आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले नयाँ तस्विर कसरी बनाउँछ ?
काठमाडौं । तस्विर बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक जटिल प्रणालीबाट तस्विर निर्माण गर्ने काम गर्छ । लाखौं तस्विर र सो सँग प्राप्त जानकारीको आधारमा एआईले तस्विर निर्माण गर्ने काम गर्छ । तपाईंले एआईले त्यो तस्विर पनि बनाउन भन्न सक्नुहुन्छ, जुन कुनै पनि घट्ना, वातावरण वा पात्रसँग सम्बन्धित छैन । उदाहरणको रुपमा तपाईंले मंगल ग्रहमा टहलिँदै गरेको मान्छेको तस्विर बनाउन पनि भन्न सक्नुहुन्छ । तपाईंले एआईलाई कुनै रचनात्मक तस्विर बनाउन पनि लगाउन सक्नुहुन्छ । उदाहरणको रुपमा तपाईंले प्रशिद्ध चित्रकार पिकासोको शैलीमा कुनै प्रशिद्ध खेलाडीको तस्विर बनाउन अनुरोध गर्न सक्नुहुन्छ । एआईसँग अनियमित ढंगले रंगहरुको प्रयोग गरेर तस्विर निर्माृण गर्नसक्ने प्रविधि जोडिएकोछ । यसको अलावा विभिन्न वस्तुहरुको तस्विर निर्माण गर्न थोप्लाहरु र तरिकाको प्रयोग गर्न सक्छ । थोप्लाहरुको सहायताले एआईले पहिला एक सतहको निर्र्माण गर्छ र त्यसमाथि निर्देशित ढाँचासँग मिल्ने तस्विर निर्माण गर्छ । यसो गर्दा पहिलो सतह हराउन पुग्छ । एआईले मंगल ग्रह, अन्तरिक्षमा टहलिँदै गरेको व्यक्ति लगायतका तस्विरहरुलाई पनि फरक प्याटर्नमा राखेर नयाँ तस्विर पनि निर्माण गर्न सक्छ । जुन कुनै पनि घटनामा नभएको अलग प्रकारको तस्विर हुन्छ । एआईले अरबौं तस्विरसँग जोडिएका अरबौं प्याटर्नका आधारहरुलाई प्रयोग गरेर सो काम गर्छ । कलाकारहरुले हजारौं वर्षदेखि गरेको तस्विर निर्माण गर्ने काम एआईले एउटा काल्पनिक अवधारणाका आधारमा निर्माण गर्न सक्छ । पछिल्लो समयमा एआईले निर्माण गरेका तस्विरहरुको अर्थ र यसको अधिकारका सम्बन्धमा चर्चा शुरु भएको छ ।
इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने १९ व्यापारीविरुद्ध मुद्दा दायर
वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए । उनले इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एन्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर स्टोर्स र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको बताए । चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबिङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको सूचना अधिकारी ठाकुरको भनाइ छ । यस्तै पर्साको जय वनहरबाबा कृषि सहकारी संस्थाविरुद्ध पनि मुद्दा दर्ता गरिएको जनाएको छ । अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १९ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उनको कथन छ । यस्तै गतआव मा एक हजार चार सय ३६ व्यापारीमाथि कारबाही गरी जरिवाना तिराएको सो कार्यालयले जनाएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सो आवमा एक हजार तीन सय २४ व्यापारीले नियमित जाँच/नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण तथा पाँच सय ६५ व्यापारीलाई अनुमति/इजाजतपत्र दिइएको छ । ती सबै शीर्षकबाट गत आव मा एक करोड ४० लाख २३ हजार दुई सय ६९ राजस्व सङ्कलन भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए । सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको छ । कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्नुपूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । रासस
कर्मचारीले भ्रष्टाचार गरेर करोडौंका घर-घडेरी जोड्दै, अकुत सम्पत्ति कमाउनेको ग्राफ बढ्दै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अबधिमा साढे ३ सय बढी सरकारी कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा ३ सय ५६ जना राष्ट्रसेवक कर्मचारी विरुद्ध भ्रष्टाचारका मुद्दा दर्ता गरेको हो । नेपाल सरकारका सचिव टेकनारायण पाण्डे (विशिष्ट श्रेणीका) सहित ३ सय ५५ जना राष्ट्रसेवक कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको हो । यस्तै, एक वर्षको अबधिमा १७८ जना बिचौलिया/मतियार र २ सय २६ जना निर्वाचित मनोनित पदाधिकारीहरु विरुद्ध मुद्दा दर्ता भएका छन् । आयोगले एक अर्ब ७७ करोड ५८ लाख ४५ हजार ४३७ रुपैयाँ बिगो माग दाबी सहित १ सय ६२ वटा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार उक्त मुद्दामा ७ सय ६० जनालाई प्रतिवादी बनाइएको छ । गत आर्थिक वर्ष आयोगमा गैरकानुनी लाभहानीका ६४ वटा मुद्दा दर्ता भएका थिए । उक्त मुद्दामा ४ सय ४२ जनालाई प्रतिवादी बनाइएको थियो । यस्तै, घुसका ३२ मुद्दामा ४६ जना प्रतिवादी, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी २७ मुद्दामा १ सय ५०, गैरकानुनी सम्पत्ति आर्जनका १३ मुद्दामा २९ जना, नक्कली शैक्षिक प्रमाणपत्रका ८ मुद्दामा ८ जना, राजस्व हिनामिनाका ७ मुद्दामा ४६ जना र विविधका ११ मुद्दामा ३९ जनालाई प्रतिवादी बनाईएको छ । तीन वर्षकै धेरै मुद्दा आयोगको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा तीन आर्थिक वर्ष यताकै बढी मुद्दा दर्ता भएका हुन् । तथ्यांक अनुसार अघिल्लो आव ०७८/७९ मा एक सय ३१ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २१ वटा बढी मुद्दा दर्ता भएका हुन । यस्तैगरी, आर्थिक वर्ष २०७७/०७८ मा एक सय १० वटा मुद्दा दर्ता भएका थिए । त्यसअघि ०७६/७७ मा हालसम्मकै सबैभन्दा धेरै अर्थात ४ सय ४० वटा मुद्दा दर्ता भएका थिए । स्टीङ अपरेशनमा ४० सरकारी कर्मचारी आयोगले एक वर्षको अबधिमा ४० जना सरकारी कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । एक वर्षको अबधिमा विभागले गरेको ‘स्टिङ अपरेसन’ मा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा विभागले पक्राउ गरेको हो । गत आवमा अख्तियारले ३७ वटा ‘स्टिङ अपरेसन’ (रंगेहात पक्राउ) गरेको छ । जसमा ४० जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया/मतियार र आठजना निर्वाचित/मनोनीत पदाधिकारी छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा अख्तियारले २५ वटा स्टिङ अपरेसन गरेको थियो भने ०७७/७८ मा ६४ वटा थिए । आयोगले एक वर्षको अबधिमा विशेष अदालतबाट ३ सय ४१ वटा फैसला प्राप्त गरेकोमा आंशिक ठहर र सफाई पाएका मुद्दामध्ये २ सय ३७ मुद्दामा आयोगले पुनरावेदन गरेको छ । आघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा आयोगले ५७ वटा मुद्दाहरुमा पुनरावेदन गराएको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २० हजार ३६८ तथा अघिल्लो आर्थिक वर्षवाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ गरी कुल २७ हजार ५३० उजुरीहरु मुद्दा रहेका थिए । उक्त मुद्दामध्ये विभागले ६६ दशमलव २७ प्रतिशत अर्थात १८ हजार २४५ उजुरी फछ्र्याैट गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार छाटो समयमा अथाह सम्पत्ति जोड्नका लागि कर्मचारीहरुले घुस लिने तथा भ्रष्टाचार गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको डोजरसहित बिरोध प्रदर्शन
काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरु तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए । ‘निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक हामी निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले गरोस् भनेर निषेधित क्षेत्रको मर्यादा राख्दै धर्ना गरेका हौँ,’ उनले भने, ‘ नेपाल सरकारले बनाएका योजनाहरु ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेको तर श्रोत नभएको त्यस्तो योजनाको लागि सरकारले एक वर्ष म्याद थप गर्दैछ, त्यसको भुक्तानीको व्यवस्थापन कसरी गर्छ ? भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्छ भनेर प्रमुख माग लिएर आएका छौँ ।’ सरकारले बनाएका योजनाहरु ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेका भए पनि स्रोत नभएको योजनाहरुको म्याद थप गर्न लागेको बताए । सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने उनले बताए । सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनले चेतावनी दिए । ‘मूल्य समायोजन लगायतका ९ बुँदे माग लिएर आन्दोलन गरेका छौँ । प्रधानमन्त्रीज्युले ठोस कार्ययोजना बनाइ हाम्रा माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहन्छ । सम्झौता गरेका माग कार्यान्वयन हुनुपर्छ । सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्छ’ सिंहले भने । व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम
बेनी । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन् । बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । छयात्तर किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ । कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ । साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन–चारपटक सडक अवरुद्ध हुन्छ । घन्टौँसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ । सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ । दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए । ‘जीर्ण र पहिराको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ’, उनले बताए, ‘सामान्य अवस्था भए बेनीबाट चार घन्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ ।’ म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए । ‘यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ’, उनले बताए । विसं २०७४ असारमा चारवटा प्याकेज (भाग)मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब ५० करोड मा ठेक्का लिएका थिए । गत शुक्रबारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ । म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् । यसैगरी बेनी–दरबाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ । सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराको समस्या समाधान हुनसकेको छैन । विसं २०६२ मा ट्रयाक खुल्नुअघिको पहिराको समस्या रहेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडकखण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडकखण्डका सवारी चालक वीरबहादुर विकले बताए । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । ‘वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ’, उनले बताए, ‘फापरखेतको पहिरो बेनी–दरबाङ सडकको दीर्घरोगजस्तो भएको छ ।’ उनकाअनुसार पहिराबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् । जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिराले पनि बेलाबेलामा दुःख दिने गरेको स्थानीयले बताउँछन् । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । ‘फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ’, उनले भए, ‘ठस्लो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।’ रासस
रामपुरका ७०२ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण
पाल्पा । रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र ७०२ घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पसलगायतका शैक्षिक सङ्घसंस्थाले विद्यालय तथा क्याम्पस सञ्चालनका लागि घरघडेरी बिक्री गरेका हुन् । सो संस्थाले बिक्री गरेका घरघडेरीको सोमबार ८७ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम रामपुरमा सम्पन्न भएको छ । नगरभित्रका सात सय ८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते एक सय ६४, दोस्रो चरणमा माघ १० गते ९८, तेस्रो चरणमा २०८० जेठ ५ गते तीन सय ५४, साउन १५ गते ८७ घरघडेरीलाई पुर्जा वितरण गरिएको छ । पाँच दशक अघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । नगरपालिकाका वडा नं ५, ६ र ७ का ७८३ घरघडेरीमध्ये ९७ प्रतिशत काम सम्पन्न भई प्रमाण पुर्जा प्रदान गरिएको उनले जानकारी दिए । ‘नगर सरकारले आन्तरिक खर्च व्यवस्थापन गरी छिटो–छरितो काम सम्पन्न गरेर रसिदको भरमा भोगचलन गरेका स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको छ,’ उनले भने, ‘जग्गाधनी प्रमाण पुर्जा पाएपछि बैंक तथा वित्तीय संस्थामा पुर्जा राखेर विभिन्न व्यावसाय सञ्चालनका लागि ऋण लिन सहज हुने भयो ।’ राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरे र रामपुर नगरपालिकाका प्रमुख थापाले मालपोत तथा नापी कार्यालय रामपुरलाई जग्गाधनी प्रमाण पुर्जाको सोमबार नक्सा, श्रेस्ता हस्तान्तरण गरेका छन् । ११४ रोपनी ११ आना बराबरको घरघडेरीबापत ११ करोड ७७ लाख ९३ हजारबराबरको राजस्व नेपाल सरकारको खातामा जग्मा भएको छ । हातमा प्रमाण पुर्जा नहुँदा आफूले दुःखले बनाएको घरघडेरी आफ्नो हो भन्ने ढुक्क नहुनु र पुर्जा बैंक तथा वित्तीय संस्थामा राखेर विभिन्न व्यापार–व्यावसायका लागि ऋण निकाल्न पाउँदा स्थानीयले निकै सास्ती भोग्नुपरेको थियो । पुर्जा पाएपछि यहाँका स्थानीय खुसी छन् । विसं २०२५–२६ देखि तत्कालीन गाउँ विकास समिति, स्कुल, क्याम्पसले रसिदको भरमा बिक्री गरेका घरघडेरीले जग्गाधनी पुर्जा नपाउँदा स्थानीयले धेरै चुनौती खेप्दै आइरहेका थिए । लामो समयपश्चात् रामपुर नगर सरकार र राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पा, राजनीतिक दल, सरोकारवालाको जोडबलमा जग्गाधनी प्रमाण पुर्जा वितरणको काम भएको हो । राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष गैरेले पुर्जा तयार भएर पनि ४१ वटाको एकल दर्ता (श्रीमान् श्रीमती घरमा सँगै नहुँदा) भएकाले वितरण गर्न बाँकी, १३ वटा घरघडेरीको राजस्व नबुझाउँदा पुर्जा वितरण रोकिएको, एउटा घरघडेरी विवादित रहेको, ९ वटाको तत्काल काम गर्ने प्रक्रियामा नरहेको (वन क्षेत्रभित्र र प्रकृतिले नछुट्याइएको जग्गा), १७ कित्ता गाभिएको (एउटै निवेदकको दुई घडेरी जोडिएकाले कारणले गाभिएको) जानकारी दिए । अव्यवस्थित बसोबासीका लागि पुर्जा वितरणको काम सम्पन्न गर्ने रामपुर नगरपालिका नेपालको पहिलो रहेको बताउँदै अध्यक्ष गैरले जिल्लामा दलित, भूमिहीन, सुकुम्बासीको समस्या समाधानमा पहिलो प्राथमिकता दिएर काम गर्ने बताए । अहिलेसम्म राष्ट्रिय भूमि आयोगले देशका ७७ जिल्लामध्ये जग्गाधनी प्रमाण पुर्जा वितरण भएको आँकडा हेर्ने हो भने २ हजार ४ सयभन्दा बढी नागरिकले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । रामपुर नगरपालिकाभित्र ७०२ जग्गाधनीले आफ्नो घर तथा घडेरीको पुर्जा प्राप्त गर्न सफल भएका छन् । रासस
हराएका सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता दिइयो
काठमाडौं । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । यस्तै चोरीको मोटरसाइकलसहित साउन १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका–५ गुम्बाबाट नियन्त्रणमा आएका एक जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । सवारीसाधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । यसैगरी आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । गए राति काठमाडौं उपत्यकासहित बागमती, कोशी र गण्डकीका केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ ।