हो । यहाँ सानादेखि ठूला जलविद्युत आयोजनाहरु निर्माण गर्न सकिन्छ । यहाँ राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण भएको छैन । हामीले करिब २ वर्षभित्र गाउँपालिकाका सबै घरमा विद्युतिकरण गर्ने गरी तयारी गरेका छौं ।

स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे । विश्व बैंकका देशीय निर्देशक जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक सय मिलियन डलर ऋण सहायता तथा तीन दशमलव ८४ मिलियन ग्रान्ड दिने र उक्त विषय मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा रहेको  जानकारी गराए । निर्देशक जेरभोसले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै कोभिड–१९ महामारीको बेलाजस्ते अन्य महामारी तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सहयोग निरन्तर जारी रहेने विश्वास व्यक्त गरे । विश्व बैंकले कोभिड–१९ महामारीका बेला पनि विभिन्न सहयोग गरेको थियो । विशेषगरी कोभिड–१९ विरुद्धको खोप अनुदानको रुपमा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । मन्त्री बस्नेतले कोभिड–१९ महामारीका बेला विश्व बैंकबाट प्राप्त सहयोग रकम केही बचेको र उक्त रकम स्वास्थ्य मन्त्रालयले नै खर्च गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । कोरोनाका बेला खर्च गर्न उपलब्ध भएको मध्ये बचेको रकम अर्थमन्त्रालयमा पठाइएको थियो । उक्त रकम स्वास्थ्यमन्त्रालयले नै खर्च गरोस् भन्ने विश्व बैंकको धारणा रहेको मन्त्री बस्नेतले जानकारी दिए । ‘विश्व बैंकको पनि बचेको पैसा स्वास्थ्य मन्त्रालयले खर्च गरोस् भन्ने छ । यसबारे प्रक्रिया अगाडि बढाइएको छ’, उनले भने । अहिले डेङ्गु लगायतका महामारी फैलनसक्ने सम्भावना रहेको र अन्य क्षेत्रमा पनि खर्च गर्नुपर्ने भएकाले उक्त रकम मन्त्रालयमै ल्याउन लागिएको मन्त्री बस्नेतको भनाइ छ । उनका अनुसार कोरोना महामारीको समयमा खर्च गर्नका लागि आएकोमध्ये बचेको रकम करिब  एक अर्ब रहेको छ । मन्त्रालयको बजेटको आकार घटेको छ । अहिले २० प्रतिशत बजेट कटौती भएको छ । सुर्तिजन्य पदार्थमा उठेको वार्षिक छ अर्बमध्ये  ४० करोड मात्रै मन्त्रालयले पाएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘सूर्तीजन्य पदार्थको उठेको रकम पनि अर्थमन्त्रालयमा रहेको र अर्कोतर्फ कोरोनाका  बेलामा खर्च गर्ने भनेर प्राप्त भएको पैसा पनि अर्थमै पुगेको छ । कर्मचारी अभावले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पु¥याउन नसकिरहेको अवस्थामा थप दरबन्दी सिर्जना गर्नका लागि सो रकम खर्चहोस् भन्ने हो ।’ मन्त्री बस्नेतले स्वास्थ्य रणनीति र वित्त रणनीति पास भएर काम गर्ने वातावरण बनेको उल्लेख गर्दै यसमा जति पैसा हुनसक्छ सोही अनुसारको रणनीतिक कार्ययोजना अघि बढाइने उल्लेख गरे । स्वास्थ्य मन्त्रालयले उक्त रकम खर्च गर्नका लागि अर्थमन्त्रालयमा आवश्यक प्रक्रिया अगाडि बढाएको र यो छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने मन्त्रालयको विश्वास छ । रासस

‘छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू’

काठमाडौं । नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले चुनौती ब्यहोर्दै  आउनुपरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यस्थलमा स्तनपानका  लागी सहज वातावरण बनाइदिनु सम्बन्धित सबैको जिम्मेवारी रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शिशु जन्मिएपछि जतिसक्दो चाँडो (एक घण्टाभित्र) मा आमाको दूध खुवाउन आमालाई आग्रह गरिएको बताए । उनका अनुसार शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि छ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाउनुपर्छ । नेपालमा अझै पनि ४५ प्रतिशत शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान नगराइएको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रतिवेदनमा ५५ प्रतिशत शिशुलाई  मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइएको छ । दस शिशुमध्ये छ जनालाई जन्मेपछि पहिलो दुई दिनसम्म पूर्ण स्तनपान गराइएको पाइएको छ । परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले  तुलनात्मकरुपमा आमाले शिशुलाई स्तनपान गराउनेको सङ्ख्यामा कमी आएको बताए । उनले बढ्दो सहरीकरण र कार्यालयमा महिलाहरु व्यस्त हुने गरेकाले शिशुले पर्याप्त मात्रामा स्तनपान गर्न नपाएको उल्लेख गरे । ‘एक त स्तन बिग्रिन्छ भनेर धेरै आमाहरुले शिशुलाई स्तनपान नगराउने पाइएको छ,’ निर्देशक डा. अधिकारीले भने, ‘अर्को कुरा धेरै आमाहरुले काम गर्नुपर्ने भएकाले उक्त समयमा शिशुलाई स्तनपान गराउन पाउँदैनन् ।’ आमाको दूधले शिशुलाई विभिन्न रोगसँग लड्नसक्ने क्षमता बढाउने गरेको उनको भनाइ थियो  । सन् २०२२ को प्रतिवेदनमा नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरुपमा स्तनपान गराइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशुलाई  जन्मेको छ महिना भित्रसम्म स्तनपान गराइएको उल्लेख गरिएको थियो । अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले सन् २०१६ को तुलनामा २०२२ मा छ महिनासम्म शिशुलाई स्तनपान गराइएको बताइन् । उनले कार्यस्थलमा नै शिशुलाई स्तनकक्षको अभाव र धेरै जसोमहिला जागिरे भएकाले विगतभन्दा १० प्रतिशत कम शिशुलाई स्तनपान गराइएको उल्लेख गरिन् । ‘आजकाल आमाहरु पनि धेरैजसो जागिर गर्न थाल्नुभयो । अर्को कुरा विभिन्न बाहिरी दूधको प्रयोग बढेर पनि स्तनपान घटेको हो’, डा. उपाध्याय सुवेदीले भनिन् । उनले आमालाई स्तनपान गराउनका लागि जनचेतना जगाउनाका साथै कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । स्तनपानबाट बच्चामा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्नबाट बचाउनाका साथै आमालाई रक्तस्राव कम, डिप्रेसनका साथै डिम्बाशय तथा स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने बताइन् । शिशुलाई कुपोषणबाट जोगाउनका लागि निरन्तर छ महिना स्तनपान गराउनु पर्दछ । यस्तै शिशुलाई जन्मेदेखि छ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाउने, छ  महिना पूरा भएपछि पूरक खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनु पर्दछ । चिकित्सकको सल्लाह विना शिशुलाई आमाको दूधबाहेक अन्य कुनै किसिमको दूध नखुवाउन र दूधदानीको प्रयोग नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । आमको दूध शिशुका लागि सर्वोत्तम आहार हो र यसले  शिशुको रोगसँग लड्न सक्ने क्षमता बढाउने गर्दछ र स्तनपानले महिलाहरुमा स्तन क्यान्सर हुने जोखिमलाई पनि कम गराउन मद्दत गर्दछ । आजदेखि यही साउन २२ गतेसम्म सप्ताह कार्यक्रम गरी दिवस मनाइने भएको छ । रासस

मेरो माइक्रोफाइनान्सद्वारा ५ लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वत्तिीय संस्थाले संस्थाका सदस्य लक्ष्मी देबि सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दावी बापत ५ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए । मेरोमाइक्रोफानान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा-चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मि देबि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा-चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।